नेताको थामिनसक्नु विदेश भ्रमण

नेपालका नेताहरूको विदेश भ्रमण मोह चुलिँदा देशका राजनीतिक, सामाजिक र आर्थिक मुद्दा भनेको समयमा सम्बोधन हुन सकेको छैन । सम्बन्धित पार्टीका काम मात्र प्रभावित भएका छैनन्, सरकारी काममा समेत असर गरेको छ । संघीय संरचनाका हरेक काम थाँती राखेर नेताहरू अनेक कार्यक्रमको बहनामा विदेश सयरमा व्यस्त देखिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली ६ असोजमा अमेरिका जाँदै छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन प्रधानमन्त्री ओली उच्चस्तरीय टोलीसहित त्यसतर्फ जान लागेका हुन् ।
उपराष्ट्रपति नन्दकिशोर पुनः बुधबार चीन प्रस्थान गरेका छन् । उनले ६ दिन चीनमा बिताउनेछन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल चारदिने भ्रमण सकेर बुधबार राति नै स्वदेश फर्किएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणमा उनी ३० भदौमा चीन गएका थिए ।
दाहालले गत साता मात्र भारत भ्रमण गरेका थिए । भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायतसँग भेट गरेका थिए ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पनि गत साता चीन भ्रमण गरेका थिए । मौलिक हकसम्बन्धी महŒवपूर्ण विषयलाई थाँती राखेर उनी चीन भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका थिए । राजधानी दैनिकमा समाचार छापिएको छ ।