‘पार्टीले ठाडो अन्याय गर्दा झोक चलेको छ’ : नेता सहयात्री

| काठमाडाैं

सरल सहयात्री, जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर युद्धमैदानमा बिताए । अनेक उल्झनसँगै आरोह/अवरोहकाबीच उनको संघर्षमय राजनीतिक जीवनयात्रा अघि बढ्यो । २०४८ सालमा सिन्धुपाल्चोकको मानेश्वाँरामा गठित बाल संगठनमा संगठित भएर राजनीतिक जीवन सुरु गरेका उनी २०४९ सालमा तत्कालीन अखिल छैठौंको जिल्ला सदस्य भए । २०५५ सालमा अखिल क्रान्तिकारीमा आवद्ध भएपछि उनी तत्कालीन माओवादीद्वारा सञ्चालित जनयुद्धमा होमिए । २०५७ सालमा जनमुक्ति सेनाको सिपाहीहुँदै उनले राजनैतिक कमिसार र ब्रिगेड कमाण्डरसम्मको जिम्मेवारी कुशलापूर्वक सम्हाले । जनयुद्धका क्रममा भएका विभिन्न दोहोरो भिडन्तमा परी उनी चारपटक गम्भीर घाइते भए । जनयुद्धकै क्रममा उनले आफ्ना दाजु शम्भु पौडेल र बहिनी रिता पौडेललाई गुमाउनुपर्यो । तत्कालीन शाही सेनाले घरमा अन्धाधुन्ध गोलीबारुद बर्साउँदा भाउजू गम्भीर घाइते भइन् । यसरी अतिविषम परिस्थितिका बीच राजनीतिक आन्दोलनमा निरन्तर सक्रिय सरल सहयात्री २०७० सालको संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्बर १बाट संविधानसभा सदस्यको उम्मेदवार भए । तर, उनी त्यतिबेला थोरैमतान्तरले पराजीत हुन पुगे । अहिले उनी जनसांस्कृतिक महासंघ नेपालको अध्यक्षको जिम्मेवारीमा रहेर राजनीतिक भूमिका निर्वाह गरिरहेका छन् । स्पष्टवक्ता र युवामा उर्जा भर्न माहिर उनी अहिले पनि भूगोलको राजनीतिमा उत्तिकै सक्रिय छन् । राजनीतिक परिवर्तनकै लागि आफ्नो निजी जीवन समर्पण गरेर लागिपरेका युवा नेता सरल सहयात्रीसँग सैलुङअनलाइनको लागि विमल नेपालले गरेको संक्षिप्त कुराकानीः

एमाले-माओवादी एकताबारे तपाईं के भन्नुहुन्छ ?

नेपालको सन्दर्भमा यो एकता असाध्य जरुरी थियो । एउटा अवस्था थियो, जतिबेला नेपालमा सामन्तवादको अभेद्य मानिएको किल्लारुपि राजतन्त्र अस्तित्वमा थियो । त्यसले मूलतः राष्ट्रिय पुँजीवादको विकासलाई रोकेको थियो । बहुदलीय व्यवस्थामार्फत् प्रणाली बदलिए पनि राजनैतिक दलहरू राजतन्त्रको एक प्रशासक जस्ता कमजोर सावित भएका थिए । जनताको राजनैतिक चेतनास्तर कमजोर थियो ।

संसारमा समाजवादी व्यवस्था कमजोर अवस्थामा पुग्दै गर्दा कम्युनिष्ट आन्दोलनलाई बचाउने र अगाडि बढाउने सिद्धान्तअनुरुप कमरेड मदन भण्डारीको नेतृत्वमा तत्कालीन नेकपा (एमाले)ले जनताको बहुदलीय जनवादी कार्यक्रम अगाडि ल्यायो । र त्यही परिवेशमा ‘नौलो जनवादको स्थापना गर्न सामन्तवादी सत्तालाई समूल नष्ट नगरी सम्भव छैन’ भन्दै कमरेड प्रचण्डको नेतृत्वमा तत्कालीन नेकपा (माओवादी) ले जनयुद्धको थालनी गर्यो ।

समग्र कम्युनिष्ट आन्दोलनको विश्व अवस्था र नेपालकै परिवेशलाई हेर्दा ती दुवै असम्भव प्रयास जस्ता लाग्थे । आफ्ना सिद्धान्त स्थापित गर्नका निम्ति एकअर्काको कटु आलोचकको रुपमा अगाडि देखा परे पनि आज सावित भएको छ कि ती दुवै पार्टीको उद्देश्य नेपालमा सामन्तवादको अन्त्य गरी समाजवादतिर अगाडि बढ्नु थियो । त्यसकारण दुवै कम्युनिष्ट पार्टीले लिने उद्देश्य अन्ततः एकै हुने सन्दर्भमा एकता अत्यन्त जरुरी थियो । त्यसको लागि दुवै पार्टीका शीर्षस्थ नेताहरुलाई धन्यवाद दिनुपर्छ ।

हिजो कटाक्ष गरेका नेताहरू आज एउटै पार्टीको हुनु भएको छ । कस्तो अनुभूति हुँदोरहेछ ?

म त लामो समय लालसेनाको रुपमा आफ्नो राजनैतिक संघर्ष गुजारेको व्यक्ति हुँ । म मारामारको युद्धमा सहभागी भएँ । सम्भवतः मेरो कारणले मैले चिन्दै नचिनेका तत्कालीन सरकारका सिपाहीहरूको रगत बग्यो होला र उनीहरूले नचिनेको मैले पनि झण्डै आधा दर्जन पटक बमको छर्रा र गोलीका पर्राले छेडिनु पर्यो ।

न मेरो ती सरकारी सिपाहीहरूसँग व्यक्तिगत दुश्मनी थियो न तिनीहरुको मसँग ! हामी देशलाई प्रगतिको मार्गमा अगाडि बढाउन यथास्थितिवादी शासकका विरुद्ध लडेका थियौं र तत्कालीन सरकारलाई त्यो गलत लागेकोले आफ्नो संयन्त्र परिचालन गरेको थियो । शान्ति प्रकृया शुरु भयो । सम्भवतः सरकारका अन्य निकायहरुभन्दा प्रहरी÷सेनाका जुनिएर कमाण्डर र सिपाहीहरुसँग निकै छिटो हाम्रो भावनात्मक सम्बन्ध गाँसिन पुग्यो । किनभने हाम्रो दुःख र भावना एकै खालको थियो, तर मिसन फरक । जब मिसन उस्तै जस्तो हुन पुग्यो हामी छिटो मित्र भयौं ।

एमाले–माओवादीको कटाक्ष भने पनि बहस भने पनि हाम्रो व्यक्तिगत अंशवण्डाको लागि थिएन । तत्कालीन एमालेलाई माओवादीको बाटो ठिक लागेको थिएन होला र माओवादीलाई एमालेको बाटो ठिक लागेको थिएन । आफ्नो सिद्धान्त र उद्देश्यलाई पुष्टि गर्न भएको विवादहरू थिए ती सबै । आज हामी एउटै नदीमा समाहित भइसकेका छौं त त्यो कसरी फरक हुन सक्छ ? अलिक दूरीसम्म दुई नदी मिसिए पनि फरक जस्ता देखिन सक्ला र दुई किनारा समातेर बग्न सक्ला तर अन्ततः एकै नदी बनेर बग्नुमा नदीलाई पनि समस्या हुँदैन । हामीलाई पनि ।

एमाले–माओवादी एकता विचारको नभई सत्ता स्वार्थको कारण मात्रै भएको भनेर टिप्पणी पनि हुने गरेको छ नि !

कतिपय कम्युनिष्ट पार्टीहरू अँझै छन् नेपालमा, जो माक्र्सवादलाई चण्डीपाठ घोकेझैं गरेर घोक्नुमा विचारको सम्मान भएको ठान्छन् । पार्टी, संगठन, राजनैतिक सत्ता यी सारा विषय उनीहरुको कार्यसूचीको असाध्य माइनर विषय हुन पुग्छन् । त्यसको अर्थ आज हामी जहाँ छौं, सम्पूर्ण रुपले माक्र्सवादी मार्गमा अविचलित छौं र हामी नै सच्चा कम्युनिष्ट हौं भन्ने होइन ।

आँशिक सत्य के छ भने आजकै कुरा गर्ने हो भने दुई ठूला कम्युनिष्ट पार्टीहरू आफ्नो राजनैतिक मार्गमा सफल देखिएका हुन् । तर माक्र्सवादले घोषणा गरेका सैद्धान्तिक मार्गमा चाहिँ छन् कि छैनन् भनेर शंका गर्न सकिने धेरै ठूला ठाउँहरूसँगै छ । यद्यपि आज नेकपाको मार्ग उद्देश्यको आधा बाटोमा यात्रारत छ । योपनि स्पष्ट छ कि यात्रा उद्देश्यको दिशातिर नै लम्केको छ । आजै हामी निक्र्योल गरिहाल्न सक्ने अवस्थामा छैनौं कि यो वैज्ञानिक समाजवादको मार्गमा पुग्छ कि पुग्दैन भनेर । हामी सबै मिलेर कोशिस गर्नुपर्छ, यो पार्टीलाई वैज्ञानिक समाजवादको मार्गमा पुर्याउनको लागि । तर चिन्ताजनक विषय सिद्धान्तको छैन । हामीसँग विकास भइरहेको गैरकम्युनिष्ट चरित्रको छ । चिन्तन शैलीको छ ।

नजानिदो पाराले पुँजीवादले शृजना गरेको उपभोक्तावादतिरको यात्राको छ । यो कोणवाट विश्लेषण गर्ने हो भने सिद्धान्तमा कतै गडबडी भैरहेको त छैन ? भनेर गम्भीरर प्रश्न गर्ने ठाउँ छ । किनकि सिद्धान्त र त्यसको सही प्रयोगले नै संस्कारको जन्म हुने हो । यसबाट हामी के निष्कर्षमा पुग्न सक्छौं भने या त हामीसँग सिद्धान्त नै खराब छ र यो अवस्था शृजना भएको हो या हामीले सिद्धान्तलाई कतै खोपीमा लगेर थन्काएका छौं र व्यक्तिका आफ्ना सनकहरुलाई सिद्धान्तको रुपमा मानिरहेका छौं । यद्यपि, हामी नयाँ परिवेशमा आइपुगेको कारण यसलाई सोझ्याएर अगाडि वढ्ने ठाउँ पर्याप्त छन् ।

विचारको मामलामा एमाले र माओवादी दुवै स्खलित हुँदै गएको होइन र ?

संस्कृतिको मामलामा चाहिँ विलकुलै सही हो । विचारको मामलामा आजपनि हामी कमजोर छैनौं । तत्कालीन एमालेले अंगिकार गरेको ‘जनताको बहुदलीय जनवाद’ पनि सामन्तवादलाई परास्त गर्ने नेपालको नयाँ जनवादी कार्यक्रम थियो र तत्कालीन माओवादीले अंगिकार गरेको ‘एक्काइसौं सताब्दीको जनवाद’ पनि कम्युनिष्टहरू कसरी सत्तामा पुगेर बिग्रन सक्छन् ? भन्ने विषयको गम्भीर समीक्षाका साथ थियो । अन्ततः त्यो पनि नयाँ जनवादी कार्यक्रम नै थियो ।

यही मूल सिद्धान्तमा आधारित दुई पार्टी थिए । यो दुवैलाई मिलाएर अहिले ‘जनताको जनवाद’लाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाउने भनेर घोषणा गरिएको छ । यो ठिकै छ । किनभने त्यो दुवै सिद्धान्तमा भएको आजको आवश्यक विषयलाई नयाँ सन्दर्भमा विकसित गरिने भनिएको हो ।

तर यो सन्दर्भमा ‘जनताको जनवाद’ भन्ने शब्दावलीले हाम्रो लक्ष्यलाई पक्रन सक्दैन । हामी समाजवादमा जाने कुरा स्पष्ट छ । यसर्थ जनयुद्धले शृजना गरेका सिद्धान्त र बहुदलीय जनवादले ग्रहण गरेको सिद्धान्त नयाँ जनवादका लागि थियो । अब समाजवादमा जाने भएपछि ‘जनताको जनवाद’ होइन नेपालको सन्दर्भमा ‘जनताको समाजवाद’ चाहिँ नेकपाको मार्गदर्शक सिद्धान्तको रुपमा राख्न जरुरी छ ।

तर सिद्धान्त मात्र भएर केही काम हुनेवाला छैन । सिद्धान्त निर्माण एक जटिल कर्म हो । त्योभन्दा झनै जटिल कर्म कार्यान्वयन हो । आफ्ना सिद्धान्तको सही प्रयोगमा आफैंप्रति निर्मम हुन नसक्नुको परिणाम यी दुवै पार्टी वैचारिक स्खलनको मार्गमा देखिए जस्ता भएका हुन् ।

हिजो लडाइँंको मोर्चा सम्हाल्दाको सपना त यस्तो थिएन होला है ?

इमान्दारितापूर्वक भन्नु पर्दा यस्तो कल्पना चाहिं बिल्कुलै थिएन । म भर्जिन क्रान्तिकारी सोचसहित जनयुद्धमा सहभागि एक इमान्दार सिपाही थिएँ । चीनमा जसरी माओत्सेतुङले राज्यसत्ता कब्जा गर्नुभएको थियो, त्यस्तै तरिकाले नेपालमा कब्जा हुन्छ भन्ने सोचमा म बढी कन्भिन्सड थिएँ । जनयुद्धमा एकखालको क्रान्तिकारी अनुशासन कायम गरिएको थियो । त्यसको प्रयोग हामी राज्यमा गर्छौं÷गराउछौं भन्ने बुझाई थियो । संगठनको मामलामा कुनै स्थानलाई परिपूर्ति गर्न सम्बन्धित क्षेत्रका करिब सबै प्रतिस्पर्र्धीहरुको बारेमा उपल्लो कमिटीले मूल्याङ्कन गर्थ्यो । सो मूल्याङ्कन तल्लो स्तरमा कुनै पनि उपल्लो समितिको सदस्यले लुज टकिङ गर्यो भने ऊमाथि स्पष्टिकरण सोध्ने मात्र होइन, उस्तै पर्दा निलम्वनको व्यवस्था थियो ।

आज सम्झिँदा त्यो एक मान्यता बनाइएको रहेछ । विधिको रुपमा त्यो कहिल्यै आएन । यस्ता खालका संस्कार त्यति बेलासम्म कायम रह्यो, जति बेलासम्म विभिन्न तहका नेताहरू क्रान्तिकारिरहे । यदि विधिको रुपमा व्यवस्थित भएको भए त्यो नेताको लागि समेत कानून हुन्थ्यो । त्यो हुन सकेन । बिडम्वना के छ भने ‘एक्काइसाौं सताब्दीको जनवादबारे’ सिद्धान्तमा संसारका कम्युनिष्टहरू सत्ता प्राप्तिपछि जसरी बिग्रिए भनेर समिक्षा गरिएको थियो, नेपालमा माओवादी नेताहरू पनि त्यही तरिकाले स्खलित भए । राजनैतिक कोणबाट हेर्दा आजको अवस्था जरुरी थियो, अन्य कोणवाट हेर्दा दुःख लाग्छ ।

नेताले जनता र कार्यकर्तालाई धोका दिए जस्तो लाग्दैन ?

धोका त नभनौं । आज जुन खालको राजनैतिक परिवर्तन भएको छ, जनताले यसअघि प्राप्त नगरेको संवैधानिक अधिकार प्राप्त गरेका छन् । त्यसको जग भनेकै जनयुद्धको बल र जनआन्दोलनको तुफान थियो । जनयुद्ध नभएको भए जनआन्दोलन सम्भव थिएन । जनआन्दोलन नभएको भए जनयुद्धले आफ्नो लक्ष्य पूरा गर्थ्यो वा गर्दैन थियो, अनुमानित इतिहासको बहस हो । त्यसकारण धोका भन्ने शब्दको म प्रयोग गर्न चाहन्न । तर समग्र आचरण व्यवहार, विधि, पद्धति, आन्तरिक जनवाद, संगठनात्मक सिद्धान्त तथा प्रयोगको दृष्टिबाट हेर्दा चाहिँ ‘ती नेताहरू झुठ बोल्नेहरू हुन्’ भन्छु । हिजोका लोकप्रिय नेता आजको समग्र चरित्रले तह अनुसारका सामन्तको रुप धारण गरेका छन् । इतिहासमा गरेको लगानीबाट सुदूर भविष्यसम्म व्याजको स्याज खाएर बस्ने काम सामन्त र सुदखोरले मात्र गर्न सक्छ, एक कम्युनिष्टले होइन ।

दुई ठूला पार्टीबीच एकता हुँदा नेता व्यवस्थापन चुनौतीको कुरा थियो होला । तर हिजो आफूभन्दा कम ओहोदामा भएकाहरू माथि पुगेर आफू यथास्थानमा नै बस्नु पर्दा कस्तो अनुभूति हुँदो रहेछ ?

पार्टीमा देखिने सामन्तवादको बढावा र विधि–पद्धतिको स्खलन भनेकै यस्तै सन्दर्भमा अभिव्यक्त हुने त हो । यति ठूला दुई पार्टी एकता हुँदा सबै नेता माथि मात्रै बसेर त सम्भव छैन नै । तर त्यसको निश्चित मापदण्ड र विधि खास कुनै समितिबाट निर्धारण गरेर यो कारणले फलाना माथि गयो, यो कारणले तिलाना तल बस्योभन्दा एकाध बाहेक सबैले मान्नुपर्ने हुन्थ्यो । तर त्यस्तो देखिएन ।

ठाडै अपमान गर्नेगरी कार्य विभाजन हुँदा र व्यक्तिगत रुपले अन्याय हुँदा कसलाई मज्जा लाग्छ र ? आफ्नो समकालीन मित्र माथि गयो भनेर होइन, आफूमाथि अन्याय भयो भनेर ‘झोक’ चल्छ । मैले ‘झोक’ शब्द यसकारण प्रयोग गरेँ कि यसमा संघर्ष मिसिएको छ । हो, मलाई दुःख लागेको छैन तर नराम्ररी झोक चलेको छ । आफूमाथि ठाडा–ठाडो अन्याय हुँदा समेत झोक नचल्ने मान्छेले केही पनि गरिखाँदैन । मेरो व्यक्तिगत हैसियतको लागि मैले सम्हालेको कुनै पनि संगठनको हवाला दिन चाहदिनँ । तर म चुनौती दिएर भन्न चाहन्छु, मेरो समकालीन साथीहरुको तुलनामा कुनै नेताको छोरा, भतिजो, भाइ, भान्जा, ज्वाईं, साला, भेना वा केही नभए पनि उही थरको वा एउटै गाउँको हुनुपर्ने मूल्याङ्कन बाहेक कुनै पनि मूल्याङ्कनधारी व्यक्तिले मेरो सक्रियता, प्रतिवद्धता, प्रतिस्पर्धा वा वैचारिक स्पष्टता र अन्य आवश्यक पर्ने तर्कबाट एक पोइन्ट मात्रै माइनस गर्ने हिम्मत राखोस्, म त्यो व्यक्ति सामू माफि माग्न तयार छु ।

हो, सामन्तवाद भनेको यही हो । हजारौं मान्छेहरुले रगत बगाएर सामन्तवादको अखडारुपी राजतन्त्र अन्त्य गरिएको हो । राजदरबारको प्रेत कम्युनिष्ट पार्टीभित्र प्रवेश गराउनको लागि होइन । समय लाग्ला तर यस्ता खाले सामन्तको प्रेतात्मालाई कसरी तह लगाउने भन्ने उपाय आजका आमयुवाहरुले राम्ररी वुझ्दछन् । निरन्तर संघर्षबिना कुनै उपलब्धी सम्भव छैन । हिलोकै बीचमा फूल्ने हो कमल, पहरा फोरेरै निस्कने हो पिपल ।

अब राजनैतिक यात्रालाई कसरी अघि बढाउने वा कुन भूमिकामा रहेर काम गर्ने सोच्नुभएको छ ?

कुनै पद वा प्रतिष्ठाको कारणले मेरो राजनैतिक यात्रा रोकिने होइन । र मेरो राजनीतिको उद्धेश्य केवल पद मात्र पनि होइन । बिल्कुलै सत्य के हो भने पद यात्राको सारथि भने हुन सक्छ । राम्रो सारथिले यात्रालाई कुशल र सहज बनाइदिन्छ । सारथिबिना युद्ध नै नहुने हो र ? अब त झन् रथबिना पनि रथभन्दा कमजोर नहुने गरी कुद्छु । सारथिबिना पनि विकृति र आन्तरिक सामन्तवाद विरुद्धको युद्ध निरन्तर लड्छु ।

मलाई केन्द्रीय भूमिकामा निगाह नगरिएको हो । मलाई राम्रो भएको छ । म लम्बे अभियानमा निस्किएको अथक सिपाही हुँ । ‘वैशाखी टेकेर मसँग युद्ध गर्छु’ भन्ठान्नेहरुले त्यस्तो कल्पना नगरे हुन्छ । उनीहरुलाई मेरो सुझाव छ कि आफ्नो चारखुट्टे यात्रा जारी राखे हुन्छ । मेरो प्रतिस्पर्धा कुनै वैशाखीवाला सिपाहीसँग छैन ।

मेरो यात्रा, मेरो बेग, मेरो लक्ष्य आज कल्पना गरिएकोभन्दा अँझ अगाडिसम्म छ । नपुगौंला, त्यो भविष्यको कुरा हो । तर म पुग्छु भन्ने आत्मविश्वास बोकेर निस्किएको हुँ । मसिना लौराहरू समाएको थिएँ । त्योपनि फालिदिएको छु । मेरो भूमिका म आफैं तय गरेर अगाडि बढ्छु । कसैले दिएको भूमिका होइन, मैले संघर्ष गरेर लिएको भूमिकामार्फत अगाडि बढ्छु ।

हिजो सर्वहारा वर्गको नेतृत्वको लागि लड्नु भयो । आज आफ्नो समृद्धिको लागि मात्रै ध्यान दिनु भयो भन्ने आरोप छ नि !

आज पनि र भविष्यको कुनै पनि पलसम्म आफूलाई सामान्यभन्दा सामान्य जनताको उज्जवल भविष्यको मार्ग निर्माण गर्ने एक कुल्लीको रुपबाट कमजोर पार्ने छैन । जहाँसम्म आफ्नै मात्र समृद्धिको कुरा छ, कहिलेकाहीं आफ्नो हँसिलो जीवन देखेर आफैंलाई दुःख पनि लाग्छ । यो समाज कस्तो छ भने आफूसँग भएको कपडा सफा गरेर लगाउने, आफ्नो सारा दुःखलाई भित्रभित्रै पचाएर उन्मुक्त हाँसेर हिड्ने र दुःख पर्दा जसोतसो सहयोग गर्नेलाई नै उछितो काड्न मन पराउँदो रहेछ ।

भएको लुगा समेत नधोई लगाउने, रातपरेपछि टन्न जाँड धोक्ने, पर्दा कसैलाई सहयोग नगर्ने र आँशु झार्दै भ्रष्टाचार गर्ने भ्रष्टचारीप्रति सदाशयता देखाउँदो रहेछ । यो मेरो अनुभव हो । बाँकी कुरा बाँच्नको लागि खानु त सबैले पर्छ । चाहे त्यो नेता होस् वा कार्यकर्ता । खानको लागि केही पनि गर्नु हुँदैन भन्ने माग कसैले गरेको हो भने त्यसले साधु नेता होइन, अन्ततः भ्रष्टचारी निर्माण गरिरहेको हो ।

प्रतिकृया दिनुहोस्

‘जुनार र सुन्तला हब बनाउँदैछौं’

img

हरिबहादुर गुर्मछान वडाध्यक्ष, मरिण गाउँपालिका वाडा नं. १, सिन्धुली यसपटक गाउँपालिकाले कृषिलाई जोड ...

‘सामुदायिक विद्यालयमा बालबच्चा पढाउनै पर्ने नियम बनाएका छौं’

img

जगतबहादुर लामा वडाअध्यक्ष, बागमति गाउँपालिका वडा नं. २, मकवानपुर  तपाईंको वडाले सडक पूर्वाधारलाई मात्र ...

‘चरिचरन बन्दले समस्या आउँदैन’ 

img

– विमर्श मोक्तान ‘प्रख्यात’ वडाअध्यक्ष, मरिण गाउँपालिका वडा नं. ३, सिन्धुली तपाईको वडाको कार्ययोजनालाई ...

कृषि पकेट क्षेत्र घोषणाको तयारीमा छौं : जीवन लामा

img

तपाईंको वडामा कति बजेट विनियोजन भएको छ ? यस वडालाई नगरले पचास लाख ...

एकीकृत बस्ती बसाल्ने प्रकृयामा छौं : अध्यक्ष पानीराज बम्जन

img

  मरिण गाउँपालिका, सिन्धुलीका अध्यक्ष पानीराज बम्जनसँगको कुराकानी :- अघिल्लो वर्ष गाउँपालिकाले लक्षित गरेको ...

एक वर्षमा के के गरे सुनापति गाउँपालिकाले ? 

img

निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय तहमा जिम्मेवारी सम्हालेको एक वर्ष नाघिसकेको छ । चुनावमा ...

पत्रपत्रिका

सबै