कहिलेसम्म बोकिरहने लच्याङवासीहरुले भैरवीको रथ ? 

मल्लाकालीन परम्पराको रुपमा रहेको नुवाकोटको भैरवी रथयात्रामा गत वर्ष झै यो वर्ष पनि लच्याङबासीले रथ नबोक्ने अडान लिए । जिल्लाका बडाहाकिम, फौजका कमाण्ड र नगर प्रमुख सबैले बातचित गरे । रथ बोक्न अनुरोध गर्ने भन्दै झिकाइए लच्याङका गाउँले प्रमुख इमानसिंह तामाङलाई । इमानसिंहले भने– ‘हामी बौद्धमार्गी हौं, हिन्दूको रथ हामी बोक्दैनौं ।’ सबैले सम्झाउने प्रयास गरे । इमानसिंहले रथ नबोक्ने अडान छाडेनन् ।

सोझा र बलिया तामाङहरुले रथ नबोक्ने भएपछि छाति र उचाई नापेर सेनामा भर्ति भएका जवानहरुलाई रथ बोकाउने सहमति भयो । सिन्दूरे जात्राको रथयात्रा नेपाली सेनाले जिम्मा लियो । रथ यात्राका लागि श्रीनाथ गण देवीघाटले पाँच दर्जन जवान तयार पारे । 

रोचक त के छ भने छिमेकी देशका सेना संसार जित्न पानी मुनि शहर बनाउँदै छन् । संसार जोड्न समुन्द्रमा पुल हाल्दैछन् । युरेनियम अनि हाइड्रोजनदेखि जैविक हतियारसम्म विकास गर्दै दुनियाका सेना प्रविधी र हतियारबाट देश र जनतालाई बचाउन तल्लिन छन् । हाम्रा सेना मन्दिर धाउँछन् । अनि ठालुहरुको चाकडी त गर्ने नै परिगयो । जे होस् सेना अड्को पड्को तेलको धुप भएर सेना निस्किए । 

यता लच्याङवासीले छाडे पनि सिन्दुरे जात्रा हुने भयो । रथ यात्रा नरोकिने भयो । सोझा तामाङहरुलाई सदीयौंदेखि दमन र उत्पीडनमा राख्दै आएका तालुकदारहरुको भने निद हराम भयो । उनीहरु जसरी हुन्छ तामाङहरुलाई रथ बोकाउने दाउपेचमा थिए । लच्याङवासी सोझा तामाङहरु पनि दुई भागमा विभाजित थिए । जजस्ले दासत्व र उत्पीडनलाई बुझेका छन् उनीहरु रथ नबोक्ने कित्तामा उभिए भने नबुझेकाहरु विपरित कित्तामा । ठालुहरुको दासत्व र उत्पीडन नबुझेकाहरु रथ बोके वापत कमाउँदै आएका खेत खोसिन्छन् भनेर डरए । पाँचमुरी धानको बीउ लाग्ने खेत खोसिएला कि भन्ने चिन्तामा रहेका तामाङहरु बीच भैरवी रिसाइन भने त उल्कै विपत्ती आइलाग्ने डर भुसको आगो झै भित्रभित्रै सल्काइदिए तालुकदारहरुले । कमाउँदै आएका खेत खोस्लान भनेर डराइरहेका तामाङहरु पुनः रथ बोक्न तयार भए । 

हरेक चैतशुक्ल पूर्णिमाको अवसरमा विदुर नगरपालिका ५ देवीघाट स्थित जालपादेवी मन्दिरसम्म भैरवी रथयात्रा गराइने गरिएको छ । भैरवीदेवीको भगवानसहितको रथयात्रा परम्परादेखि नै सूर्यगढी गाँउपालिका १ लच्याङका तामाङहरुबाट हुँदै आएको थियो । सो वापत भैरवी गुठीको जग्गा साविक लच्याङ गाविस वडा नं. २ र ९ बाहेक सबै वडाका तामाङहरुले कमाउँदै आएका थिए । नुवाकोट भौरवी गुठीको जग्गा मोहीको रुपमा कमाउने टाठाबाठाहरु धेरैले जग्गा आफ्नो नाममा रैकर गरे । लालपुर्जा बनाए । सो कुरा बुझेपछि लच्याङवासी तामाङहरुले उक्त जग्गा रैकरको माग गर्दै गत वर्षदेखि रथ बोक्न इन्कार गर्न थालेका हुन् । गतवर्ष अन्तिम समयमा रथ बोक्न नमानेपछि रथलाई गाडीमा यात्रा गराइएको थियो । 

यो जात्रा मल्लकालीन समयदेखि चल्दै आए पनि वि.सं. १८०१ मा नुवाकोटमाथि पृथ्वीनारायण शाहले विजयी गरेपश्चात व्यबस्थित रुपमा मनाउन थालिएको पाइन्छ । भैरवी जात्राको बारेमा यकिन तथ्यहरु आफ्नै ठाउँमा होलान् । तर, जालपा–भैरवी सम्बन्ध र नुवाकोटको कैयन तथ्यहरु रहस्यम नै छन् । मध्यकालको एक महत्वपूर्ण नाका नुवाकोटमा अधिपत्य जमाउन र जनतालाई धर्मका नाममा शासन लाद्न ठालुहरुले चलाएको एक परम्पराबारे केही किस्सा यस्तो छ– परापूर्वकालमा देवीघाटमा जाल खेल्ने दनुवार राईको जालमा परेको पर्यौ गर्ने ढुङ्गालाई राईले देवताको रुपमा स्थापना गरेर पूजापाठ गर्दै बलि दिन आरम्भ गरेछन् । उतिबेला समय समयमा उपत्यकाबाट एकजना छासीराम नाम गरेका ज्यापु खुसार्नी बेच्दै त्यहाँ पुगेछन् । उनी सुस्ताउदै मस्त निन्द्रामा रहेका बेला जालपामा बलि दिएको बोकाको रगतको सिर्को उछिटीएर ज्यापुको मुखमा परेछ । त्यसपछि हल्लाखल्ला गर्दै उनलाई नुवाकोट लगिएछ र उनैलाई पूजारी बनाएर राखेछन् ।
जात्राको रोचक पक्ष अर्को पनि छ– धामीको श्रीमतीलाई हिजोका राजा र आजका द्वारेले सिन्दुर हाल्छन् । त्यो नै सिन्दुरेजात्राको उत्सब हुन्छ । कुनै महिलालाई सिन्दुर हाल्नु भनेको आफनो बनाउनु हो । यो हिन्दू धर्मशास्त्रमा आधारीत धारणा हो । कतै हिजो नेवारभित्रका तल्लो जात मानिने ज्यापु समुदायको पुजारीको श्रीमतीलाई सिन्दुर हाल्ने परम्परा महाराजको उपद्रो छोप्ने काइदा पो हो कि ? इतिहासकारहरु नै जानुन् । 

मध्यकालीन नुवाकोटमा गोले राजाको राजकाज रहेको भनिने लच्याङ राज्यका तामाङ, नुवाकोटका ठकुरी, मालाकोटका राई, कुमाल, भैरवी र जालपादेवीको राजनीतिक खेल के हो ? सत्य तथ्य इतिहासलाई उधिनेर आउला कुनै दिन । गत वर्ष लच्याङवासीले इतिहासदेखि बोक्दै आएको भैरवीरथको भारी आजपर्यन्त नबोक्ने भनि बिद्रोहको उद्घोष गरे । युगौंदेखिको दासत्वले थिचिएका लच्याङीहरुले शिर ठाडो पारेर बाबुसाबका अगाडी रथ बोक्दैनौ भन्ने साहस गरे । तर, त्यही खोरीया खोसीने र भैरवी रिसाई भने विपद आईलाग्ने त्रास देखाएर आजादीका स्वरहरु मत्थर बनाए । उनीहरुलाई फेरी रथ काँध हाल्न विवश बनाए । 

२१ औं शताब्दीको विज्ञान र प्रविधीयुक्त दुनियामा अझ गणनन्त्रात्मक नेपालमा धार्मिक तथा सांस्कृतिक दासत्वभित्र कुनै एउटा जाति समुदायलाई राखि राख्नु अमिल्दो कुरा हो । दासत्व विरुद्ध लच्याङवासीले विद्रोह गरे । इतिहासमा पहिलो पटक उनीहरुले जिते । तर, पुनः फेरी पनि हारेको छ उनीहरु । गोले राज्य हारको ऐतिहासिक किम्वदन्तीलाई छोपेर आज सुर्यगढीमा आजादीको झण्डा फरफराएको छ । तर, सँगै अलौकिक विपत्ती र जीवन जिउने आधार कमाइ आएको खेत खोसिने त्रासको हुरीले आजादीको झण्डा उडाउला कि जस्तो छ । यो तितो तथ्य हो । रथ त युगैंदेखि बोकेकै हो भैरवीको लच्याङवासीले । तर, त्यो रथ छुटाउने सपना देखाउँदैं धेरैले धेरै रथ नबोकाएको कहाँ होर लच्याङबासीलाई । 

प्रजातान्त्रिक समाजवादको रथमा चढेर दलाल पूँजीवालाहरुका नायक कथित उत्कृष्ट अर्थमन्त्री कहलाइने गरी डा. रामशरणका रथ पनि उठाएरै ल्याएका हुन् लच्याङवासीले । तर, लच्याङको आजादी पनएन, नुवाकोटको आजादी भएन । हिजो जनयुद्धताका गाउँका भित्ताहरुमा लेखिएका क्रान्तिकारी भूमिसुधारको नाराहरु सँगै बोकाइएको ताम्सालिङको रथ बोक्दा बगेका रगत र पसिनाको पनि मूल्याङ्कन भएन । भूकम्पले एकसरो ओत छाप्रो पनि पछारेपछि बल्ल झस्कियो र विउँझियो लच्याङ । अनि भन्यो रथ हामी बोक्दैनौं । हुन पनि हो भैरवी गुठीका मोहीहरु सबैले रथ बोक्दैनन् । कसैले अक्षता चढाए पुग्छ, कसैले भुजा चामल दिए हुन्छ र कसैले राँगा, बोका, परेवा चढाए पुग्छ । तर, लच्याङी तामाङले भने रथ नै काध हाल्नु पर्ने । 

स्थानीय निर्वाचन अघि चुनावी घोषणापत्र मार्फत् राजनीतिक पार्टीहरुले जमीन जोत्नेका हुन्छ भनेर सपनाहरु बाँडेका थिए । खै त ती सपनाहरु कहाँ गए ? कहानिर छ गाउँको सिहदरबारमा हाम्रो भूमि अधिकार ? अब लच्याङवासीहरुले गाउँले प्रमुख सन्तमान तामाङलाई सोध्नु पर्ने बेला आएको छ– खै त हाम्रो सांस्कृतिक अधिकार ?

लच्याङवासी तपाईहरुले बोकेको ताम्सालीङ रथका सारथी हितबहादुर तामाङलाई सोध्ने बेला आएको छ– हामीले मागेको भूमि अधिकार हो । हाम्रो काँध चढेर निर्वाचित भयौ । अब किन पन्छिन खोज्छौ कामरेड भनेर ? यो आजादी स्वर हो युगौंदेखिको दासत्व विरुद्धको । मुर्ति देखाएर दास बनाउने मान्छेहरु विरुद्धको । किन दिन सक्दैनै हाम्रा आजादीका लालपुर्जाहरु हामीलाई ?

गाईको मायाले मशाल बाल्नेहरुले भैरवीको रथ काध हाल्ने जिम्मा सेनालाई दिए । क्या चलाख कोटेहरु । हिजो लच्याङवासीको तिघ्रा ठूलो देखे र आज ब्यारेकाका फौजहरुको । खै त परम्परा र संस्कृतिको वैज्ञानिक व्यवस्थापन ? गाईको कथा हाल्दै दुनिया हल्लाउने र जुधाउने राधिका तामाङलाई सोध्ने बेला भएको छ– हाम्रो पसिनाको हिसाब किताब कसले गर्छ ? युगौंदेखिको यो विभेदबाट मुक्ति हुन्छ कसरी ? हामीलाई गाईको मासुको प्यास हैन लालपुर्जा आश छ । के दिलाउन सक्छै त हामीलाई ? भैरवीको रथजात्रा धमीनीलाई सिन्दुर हालेपछि बिसर्जन हुन्छ । तर, हाम्रो यो दासताको विर्सजन कहिले हुन्छ ?

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै