विदेशिनु रहर होइन

नेपाली युवायुवतीहरु अहिले हजारौंको संख्यामा दैनिक रुपमा विदेश पलायत भईरहेका छन् । रसुवा जिल्ला पनि यसबाट अछुतो छैन । युवायुवतीहरु वैदेशिक रोजगारमा जानु उनीहरुको रहर होइन । यो उनीहरुका लागि बाध्यता हो । अधिकाशं युवायुवतीहरु स्थानीयस्तरमा रोजगारको अवसर नहुँदा नगद आम्दानीका लागि विदेशिएका हुन् । 

विदेशिने क्रम २०४६ सालपछि शुरुवात भएको पाइन्छ । शुरुका दिनमा राम्चेका लालबहादुर तामाङ जापान गएको थियो । उनी पछि सानो भार्खुका फुर्पु पासाङ तमाङ, धुन्चेका विजय लामा, गोल्जोङका दावा गोम्बो तमाङ आदि दक्षिण कोरिया गएका थिए । त्यसपछि धुन्चेकै दावा लोप्साङ तमाङ सिंगापुर गएका थिए । फुर्पु पासाङ तमाङ दक्षिण कोरियाबाट फर्केर आएपछि उनले आफ्नो श्रीमती छेटेन तमाङलाई पनि ताइवान लिएर गए । 

२०५५/०५६ सालसम्म आइपुग्दा मलेसिया, साउदीअरब आदि देशमा पनि जाने क्रम शुरु भयो । माओवादी सशस्त्र विद्रोहलाई दबाउन राज्यबाट संकटकाल लागू गरेपछि माओवादी पक्षले माओवादी सेनामा लैजान खोज्ने र राज्यले माओवादी लडाकू हुन् कि ? भनी शंकालु दृष्टिकोणले हेर्न थालेपछि यी दुवै पक्षको चपेटामा बेरोजगार भएर बस्नु भन्दा वैदेशिक रोजगारमा जानु नै धेरैले सुरक्षित ठाने । २०६० सालपछि युवतीहरुका लागि इजराइल, कुवेत, ओमान, लेबनान र साइप्रस आदि मुलुक मूख्य गन्तव्य हुन पुग्यो । पछिल्लो समयमा महिला र पुरुष दुबैका लागि दुवई, साउदीअरब, मलेसिया, कतार, कुवेतका साथै श्रम स्वीकृति नभएका इराक, कुर्गिस्तान, जोर्डन आदि मुलुकमा पनि दलालहरुले छद्म बाटो प्रयोग गरेर पठाउन थाले । करिव ५० हजार जनसंख्या भएको रसुवा जिल्लाका १० मध्ये ८ घरधुरीबाट वैदेशिक रोजगारमा गएको अनुमान लगाउन सकिन्छ । 

परामर्शको अभाव र दलालहरुको चतुर्याईं

अहिले सबैको दैनिकीलाई नगद कारोबारको बजारले गाँजेको छ । नगद बिना कुनै पनि आधारभूत आवश्यकताका सामान वा वस्तु प्राप्त गर्न सक्दैनन् । वस्तु विनिमयको प्रचलन पूर्ण रुपले अन्त्य भएको छ । अतः नगद आम्दानीकै लागि पनि पुख्र्यौली पेसाहरु छाडेर नयाँ पेसा–व्यावसाय शुरु गर्नु परिरहेको छ । यसको लागि सबैभन्दा सजिलो विकल्पको रुपमा वैदेशिक रोजगार हुन पुगेका छन् । दक्ष, अर्धदक्ष, अदक्ष वा पढ्दै नपढेका व्यक्तिलाई पनि दलाल मार्फत् वैदेशिक रोजगारमा जान सजिलो भएका छन् । जानेलाई विदेश जान पाए हुन्छ भन्ने भएको छ भने दलालहरुलाई नपढेका सोझा सिधालाई चोरबाटोबाट भए पनि विदेश पठाउन पाए कमिसन मनाग्ये पाउने भएकाले यो व्यावसाय निकै फस्टाउन गएका छन् । कुन देशमा श्रम स्वीकृत छ छैन र जान मिल्छ मिल्दैन भनेर भरपर्दो निकाय वा जान्ने व्यक्तिसँग जानु अघि परामर्श गरिँदैन । दलालहरुले कतिलाई नागरिकता प्रमाणपत्र र राहदानी समेत नक्कली बनाएर चोरबाटोबाट विदेश पठाउँदा उता त पुगे तर पुगिसकेपछि उतै र फर्किनु पर्दा विमानस्थलबाटै अध्यागमनले पक्राउ परेका कैयन उदाहरणहरु छन् । पर्याप्त जानकारी, सम्बन्धित कामको तालिम, कम्पनीको सेवा सुविधा बारे वैदेशिक रोजगारमा जानेले पूर्व जानकारी नपाउँदा विदेश पुगेपछि अलपत्र हुनेहरु पनि छन् । गाउँबाट बटुलेर लैजाने सानो दलाला (गल्लावाल)ले केही रकम कमिसन बापत बुझ्ने गर्छन् र काठमाडौंमा पुगेपछि ठूलो दलाल–म्यानपावर कम्पनीहरुलाई बुझाइदिन्छन् । विदेश पुगेर समस्या आए पछि गाउँघरबाट बटुलेर काठमाडौंसम्म पुर्याउने सानो दलालहरु कहिलेकाँही समातिन्छन् तर म्यानपावर कम्पनीका ठूला एवं वास्तविक दलाल भने कानूनी कारबाहीबाट समेत बच्ने गरेको उदाहरणहरु पनि छन् । दलालहरुको यस्तो चतुर्याईंको शिकारमा गाउँघरका सोझा, अनपढ र बेरोजगार युवायुवतीहरु पर्दै आएका छन् । यद्यपि यो समस्याको समाधान गर्ने तर्फ राज्यको पहलकदमी सन्तोषजनक छैन । 

घर परिवार सुखी बनाउने सपना तुहिन्छन्

गाउँघरमा आम्दानीका स्रोत नहुनु र जागिर खाउँ भने पढेका हुँदैनन् । कुनै उद्योग स्थापना गरौं पूँजीको अभाव, झन्झटिलो कानूनी व्यवस्था, व्यासाय सञ्चालन सम्बन्धी ज्ञानको कमी भएकाले वैदेशिक रोजगार नै सजिलो विकल्प ठानेका छन् । विश्वव्यापीकरणको आक्रमक चपेटामा ग्रामीण क्षेत्र समेत पर्दै जानुले सामान्य जीवन गुजाराका लागि पनि निकै कठीनका दिनहरु देखा पर्दै गएका छन् । यस्तो प्रभाव शिक्षा, स्वास्थ्य, खाद्यन्न, लत्ताकपडा, संचार, यातायात सबैमा देख्न सकिन्छ । यसखाले समस्यासँग जुझ्न नगद आम्दानीको विकल्प छैन । आफ्ना सन्तानलाई राम्रो विद्यालयमा पढाउने सपना, मिठो खाने, राम्रो लाउने, राम्रो घरमा बस्ने, सुन्दर जिवन बिताउने सपनासंगै वैदेशिक रोजगारमा जाने गर्छन् । तर, यो सपनाको यात्रा बुनेदेखि नै उनीहरु प्रत्येक पाइलामा ठक्कर खाँदै विदेशसम्म पुग्छन् । विदेशमा सही ढंगले सानो दलाल र ठूलो दलाला (म्यान पावर कम्पनी) ले पठाइदियो भने त्यो सुन्दर सपना केही पूरा हुने गर्छन् । गलत तरिकाले पठाइदिए विदेशमा पुगेर निकै कष्ट पाउँछन् । कतिले त्यहीं मृत्यूवरण गरेका छन् । अनि विदेश गएर धन कमाएर घरपरिवार सुखी बनाउने सुन्दर सपना तुहिन्छन् । यो महिना चिलिमे गाउँकोे सरिता तामाङको वैदेशिक रोजगारका लागि विदेशमा मृत्यु भएको अत्यन्तै दुःखदायी खबर आएको थियो । केही वर्ष अघि धुन्चेकी एक महिला पनि विदेशमै मृत्यु भइन् । सानो भार्खुको कामी तामाङ, धुन्चे नागुङको सोनाम तामाङहरु धन बोकेर होइन बरु उनीहरुको लाश बाकसमा बन्द गरेर घरसम्म ल्याए । अरुहरु पनि धेरै छन् जो वैदेशिक रोजगारमा जाँदा मृत्युको मुखमा पुगे । घरेलु कामदारको लागि अरब देशमा पुगेका महिलाहरुलाई घरमालिक र उनका नातेदार पुरुषहरुले यौन शोषण गरेको, गर्भवती बनाइदिएको र शारीरिक तथा मानसिक यातना दिएको खबरहरु पनि बेलाबेलामा सुन्ने गरिन्छ ।  

वैदेशिक रोजगारले ल्याएका केही सकारात्मक परिवर्तन

वैदेशिक रोजगारले सुखी जीवन बिताउने सपनाहरु तुहाइदिएका मात्र छैनन् । वैदेशिक रोजगारले केही सकारात्मक परिवर्तनहरु पनि गरेको पाइन्छ । वैदेशिक रोजगारमा जाँदा विदेशमा दुःख नपाएकाहरुले पैसा पठाउँदा देशको अर्थतन्त्र धानेको छ । यता घर खर्च टार्न सजिलो भएका छन् । सन्तानलाई गच्छे अनुसार बोर्डिङ र सरकारी विद्यालयमा पढाउन सकेका छन् । रोग लाग्दा काठमाडौंको अस्पतालमा लगेर उपचार गर्न सकेका छन् । चाडबाड र अन्य बेलामा हुने खर्चको लागि साहूसँग चर्को ब्याजमा ऋण लिनु परेको छैन । राम्रो लाउने र मिठो खाना खान सहज भएका छन् । विदेशबाट फर्केर आएपछि नयाँ घर बनाउने र घर बनाउन नसक्नेहरुले पनि घरभित्र र आँगनहरु सफा सुग्घरमा बढी ध्यान दिएका छन् । व्यक्ति र परिवारको आत्मसम्मान बढेको छ । हिजोको दिनमा गरीब भएकाले आफैंले कमजोर ठानेकाहरु पनि बलिया भएको अनुभूति गर्छन् । 

नकारात्मक प्रभाव/असर र परिणाम 

वैदेशिक रोजगारले गर्दा लोग्नस्वास्नीको सम्बन्ध चिसिएर अन्ततः सम्बन्ध विच्छेद हुने घटनाहरु बढेका छन् । लामो समय स्वास्नी विदेश हुँदा लोग्नेले अर्की स्वास्नी ल्याउने र लोग्ने विदेश हुँदा अर्को पुरुषसँग शारिरीक सम्पर्क गर्ने तथा भागेर जाने घटनाहरु पनि भएका देखिन्छन् । कुनैकुनैको बहुविवाहमा उजुरी पर्ने गरेको र कुनै स्वास्नीले परपुरुषसँगको मोजमस्तीमा लोग्नेले विदेशबाट पठाएको पैसा सिध्याइदिएको घटनाहरु पनि घटेका छन् । गाउँघरमा पाल्ने साखिने कुखुरा पाल्न छोडेर ब्रोइलर कुखुराको मासु किनेर खाने, कोदो, मकै, जौको रक्सी खान छोडेर बियर, ह्विस्की, रम खान थालेका छन् । खेतीपाती गरेर अन्नबाली, तरकारी, सागसब्जी रोप्ने, पशुपालन गर्न छोडेर बजारबाट खाद्यन्न, तरकारी र मासु किनेर खाने संस्कृति विकास हुँदै गएका छन् । 

अब के गर्नु पला ? 

विधिशास्त्रको न्याय सम्बन्धी एक सिद्दान्तले भन्छ– ‘राज्य भनेको रातिको समयमा वाचम्यान जस्तै हो । राज्यले आफ्नो नागरिकको शान्ति र सुरक्षा गर्न सक्दैन भने उसले नागरिकबाट कर पनि उठाउन मिल्दैन ।’ वैदेशिक रोजगारको उत्तम विकल्प दिन नसकेसम्म यो पेशालाई बन्द गर्न पनि मिल्दैन । वैदेशिक रोजगारमा जाने सर्वसाधारण नागरिकको जीउ, धन, पेशालाई कसरी सुरक्षित, मर्यादित र दलालको चंगुलबाट मुक्त गराउने ? भन्नेमा केन्द्रित भई केन्द्रदेखि स्थानीयस्तरसम्म पर्याप्त जानकारी र परामर्शको व्यवस्था हुनुपर्छ । वैदेशिक रोजगारका लागि जानु पूर्व सम्बन्धित विषयका विज्ञहरुबाट परामर्श दिने व्यवस्थालाई संस्थागत रुपमै विकास गरी व्यापक जनचेतनाको कार्यक्रम संचालन गर्नुपर्छ । जुन देशमा जाने हो, त्यो देशको कानून, भाषा, सीप तालिम र हावापानी/मौसम बारे अनिवार्य परामर्श दिनुपर्छ । यसो हुन सक्यो भने श्रमस्वीकृत नभएका मुलुकमा चोरबाटोबाट जाने क्रम बन्द भई विदेशी भूमिमा जेल जिवन बिताउनु नपर्ने, दुःख, कष्ट नपाउने र अकालमा मृत्यूवरण गर्नु नपर्ने हुन सक्छ । 
phurpatamang10@gmail.com

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै