सोझा अति माझी जाति

| नुवाकोट

नेपाल जनजातिको दृष्टिकोणले अन्य राष्ट्रको तुलनामा धनी रहेको छ । परम्परादेखि आफ्नै रीतिरिवाज, संस्कृति र संस्कारहरूको अनुसरण गर्दै आ–आफ्नो जातित्वको पहिचान गरी राष्ट्रलाई नै सिंगारिएको छ । नेपालमा रहेको अनेकन जातिमध्ये माझी पनि एक हो । माझी जाति अन्य जनजातिको दाँजोमा पछि नै परेको छ ।

यी जाति मुख्यत ः रामेछाप, वाग्लुङ्ग, तनहुँ, पाल्पा, गुल्मी, नुवाकोटका साथै सुदुरपश्चिम तथा भित्री मधेशमा बसोबास गर्दै आएका छन् भने अहिले फाटफुट बसाई सर्ने क्रममा ४० वटा जिल्लामा छरिएर रहेका छन् । यस जाति नेपालको भूमिमा आदिमकालदेखि बसोबास गर्दे आएको हुनाले आदिबासी हुन कुनै शङ्का छैन ।

राष्ट्रिय जनगणना २०६८ मा  माझी जातिको जनसङ्ख्या ४०,००५ महिला र ४०,७२२ पुरूष गरी जम्मा ८३,७२७  उल्लेख गरेको छ । यस जातिको परम्परा, भाषा, लोक संस्कृति, सामाजिक संस्कार, रीतिरिवाज र जीवनशैलीको छुट्टै मौलिकता र पहिचान रहेको छ ।

बाह््य र आन्तरिकरूपमा हुने सांस्कृतिक आक्रमणको बावजुद माझी जाति पनि आफ्नो सांस्कृतिकधार्मिक र परम्परादेखि चलिआएको रीतिरिवाज एवम् परम्परा ओझेलमा पर्दै माझी जातिको अस्तित्व जोगाउन नसकी लोप हुने अवस्थामा पुगेको छ ।

सुनधुँवा, कछारे, थरबोटे, कुसर, मुसर, दनुवार, कुमाले, बातर आदि थरहरू रहेका माझी जातिको नेपालमा आगमन कहाँबाट भएको हो भन्ने सम्बन्धमा प्रचलित भनाई अनुसार नदीको आसपासमा बस्ने, नदीमा माछा मार्ने तरीका भारतको पूर्वी क्षेत्रमा पाइने जातिसँग मिल्दोजुल्दो  रहेको अड्कल गरिएको छ ।

सोझो, मिलनसार, हँसिला अनुहार, हृष्टपुष्ट र जस्तो सुकै अन्याय परे पनि प्रतिरोध गर्न मन नपराउने खालका माझी जातिको अनुहार शारीरिक बनोट व्यवहार र पेशालाई हेर्दा कुमाल, दनुवार, दमाई र थारूसँग जीवन संस्कार र शैलीहरू एक आपसमा मिल्दोजुल्दो देखिन्छ । माझीहरू आफूलाई भगवान रामको छोराको सन्तान मान्छन् ।

नेपालको नदी किनाराका छेउँछाउँ र पहाडी क्षेत्रमा बसोबास गर्दै आएका यिनीहरू नदीमा डुङ्गा चलाउँने हुनाले नै  माझी जाति भनिएको हो । घामपानी, बर्षा, बाढी, पहिरोदेखि खासै नडराउने हुनाले नै यिनीहरूलाई जलचर वा जलजीवी जातिको रूपमा पनि लिईन्छ । त्यस्तै, जीवजन्तुसँग पनि भीडन्त गर्न सक्ने क्षमता माझीहरूमा भएकाले बहादुरको संज्ञा पनि दिइन्छ । 

सुनधुँवा, कछारे, थरबोटे, कुसर, मुसर, दनुवार, कुमाले, बातर आदि थरहरू रहेका माझी जातिको नेपालमा आगमन कहाँबाट भएको हो भन्ने सम्बन्धमा प्रचलित भनाई अनुसार नदीको आसपासमा बस्ने, नदीमा माछा मार्ने तरीका भारतको पूर्वी क्षेत्रमा पाइने जातिसँग मिल्दोजुल्दो  रहेको अड्कल गरिएको छ । माझी जातिको मुख्यः पेशा यात्रुहरूलाई डुङ्गा तारिदिने, माछा मार्ने र खेती गर्ने भए तापनि खेतिको निम्ति त्यति जग्गा जमिन हुँदैन । हिउँदका दिनहरूमा समूह–समूह भई त्रिशूली, मस्र्याङ्दी र बुढीगण्डकी नदीहरूको तिरमा स–सानो छाप्रो बनाई बालुवामा सुन खोज्ने काम गर्छन्  भने पहाडी इलाकामा बस्ने यी जाति अहिले आधुनिक तरिकाले खेतबारीमा तरकारी उत्पादन गरी आय आम्दानी गरिरहेका छन् । महिलाहरू गलैँचा बुन्ने काममा देशको विभिन्न शहरहरूमा गएको भेटिन्छ ।

माझीहरू हिन्दु धर्म नै मान्छन् । विशेषत : दशैं, तिहार, माघे सक्रान्ती, पितृ औँशी , एकादशी पर्व मान्ने यिनीहरूको मुख्य ठुलो पर्वको रूपमा कुलपुजा हो । कुलपुजालाई माझी भाषामा भूइँबाबा भनिन्छ । कुलपुजामा नाचगान गर्छन् । पुरूषहरू महिलाको पहिरनमा नाच्छन् । प्रायश्च  यी जातिका पुरूषहरू गीत गाउछन् भने महिलाहरू कम्मर मर्काई मर्काई नाच्छन् । कुलपूजा सकिएपछि नातागोता आफन्तहरूलाई डाँकी जाड रक्सी, माछामासुका साथ भोज खान दिन्छन् । त्यसै गरी पितृ आँैशी पनि महत्वपूर्ण चाडको रूपमा मान्दछन् । यो चाडमा झैझगडा, रिसराग सबै बिर्सेर एकले अर्कालाई सम्मान गरी हर्षउल्लासका साथ मान्छन् । माझीहरूको सबभन्दा ठूला देवता भीमसेनलाई मान्दछन् । भीमसेन देउतालाई पंचबलिको रूपमा कुखुरा , हास , बोका ,भेडा र रागा काटिन्छ ।

प्रकृति पूजकको रूपमा लिइने माझीहरू आफ्नो परिवारको कुनै सदस्यलाई रोगब्याधी लाग्ना साथ वायूको पूजा गर्ने गर्छन् । सामान्यदेखि ठुलो रोगब्याधी लागेमा भुतप्रेत पिचासको कैफियतले गर्दा हो भनेर धामी झाक्रीलाई झारफुक गराउन लगाउँछन् । यधपि शहरिकरनको प्रभावले गर्दा अहिले स्वास्थ्य उपचारका लागि स्वास्थ्य केन्द्रहरूतर्फ पनि जाने गर्दछन् । अन्य जातिको कुलदेवता घरको कुनै निश्चित ठाउँमा राख्ने चलन भए तापनि यिनीहरूले चुल्होको पछाडि राख्दछन् । अन्य समूदायको पुरोहित भए जस्तै यिनीहरूको पनि आफ्नै पुरोहित हुन्छन् । पुरोहित खास गरेर भानिज, ज्वाई अर्थात समाजको कुनै पाको मान्छे हुन्छन् ।

माझी जाति बाक्लै रहेको सिन्धुपलान्चोक जिल्लामा कहिकताई नगरिने विधि गीत एक पर्वको रुपमा गर्दै आएका छन् । उक्त गीत सोह्र श्राद्धमा गाइन्छ । सोह्रश्राद्धका दिन यिनीहरू गाउँघर नजिक रहेको खोलानालाको किनारमा जम्मा हुन्छन् । केही ब्यक्तिहरू जोडले ढोलक बजाउँदै आफ्नौ भाषाबाट पितृलाई पुकार छन् । उपस्थित कुनै एकलाई पितृ चढ्छ र सो ब्यक्तिले तेतिखेर जोखान हेर्ने काम गर्दछ ।

घाटु नाच माझी जातिमा प्रसिद्ध छ । पहाडि क्षेत्रमा चण्डीपूर्णिमाको दिन घाटु नचाइन्छ । आफ्नो गाउघरमा रोगब्याधी नलागोस् भनेर धेरै अघिदेखि घाटुनाँच नचाउदै आएको छ । घाटु नाच रजश्वला नभएका कन्या नचाइन्छ । कन्याको उमेर पाँचदेखि १३ वर्षको हुनेछ र लगातार ३ वर्षसम्म कन्याहरू नाच्छन् । घाटु नाच कन्यालाई साडि चोला , हातमा बाला , घाटीमा माला , कम्मरमा सेतो पटुका , अनुहारमा विभिन्न रङ्ग लगाइन्छ । यस नाचको लागि बिनिया ,मूरली , बासुरी र जम्घार आदि अत्यावशेक बाध्यबादनका सामानहरू हुन । घाटु नाचमा  गीत गाउनेले हिन्दु संस्कार अनुसार ३३ कोटी देवतालाई पुकारेर गीत गाएर नचाइन्छ । बैशाख पूर्णिमाको अघिल्लो पञ्चमीको दिनबाट सुरू हुने घाटु नाच तृतीयाको दिन बिहान देवीदेउरालीमा कुखुरा र दोबाटोमा बोकाको बलि दिएर सकिन्छ ।

यी जाति शिक्षामा उन्मुख  भएको देखिदैन  तर मुलुकमा प्रजातन्त्रको पुर्नबहाली भए यता यी जातिमा बालबालिकाहरू पनि शिक्षामा अग्रसरता भएको देखिन्छ । उच्चशिक्षा हासिल गर्नेको सङ्ख्या पनि के ही मात्रामा बढेको देखिन्छ ।

आफ्नै भाषा रहेको माझी जातिको भाषामा नेपाली, संस्कृति, थारू, भोजपुरी, दनुवारी आदि भाषाका शब्दहरू मिश्रित रहेका छन् । पहाडमा बस्ने माझीहरूले समाजमा अरू समूदायसँग बोल्नुपर्दा नेपाली भाषा नै प्रयोग गर्छन्  तर तराईमा बसोबास गर्ने माझीहरू अधिकांशले थारू भाषा बोल्ने गर्छन । केही माझीहरू मैथली र भोजपुरी भाषा पनि बोल्छन् । काभ्रेपलान्चोक जिल्लामा बसोबास गर्ने माझीहरू आफ्ना समाजमा बातचित गर्दा केही मात्रामा आफ्नो भाषा प्रयोग गर्छन् । तराईमा बस्ने माझीहरूले आफन्त जनाउने शब्दलाई के भनिन्छ । तल हेरौ ः

       नेपाली भाषा                   माझी भाषा

          बुवा                           बाबा

          भाइ                          भैया

         स्वास्नी                       जन्नी

         भिनाजु                       भान्टु

         बहिनिज्वाइँ                भैने

माझी जातिमा पाखे माझी र पानी माझी गरी दुई थरमा बिभाजित भएको देखिन्छ । डुङ्गा चलाउने, माछा मार्ने र बालुवामा सुन खोज्ने काम गर्ने माझीलाई पानी माझी र खेतीको काम गर्ने माझीलाई पाखे माझी भनी नामाकरण गरिएको भेटिन्छ । पहाडमा माझीलाई पानी माझी र पाखे माझीले चिनिए जस्तै तराईमा बोटे र कुसहरले चिनिन्छ । तराईमा यस जाति सुनधुवा , कछारे , थरबोटे , कुशहर र मुसर थरहरूमा बिभक्त छन् । सैनिक , प्रहरी , शिक्षण , निजामति सेवामा पनि के ही सङ्ख्यामा माझीहरूको संलग्नता रहेको देखिन्छ । त्यस्तै, नगण्य सङ्ख्यामा व्यापार व्यबसायका साथै के ही युवापुस्ता बैदेशिक रोजगारमा पनि गएको देखिन्छ । पहिलाको तुलनामा अहिले यिनीहरूको आर्थिक स्थिति मजबुद हुँदै गएको देखिन्छ ।

यी जातिमा पूरूषहरू सेतो कपडा, कछाड, लगौंटी, भोटो र इष्टकोट लगाउँछन्  भने महिलाहरू सेतो चोलो र कालो गुन्यू लगाउँछन् ।  समाजका अन्य समुदायको रहनसहन र भेषभूषाबाट प्रभावित भई आधुनिक रङ्गी चङ्गी लुगाहरू पनि लगाउँन थालेका छन् ।

महिलाहरूले गर्भधारणा गरेपछि जङ्गलको बाटो र नजोतेको खेतवारीमा हिड्न हुँदैन भन्ने जनविश्वास रहेको छ । यदि हिडेमा जन्मने बच्चाले दुःख दिन्छ भन्ने धारणा रहेको छ । बच्चा जन्मदा छोरा भएमा विशेष किसिमले लिने गर्दछ भने छोरोको बुवालाई माला र टीका लगाईदिने चलन छ । जन्मेको छैटौं दिनमा छैटींको प्रचलन भब्य रूपमा गरिन्छ । त्यसबेला छरछिमेक र इष्टमित्रहरूलाई डाकी सत्कार र सम्मानपूर्वक जाँडरक्सी, माछामासु खान दिन्छन् । बच्चाको न्वारन ३,,,९ र ११ दिनमा महिलाले  बच्चाको हातपाउँ र कम्मरमा धागो बाँधीदिई नाम राखिदिने गर्छन् । नाम राख्दा जुन बारमा जन्मेको हो त्यही बारबाट राख्ने चलन छ । बच्चाको न्वारन बच्चाको कुटुम्बहरूबाट गराइन्छ । न्वारन गर्दा चोख्याउने क्रममा गाईको गहुत खाने काम हुन्छ सबै परिवारले ।

माझीहरूको विवाह पनि माझी र पाखे माझीबीच हुने चलन छैन । तराईमा बसोबास गर्ने माझीहरू खास गरेर थारू र दनुवार जातिसँग बैवाहिक सम्बन्ध रहेको हुन्छ । भने बैवाहिक सम्बन्धमा मामाचेला र फुपूचेलीको यूवायुवती बीच एक आपसमा मन्जुरी नगरेमा अन्यत्र विवाह गर्न भने पाइन्छ  । मेलापात, घाँस दाउँरा गर्न जादा युवायुवती बीच एक आपसमा मन परे पश्चात् विवाह गर्न मिल्छ । यसरी प्रेम विवाह गर्दा उनीहरूका आमाबुवाले मन्जुरी दिएर दस्तुर लिएपछि मात्र सो विवाह बैध हुन्छ । प्रेम विवाहको साथसाथै आयोजित विवाह पनि ज्यादा रूचाउँछ ।      

विवाह माघ फागूनको महिनामा गरिन्छ भने विवाह मङ्गलवार र बुधवारको दिन गर्ने चलन छ । यूवायूवतीको विवाहका कुरा चलाउँनको लागि लमीको साथ केही यूवाहरू यूवतीको घरमा रक्सी लिएर जान्छन् यदि रक्सी स्वीकारेमा विवाहको कुरा टुँगिन्छ ।  बिहेको दिनमा दुलाहको ब्रतबन्ध गराईन्छ । मामाद्वारा भान्जा (दुलाहा ) को केश मुण्डल गरी ब्रतबन्ध गराईन्छ ।  विवाह हुनु भन्दा दुई साता अगाडि विवाह गर्ने केटाको हात , खुट्टा र गलामा पशु बाँध्ने दाम्लोले बाधी कुटुम्वहरूबाट अर्ति उपदेश दिइन्छ । यसो गर्दा केटा परिपक्क हुने जनविश्वास छ । दुलाहा सेतो पगरी र जामा लगाएर जन्तीहरू दुलाहाको घर तीन पल्ट घुमेर दुलहीको घरमा प्रस्थान गर्छन् । दुलहीको आमाले दुलाहालाई सगुनको रूपमा दुध ख्वाउँने  चलन रहेको छ । आमाको दुधको भारो तिर्नको लागि भेटी राखी तीन पटक परिक्रमा गर्छन् । जन्ती दुलाहा घर फर्कनु अघि पुनः चण्डी  मन्दिरतिर फर्केर कालो भाले काट्ने गर्दछ । यसो गर्दा भूतप्रेतले दुःख दिदैंन र रोगब्याधी लाग्दैन भन्ने जनविश्वास रहेको छ ।

आधुनिकतर्फ बल्ल अग्रसर हुन खोजेको माझीहरूको मृत्यू संस्कार अरू जातिसँग मिल्दोजुल्दो  नै छ । यस जातिमा कसैको मृत्यू भएमा मलामीले  नदीको किनारामा लगी खाल्डो खनी गाड्ने तथा जलाउने दुबै चलन छ । लासको अन्त्योष्टि गरी घर फर्कने बेलामा बुर्की छर्दै फर्कन्छन् । गाउँघरमा भूतप्रेत नआओस् भन्नाले कोदाली अथवा हँसियाले हिड्ने बाटोको छेउँमा रेखा बनाई काँडाले छोपी थिच्ने परम्परा रहेको छ । मृतआत्माले पाउँछ भनी मरेको दिनदेखि १२ दिनसम्म टपरीमा भात , माछामासु राखी दोबाटोमा राख्ने चलन छ । यी जातिको किरिया कार्य गर्दा चौथों , एघारौं र तेह्रौ दिन महत्वपूर्ण मानिन्छ ।

चौंथो दिनमा काँचो केरालाई पकाउँन राख्छन् भने एघारौं दिन इष्टमित्र एवं छरछिमेकीहरूले भात, अदुवा र घ्यू किरियापुत्रीको घरमा लाने चलन छ भने तेह्रौ दिनमा किरियापुत्री खोलामा स्नान गरी बालुवाले मृतकको मूर्ति जस्तो आकार बनाइन्छ । यसरी मूर्ति बनाइसकेपछि साथमा गएको ब्यतिmहरू पनि खोलामा नुवाइधुवाई गर्ने गर्दछन् । किरियापुत्रीको घरमा तेह्रौ दिनमा  मलामी इष्टमित्र र आफन्त नातेदारहरू डाकी सुँगुर, कुखुरा, माछा, बोकाको मासुको साथमा भोज खान दिन्छन् ।  किरिया बस्नेले आमा मरेको भए घटस्थापनादेखि फुलपातीसम्म दुध र मासु खादैनन् भने बुवा मरेको भए माछामासु , दही , भटमास खादैनन् ।  पितृको मृत आत्माको शान्तिका लागि घरको भित्तामा अविरकेशरीको दुईचार वटा टीका लगाइन्छ । त्यस माथि माटोले लिपपोत गरिन्छ । यदि लिपपोत गर्दा पनि टीका देखिएमा पितृले चित्त नबुझाएको मान्यता राख्दछ । तसर्थ पितृलाई खुशी पार्न वर्षको एक दिन र साउने सक्रान्तिमा पूजाआजा गर्नुको साथै पिण्डदान गरिन्छ । कसैले पिण्डदान गर्दा पुरोहितलाई आमन्त्रण गरी गर्छन् भने कसैले खोला, पँधेरामा लगी सेलाउँछन् ।

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै