छिमेकी भूमिमा पाएको न्यानो सम्मान

| संस्मरण

साहित्यमा कलम चलाउन थालेको पनि दुई दशक पूरा भइसकेछ । यस अन्तरालमा स्वदेश तथा विदेशमा धेरै मित्रहरु कमाएको छु । ती मित्रहरूसँग प्रायः दिनहुँ फोनवार्ता हुन्छ । पायक पर्नेसँग प्रत्यक्ष भेटघाट पनि हुन्छ नै । लाग्छ, यही नै त रहेछ मानिसले जीवनमा आर्जन गर्ने सम्पत्ति । हो, म यसैमा खुसी छु । प्रशन्नताले आल्हादित हुन्छु ।

साहित्य यात्रामा मैले भेटेका सम्मानित व्यक्तित्व हुन्- ऋषिप्रसाद लामिछाने उर्फ गोर्खे साइँलो । उनी अहिले पूर्णकालीन साहित्यकार र साहित्यसेवी हुन् । नेपाली भाषा र साहित्यका लागि आदरणीय दाइ गोर्खेले पुर्याएको योगदान अतलुनीय लाग्छ मलाई । उनको जन्मघर नुवाकोटकै साविक चतुराले गाविस-७ थर्पुगाउँ । उनको र मेरो गाढा सम्बन्ध हुन गयो साहित्य यात्रा क्रममा । मैले उनलाई एक असल साहित्यिक अभिभावकको रूपमा पाएको छु । मेरो साहित्यिक र व्यक्तिगत जीवनलाई सधैँजसो नजिकबाट नियालेका छन् उनले ।

हालैको एक दिन दाजुको फोन आयो, ‘श्रीराम भाइ, भारतको अखिल भारतीय कवि सम्मेलन एवम् मुशायरा बस्ती, उत्तर प्रदेशमा भारतका साथै नेपालका स्रष्टाहरूलाई सम्मान गर्ने कार्यक्रमको आयोजना हुँदैछ । तपाईंको साहित्यिक र व्यक्तिगत परिचय मेरो इमेलमा पठाइदिनू होला है ! म उता सम्मान छनौट समितिलाई निवेदन प्रेषित गरिदिन्छु ।’

दाइको भनाइले मलाई अलि असहज महसुस् भयो । मैले भनेँ, ‘दाइले मप्रति देखाउनु भएको सदासयताका लागि धन्यवाद । नेपाली भाषा–साहित्यको म एक विद्यार्थी भएका कारणले यसको श्रीवृद्धिका लागि धेरै काम गर्नुछ नै’ मैले वाक्य पूरा गरेकै थिइनँ उनले थपे, ‘मोफसलमा बसेर राज्यले पनि गर्न नसकेको काम भाइको नेतृत्वमा भइरहेको छ । साथै लेख÷रचना पनि सिर्जना गरिरहनु भएको छ । निवेदन पेश गर्ने हो, कामको आधारमा नै मूल्याङ्कन होला भन्ने मलाई लाग्छ, अप्ठेरो मान्नु पर्दैन ।’ दाइको कुरा मैले नमान्ने कुरै भएन । भनेँ, ‘हुन्छ त दाइ, म पठाउँछु ।’ मैले आफ्नो बायोडाटा दाइलाई इमेल गरिदिएँ ।

करिब दुई महिनापछि इमेल आयो भारतबाट । मलाई सम्मान प्रदान गर्ने निर्णय गरिएकोले ग्रहण गर्न आउने निम्तो थियो  । इमेलपत्र पढेर म नतमष्तक भएँ । खुसीको कुनै सीमा रहेन । तत्कालै गोर्खे दाइले पनि फोन गरे । अनि फेसबुकमा बधाई तथा शुभकामनाका गहकिला शब्दहरू पोखे । म विदेशी भूमिबाट सम्मानित हुन लागेको खबर थाहा पाएपछि प्रवासमा रहेका तथा स्वदेशमा रहेका समस्त  साथीभाइले महिनाँै दिनसम्म पनि बधाई दिइरहे । 

सम्मान ग्रहण गर्न जाने दिन आयो । वि.सं. २०७३ साउन १ गते बिहानै म सम्मान थाप्नका लागि भारततर्फ प्रस्थान गरेँ । भोलिपल्ट बुटवलमा भेट्ने सल्लाह भयो गोर्खे दाईसँग । मौसमले साथ नदेलाकी जस्तो भयो । पानी छिट्याउन सुरु भयो । भन्छन्, शुभ कार्यमा पानी परेको राम्रो । घरबाट विदा भएर म बर्सादीले सुसज्जित भएर मोटरसाइकलमा बुटवलतर्फ लागेँ ।

देवीघाटको पुल पार गरेको मात्रै के थिएँ पानी राम्रैसँग पर्न थाल्यो । बिस्तारै अगाडि बढेँ । केउरेनीमा पुग्नै लाग्दा सडकैभरि बालुवा बोकेका ट्रिपरहरूको लाम देखियो । कतै गइरहेका, आइरहेका । साँघुरो पिच सडक । साइड दिन पनि गाह्रै पर्ने । रफ्तारमा आइरहेका ट्रिपरसँग जुधिएलाकी भन्ने भयले बढा होसियारीपूर्वक बल्लतल्ल गल्छी पुगेँ  । अब भने म फराकिलो राजमार्गमा पुगिसकेको थिएँ ।

मध्य बर्खा । उर्लंदो त्रिशूलीको भेल । यसपालिको बर्खामा नुवाकोट र रसुवामा धेरै धनजनको क्षति भएको छ । अनेक रुपमा प्राकृतिक विपत्तिले पु¥याएका क्षतिहरु सम्झेर मन नरमाइलो भइरहेको थियो तथापि म भारतमा सम्मान ग्रहण गर्ने क्षणको सुखद् परिकल्पना गर्दै अगाडि बढिरहेँ । 

त्रिशूली र कोल्पुखोलाको सङ्गमस्थल गल्छी । समथर भूमि गल्छीमा हिउँदभरि गुल्जार भइरहन्छ- वनभोज, विवाह, ब्रतवन्धजस्ता अनेकन कार्यहरुका कारण । म त्यहाँ पुग्दा खोलातिर हेरिरहेका मान्छेहरूको भीड थियो । पानी परिरहेको थियो तर मानिसहरु रुझ्दै÷भिज्दै खोलातिर हेरिरहेका थिए । त्यत्तिकैमा दुई जना प्रहरी जवानले त्रिशूली नदीबाट एउटा शव निकाले । अन्दाजी १२/१३ वर्षजतिकी  बालिकाको शव रहेछ । नजाने कहाँबाट नदीले बगाएर ल्याएको । कहाँकी को होलिन् ती बालिका ? कसरी यस्तो हुन गयो होला ?  मनभरि कुराहरु खेलिरहे । म मनमनै ती अनाम मृतकप्रति आत्माको चीरशान्तिको कामना गर्दै अगाडि बढेँ । 

पानीले निथु्रक्क भिजिसकेकोले मैले एकछिन् गल्छीमा विक्रम ढकाल भाइको होटेलमा खाजा-नास्ता लिँदै विश्राम गरेँ । अनि मोटरसाइकल त्यहीँ छोडिराखेर बसमै बुटवल जाने विचारले सडकमा निक्लिएँ । बसको पखाईमा रहेँ राजमार्ग किनारमा । विक्रमले नै बसको व्यवस्था मिलाइदिए । पश्चिम नेपाल यातयात । लु.१ व.९१८१ । सिट नं ३ ।

कहिलेकाहीँ मात्रै लामो रुटमा हिँड्ने मेरा लागि बस यात्रा त्यसमा पनि बर्खा याममा । अलि-अलि डर लागिरह्यो । कता–कता अज्ञात भयले मनमा डेरा जमाइरह्यो यात्राभरि नै । अविरल बर्षाका कारण सडकमा राम्रै खाल्डाखुल्डी परेका थिए । जसका कारण घुम्तीहरुमा गाडीको सन्तुलन नमिल्दा जोल्ठिङमा पर्दा जिउनै सिरिङ्ग हुन्थ्यो । कतै-कतै त सडकमा दुर्घटनाग्रस्त बसहरु पनि भेटिन्थे । तिनले भयभीत मनलाई थप झस्काउँथे ।  

राजमार्गछेउमा पर्ने बजार-बस्तीहरुमा साउने संक्रान्तिको जोहो गरिरहेका मानिसहरुको भीड देखिन्थ्यो । घरबाट निस्केदेखि नै बाटामा कुखुरा, बोका, खसी, राँगा आदि काटकुट पारिहरहेका, बिलो (भाग) लगाइरहेका दृश्यहरु देखिन्थे । यो पनि नेपालीहरुको परापूर्वकालदेखि चल्दै आएको संस्कृति नै हो । यसरी नै माछामासुका साथै मद्यपान गरी जाति-संस्कृति अनुसार साउने संक्रान्ति मनाउने परम्परा चलिआएको छ नेपालमा । यसै दिन लुतो पनि फाल्ने गरिन्छ ।

मध्यान्ह १२ बजिसकेको थियो । खाना खाने बेला घर्किसकेकोले होला पेट असहज हुन थालेको थियो । छेउमै बसेको मैले ड्राइभरलाई भनेँ, ‘होइन हौ गुरुजी, आज खाना नखाने ? पेटमा त मुसा पो दर्गुन थालिसक्यो त हौ ।’ ड्राइभर बोले, ‘दोरचोकमा खाने हो दाइ । अब आइपुग्न लाग्यो ।’ 

दारेचोक पुगियो । एउटा होटल अगाडि गाडी रोकियो । गाडीबाट ओर्लेर यात्रुहरु खाना खान लागे । मेरो अगाडि पनि खानाको थाली आइपुग्यो । मैले भोकको सुरमा भटाभट खानामाथि धावा बोलेँ । ओहो ! यो क्या हो ? मैले थालीबाट ४/५ गाँस खाना लिन के भ्याएको थिएँ, भातमा त फलामको काँटी पो । मसँगै छेउमा बसेका एक जना यात्रुलाई देखाएँ । उनले भने, ‘हत्तेरी ! यस्तो लापरबाही गर्ने हो ? कराउनुस् साहुजीलाई ।’ उनले आक्रोस पोखे । तर, मैले यसो सोचेँ र ‘भैगो’ भनेँ ।  किनकि होटेलमा खाना खाइरहेका धेरै ग्राहक थिए । मैले उक्त कुराको पर्दाफास गरिदिएको भए विचरा लापारबाहीवाला होटेल साहूको बेहाल हुन सक्थ्यो । मैले केही गरिनँ । जुरुक्क उठेँ र हात धोएर पैसा तिरेँ । तर,  मान्छेको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा त्यसरी खेलबाड भएको कामलाई सार्वजनिक गर्न नसकेकोमा आत्मग्लानी हुँदै थियो । यात्रुहरू सबै गाडीमा चढिसकेपछि होटेल्नी साहुनीलाई सुझावका रूपमा कहेँ त्यो कुरा । तर, साहुनीले मेरो कुरालाई वास्तै गरिनन् । ड्राइभर भाइ गाडीको हर्न बजाउँदै मलाई डाक्न थाले ।

कुरिनटार आइपुग्यो । केवुलमा झुण्डिएका केवुलकारका डिब्बाहरु गइरहेका, आइरहेका देखिन्थे गन्तव्यतिर । शनिबार भएर होला मनकामना दर्शन गर्नेहरूको भीड बाक्लै देखिन्थ्यो । कुरिनटार पुगेर ड्राइभरले गाडी रोके । सहचालक यताउती कराउँदै यात्रु डाक्दै थिए । केही सिट खाली भएका कारण यात्रु पाउने आशामा थियो गाडी । हामीले पनि मौकाको फाइदा उठाउँदै ओर्लेर हल्का हुने काम ग¥यौँ । मनकामना दर्शनार्थ आएकाहरुले जहीँतहीँ सवारी साधनहरु पार्किङ गरिराखेका देखिन्थे । यसरी अस्तव्यस्त पार्किङ गर्दा दुर्घटना निम्तिन सक्छ भन्ने कुराको कस्तो हेक्कै नगरेको होला माान्छेहरुलाई ? दिक्क लाग्दो कुरा । राजमार्गमा यस्तो हुन नदिनु पर्ने हो । यसतर्फ ट्राफिक प्रहरी चनाखो हुनु पर्ने हो । तर, देखिएन । चुप लागेर बस्न सकिनँ । बाटो छेउमा भेटिएका ट्राफिक प्रहरीलाई भनेँ । उनी मेरा कुरा नसुनेजस्तै गरी किनाराको पसलतिर पो लागे । ‘सरकारी काम, कहिले जाला घाम’ त्यसै भनिएको रहेनछ भन्ने सम्झेँ । दुई पटक मनकामना दर्शनार्थ पुगिसकेको म टाढैबाट भए पनि मनकामना माइलाई ढोग गरेँ । प्रणाम गरेँ र आफ्नो सिटमा गएर बसेँ । 

मनकामना गेटबाट हाम्रो बस अलिकति अगाडि बढेको मात्रै के थियो जाममा परिगयो । रातभरि आएको अविरल वर्षाले कुरिनटारमा पहिरो गई बाटो बन्द भएछ । साढे एक घण्टा पूरै जाम । बल्लतल्ल बाटो खुल्यो । मुग्लिङबाट नारायणघाटतर्फ जाने एक लेन र बाटाका बायाँ भित्ताहरू पग्लिनै रहेका थिए । अर्थात् पहिरो झरिरहेको थियो । पटकपटकको जामले गर्दा दिक्क लाग्यो । बेकारमै हिँडेको छु भन्ने मनमा पर्न थाल्यो । तथापि पराइभूमिबाट त्यत्रो आदरका साथ आएको सद्भाव सम्झेर मन शान्त भयो । पानी झमझम परिरहेको छ । गाडीबाट बाहिर निस्कने कुरै भएन । माथितिर हे¥यो सोहोरिएर खस्लाजस्तो ठाडो भीर । तल हे¥यो सातो खाने गरी बहुलाएको त्रिशूली । मन चिसो भएर आयो । पहिरो हटाउन सडक कार्यालय चितवनका डोजर र कर्मचारी झरीमा रुझ्दै÷भिज्दै असिन–पसिन भएर परिचालित भइरहेका थिए । 

डोजरले सडक सफा गर्दैछ हाम्रो बस अगाडि बढ्ने क्रममा दासढुङ्गा आइपुग्यो । दासढुङ्गा पुग्नु पनि हाम्रो बसले एउटा लोसे ट्रकलाई ओभरटेक गर्न खोज्दा बसको पछाडिको एउटा पाङ्ग्रा पिच भन्दा तल चिप्लियो । अनब्यालेन्स भई बस त पिङझैँ मच्चिन पुग्यो । याुत्रहरुको एकाएक सातोपुत्लो उड्यो । कोही रुन र चिच्याउन थाले । मेरो पनि आङ सिरिङ्ग भयो । छाति ढक्क फुल्यो । कसो दोस्रो दासढुङ्गा काण्ड घटेन ! विस्तारै गुरुजीलाई भनेँ, ‘ल है भाइ ! अलि सावधानी अपनाउनु प¥यो ।’ उनी आफै कालोनिलो भएका थिए ।

००० 

बल्ल-बल्ल पुगियो नारायणघाट । गल्छीबाट सामान्यतया तीन घण्टा लाग्ने बाटोमा पूरै छ घण्टा लागेछ । बाटो नै यस्तै त कसलाई दोष दिनु । चुपचाप यात्रा गरियो । त्यहाँ चिया-खाजा खाई अगाडि बढ्यो हाम्रो यात्रा । अब भने रमाइलो लाग्यो । सडकका दुवैतिर हरियाली वनजङ्गल । थकित मन पनि आनन्दित भयो । बुटवल पुगुन्जेलसम्म यस्तै दृश्य देख्न पाइयो ।

‘अन्तर्राष्ट्रिय साहित्य गौरव सम्मान’ ग्रहण गर्न जाने नेपालबाट हामी पाँच जना स्रष्टाहरू थियौँ । सबै जना बुटवलमा जम्मा भएर उत्तर प्रदेश, भारततर्फ प्रस्थान गर्ने सल्लाह थियो । पूर्व सल्लाहअनुसार चितवनबाट ऋषिप्रसाद लामिछाने, नवलपरासीबाट लीला राना मास्की, दाङबाट भावना न्यौपाने, मकवानपुरबाट लक्ष्मण बर्तौला र नुवाकोटबाट म थियौँ ।

हामी पाँच जनामध्ये कवियत्री लीलाचाहिँ पति डीबी राना मास्कीका साथमा थिइन् । हामी बुटवलबाट सुनौली पुग्यौँ । सुनौली बोर्डरमा मगन्तेहरुको निकै बाक्लो भीड थियो । यात्रुहरुसँग पैसा मागेर तिनले हैरान पारिरहेका देखिए । ती मगन्तेहरु भारतीय र नेपाली दुवै बराबरजसो थिए । तिनमा महिलाहरु नै थिए । सुनौलीबाट जनपदबस्ती अर्थात् कार्यक्रम स्थलसम्म पुग्नका लागि गोर्खे दाइले फोनबाटै भारतीय सानो गाडीको व्यवस्था मिलाइसकेका रहेछन् । हामी त्यही गाडीमा सवार भयौँ । जाँदा रमित हेर्दै गइयो । सुनौली बजार त्यति व्यवस्थित हुन सकेको रहेनछ । बजारदेखि केही पर नेपालमा निर्यात गर्ने माल गाडीको निकै लामो लाइन थियो । 

डीबी रानाले त्यहाँको बारेमा हामीलाई बताए । १०/१२ वर्षअघि भारतीय आर्मीको कर्णेलबाट अवकास पाएका उनलाई त्यहाँका बारेमा यथेष्ट जानकारी नहुने कुरै भएन । उनी भएकाले हामीलाई त्यहाँका बारेमा जान्न अति सजिलो भयो । उनले सुनाए, ‘दिनमा ५ सयभन्दा बढी सामान बोक्ने गाडी नेपाल छिर्छन् । भारतबाट यसरी सामान नल्याउने हो भने त नेपालको दैनिकी सञ्चालनमै प्रत्यक्ष असर पर्न जान्छ ।’ उनको कुराले अत्यासलाग्दो नाकाबन्दीको याद दिलायो । जो छ महिनासम्म हामीले भोग्नु परेको थियो । रानाका अनुसार अहिलेसम्म बजारमा सामानहरुको सर्वसुलभता हुन सकेको छैन । अरूको भरमा दैनिकी चलाउनु पर्ने अवस्था हुँदा आफ्नो देशको अस्मितामा आँच नआउने किसिमले व्यवहार गर्दा केही फरक पर्दैन कि ? भनी मैले आफ्नो विचार राखेँ । मेरो कुरामा गोर्खे दाइ, लीला दिदी र भवानीजीले समर्थन गरे भने बिर्खेजी मौन बसे । हामीबीच भारत र नेपालको सम्बन्धलाई लिएर ठूलै बहस चल्यो । कर्णेल साबले भन्दै थिए, ‘देशका बारेमा लेखक–साहित्यकारले चासो नलिए कसले लिने ?’ 

दिउँसो एक बजे फेरिन्दा भन्ने ठाउँमा पुगेर सुसाम लेभली नामक रेष्टुरेण्टमा खाना खाइयो । भोकले चुर भएको बेलामा भात र रोटी थपी–थपी खाइयो  । अघि नै गोर्खे दाइको आग्रहमा ड्राइभरले फोन गरेर खानाको अर्डर गरिसकेका थिए । पैसा तिर्न लाग्दा बिल बढी देखियो । ‘कसरी यसरी धेरै बिल आयो ?’ होटलवालाले भन्यो, ‘जति पटक खाने कुराहरु थप्यो, त्यति पटक रकम बढ्छ ।’ तब न भारत । हामीले हाँस्दै र थोरै लज्जित भएर बिल चुक्ता ग¥यौँ । 

सुनौली भन्सारदेखि नजरबस्तीसम्म १६० कि.मी. दूरी रहेछ । बाटोभरि रेलगाडी प्रसस्त देखिए । भारतकै कम विकसित प्रदेश भनेर उत्तर प्रदेशलाई मानिन्थ्यो । यद्यपि अहिले केही वर्षा यता भने सो प्रदेश द्रुत गतिमा विकासतर्फ लम्कँदै रहेछ । बाटोघाटो, विद्यालय, स्वाथ्यचौकी, कलकारखाना आदिमा उल्लेखनीय प्रगति भइरहेको पाइयो  ।

फरासिला र रौसे गोर्खे दाइले बाटैभरि हामीलाई घरी गीत त घरी गजल सुनाएर खुब रमाइलो गराए । गन्तव्यस्थल आउनुभन्दा केही अगाडि चौमुखा भन्ने बजार देखियो । उक्त बजारले हामीलाई नेपाली बजारको झल्को दिलायो । हामी केही समय बजारमा घुम्यौँ ।

झमक्क साँझ पर्नै लाग्दा हामी बस्तीबजारमा पुग्याँै । त्यहाँ पुगेपछि पो थाहा भयो कि, आयोजक संस्थाका पदाधिकारीसँग गोर्खे दाइको प्रत्यक्ष चिनजान नै पो छैन रहेछ । दाइले सुनाए, ‘फेसबुक र फोनमा मात्र कुरा भएको हो ।’ यो कुरा सुनेर कर्णेल राना तीनछक परे । भने, ‘जय होस् फेसबुकको, हेर हेर फेसबुकको कमाल !’ हामी  चकित भयौँ । मलाई लागेको थियो हामीलाई सम्मान गर्ने संस्थाका पदाधिकारीहरुसँग दाइको राम्रै चिनजान होला र त हामी कहाँ–कहाँका मान्छेले सम्मान पाउँदैछौँ । तर, त्यसो होइन पो रहेछ । ‘मैले त हाम्रो बायोडाटा पठाउने काम मात्र गरेको हूँ । हाम्रो बायोडाटा हेरेर हामीलाई सम्मान ग्रहण गर्न निम्त्याए । कुरा यति हो ।’ हामीले एकै स्वरमा भन्यौँ, ‘जय फेसबुक, जय गोर्खे ।’ 

हामीलाई रिसिभ गर्न डा. अजय श्रीवास्तव ‘अश्क’ आए । आयोजक संस्थाका सदस्य । उनले हामीलाई सरासर आफ्नो घर लगे, घरपरिवारसँग परिचय गराए र खाजा खुवाए । 

डा. रामकृष्ण लाल ‘जगमग’ राष्ट्रिय कवि रहेछन् । उनले लामो समयदेखि ‘बस्ती देश’ नामक हिन्दी मासिक पत्रिकाका सम्पादक तथा निराला साहित्य एवम् संस्कृति संस्थान बस्तीका अध्यक्ष भई काम गरेका रहेछन् । निकै सरल, भद्र जगमगजीलाई बस्तीका सबै नागरिकले ठूलो सम्मान समेत गर्दा रहेछन् । बेलुकीपख हामी बसेको ठाउँमा उनी आए । हुने विरूवाको चिल्लो पात भनेजस्तै जगमगजीका ८ छोरामध्ये ५ जना घरमै र ३ जना रोजगारीका लागि अन्यत्र गएका रहेछन् । छोराहरू पनि साहै्र सरल थिए । उनका सबै छोराहरू हाम्रो सेवामा तल्लिन भए । हामीलाई भेटेपिच्छे खुट्टामा स्पर्श गरेर आदर  गर्दथे । कस्तो सुन्दर संस्कार । हामी कवि जगमगजीको पारिवारिक संस्कार र वातावरणबाट नतमस्तक भयौँ । हामीले धेरै सकारात्मक पाठ सिक्यौँ । 

नजरबस्ती । ऐतिहासिक तथा धार्मिक आस्था जोडिएको रहेछ । परापूर्व कालमा राजा दशरथले आफूलाई पुत्र प्राप्तिका लागि यसै ठाउँमा ठूलो यज्ञ गरेको जनविश्वास विद्यमान रहेछ । यस भूमिमा रामचन्द्र शुक्ला, डा. सर्वेन्द्र सक्सेना, डा. लक्ष्मीनारायण लालजस्ता प्रसिद्ध साहित्यकार जन्मेकाले नै यस ठाउँको नाम भारतवर्षभरि प्रख्यात हुन पुगेको थाहा भयो ।

०००

वि.सं. २०७३ साउन ३ गते । बिहान साढे सात बजे । हामी घुमघाम गर्न निस्क्यौँ बस्तीबजारतिर । बजार निकै भव्य थियो । व्यस्त थियो । त्यहाँको विकासको छनक ट्राफिक बत्तीहरुले नै गरिरहेका थिए ।  बत्ती आफै बल्छ, निभ्छ । ट्राफिक प्रहरी छैनन् । ट्राफिक बत्तीले नै सबै काम गरिरहेका । मोटर साइकल चालकले हेलमेट लगाएको पाइएन ।  बिर्खे र मैले नजिकै देखिएका प्रहरीसँग ट्राफिक नियमका बारेमा जिज्ञासा राख्यौँ । उनले भने, ‘सबैले ट्राफिक नियम मान्छन् । यसबारे सबै सचेत छन् । तसर्थ ट्राफिकको जरुरत नै पर्दैन यहाँ ?’ उनका अनुसार त्यहाँ ट्राफिक नियम उल्लंघनको घटना ज्यादै न्युन छन् । 

बजार क्षेत्र निकै लामो र ठूलो थियो । हामीले एउटा टेम्पो लिएर बजार परिक्रमा ग¥यौँ । सडकका प्रमुख चोकमा राष्ट्रिय विभूति माहात्मा गान्धी, जवाहरलाल नेहरू, इन्दिरा गान्धी, सुवासचन्द्र बोस, लालबहादुर शास्त्री, सन्त गोडी, भगतसिंह, डा. राजेन्द्र प्रसाद, महाराणा प्रतापजस्ता महामानवहरूको भव्य पूर्णकदका सालिक राखिएका थिए । यसले इतिहास जीवन्त राख्दै पुर्खाको योगदानको कत्रो ठूलो सम्मान गरेको छ । यो हाम्रा लागि पनि ठूलो पाठ हो भन्ने मैले महसुस् गरेँ ।
हामीले बजारमा सामान्य किनमेल ग¥यौँ । त्यसैक्रममा एउटा औषधी पसलमा पुग्यौँ । नेपालमा भारतीय कमै पाइन्छन् । गोर्खे दाइले छोरीका लागि स्किन क्रिमका साथै आफ्ना लागि रूघाको औषधी खरिद गरे । लीला म्याडम र कर्णेल रानाले प्रेसर, सुगर लगायतका विविध औषधी किन्दै झोला भर्दै थिए । कर्णेल साबको बोली अलि ठाडो । मिलिट्री न परे । पसले त रिसाउँदै उनीमाथि बाझ्न पो थाल्यो । भन्यो, ‘तपाईंको प्रेसर बढेजस्तो छ । मसँग धेरै किचकिच नगर्नुुस् ।’ गोर्खे दाइले भने, ‘उहाँ यहीँका आर्मीका कर्णेल हुन् । बोल्दा ख्याल गर ।’ साहुजी आफसेआफ नरम भइगयो । ऊ त उल्टै माफ पो माग्न थाल्यो । 

बजार घुमिसकेपछि रेल हेर्न जाने सल्लाह भयो । यो प्रस्ताव भावना म्याडमको थियो । टेम्पोबाट बस्ती रेलवे स्टेशन पुग्यौँ । ओहो ! कस्तो भव्य रेल स्टेशन । भारतको अधिकाश ठाउँमा यहीँबाट छुट्दा रहेछन् रेल । रेल पर्खिबसेका हजारौँहजार यात्रुले गर्दा प्रतीक्षालय खचाखच थियो । पर-परबाट रेल आइरहेको थाहा पाइँदो रहेछ रेलको ध्वनिबाटै । स्टेशनभरि भिखारीहरुको लाम उस्तै थियो ।  रेलको धेरै गुण भए तापनि अवगुण पनि जोडिएको हुँदो रहेछ । वास्तवमा निर्जिव रेलको दोष भने होइन । महिलाहरू आत्महत्या गर्नु परेमा रेलको लिगमा लम्पछार परेर आफ्नो जीवन लीला सिध्याउँदा रहेछन् । यस्तो कुरा स्थानीय बासीहरूबाट सुनेर नरमाइलो लाग्यो । बिर्खेजीले थपे- ‘मर्न दिनेलाई दिनु पर्छ, छेक्न दिनु हुँदैन । यो त अति सजिलो उपाय लाग्यो ।’ भावनाले जिब्रो निकाल्दै बिर्खेजीतिर हेर्दै भने- ‘साँच्चिकै केटामान्छे निष्ठुरी हुँदा रहेछन् । मोर्नलाई बाध्य तुल्याउने र उकसाउने काममा केटा मान्छेबाटै हुन्छ । महिला मान्छे त यो समाजका निरीह एक पात्र मात्र हुन् ।’ रेलको लिंगमा आत्माहत्या गर्ने महिला आफ्नो पारिवारिक र प्रेम विछोडकै कारणले आत्महत्या हुने गरेको समेत स्थानीयको भनाई सुनियो । हामीले भारतीय चलचित्रमा उक्त घटना देख्थ्यौ तर त्यो मर्मस्पर्सी घटना सत्यता रहेको सावित भयो । रेलवे स्टेशन घुम्दाघुम्दै कार्यक्रमस्थलतिर जाने समय त भई पो सकेछ । कर्णेल साबले भने, ‘ए, मुर्दार हो ! समय बित्यो है ।’ कर्णेलको पल्टनिया थेगो नै रहेछ, ‘मुर्दार हो’ भन्ने । 

बासस्थान गएर हामी कार्यक्रमस्थलमा जानका लागि तयारी भयौँ । हामीलाई लिन आयोजकले गाडी पठाइदिइसकेका थिए । रातको ८ बजे हामी कार्यक्रमस्थल राजकीय कन्या इन्टर कलेज पुग्याैँ । कार्यक्रमस्थलमा भारतका विभिन्न प्रान्तबाट लेखक÷साहित्यकारहरू उपस्थित भइसकेका थिए ।

निर्धारित समयमा कार्यक्रम आरम्भ भयो । प्रमुख अतिथि थिए, भारतका पुलिस उपमहानिरीक्षक (डिआइजी) एवम् प्रसिद्ध साहित्यकार लक्ष्मी नारायण । उनले मन्तव्य व्यक्त गर्ने क्रममा भने, ‘साहित्य समाज रूपान्तरण गर्ने सेतु हो । यसले राष्ट्रिय एकता, साम्प्रादायिक सद्भाव कायम राख्नुका साथै पर्यावरणलाई जोगाउने काम गर्छ ।’ 
नेपाली भाषा, साहित्यका क्षेत्रमा अमूल्य योगदान पु¥याए बापत हामी (गोर्खे साइँलो, लीला राना मास्की, भावना न्यौपाने, बिर्खे अन्जान र म) भारतबाट सम्मानित भयौँ । भारतबाट डा. शंकरजी सिंह, बलिया, अनुराग गैर मिश्र अम्बेडनगर, असगर अमुक हरियाना, नजिर नजर ग्वालियन, डा. उजला लखनउ पनि सम्मानित भए । प्रमुख अतिथिले दोसल्ला ओडाएर सम्मान गरे । हामी नेपालीलाई ‘अन्तर्राष्ट्रिय साहित्य गौरव’ र भारतका साहित्यकारलाई ‘राष्ट्रिय साहित्य गौरव’द्वारा सम्मानित गरियो । 

कार्यक्रममा भारतका राष्ट्रिय कवि डा. रामकृष्ण लाल ‘जगमग’को नवीनतम् कविताकृति ‘सच्चाका दस्तावेज’  विमोचित गरियो भने कार्यक्रममा डा. शंकरजी सिह, सहाव मजरूह, ज्ञानेन्द्र द्विवेदी, रत्ममणी तिवारी वर्षा, राकेश गृषम, तालीवतुफान, डा. सत्यव्रत, डा. वि.के. वर्मा, डा. शिवा त्रिपाठी, अनुराग मिश्र, प्राजल व्यास, यश्वत राय वंश, डा. अफजल हुसेन, बालिफ लुकान, मतवाला, ज्ञानेन्द्र दुवेडी, हरिश दवैस, वीरेन्द्र गुप्ता, डा.अजय श्रीवास्तव ‘अश्क’, रत्नमणि वर्षा लगायतका कविले मन्तव्यका साथै रचना पाठ गरे । यसरी रातको ८ बजे आरम्भ भएको कार्यक्रम रातको १ः३० बजे सम्पन्न भयो । कार्यक्रम समाप्तिपछि हामी बासस्थान फर्कियौँ र आराम ग¥यौँ । 

०००

नेपाली भाषा साहित्यको सेवा गर्दा भारतीय भूमिबाट पाएको न्यानो सम्मानले हामीलाई गौरवान्वित गराएको थियो । एउटा मीठो अनुभूतिले मानसपटलमा गहिरो छाप छाडेको थियो । केही छिन् विश्राम गर्दा नगर्दै बिहान भइगयो । अब नेपाल फर्किने बेला भइसकेको थियो । हामी हतार हतार-तयार भयौँ । हामीलाई विदाई भारतका प्रसिद्ध लेखक/साहित्यकारहरु भेला भएका थिए । उत्तर प्रदेशको भारतको दुई दिनको बसाइमा हामीले भारतीय नागरिकबाट जुन सद्भाव र सम्मान प्राप्त ग¥यौँ, त्यो शब्दमा व्यक्त गर्नै सकिन्न । हामीले आज जुन मान र सम्मान पाइरहेका छौँ त्यो साहित्यमा लागेकै कारण पाएका हौँ । यसले हामीलाई अझै गम्भीर भएर लाग्न प्रेरित गरेको छ । थप ऊर्जा मिलेको छ । आफ्नो भाषा र साहित्यप्रति भारतीय स्रष्टाहरु कति समर्पित छन् भन्ने कुरा हामीले भारतीय लेखक/साहित्यकारहरुबाट धेरै कुरा सिक्यौँ । मौका मिले फेरि भेट हुने विश्वासका साथ हामी विदा भएर गोरखपुरतर्फ लाग्यौँ । गोरखपुरबाट कर्णेल साब र लीला राना हामीबाट छुट्टिए । हामी चार जना चाहिँ गोरखपुरको गीता प्रेस गई केही किताब खरिद गरेर फर्किने भयौँ । तर, ११ बजेपछि मात्रै प्रेस खुल्ने रहेछ । अतः हामी यताउती टहलियौ । गोरखपुरमा सदियाँैदेखि बसेका नेपालीहरु थुपै्र भेटिए । कति रोजगारीका लागि वर्षेनी यहाँ आउँदा रहेछन् । 

नेपालको गोरखा र गोरखपुरबीच कतै केही सम्बन्ध छ कि भन्ने मेरो जिज्ञासामा गोर्खे दाईले हुन सक्ने संभावना बताए । पुस्तौंदेखि नेपालीहरु कामको खोजीमा गोरखपुर आउने चलनै चलिआएको छ ।

हामी गीता प्रेसको प्रमुख कार्यालयमा पुग्यौँ । त्यहाँ धार्मिक पुस्तकहरू मात्रै पाइँदो रहेछ । गोर्खे दाइचाहिँ मुक्तकसम्बन्धी पुस्तकहरूको खोजी गरिरहेका थिए । दाइले मुक्तकसम्बन्धी अनुसन्धानमूलक पुस्तक लेखिरहेका छन् । 

भावनाको खुट्टाको समस्या रहेछ । हिँड्नलाई गाह्रो भयो । अनि किताब खोजी कार्यलाई बिट मारेर हामी सुनौलीतर्फ जाने गाडीको खोजीमा लाग्यौँ । एउटा सरकारी गाडी समायाँै । तर, त्यो गाडी बिग्रिएर बर्बाद । करिब एक घण्टा जति भौतारिएपछि बल्लतल्ल एउटा गाडी भेटियो । ठाउँ ठाउँमा रोकिनाले समयमा सुनौली पुग्नै सकिएन । 

कौम्पिएगंज, उत्तर प्रदेश । कृषि उत्पादनका लागि प्रसिद्ध ठाउँ रहेछ । सरकारले पनि सो ठाउँको कृषि प्रवद्र्धनका लागि  र यथेस्ट मात्रामा सहयोग उपलब्ध गराउँदो रहेछ । समथर भूमिमा तरकारी र अन्य अन्नवाली लोभलाग्दो गरी फलेका देखिन्थे । कृषकहरू खेतबारीमा काम गरिरहेका दृश्य आफैँमा रमाइलो थियो । हजारौँहजार आँपका रुखहरुले अर्को सुन्दरता थपिदिएको थियो ।

०००

हामी सुनौली भन्सार आइपुग्यौँ । भारत र नेपालका प्रहरीद्वारा निकै कडाईका साथ सामान चेकजाँच हुँदो रहेछ । नेपाल प्रवेश गर्नसाथ रिक्साको हुल देखियोे । हामीले पनि रिक्सा यात्रा ग¥यौँ । अनि बसबाट भैरहवा हुँदै साँझपख बुटवल आइपुग्यौँ । समूहका हामी चार जना चारै दिशातर्फ जानु पर्ने । सबैभन्दा पहिला भावना न्यौपानेलाई दाङ जाने बसमा चढाई विदा ग¥यौँ । त्यतिबेला रातको १० बजिसकेको थियो । अनि बुटवलबाट गोर्खे, बिर्खे र म काठमाडौँतर्फ लाग्ने बसमा चढ्यौँ । पानी झमझम परिरहेको थियो । रातको एक बजे नारायणघाट पुगियो । गोर्खे दाइ र बिर्खे नारायणगढमा ओर्लिए भने मचाहिँ बसमै रहेँ, काठमाडौँतर्फ । पानी निरन्तर परिरहेको हुनाले पहिरो आई बाटो अवरुद्ध बन्ने पो होकी भन्ने चिन्ताले सताइरह्यो । अन्तिम सिटमा भएको हुनाले निद्रै परेन । रातभर जाग्रम नै यात्रा गरियो । 

बिहानको छ बजे धादिङको आदमघाटमा पुग्नु पनि पहिरोले बाटो नै बन्द भएछ । दिशापिसाब गर्नु पनि समस्या नै भयो । बल्लतल्ल एक घण्टापछि बाटो खुल्यो । गल्छीमा आइपुग्दा साढे सात भइसकेको थियो । बल्ल सन्तोषको सास फेर्न पाइयो । र, फ्रेस भएर  विक्रम भाइको होटलमा नास्ता खाइयो र आफ्नै मोटर साइकलमा आरामले घर आइपुगियो । जय गोर्खे दाइ । तपाईंकै कारण एक अजनवी पराइभूमिबाट न्यानो सद्भाव र सम्मान प्राप्त भयो ।

प्रतिकृया दिनुहोस्

लाङटाङ साहित्यिक पदयात्रा–२०७५

img

१. पदयात्राको परिकल्पना र उद्देश्य मैले पत्रिकाहरुमा रसुवा सम्बन्धी र अन्य विषयका समसामयिक ...

हिङ ब्यापारीको टालो

नेपाल भन्ने देशमा हिङको ठूलो माग थियो । दुःखको कुरो, जहाँ जहाँ हिङको माग हुन्थ्यो त्यहाँ त्यहाँ हिङको उत्पादन हुँदैनथ्यो । एकजना रायमाझी नाम गरेको चलाख ब्यापारीले नक्कली हिङ बनाएर ...

कमरेड अन्जना

धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको । सायद यस्तै नौ वर्ष जति भयो कि ? अन्तिमपटक मैले उनलाई डाँडागाउँको पोष्ट सर्चमा जाँदा भेटेको थिएँ । त्यसपछि बेपता भएकी उनलाई अहिले ...

कफी

मैले, यो आधुनिक  विहानको निधारमा टेकेर  बल्दै गरेको चुलोमा  कालो धुवाँको पर्फ्यूम लगाएर कित्लीसँग थोरै प्रेम जलाउँदै अलिकति दूधमा मिठो मुस्कान मिसाएर अलिकति माया, अलिकति सद्भाव र अलिकति आफ्नै भोगाइ मिसाउँदै एक घुट्को कफी तयार पार्दैछु । यहाँ मैले, एक ...

सम्बन्ध

वीरबहादुर आज बडो मलिन मुद्रामा देखिन्छन् । के सोंचेको थियो उसले के भैरहेको छ अहिले । कस्तो कपुतलाई जन्म दिएछु भने बरु आमाकै गर्भमा तुहिएको भए हुने । यस्तो सन्तान ...

ऐनाको जिन्दगी

हामीमध्ये एउटा मानिस  ऐनाझैँ बाँच्दछ ऐनाझैँ मर्दछ  हामीमध्ये एउटा मानिस । एक निश्चित बिन्दुबाट सुरु हुन्छ जिन्दगी  ऐनाको सपाट चिप्लो जड प्रकाशहीन ऐनाको छाती  हरदम प्रतीक्षा गरिरहन्छ उज्यालो मानौँ ऐना उज्यालाको सातै जुनीको व्याकुल प्रेमी हो ।  तर कतै दूर ...

पत्रपत्रिका

सबै