उठिबास बनाएको त्यो दिन

| रसुवा
तस्विर : फाइल

समय २०७२ बैशाख १२ गते । बिहानैदेखि आकाशमा धुम्म बादल लागेको थियो । पदयात्राको आकर्षक गन्तव्य लाङटाङमा रहेका स्वदेशी तथा विदेशी पर्यटक कोही खानेकुरा खाइरहेका थिए त कोही मनोरम दृश्य अवलोकनमा रमाइरहेका थिए।

त्यही भीडमा लाङटाङका होटल व्यवसायी ४८ वर्षीय पासाङ दिन्डुप स्याङ्बा (तामाङ) होटलमा चार जना विदेशी पर्यटकको सत्कारमा व्यस्त थिए । उनकी श्रीमती भने खेतमा काम गर्न गएकी थिइन्। मध्याह्नको १२ बज्नै लागेको थियो, आकाशमा कालो बादल मडारिएर अँध्यारो छायो। एक्कासि ठूलो आवाजमा हिउँपहिरो खसेर घरहरू पुरिए । घरले होटल व्यवसायी स्याङ्बालाई पनि थिच्यो। गुहार माग्दै चिच्याइरहेका उनलाई केही समयपछि आफन्तले घाइते अवस्थामा उद्धार गरे।

केही समयपछि होश खुलेर यताउता हेर्दा कतै शवहरू देखे त कतै घाइतेहरुको छटपटी। त्यसपछि उनी अचेत भए। ‘फिल्ममा जस्तो क्षणभरमै गाउँ ध्वस्त भएको देखेको थिएँ, त्यसपछि के भयो केही थाहा भएन’, स्याङ्बा भन्छन् । हेलिकोप्टरबाट नुवाकोटको त्रिशूली लगिएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं लगियो। २ महिना अस्पताल बसेर आफू बाँचेँ भन्ने थाहा भएपछि बल्ल उनले श्रीमतीको बारेमा सोधखोज गरे।

प्रकृतिको त्यो विपद्‌मा उनकी श्रीमती हिमपहिरोमा पुरिएर बिलाइसकेकी थिइन्। आजसम्म श्रीमतीको शवको पत्तो लाग्न नसक्दा भूकम्पले दिएको पीडा उनीभित्र खिल जसरी गाडीएको छ।

उनी भक्कानिन्छन्, ‘उनको लाश मात्र भेट्न पाए’नि छातीमा टाँस्थेँ जस्तो लाग्छ।’ भूकम्प गएको डेढ वर्षपछि मात्र आफ्नो गाउँ फर्केका स्याङ्बाको सहारा भन्नु अब दुई छोराछोरी छन्। छोरा १६ वर्षका छन् भने छोरी १४ वर्षकी। राहतमा आएको भन्दै आफन्तले लगिदिएका जस्तापाताबाट उनले लाङटाङमा एक कोठाको घर बनाएका छन्।

लाङटाङका अन्य बासिन्दाको व्यथा पनि स्याङ्बाकोभन्दा कम छैन। घर त कसैको बाँकिरहेन नै, परिवारको सदस्य गुमाउँदा भूकम्पले धेरैलाई जीवनभरिको घाउ थपिदियो। तर, उनीहरू त्यो घाउलाई समयसँगै बिर्सँदै जीवनमा अगाडि बढिरहेका छन्।

तीन वर्षअघि वैशाख १२ गते र त्यसपछि पनि लगातार आएको भूकम्पका कारण लाङटाङ गाउँ मानव बस्तीविहीन हुन पुगेको थियो। दुई सयभन्दा बढीले भूकम्पमा ज्यान गुमाए भने कैयौं व्यक्ति अझै पनि बेपत्ता छन्। भूकम्पले लाङटाङ जाने पर्यटकीय पदमार्ग समेत थिलथिलो पारेको थियो। विभिन्न संघसंस्था तथा स्थानीयको सहयोगमा थिलथिलो पारेको लाङटाङ जाने घोडेटो तथा गोरेटो बाटो निर्माण गरिएसँगै सहज भएको छ।

भूकम्पपछि बगरमा परिणत भएको लाङटाङ बिस्तारै तंग्रिँदै गएको छ। भूकम्पको घाउ बिर्सने प्रयास गर्दै आफूहरू पुनर्निर्माणमा लागेको लाङटाङका डेरुप तामाङले बताए। ‘घरबास नै उठिबास बनाएको भूकम्पको गहिरो घाउ अझै पनि बिर्सन त सकेका छैनौं, तैपनि लाङटाङको सौन्दर्य अहिले पहिले जस्तै देखिन थालेको छ, त्यसैले भूकम्पलाई बिर्सने प्रयास गर्दै अगाडि बढेका छौं’, उनले भने।

शहरी तथा भवन निर्माण डिभिजन कार्यालय रसुवाका अनुसार लाङटाङमा ९१ जनाले पहिलो किस्ता बापतको रकम लिइसकेका छन्। त्यस्तै, ८७ जनाले दोस्रो किस्ता बापतको रकम लिएका छन् भने १५ जनाले तेस्रो किस्ता लिएको जनाइएको छ। लाङटाङमा भूकम्पपछि संघसस्थाको सहयोगमा १ सय १६ घरधुरीमध्ये ४० घरधुरीले निजी आवास निर्माण गरिसकेको गोसाइँकुण्ड गाउँपालिका ४ का वडाध्यक्ष सुब्बा लामाले बताए।

‘निर्माण भएका ४० घरधुरीमा पर्यटकका लागि सहजरुपमा बस्न होटल व्यवसाय सञ्चालन भइरहेको छ’, उनले भने, ‘बिस्तारै हाम्रो गाउँ पहिलेको अवस्थामा फर्कँदै गएको छ ।’ लाङटाङमा पूर्ववत् बस्ती बढेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन पनि बढेको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार, लाङटाङमा मानव बस्ती बस्न थालेर होटल तथा लजको व्यवस्थापन हुन थालेसँगै पर्यटकको आगमन बढेको हो ।

प्रतिकृया दिनुहोस्

तरकारी खेतीबाट धनकुटाका लाक्पाको मनग्य आम्दानी

img

धनकुटाको छथर जोरपाटि गाउँपालिका वडा नम्वर १ फलैचाका लाक्पाछेति शेर्पा कुनै समयमा ...

पर्यटन विकासमा पासो बन्दै कच्ची सडक

img

विश्वको पाँचौं अग्लो मकालु हिमालदेखि विश्वकै सबैभन्दा होचो अरुण उपत्यका, सभापोखरी, पाँचपोखरी, ...

सोझा अति माझी जाति

नेपाल जनजातिको दृष्टिकोणले अन्य राष्ट्रको तुलनामा धनी रहेको छ । परम्परादेखि आफ्नै रीतिरिवाज, संस्कृति र संस्कारहरूको अनुसरण गर्दै आ–आफ्नो जातित्वको पहिचान गरी राष्ट्रलाई नै सिंगारिएको छ । नेपालमा रहेको अनेकन ...

एक पटक जीवनमा पुग्ने पर्ने गोसाईकुण्ड

img

समुद्र मन्थन गर्दा निस्केको कालकुट विष व्यवस्थापन गरी भगवान शंकर गोसाईकुण्डमा विराजमान ...

घले राजा र धुञ्चे गाउँ

img

रसुवा धुन्चे गाउँको पुरानो नाम दुङल्हाङ हो । दुङल्हाङको अर्थ शङख ठड्याउने ...

राज्यले दिने ३ लाख पाउँने कुरा नितालाई, कागलाई वेल पाक्यो हर्ष न विष्मत !

img

दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दु खनियाँचौरकी निता घिमिरेको २०७२ सालमा ...

पत्रपत्रिका

सबै