प्रौढ शिक्षा पढेर जागिरे भइन् – ल्हाक्पाछोमो तामाङ

| रसुवा

‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने नेपाली उखान ल्हाक्पाछोमो तामाङको जीवनमा लागू भएको छ । विद्यालय कहिल्यै नगएकी उनी प्रौढ शिक्षा पढेर जागिरे भएकी छिन् । जागिरबाट अहिले उनी मासिक रु. दश हजार तलब पाउँछिन् । उनले जागिर गरेको चार वर्ष भएको छ । विहान सबेरै उठेर उनी गोसाइकुण्ड टाटा सुमो सेवा समितिको स्याफ्रुवेशी काउण्टरमा स्याफ्रुवेशीबाट काठमाडौं जाने यात्रुका लागि टिकट काटिरहेकी हुन्छिन् । 

उनी रसुवा जिल्लाकै भए पनि स्याफ्रुवेशीकै बासिन्दा भने होइनन् । साविक स्याफ्रु गाविस अन्र्तगतको ठूलोस्याफ्रु गाउँमा जन्मेकी उनी विवाह भएको दोस्रो वर्षमै सन्तानलाई स्कूलमा पढाउन भनी स्याफ्रुवेशी आएर बस्न थालेको बताउँछिन् । उनलाई जीवनमा आफूले पढ्न नपाएकोमा निकै पछुतो रहेछ । उमेरले ४७ वर्ष भएकी तामाङको जीवनमा धेरै उतार चढावहरु भएका रहेछन् । सानोमा गरिबी र शैक्षिक चेतनाको अभावका कारण उनले विद्यालय गएर औपचारिक शिक्षा लिन पाएनन् । ठूलोस्याफ्रु गाउँमा जन्मिएकी उनी मात्र होइनन् उनका दौंतरीहरु पनि स्कूल गएनन् । प्रायः सबै बाबुआमा अशिक्षित हुनु र गरिबीकै कारण शैक्षिक चेतना नहुँदा अलिकति हुर्के बढेपछि घरको काममा सघाउनु कुनै नौलो थिएन । गाउँघरमा त्यो बेला किशोरी अवस्थामै विवाह गर्ने चलन थियो । विवाह भएको एक वर्षपछि उनी ठूलोस्याफ्रु गाउँ छोडेर श्रीमानसँगै स्याफ्रुवेशी आएर बस्न थाले ।

‘म एकदमै खुसी छु । यो जागिरले गर्दा मैले घरखर्च जुटाउन सजिलो भएको छ । प्रौढ कक्षा नपढेको भए सायद मैले यो जागिर पाउने थिएन ।’

नयाँ ठाउँमा आयआर्जनको लागि उनले आफूले जानेको ऊनी टोपी, पटुका, झोला, मोजा, गन्जी, पङ्कप बुनेर बेच्न थाले । श्रीमानले जाँड–रक्सी खाने हुँदा रोगी भएर ११ वर्ष अघि मृत्यू भएपछि उनको काँधमा दुई छोरा र एक छोरी हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी आइपरेका छन् । यसकारण उनले हिम्मत नहारिकन २–३ महिना प्रौढ शिक्षा पढिन् र आफूले पढेको ज्ञानको सदुपयोग गर्न जागिरे भइन् । तपाईं अहिले कतिको खुसी हुनुहुन्छ ? भनी सोधिएको प्रश्नको जवाफमा उनले भनिन्– ‘म एकदमै खुसी छु । यो जागिरले गर्दा मैले घरखर्च जुटाउन सजिलो भएको छ । प्रौढ कक्षा नपढेको भए सायद मैले यो जागिर पाउने थिएन ।’ यसरी कुराकानी गरिरहँदा उनको अनुहारमा खुसीका मुस्कान प्रष्टै देखिन्थ्यो । प्रौढ कक्षा पढेर दैनिक संचालन हुने सुमोको टिकट काट्ने र हिसाव राख्न सक्नेले औपचारिक शिक्षा पढ्न पाएको भए निश्चय नै अव्वल विद्यार्थी हुन सकिन्थ्यो । तर के गर्ने ? उनी जस्ता सम्भावना बोकेका रसुवाका धेरै तमाङ दिदीबहिनीहरु गरिबीकै कारण र शैक्षिक चेतनाको अभावमा अन्धकार भविष्यको यात्रामा हिंडिरहेका छन् । राज्यले विकासका आधारभूत पूर्वाधार निर्माणमा समानुपातिक वितरण प्रणाली अपनाएर लागू गरिएको भए ल्हाक्पाछोमो तमाङहरु पनि यो देशको नीति निर्माण तहमा पुगिसकेका हुन्थे होला । उच्च शिक्षा हाँसिल गरेर उपल्लो दर्जाका राष्ट्रसेवक कर्मचारी भएर जिल्लाका हाकिम, विभागीय प्रमुख, मन्त्रालयका सचिव एवं मुख्यसचिव भइसकेका हुन्थे होला । राजनीति मात्रै गरेका भए पनि मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति हुन्थे होला । तर, दूरभाग्य, यस्ता तीक्ष्ण दिमाग भएका, मेहेनेती र परिश्रमी दिदीबहिनीहरु धेरै त जँड्याहा लोग्नेको कुटाई सहेर दिनदिन बाँचेर पनि मरिरहेका हुन्छन् गाउँघरमा । यस्तो सम्भावना भएका नागरिकहरुको जिन्दगी पीडादायी जिवनमा परिणत भएको देख्ने, सुन्ने र सहयोग गर्ने राज्य कहाँ छन् र ? अनि भन्ने गर्छौंं यो देश विकास भएन । 

उनी सुमो जीपको टिकट मात्र काट्दैनन् । उनी त्यो संगै ऊनी धागोका विभिन्न हस्तकलाका चीजबस्तुहरु बुन्छन् र कोसेली घरमा राखेर रसुवा घुम्न आएका स्वदेशी र विदेशी पर्यटकहरुलाई बेच्ने गर्छन् । यसले पनि उनलाई घर खर्च र सन्तानलाई पढाउने खर्च जुटाउन केही सहजता थपिदिएको छ । उनको कोसेली घरमा रसुवाली तामाङ संस्कृति झल्किने ऊनी धागोबाट बुनेका टोपी, कोता झोला, पटुका, मोजा, गन्जी, गलबन्दी आदि बेच्न राखिएका छन् । 

उनी भन्छन्– ‘अब मैले केही वर्ष दुःख गरे पुग्छ । छोराछोरीले पढ्ने काम सकेपछि मैले सुख पाउनेछु । मेरो संघर्ष मेरा तीनैजना सन्तानले राम्ररी बुझेका छन् । म भगवानलाई धन्यवाद दिन्छु कि मेरो जीवन साथीले मलाई छोडेर गए पनि मेरो दुःख देखेर मलाई प्रौढ शिक्षा पढ्ने अवसर र यो जागिर दिलाएको छ । छोराछोरीले पढाई पूरा गरेको देख्न पाए मलाई सबैथोक पुग्नेछ ।’  
phurpatamang10@gmail.com

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै