एकीकृत बस्ती बसाल्ने प्रकृयामा छौं : अध्यक्ष पानीराज बम्जन

| काठमाडाैं

 

मरिण गाउँपालिका, सिन्धुलीका अध्यक्ष पानीराज बम्जनसँगको कुराकानी :-

अघिल्लो वर्ष गाउँपालिकाले लक्षित गरेको कार्यक्रम कतिको सफल भयो ?

हामीले अघिलो वर्ष लक्षित गरेको कार्यक्रम सोंचे अनुसार नै सफल भयो ।

यस पटक कुन–कुन क्षेत्रलाई बढी प्राथमिता दिनुभएको छ ?

शिक्षा, स्वास्थ्य, कृषिलाई हाम्रो गाउँपालिकाले पहिलो, दोस्रो र तेस्रो प्राथमिकतामा राखेका छौं । चौथोमा दुइटा सडक छन् । जुन सडकमध्ये एउटा वडा नं. १ र २ को ठुलोगोरुधुवा, खलंगा बन्खु हुँदै काठमाडौं जोडिने छ र अर्को वडा नं. ३ को सुके हुँदै बरुण हरिऔन जोडिने छ । यसपछि मात्र पर्यटन क्षेत्र बजेट छुट्याएका छौं । हामीले पौराणिक पञ्चकन्या पोखरीको संरक्षण र प्रबद्र्धनको निम्ति गत वर्ष ४० लाख रुपैयाँ छुट्याएका थियौं । यसपटक पनि ४० लाख रुपैयाँ छुट्याएका छौं । यसको लागि यो प्रशस्त रकम होइन यसकारण संघ र प्रदेशलाई समन्वयन गर्ने सोंचेका छौं । विशालकुमार स्मृति प्रतिष्ठानको लागि पनि ४० लाख रुपैयाँ छुट्याएका छौंं । विद्युत व्यवस्थापनको लागि गत वर्ष १ करोड ९० लाख रुपैयाँ र यसपटकलाई १ करोड रुपैयाँ मात्र छुट्याएका छौं । बाँकी रकम चाहिँ अन्य योजनाहरुको लागि छ । अन्य नगर र गाउँपालिकाले सडक पूर्वाधारको लागि बजेट छुट्याइरहँदा हामीले चाहिँ शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई नै विशेष जोड दिइरहेका छौं ।

पर्यटनमा लगानि गर्दा प्रतिफल चाहिँ कस्तो अपेक्षा गर्नुभएको छ ?

मानिसले बनाएको पूर्वाधारहरुलाई १ सय वर्ष कटेपछि हामी ऐतिहासिक सम्पदा भन्छौं तर प्राकृतिक सम्पदालाई पौराणिक भन्छौं । पञ्चकन्या पोखरी ऐतिहासिक नभई पौरानिक हो । यो पोखरी देशभरि नै परिचित रहेको कारण यसको संरक्षण र सम्बद्र्धन गर्ने, त्यहाँ स्मारक पार्क बनाउने सोचेका छौं । हामीले एउटा कार्यदल नै बनाएर हेटौंडाको शहीद स्मार्कपार्क र चन्द्रनिगाहपुरको शहीद स्मार्क पार्क अध्ययन गराएका छौं । र ती टोलीले बनाएको डकुमेन्टका आधारमा यो पोखरीमा पनि खुल्ला पर्यटन क्षेत्रको विकास गर्ने परिकल्पना गरेका छौं ।

तेह्रौं शताब्दीताका मरिण दरबारको अध्ययन, अनुसन्धान, संरक्षण, प्रबद्र्धनको लागि पाँच लाख रुपैयाँ छुट्याएका छौं । प्रारम्भिक चरणमा यस्तै ऐतिहासिक दरबार, ढोकाढुङगा र धुरी ढुङगाको संभावित अध्ययन गर्दैछौं । यी अध्ययनहरू प्ूरा भई निर्माण प्रकृयामा गएपछि आन्तरिक तथा बाह्य पर्यटकबाट राम्रै आमदानी हुनसक्ने अनुमान लगाएका छौं ।

अघि तपाईले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको बताउनु भयो । यसको लागि ठोस कामहरू के के भइरहेको छ ?

केन्द्र सरकारले नै स्वास्थ्यमा एक वार्ड एक स्वास्थ्य इकाईको निर्णय गरिसकेको र स्रोत साधानको व्यवस्थापन नभएको अवस्था हो । यस कारण हामी आफैले सरकारको यो पहललाई गम्भीरताका साथ लिएका छौं र कार्यन्वयन पद्दतिलाई अंगालिरहेका छौं । अहिले वडा नं. १ र २मा स्वास्थ्य इकाई स्थापना भइसकेको छ । वडा नंं ३ को मथौलीमा पनि भइसकेको छ । वडा नं. ३ को बरुण चाहिँ मरिण गाउँपालिकाको कर्णालीको रुपमा लिन सक्छौं । यहाँ स्वास्थ्य इकाइ स्थापना गर्नको लागि २०७४÷७५को ऐतिहासिक प्रथमसभाले १२ लाख ५० हजार बिनियोजन गरी भवन बनाइसकेको छ । अहिले १ जना प्राविधिक स्वास्थ्यकर्मी राख्ने निर्णय गरेका छौं । वडा नं. ४मा स्वास्थ्य इकाइ नै छैन । यो वडाको खैरसालमा स्वास्थ्य इकाइको लागि भवन बनाएका छौं । वडा नं. २मा पनि बनाएका छौं । वडा नं. ७ को जयमंगलमा पनि स्वास्थ्य संस्था छैन । यहाँ पनि भवन बनिसकेको छ । यसको लागि चाहिँ केन्द्र सरकारले गत वर्षको नीति तथा कार्यक्रममा बजेट विनियोजित गरिदिएको हो । यो वर्ष ती ठाउँहरुमा प्राविधिक स्वास्थ्यकर्मी पठाउने र आवश्यक औषधीहरू राख्ने योजना रहेको छ । यस गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तर उन्नतिको लागि बिएसडिआइडि भन्ने एउटा आइएनजिओ र अमेरिकन जनताले विपतपश्चात् तिरेको ट्याक्सको रकमबाट आधुनिक उपकरण सहित ठूलो भवन निर्माणको लागि टेन्डरको प्रकृयामा पुगिसकेको छ । अरु स्वास्थ्य संस्थामा सरकारको तर्फबाट अपुग वर्थिङ सेन्टरमा एसबिए प्राप्त अनमिहरू राखेका छौं । बडिमन बर्थिङ सेन्टर र मथौलीमा । हामीले सरकारले अघि सारेको स्वास्थ्य बिमालाई सरकारले टार्गेड गरेअनुसार सफलता बनाउनको निम्ति बिमाकर्ता र दर्ता सहयोगीहरू खटाएका छौं र मोबाइलमार्फत फोटो खिचेर दर्ता गर्ने कार्य भइरहेको छ । बिजुली अभावमा मोबाइल चार्च गर्न समस्या भएका कारण काम गर्नेहरुको एक एकवटा ४ हजार रुपैयाँ पर्ने ब्याकअप दिने सोचेका छौं । अर्को, महिला स्वास्थ्य स्वयं सेविकाहरू गर्भवती आमा र ५ वर्षभन्दा मुनिको बालबालिकासँग प्रत्येक्ष जोडिएको हुनाले उनीहरुलाई प्रोत्सहान स्वरुप गए वर्ष १ हजार सहित छाता, झोला, टर्च दियौं भने यो वर्ष चाहिँ मासिक ३ हजार रुपैयाँ दिने महत्वपूर्ण निर्णय गरेका छौं । जेष्ठ नागरिक, अपाँग, एकल महिला, द्धन्द पीडितलाई पनि हामीले छुट्टै नेपाल सरकारबाट प्राप्त औषधीभन्दा पृथक विशेष गरी जेष्ठ नागरिकहरुलाई प्रयोग हुने औषधीहरू गए वर्ष ७ लाखको खरिद गरेर वितरण गर्यौं । यो वर्ष १४ लाख रुपैयाँ विनियोजन गरेका छौं ।

तपाईंको गाउँपालिकामा भएको सामुदायिक विद्यालयमा गुणस्तर शिक्षाको लागि कस्तो अभियान संचालन गर्नुभएको छ ?

यस गाउँपालिकामा बालि विज्ञान कक्षा संचालनमा आएको छ । यो प्राविधिक शिक्षा हो । यो प्राविधिक शिक्षा संचालनको लागि आवश्यक सामग्री खरीद गर्न र शिक्षकलाई उचित व्यवस्थापन गर्नको लागि हामीले १० लाख रुपैयाँ छुट्याएका छौं । कृषि अंगिक कलेजलाई त्यही अनुरुप छुट्याएका छौं । अर्को महत्पूर्ण निर्णय के गरियो भने लामो समयदेखि मावि तह संचालन भएको तर राज्यको तर्फबाट मावि तहको दरबन्दी नभएको ठाउँलाई १÷१ वटा अनुदान कोटा राख्ने, मावि तहका शिक्षकलाई २२ हजार रुपैयाँ दिन, निमावि तहलाई १८ हजार र अनुमति प्राप्त प्रावि तर एक जना पनि शिक्षक नभएको ठाउँको शिक्षकलाई मासिक १५ हजार दिने यस वर्षको नगरसभाले पारित गरेको छ । यो गाउँपालिकामा ४८ वटा सामुदायिक विद्यालयहरू छन् यसमध्ये २९ वटा विद्यालयमा बालविकास शिक्षिकाहरू कार्यरत छन् । उनीहरुलाई सरकारको तर्फबाट ६ हजार रुपैयाँ मात्र मासिक सुविधा दिने गरेको छ । हामीले ४ हजार थप गरेर १० हजार रुपैयाँ पुर्याएका छौं । बाँकी १९ वटा विद्यालयलाई पनि बालविकास संचालनको लागि प्रति शिक्षिकालाई १० हजारको दरले सुविधा दिने गरी हामीले यो महत्वपूर्ण निर्णय गरेका छौं ।

सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीलाई आकर्षित गराउनका लागि मात्र होइन गुणस्तरीय शिक्षा दिनका लागि पनि हामी बहुभाषिक शिक्षालाई लागू गर्ने पक्षमा छौं । यसको लागि पाठ्यक्रमहरू निर्माणको लागि बजेट छुट्याएका छौं ।

यो क्षेत्रका आम बासिन्दा कृषिमै निर्भर छन् । तर उनीहरू परम्परागत कृषिमै रहेको देखिन्छ । यसबारे गाउँपालिकाले कस्तो कदम चाल्दैछ ?

हामीले कृषिमा आधुनिकीकरण, विज्ञान र प्रविधिको उपायेग गर्नको लागि यसअघि पनि सचेतना कार्यक्रम संचालन गर्यौं र अब पनि गरिनेछ । यहाँको कृषकहरू पुर्खौदेखि एउटै बोटबाट उत्पादन भएको बिउ बिजन प्रयोग गरिरहेको छ । यसले गर्दा उत्पादनमा ह्रास आएको छ । परम्परागत खेती, पशुपालन, यसको अन्त्यको लागि हामीले विभिन्न खालको चेतनामूलक कार्यक्रमहरू दिन खोजिरहेका छौं । कृषहरुलाई कृषिमा प्रोत्साहित गर्न आकर्षण बढाउनको लागि हामीले यस वर्ष ४० लाखको दरले सामुहिक पशुपालन, सामुहिक व्यवसायिक तरकारी खेती जस्ता नयाँ ढंगको कृष प्रणाली अगाडि बढाउनको लागि बजेट मापन गरेका छौं । यो गाउँपालिकामा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरणको लागि छुट्टै बजेट आउँदैछ । यो गाउँपालिकाको वडा नंं ७लाई ३५ लाख, वडा नं. ६लाई ३० लाख र बाँकी १ देखि ५ नं. वडाको लागि ४० लाखका दरले आएको यो रकम बस्ती स्तरमा बिपन्न वर्गलाई लक्षित गरेर आधुनिक कृषि प्रणालीको लागि लागू गरिनेछ ।

मरिणखोला नियन्त्रणको लागि राष्ट्रिय वा स्थानीय स्तरबाट केही पहल भएको छ ?

राष्ट्रिय स्तरबाट केही बजेट बिनियोज भएको छ । गत वर्ष पनि १ करोड ९० लाख रुपैयाँ बिनियोजन भएको थियो । बाढी नियन्त्रणको लागि हामीले यस क्षेत्रको चरिचरणलाई बन्द गर्ने प्रकृया अगाडि बढाएका छौं र त्यसको लागि जनतालाई सुसूचित गर्दै छौं । अबको ६ महिना भित्र यो कार्य पूरा गरिनेछ । अर्को परिकल्पना भनेको यहाँको बस्ती असाध्यै छरेर बसिरहेको छ । अव्यवस्थित बसोबास भएको बस्तीको अध्ययन गरेर उचित ठाउँमा व्यवस्थापन गर्ने यो पटकको सभाले निर्णय गरेको छ । यो काम हाम्रो काबुले मात्र संभव छैन । राष्ट्रिय स्तरमै यसको निम्ति नीति बन्नुुपर्छ । यो विषयमा प्रदेश र केन्द्रसरकारसँग समन्वय गर्ने हामीले सोचेका छौं ।

यसको लागि उचित ठाउँको खोजीमा छौं । सार्वजनिक जमिनको संरक्षण गर्दे अतिक्रमण पनि हुन नदिई प्राविधिक दृष्टिकोणबाट उचित भएको ठाउँमा ती अव्यवस्थित बस्तीहरुलाई सार्ने सोच बनाएका छौं । यसो गरेमा वन पडानी रोक्नुका साथै विकासबाट विपन्न वर्ग विमुख हुनु पर्ने छैन । उनीहरुको छोराछोरीले प्राथमिक तहको शिक्षा आर्जन गर्नसमेत अहिले जसरी वंचित भएको छ । त्यो पीडा भोग्नु पर्ने छैन । त्यसो भएकोले हाम्रो एकीकृत बस्तीको निम्ति जोड पहल कदमी छ । हामीसँग यसको लागि चाहिने जमिनको लागि केही आधारहरू पनि छ ।

जस्तै फूलबारीलाई ड्रइभर्सन गरेर मरिनमा मिसाउने हो भने असाध्यै परिणममुखी हुन्छ र त्यो ठाउँमा करीब ३०० देखि ४०० बिघा जग्गा निस्कने संभावना छ । त्यो ठाउँमा चुरेक्षेत्रभित्र यत्रतत्र छरिएर रहेको जनतालाई व्यवस्थापन गर्न सकिन्छ भन्ने हाम्रो आशय छ । त्यसको निम्ति ड्राइभर्सन गर्दा खेरी मरिण गाउँपालिका वडा नं. ६ को कपिलाकोट फाँटलाई क्षति पुग्छ कि भन्ने कुरालाई र दक्षिणी भेगमा भएको भूभाग पनि खोल्लिएर जाने खतरा हुन्छ कि भन्ने कुरालाई हामीले संभावित अध्ययनको लागि ५० लाख रुपैयाँ छुट्याएका छौं । यदि यो सफल भयो भने हामीले यत्रतत्र छरिएर रहेको अव्यवस्थित बस्ती र गरिब जनतालाई त्यहाँ व्यवस्थापन गर्न सक्ने छ ।

व्यवस्थित बस्तीको कुरा गर्दा यहाँ पचासौं वर्षदेखि भोग चलन गरेर आएको तर जग्गा धनी पूर्जा नभएको थुप्रै घरधुरीहरू छन् । नापीको बेला चेतनाको कमीले गर्दा तिरो तिर्नुपर्छ भन्ने त्रासले नापनक्सा नगरेर उनीहरू छुटेका हुन् । उनीहरुको समस्या समाधानको लागि यस गाउँपालिकाले संघ र प्रदेशसँग कोआडिनेशन गरेर नाक्सा र जग्गाधनीपूर्जा दिलाउने निर्णय गरेका छौं । अहिले गाउँपालिका स्तरमा दर्ता गर्ने प्रकृयालाई अगाडि बढाएका छौं ।

तपाईले उठान गर्नुभएको यी मुद्दाहरुलाई कार्यन्वयन गर्नसक्ने कतिको संभावना छ ?

सकिन्छ क्रमिक रुपमा । हाम्रो कार्यकाल अँझै ३ वर्षको छ । हामीले विधि र सिस्टममा ल्याएर कार्यन्वयन प्रकृयामा जाँदाखेरी निश्चय नै रुपमा सफल हुनेछ भन्ने विश्वास छ ।  

प्रतिकृया दिनुहोस्

‘जुनार र सुन्तला हब बनाउँदैछौं’

img

हरिबहादुर गुर्मछान वडाध्यक्ष, मरिण गाउँपालिका वाडा नं. १, सिन्धुली यसपटक गाउँपालिकाले कृषिलाई जोड ...

‘सामुदायिक विद्यालयमा बालबच्चा पढाउनै पर्ने नियम बनाएका छौं’

img

जगतबहादुर लामा वडाअध्यक्ष, बागमति गाउँपालिका वडा नं. २, मकवानपुर  तपाईंको वडाले सडक पूर्वाधारलाई मात्र ...

‘चरिचरन बन्दले समस्या आउँदैन’ 

img

– विमर्श मोक्तान ‘प्रख्यात’ वडाअध्यक्ष, मरिण गाउँपालिका वडा नं. ३, सिन्धुली तपाईको वडाको कार्ययोजनालाई ...

कृषि पकेट क्षेत्र घोषणाको तयारीमा छौं : जीवन लामा

img

तपाईंको वडामा कति बजेट विनियोजन भएको छ ? यस वडालाई नगरले पचास लाख ...

एक वर्षमा के के गरे सुनापति गाउँपालिकाले ? 

img

निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय तहमा जिम्मेवारी सम्हालेको एक वर्ष नाघिसकेको छ । चुनावमा ...

‘पार्टीले ठाडो अन्याय गर्दा झोक चलेको छ’ : नेता सहयात्री

img

सरल सहयात्री, जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर ...

पत्रपत्रिका

सबै