नेपाली चलचित्रको पर्दापछाडिका हिरो तारा

| काठमाडौं

फलानो नेपाली चलचित्रमा महानायक राजेश हमालले कडा ‘डाइलग’ दिएछन्, निखिल उप्रेतीको ‘फाइट’ खतरा रहेछ, रेखा थापाको ‘ड्रेसअप’ त अंगमात्रै छोप्ने... । अनि फलानोमा यसको भूमिका यस्तो, उसको त्यस्तो... आदि-आदि । यस्तै अनेक प्रतिक्रिया जनाउँछन् सिनेमा भवनमा पुगेका दर्शकले चलचित्र हेरिसकेपछि । यी त भए पर्दाअगाडिका नायक-नायिका वा खलनायक-खलनायिकको प्रसंग । तर, धेरैलाई हम्मेसि थाहा नहुन सक्छ कि पर्दा पछाडिका नायिक/नायिकाको भूमिका पनि उनीहरूको भन्दा कम छैन भनेर । हो, उहाँ पनि यही पंक्तिको अग्रस्थानमा हुनुहुन्छ । पर्दापछाडि रहेर २ सय ५० वटाभन्दा बढी चलचित्र, दर्जन टेलिचलचित्र, दर्जनौं भिडियो तथा डकुमेन्ट्रमा उहाँले ‘हिरो’ को भूमिका निभाउनुभएको छ । पछिल्ला दिनमा धेरैमाझ लोकप्रिय बनेर चर्चाको शिखरतर्फ लम्कँदै गर्नुभएका वरिष्ठ चलचित्र सम्पादक ताराबहादुर (तारा) थापा ‘किम्भे’ को प्रसंग हो यो ।

ताराको जन्म विक्रम सम्वत् २०३० माघ ३ गते पश्चिम नेपालको तनहुँ जिल्लाको बन्दीपुर गाउँ पञ्चायत वडा नं. ५ (हालको बन्दीपुर गाउँपालिका- ४) मा सूर्यबहादुर थापा र मनकुमारीका ४ छोरा तथा १ छोरीमध्ये चौथो सन्तानको रूपमा भएको हो । ताराका दाइ टेकबहादुर, मीनबहादुर, दिदी फूलमती र भाइ ओमिसन हुनुहुन्छ । उसो त गाउँको मध्यमवर्गीय परिवारमा जन्मनुभएका ताराको बाल्यकाल साथीसंगीको तुलनामा अलि पृथक् र सुखी अनि खुसी ढंगले बित्यो ।

हुन त सुरुमा उहाँको परिवार निम्नवर्गीय नै हो । तर, जब बुबा सूर्यबहादुर भारतीय सेनाका जागिर हुनुभयो- तब घरको आर्थिक स्थितिमा क्रमशः सुधार आयो । रोचक त के भने जागिरकै सिलसिलामा सूर्यबहादुर अफ्रिकी मुलुकको युद्धग्रस्त क्षेत्रमा पुग्नुभएछ । अशिक्षित भएकाले नै उहाँले त्यहाँ सांकेतिक भाषामा मात्रै सबै कामकाज गर्नुपरेछ । त्यही इखले ‘मैले नपढेकै कारण जति दुख पाएँ/पाएँ तर छोराछोरीलाई यो नियति भोग्न दिन्नँ’ भनेर कसम खानुभएछ । यस अर्थमा त उहाँले आफ्ना कुनै सन्तानलाई शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित गर्नुभएनछ । यतिमात्रै होइन- आफू पुगेको त्यही देशको राजाको नाम ‘शम्भे’ र प्रधानमन्त्रीको नाम ‘किम्भे’ भएकाले सूर्यबहादुरले ताराको नाम पनि ‘किम्भे’ राखिदिनुभएछ । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं सानैदेखि तीक्ष्ण बुद्धि, चनाखो र अत्यन्त मिलनसार स्वभावका तारालाई त्यस्तै ५/६ वर्षको उमेरमा घरबाट पैदल ५ मिनेटको दूरीमा पर्ने श्री दिल प्राथमिक विद्यालयमा भर्ना गरियो । त्यहाँ उहाँले कक्षा ३ सम्म अध्ययन गर्नुभयो । कक्षा ४ देखि ७ सम्म भने करिब १० मिनेट टाढा रहेको श्री रत्नराज्य कन्या निम्न माध्यमिक विद्यालयमा शिक्षा हासिल गर्नुभयो । त्यसपछि थप अध्ययनका लागि बन्दीपुरमा अवस्थित श्री भानु माध्यमिक विद्यालयमा ८ कक्षामा भर्ना हुनुभएका उहाँले २०५० मा त्यहीँबाट एसएलसी पास गर्नुभयो । ‘बिहान उठ्यो, नित्यकर्म सकी केहीबेर पढ्ने बानी थियो, त्यसपछि भने खेल्न दौडन्थें । फेरि म सानैबाट फुटबल भनेपछि हुरुक्कै हुन्थें । यतिसम्म कि सुरु÷सुरुमा पुराना मोजाको बल बनाएर पनि खेलियो’ उहाँ आफ्नो बाल्यकाल स्मरण गर्नुहुन्छ- ‘एसएलसी पास हुँदासम्म मैले घरायसी काम भने केही गर्नुपरेन ।’ हुन पनि जिल्लामा ‘फुटबल टिम क्याप्टेन’ उपनामले परिचित उहाँले विद्यालय, अन्तर्विद्यालय, गाउँ, क्षेत्रीय, जिल्ला तथा अञ्चलस्तरीय फुटबल प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गरी थुप्रै पुरस्कार हात पार्नुभयो । यस्तैमा उहाँले बन्दीपुर कलेजबाट आई.कम. सम्मको अध्ययन पनि पूरा गर्नुभयो ।

प्रसंग वि.सं.२०५६ को हो, अब भने ताराको दैनिकीमा केही परिवर्तन आयो । थप अध्ययनका लागि उहाँ राजधानी आउनुभयो । र, नयाँ वानेश्वर-बुद्धनगरमा बस्न थाल्नुभयो । घरबाटै खर्च चलेकाले होला- यतिबेलासम्म उहाँले कतै नोकरी गर्नुभएन, चासोसमेत रहेन । हुन त उहाँको सोच कि मीनभवन कि त पब्लिक युथ क्याम्पसमा अध्ययन गर्ने थियो । तर, बिडम्बना प्रवेश परीक्षामा समय दिन सक्नुभएन । र त ठमेलस्थित सरस्वती क्याम्पसमा भर्ना हुनुभयो । अझ रमाइलो पक्ष त के भने उहाँ सरस्वतीको विद्यार्थी हुनुभए पनि अध्ययनका लागि भने साथीसँग कहिले मीनभवन, कहिले पाटन क्याम्पस पुग्नुहुन्थ्यो, परीक्षाका बेलामात्रै सरस्वती ।

उसो त के ‘मुड’ चल्यो कुन्नि, तारा पनि अब जागिरको खोजीमा लाग्नुभयो । त्यसताका नीर शाह, भीम राना, डीबी थापा, अरुण मल्ललगायतका हस्तीले चलचित्र विकास कम्पनी सञ्चालन गरिरहनुभएको थियो । यत्तिकैमा मल्लले त्यहाँबाट छुट्टिएर नेपाल फिल्म कम्पनी (एनएफसी) खोख्नुभयो । एक दिन तारा पनि त्यहाँ पुग्नुभयो । कारण– पहिलो त मल्ल बन्दीपुरकै स्थानीय हुनुहुन्थ्यो भने दोस्रो, उहाँको काकाको मिल्ने साथी । फेरि भारतीय सैनिकको छोरा भएको नाताले पाउने सुविधाअनुसार ताराले भारतीय भूपू सैनिक निवास, ठमेलबाट त्यसअघि नै कम्प्युटर सम्बन्धी आधारभूत तालिम लिइसक्नुभएको थियो । यो भनेको आफैंमा चलचित्रको अभिनय सकिएपछि ‘रिल’ जम्मा पार्ने र सम्पादन–उत्पादन गर्ने कार्यका लागि सहयोगी थियो । अनि भेटवार्ता र काम दुवै पक्षका लागि आपसमा परिपूरक बन्न पुग्यो । सुरुको तीन महिना मासिक २ हजार ५ सय पारिश्रमिकका दरले काम गर्नुभएका तारालाई बिस्तारै त्यही क्षेत्रमा रस बस्न थाल्यो । त्यसको केही समय बित्दा नबित्दै अरुणले छुट्टै ‘प्राइम’ कम्पनी सञ्चालन गर्न थाल्नुभयो, तारा पनि सँगै रहनुभयो । ‘सिक्न खासै समय लागेन, त्यही क्रममा रस बस्यो, त्यो बढ्दै गयो’ उहाँ गौरव गर्नुहुन्छ– ‘सहायक सम्पादकबाट सुरु गरेको आज–भोलि भन्दा भन्दै यो क्षेत्रमा काम गरेको झन्डै दुई दशक पो हुन लागेछ ।’ सुरुमा आफू त्यहाँ पुग्दा नेपाली चलचित्र ‘लक्ष्मणरेखा’ को कार्य सम्पादन भइरहेको ताराको मानसपटलमा अझै ताजा छ ।
