एक पर्यटन पथप्रदर्शकको सम्झनामा

| रसुवा

को हुनु उलि प्रेलइबेल ? 

उलि फ्रेइबेल, जर्मन नागरिक हुन् । उनी जर्मनको हाम भन्ने शहर निवासी हुन् । उनी त्यहींको माध्यमिक विद्यालयका शिक्षक हुन् । विद्यालयमा विदा हुने समयमा उनी अष्ट्रिया, भारत, भुटान, तिब्बत र नेपालका विभिन्न पर्यटकीय स्थलहरुमा घुम्न पुग्छन् । उनी अन्तराष्ट्रिय पथप्रदर्शकको ग्रुप लिडर पनि हुन् । त्यसकारण उनी जर्मन पर्यटकहरु ल्याएर आउने गर्छन् । उनी जर्मन फ्रेन्डस् अफ् नेचर नामक संस्थाका सदस्य पनि हुन् । सोही संस्थाको तर्फबाट उनी उल्लेखित देशहरुमा आफ्नो समूहका सदस्यहरुलाई वर्षेनी घुमाउने काम गर्दछन् । यसकारण उनलाई उपरोक्त देशका पर्यटकीय स्थल, धार्मिक, सांस्कृतिक र मौसम बारे राम्रो जानकारी भएका व्यक्ति हुन् । नेपालको पर्यटन विकासको सम्बन्धमा उनलाई धेरै जानकारी छ । उनले नेपालका प्रसिद्ध पर्यटकीय क्षेत्रहरु र अन्य नयाँ गन्तव्यहरुमा समेत यात्रा गरिसकेका छन् । आफ्नो जन्म पूर्वी जर्मनमा भए तापनि पछि पश्चिम जर्मनमा बसाई सरेका उलिलाई बौद्धधर्म असाध्यै मन पर्छ । त्यसो भएकोले उनी जहिल्यै बौद्धधर्म र संस्कृतिलाई धार्मिक सांस्कृतिक पर्यटन र पर्यापर्यटन विकाससँग जोड्न चाहन्छन् । उनीसँगको सम्बन्धकै कारण मैले पर्यटन क्षेत्रको बारेमा जान्ने अवसर पाएको हुँ । मेरो खासमा यो विषयको गुरु नै उहाँ हुनुहुन्छ । 

उलि प्रेलइबेलसँग मेरो भेट

उनीसँग मेरो पहिलो भेट सन् १९९४ मा भएको हो । संजोगले मेरी कान्छी दिदी किप्पा याङजेन सन् १९९० मा जर्मन पुग्नुभयो । मेरी दिदी र उलिको बसाईं नजिकै पर्ने रहेछ । दिदीले त्यहाँको स्थानीय टेलिभिजन र स्थानीय कार्यक्रमहरुमा नेपाली सांस्कृतिक कार्यक्रमहरु देखाउने गर्नुहुन्थ्यो । सोही अवसरमा उहाँहरुको चिनजान भएछ । नेपाल आउँदा उलि हामीलाई भेट्न हाम्रै घरैमा आए । त्यसपछि उलि र मेरो भेट हरेक वर्ष उनी नेपाल आउँदा हुन थाल्यो । सन् १९९९ मा म जर्मन जाँदा मलाई पाहुनाको रुपमा उनको घरमा पनि पुग्ने अवसर जुर्यो । उनको घरको भित्ताभरि आफूले घुमेका देशका तस्विरहरु थिए । नेपालबाट लगेको चियाबाट स्वागत गर्नुभयो । हजमोला क्यान्डी दिँदै अब हाम्रो मित्रता झन् पक्का भयो हगि ? भनेर अलि ठट्टा पनि गर्नुभएको थियो । 

उलि फ्रेइबेलको नेपाल आउजाउ

उनी सन् १९८८ देखि प्रायः हरेक वर्ष १० देखि २५–३० जनासम्मको जर्मन पर्यटकहरु लिएर नेपाल आउने गर्दा रहेछन् । कुनै वर्ष त उनी दुई पटक आउने गर्छन् । तपाई किन नेपाल आइरहनुहुन्छ ? भनी सोधिएको प्रश्नमा उनी भन्थे—‘खोइ मलाई पनि थाहा छैन, मलाई नेपाल धेरै मन पर्छ । यहाँको भूदृश्य, जैविक विविधता, मानिसहरु, सांस्कृतिक पक्षले लोभ्याउने गर्छ । हामी जस्ता पर्यटक आउँदा देशको पर्यटन विकास र अर्थतन्त्रमा केही सहयोग हुन्छ पनि । त्यसैले आइरहन मन लाग्छ ।’ 

पुराना मित्रहरुसँग र व्यावसायीहरुसँगको सम्बन्ध

प्रायः आफ्ना पुराना मित्रहरुसँग सँधै सम्बन्ध कायम राखिराख्न चाहने उनको बानी छ । त्यसैले उनी नेपाल आउँदा जहिल्यै ठमेलको होटल डाउन टाउनमा बस्छन् । उनलाई मन पर्ने गाइड (पथप्रदर्शक) को रुपमा शुरुमा साङग्रीला जर्नि कम्पनी प्रा.लि.का हर्कबहादुर मगर र पछिल्ला वर्षहरुमा सोही कम्पनीका लोकबहादुर मगरलाई लैजान्छन् । लाङटाङ क्षेत्रमा आउनु पर्दा लाङटाङको ठिले लामालाई सम्पर्क गर्छन् । तामाङ सम्पदा पदमार्ग र रुबी भ्याली पदयात्रामा जानु परे मलाई सम्झन्छन् । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रको आमा याङरी र पाँचपोखरी आदि ठाउँमा जाँदा भने सेर्माथाङको छिरिङ शेर्पालाई जैजाने गर्छन् । रसुवाको ठूलो स्याफ्रुका बाबु तामाङ, ठूलो भार्खुका खमसुङ तामाङ र हेलम्बु क्षेत्रका शेर्पाहरुसँग पनि उनको राम्रो चिनजान रहेको छ । 

उलि फ्रेइबेलले आरोहण गरेका हिमाल र गन्तव्य क्षेत्र

उलि फ्रेइबेलले नेपालको उच्च हिमालको आरोहण नगरे पनि प्रायः धेरै हिमालका बेस क्याम्पसम्म पुगेका छन् । सगरमाथा, अन्नपूर्ण, थोरङल्अ, मनास्लु, रुबी भ्याली र लाङटाङबाट गन्जला पास (५१२२ मिटर) पार गरेर सिन्धुपाल्चोक छिचोलेका छन् । यालापिक (५,५२० मिटर) भने दुईतीन पटक नै चढेका छन् । 

उलि फ्रेइबेलको योगदान

उलि फ्रेइबेलले नेपालको पर्यटन विकासमा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा योगदान पुर्याएका छन् । मुलतः उनी नेपाललाई असाध्यै मन पर्ने विदेशी हुन् । उनले अन्य मुलुकहरुमा पनि जर्मन नागरिकहरु घुमाउन लगेका छन् तर नेपालमा जति वर्षमै दुईपटक लगेका छैनन् । उनी वर्षेनी नेपाल आइरहनु भनेकै नेपालप्रति उनको प्रेम बढी हुनु हो । कम्तिमा पनि नेपाल बसाई एक पटक आउँदा दुई हप्ताको हुने गर्छ र लामो पदयात्रामा निस्कँदा महिना दिन भन्दा बढी लाग्छ । यसबाट नेपालको पर्यटन विकासमा उनी र उनका समूहले तिर्ने कर, यातायात, होटल, खाना र अन्य सामग्री खरीद एवम् नेपाली सहयोगीहरुलाई दिइने ज्यालाबाट पर्यटन अर्थतन्त्रमा निकै सहयोग पुगेको छ । विशेषगरी उनी नेपालको पर्यटन क्षेत्रको बारेमा जर्मन भाषाका पत्रपत्रिकामा लेख्ने गर्छन् । सन् २००७, २००८ मा तामाङ सम्पदा पदयात्रा मार्गको बारेमा उनी र यो पंक्तिकारले अवलोकन भ्रमण गरी नेपाली, अंग्रेजी र जर्मन भाषामा विभिन्न पत्रपत्रिकामा लेखहरु लेखेर प्रचार प्रसार गरेपछि सो क्षेत्रमा जर्मन पर्यटकहरुको संख्या निकै बढेको थियो । सन् २०१२ को अक्टोबर महिनामा उलि फ्रेइबेल, ओलाफ कुन्जमान र यो पंक्तिकार मिलेर सिन्धुपाल्चोकको मेलाम्चीबाट यात्रा शुरु गरी, गोसाइकुण्ड, स्याफ्रुवेशी, गत्लाङ, सोमदाङ, धादिङको तिप्लिङ, गोरखाको आरखेतसम्म पुगेर रुबी भ्यालीको भ्रमण अवलोकन गरी त्यस क्षेत्रको पर्यटन विकासका लागि देश विदेशमा प्रचार प्रसार गरिएको थियो । 

उलि फ्रेइबेलको अन्तिम नेपाल भ्रमण

२०७२ सालको वैशाख १२ गते र त्यसपछि गएका भूकम्पले नेपालको पर्यटन क्षेत्र तहस नहस भएपछि उलि फ्रेइबेल निकै चिन्तामा थिए । नेपालको पर्यटन क्षेत्रलाई र विशेषगरी लाङटाङ क्षेत्र र तामाङ सम्पदा पदमार्गमा केही सहयोग गर्न सकिन्छ कि भनी सन् २०१७ को सेप्टेम्बरमा उनी नेपाल आए । गत्लाङ गाउँमा पुगेर स्थानीय पर्यटन व्यावसायी फुर्पसिङ्गी तामाङ र विपिन लामासँग छलफल गरे । त्यसपछि लाङटाङतर्फ जाँदा लामा होटलसम्म पुगेर त्यो भन्दा माथि उनी बिरामी भएर जान सकेनन् । निकै दुःखी भएर फर्किए । जर्मन गएर साथीहरुसँग सल्लाह गर्छु र तपाईहरुलाई खबर गर्छु भनेका थिए । तर, मार्च २०, २०१७ को दिन हृदयघातबाट उनको ६३ वर्षको उमेरमा मृत्यू भएको खबर आयो । सन् २०१७ को सेप्टेम्बर महिनाको भ्रमण नै उनको अन्तिम नेपाल भ्रमण हुन गयो । अदृश्य रुपमा भए पनि नेपालको पर्यटन क्षेत्रको विकासमा उनको योगदानको सम्मान स्वरुप मृतक उलिफ्रेइबेल दाजुलाई हार्दिक श्रद्दान्जली टक्राउँछु । 
phurpatamang10@gmail.com

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै