प्रदेश नं. २ मा तामाङ जातिको उपस्थिति

| काठमाडौं

नेपालको नयाँ संविधान २०७२ ले व्यवस्था गरे अनुसार नेपालमा ७ प्रदेश र ७५३ स्थानीय तहहरु छन् । ती ७ प्रदेशहरुमध्ये प्रदेश  नं. २ पनि एक हुन् जसअन्र्तगत सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाहरु पर्दछन् । प्रदेश नं. २ मा कुल स्थानीय तहहरु नगरपालिक र गाउँपालिका गरी १३६ स्थानीय तहहरु छन् । मधेसका आठ जिल्लाहरु समेटेर बनाइएको प्रदेश नं. २ मा सप्तरी बाहेक अरु सबै जिल्लाहरुमा तामाङ आदिवासी जनजातिको राम्रो उपस्थिति रहेको छ । 

तामाङ नेपालको प्राचीन जातीय समुदाय तामाङको मूल थलो प्रदेश नंं. ३ भए पनि यस जातिको उपस्थिति नेपालका अन्य जिल्लाहरुमा र भारत, भुटान र वर्मासम्म फैलिएको छ । जनसङ्ख्याको हिसाबले तामाङ नेपालको पाँचौँ ठूलो जाति समूह पनि हो । जनसाङ्ख्यीक रूपमा ठूलो उपस्थिति रहेर पनि यस जाति समुदायले इतिहासको लामो कालखण्ड उत्पीडनको भूमरीमा पिल्सिरहनु प¥यो जो आज पर्यन्त कायमै छ । राजधानी काठमाडौं उपत्यका वरिपरी बसोवास भएर पनि राज्यसत्ताको उज्यालो किरण आफ्ना आँगनमा कहिल्यौ देख्न पाएनन् । बरु इतिहासका कालखण्डहरुमा कयौं तामाङहरु राज्यसत्ताको उत्पीडन सहन नसकी सिक्किम, आसाम, दार्जिलिङ, मणिपुर, नागाल्यान्ड, वर्मालगायत संसारका कुना कुनासम्म पलायन हुन पुगे । तराई त आफ्नै आँगन हो जहाँ नपुग्ने कुरै भएन ।

स्वाभाविक रूपले मानिस घुमन्ते प्राणी भएकोले एक ठाउँबाट अर्को ठाउँमा डुलिरहन्छन् । जीवन गुजारा र अन्य कतिपय कारणले मानिस पृथ्वीका एक छेउदेखि अर्को छेउसम्म पुगेको हामी देख्न सक्छौँ । पहाडी भू–भागबाट जीविकोपार्जनका साधनहरुको खोजी गर्दै तराईका मैदानी फाँटहरुमा पुग्नु अस्वभाविक होइन । तर, कुन समय र कहिले तामाङहरु तराईका फाँटहरुमा बसाईं सर्दै पुगे त्यसको भने अध्ययन हुन आवश्यक छ । त्यो आउँदा दिनहरुमा अवश्य हुँदै जाने नै छन् । यो छोटो आलेखमा तामाङहरु यस प्रदेशमा कहाँबाट कहिले र कसरी आउपुगे भन्ने ऐतिहासिक पक्ष भन्दा पनि वर्तमानमा उनीहरुको उपस्थिति र भाषिक अवस्था हेर्नु नै हो । 

तराईका चारकोशे झाडी फाँडेर आवाद भएका तामाङहरु अहिलेका प्रदेश नं. २ अन्र्तगतका जिल्लाहरुमा पहाडबाट खास गरी उनीहरुको मूलथलोबाटै झरेका हुन् । उनीहरुको त्यहाँको बसाईं शताब्दी आसपास वा त्यो भन्दा बढी नै होला । यो उनीहरुका तराई झरेका ४–५ पुस्ते वा कोही–कोही ७–८ पुस्तेले इतिहासले पुष्टि गर्दछ । 

तामाङहरुले मधेसमा मूलतः जङ्गल फाँडानी गरेर, खोरिया बनाई क्रमशः खेतीयोग्य जमिन बनाई बस्ति बसलेका हुन् । किनभने उनीहरुसित सत्ता थिएन । राज्यसत्तामा पहुँच नहुनाको ढुकुटीमा हात पुग्ने कुरै थिएन । अर्को कुरा उनीहरु न लाहुरे नै भर्ती हुन पाउँथे । तत्कालीन समयमा ती दुवै भरपर्दा आर्थिक स्रोतहरुबाट उनीहरु बाहिर थिए । यद्यपी पछिल्लो समय केही भने पहाडबाट बसाईं सरेका पनि छन् । उनीहरुले भने जमीन किनेरै मधेस झरे । तर, यसरी मधेस झरेका तामाङहरुको संख्या भने कमै छन् । 

तालिका नं. १ मा प्रदेश नं. २ मा बसोवास गर्ने तामाङ जातिको २०४८ साल पछिको जातीय जनसङ्ख्याको विवरणहरु प्रस्तुत गरिएको छ । प्रदेशका आठ जिल्लाहरु मध्ये सप्तरीमा मात्र तामाङहरुको जनसंख्या कम देखिएको छ । यहाँ पनि २०४८ सालमा पाँच सय भन्दा पनि कम जनसंख्या देखिएकोमा पछिल्लो जनगनणा वि.सं. २०६८ को जनगनणासम्म आइपुग्दा सो संख्यामा वृद्धि भएर १ हजार भन्दा माथि उक्लिसकेको छ । (हेर्नुहोस् तालिका नं. १)

वि.सं. २०४८ को जनगणनाले प्रदेश नं. २ मा तामाङको कुल जनसङ्ख्या ७४,४५० देखाएकोमा २०५८ मा आईपुग्दा सो संख्या ९१,४४२ र २०६८ आइपुग्दा १,१७,६०० पुगेको छ । वि.सं. २०४८–२०५८ सम्म र वि.सं. २०५८–२०६८ सम्मको वृद्धिदर हेर्दा क्रमशः २२.८२% र २८.६०% ले वृद्धि भएको देखिन्छ ।
तालिका नं. २ मा प्रदेश नंं. २ मा बसोवास गर्ने तामाङ जनसङ्ख्या मध्ये कतिले आफ्नो मातृभाषा बोल्छन् भन्ने तथ्याङ्क जिल्लागत रूपम हेरिएको छ । जसअनुसार वि.सं. २०४८ मा कुल जनसंख्या ७४४५० मध्ये ६०६४० (८१.४५ %), विं.सं. २०५८ मा कुल जनसंख्या ९१४४२ मध्ये ७८८५५ (८६ं.२३ %) र वि.सं. २०६८ मा कुल जनसंख्या ११७६८० मध्ये १०५८८४ (८९.९७ %) मातृभाषा बोल्ने देखिएको छ । 

तथ्याङ्कले सप्तरी जिल्लामा मात्र वि.सं. २०४८ र २०५८ को तुलना गर्दा ७२ जनाले आफ्नो भाषा गुमाएको देखाउँछ । (हे. तालिका ३) बाँकी जिल्लाहरुमा जनसङ्ख्याको वृद्धि सँगसँगै मातृभाषी वक्ताहरुको पनि वृद्धि भएको देखिन्छ ।

तालिकाले प्रत्येक दश÷दश वर्षमा प्रदेशका तामाङहरुको जिल्लागत जनसंख्या र तामाङभाषी वक्ता अनि मातृभाषा बोल्न छाडेकाहरुको स्थितिलाई छर्लङ्ग पार्दछ । 

मातृभाषा नबोल्ने प्रतिशत अध्ययन गर्दा घटबढ हुने, तल–माथि जाने स्थिति देखिन्छ । यसले भाषिक तरलताको अवस्था चित्रण गर्दछ । कतिपय सूचकहरु अस्वाभाविक देखिए पनि मुल रुपमा स्वभाविक प्राकृतिक गतिमा हिडिरहेको तथ्याङ्कले देखाउँछ ।

तथ्याङ्क विश्लेषणबाट कैयौं महत्वपूर्ण तथ्यहरु प्रष्ट पार्दछ । प्रदेश नं. २ मा तामाङ जातिको उपस्थिति राम्रो देखिन्छ भने जनसङ्ख्या बढ्दो क्रममा देखिएको छ । 
त्यसैगरी मातृभाषी वक्तहरुको सङ्ख्या पनि २०४८ मा ६०,६४० थियो भने २०५८ र २०६८ मा आईपुग्दा ७८,८५४ र १,०४,९८४ देखिएको छ । तथ्याङ्क अनुसार जनसङ्ख्या वृद्धिसँगै मातृभाषा वक्ताको संख्या पनि समानान्तर वृद्धि भएको छ । २०४८ मा कुल जनसङ्ख्याको ८१.४५ प्रतिशत तामाङहरुले मातृभाषा बोल्ने गरेकोमा २०५८ र २०६८ मा आएर ८६.२३ प्रतिशत र ८९.२१ प्रतिशत वक्ताको सङ्ख्या तथ्याङ्क देखाएको छ । (हेर्नुहोस् तालिका ३)

पछिल्लो ३ दशककोे जनगणनालाई आधार मान्दा तामाङ भाषा बोल्ने वक्ताको वृद्धिदर जनसंख्याको वृद्धिदरसँगै बढेको देखिएको छ । यसले तामाङ  भाषा लोप हुने, गुमाउने र छाड्ने पक्ष कमजोर रहेको सावित गर्दछ । तर, कतिपय बुद्धिजीवी, जानकारहरु यो तथ्याङ्क शत–प्रतिशत ठिक रहेको मान्दैन । उनीहरुका अनुसार मातृभाषी सङ्ख्या जनगणनामा लेखाउने प्रवृत्ति बढे पनि व्यवहारमा ह्रासोन्मुख छ । 

प्रदेश नं. २ मा खासगरी विविध भाषाभाषी, समुदायको बढी चाप रहेको क्षेत्र बस्तीयोग्य र खेतीयोग्य बनाएका हुन् । त्यहाँ धेरै प्रकारका भाषाहरु बोल्छन् । यी स्थानीय भाषाहरुको बीच पनि तामाङहरुले आफ्नो मातृभाषा जुन उच्च मोहकासाथ निरन्तर बोलिरहेका छन् त्यो चानचुने कुरा होइन । यो स्थिति सायदै अन्य प्रदेशहरुमा पाईएला । यसले मातृभाषा बचाउमा लागेकाहरुका लागि उच्च मनोबल प्रदान अवश्य गर्ने नै छ । 

पछिल्लो समय अविभावकहरुमा (तामाङ मात्र होइन नेपालका अन्य मातृभाषीहरुमा पनि) आफ्नो भाषाप्रति हिनताबोधका कारण वक्ताको संख्या घट्दै गाईरहेको छ । परिणाम स्वरूप आफ्ना बालबालिकालाई मातृभाषा जानिजाजि नसिकाउने नेपाली र अङ्ग्रेजी भाषालाई आवश्यकताभन्दा बढी प्रथमिकता दिने प्रवृत्ति बढ्दो छ । त्यसप्रति समुदायलाई समयमै सचेतना जगाउनु नेतृत्वदायी तामाङ संघसंस्थाहरुको दायित्व र कर्तव्या हो । त्यति मात्र होइन यसमा राज्य, सरोकारवाला र सम्बन्धित निकायको ध्यान आकृष्ट हुन जरुरी छ । सबभन्दा बढी सोही मातृभाषी समुदाय चिन्तित हुन जरुरी छ ।

प्रतिकृया दिनुहोस्

जापान, सपना एक लुट अनेक-२

img

बिकसित मुलुक जाने, भविष्य सुनिश्चित गर्ने प्रायको सपना हुन्छ । यही सपनाको ...

तामाङ न्यायप्रणालीमा चोहोको भूमिका

img

तामाङ समाज बहुलनायकीय प्रणालीमा आधारित रहेको छ । समाजमा कम्तिमा चारवटा परम्परागत ...

नेपाल सरकार मातृभाषी बालबालिकाको अधिकार हनन गर्दैछ

img

नेपाल सरकार, शिक्षा मन्त्रालयले ‘अनिवार्य तथा निशुल्क शिक्षाको सम्वन्धमा व्यवस्था गर्ने बनेको ...

गोने ङ्ह्या : तामाङ सांस्कृतिक पर्व !

img

१.  पृष्ठभूमि तामाङ समाजमा 'गोने ङ्ह्य'को अवधारणा कायम रहेको छ । 'गोने'ले एउटा ...

दर्शन साध्य कि साधन ?

img

विज्ञान जगतमा रसायनशास्त्र, गणितशास्त्र, ज्यामितिमा संमिश्रण, जोडघटाउ र नयाँकोणहरुको थपघटले वा योग–वियोगले ...

उखान साझा अनुभवजन्य ज्ञान

img

उखान टुक्कामा मेरो त्यति सारो अनुवभ त छैन । यो मेरो भाषिक ...

पत्रपत्रिका

सबै