त्यसो त नेपाली चलचित्रको ‘रिल’ सम्पादन कार्यमा आफूले थालनी गरेको समयलाई तारा सुवर्ण युग ठान्नुहुन्छ । किन ? उहाँको तर्क छ- ‘पहिले-पहिले नेगेटिभ काट्ने-जोड्ने गर्नु पर्दथ्यो । तर, पछि अभिनयबाट ‘रिल’ ल्याएर सिधै डिजिटलमा कन्भर्ट गर्न थालियो, अरुण मल्लले त्यतिबेला करोडौं खर्च गर्नुभयो । यही भएर नेपाली सिने जगत्मा उहाँको ठूलो देन छ भन्दा अत्युक्ति नहोला ।’ विगत करिब एक दशकदेखि स्वतन्त्र रूपमा पनि काम गर्न थाल्नुभएका ताराले हालसम्म दुई सय ५० भन्दा बढी चलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्री र दर्जनौं टेलिचलचित्रको सम्पादन गरिसक्नुभएको छ । हाल मासिक ३/४ वटा चलचित्रको सम्पादन कार्य उहाँबाट भइरहेको छ भने कमाइ पनि त्यही तुलनामा २/३ लाख नै छ । नेपाली चलचित्र ‘नेप्टे’, ‘वीरांगना’, ‘दैलो’ र ‘निलो कमिज’को सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ । काम र दाममात्रै होइन– यस विधामा ताराले नाम र सम्मानसमेत उत्तिकै पाउनुभएको छ । २०६४ मा चलचित्र प्राविधिक संघले आयोजना गरेको कार्यक्रममा उहाँलाई ‘सावधान’ चलचित्रको तर्फबाट ‘उत्कृष्ट चलचित्र सम्पादक’को रूपमा सम्मान गरियो भने २०६५ मा कान्तिपुर टेलिभिजन र चलचित्र प्राविधिक संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा चलचित्र ‘किस्मत’को तर्फबाट ‘उत्कृष्ट चलचित्र सम्पादक’कै सम्मान पाउनुभयो । यसबाहेक पनि विभिन्न संघसंस्थामा आबद्ध रही निर्णायक भूमिका खेल्नुभएका उहाँले प्रशंसायोग्य कार्य गरेकोमा दर्जनौं सम्मान, उपाधि र पुरस्कार प्राप्त गर्नुभएको छ । अर्कातर्फ उहाँले आफ्नो कला देखाउनुभएको चलचित्र होस् वा म्युजिक भिडियो नै किन नहोस्, राम्रो व्यापार गर्न सफल भएका छन् । र त जताततै उहाँको माग दिनानुदिन बढ्दैछ ।

ताराको लगनगाँठो भने वि.सं. २०६६ मंसिर १७ गते सिन्धुली चनौटेकी सावित्री बुर्जासँग कस्सिएको हो । ‘भरत नामका एकजना साथीमार्फत चिनजान भयो । पछि कुराकानी र भेटघाट पनि बाक्लिँदै गयो’ तारा आफूहरूको सम्बन्धबारे खुलासा गर्नुहुन्छ- ‘उहाँ एउटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत हुनुहुन्थ्यो । आपसी प्रेमपछि विवाह भयो ।’ स्नाकोत्तर तह अध्ययन गर्नुभएकी सावित्री अहिले घर व्यवस्थापन सम्हाल्नुहुन्छ । तारा-सावित्रीका हाल ६ वर्षीय छोरा सौर्यल हुनुहुन्छ । उहाँ जावलखेलस्थित डीएभी सुशील केडिया स्कुलमा यूकेजीमा अध्ययनरत हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै