महिला नेतृत्वलाई पुरुषको असहयोग

ललितपुर । सामुदायिक वनका महिला नेतृत्वलाई पुरुष सदस्यको असहयोग हुने गरेको एक अध्ययनले देखाएको छ । शुक्रबार काठमाडौंमा आयोजित लैंंगिक समावेशीकरणको नीति तथा सवालहरूको प्रभावकारी सम्बन्धी अन्र्तक्रियामा प्रस्तुत प्रतिवेदनले नेतृत्व तहमा पुगेका महिलालाई लिङ्गको आधारमा विभेद हुने गरेको देखाएको छ ।
अध्ययनकर्ता तथा क्रियाशील पत्रकार महिलाका अध्यक्ष शुभेच्छा विन्दु तुलाधर तथा अध्ययनकर्ता शंकर पोखरेलले सो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्ययनकर्ताद्वयका अनुसार मकवानपुर, बारा, लमजुङ, बाँके र बर्दिया जिल्लाका सामुदायिक वनका उपभोक्ता समूहको अध्ययनपछि सो प्रतिवेदन सार्वजनिक गरिएको हो ।
प्रतिवेदनका अनुसार महिला अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष रहेका सामुदायिक वनका उपभोक्ता समितिहरूमा पुरुषले असहयोग गर्ने गरेका छन् । ‘महिला अध्यक्ष वा पदाधिकारी रहेको उपभोक्ता समितिमा परुषले सहयोग नगरेको पाइयो, उनीहरूले समितिका महिला नेता भन्दा कार्यालय सहयोगीको विश्वास गर्ने गरेको देखियो,’ अध्ययनकर्ता शुभेच्छा तुलाधरले भन्नुभयो ।
उहाँले महिला अध्यक्ष तथा सचिवले बोलाएका बैठकमा पुरुषहरू उपस्थित नहुने, उनीहरूले गरेको निर्णय कार्यान्वयन नगर्ने तथा अन्य काममा समेत वेवास्ता गर्ने गरेको बताउनुभयो ।
पुरुषले महिलाका कारण आफूहरू नेतृत्वबाट विमुख हुनुपरेको भन्दै असहयोग गरिरहेको समेत प्रतिवेदनमा उल्लेख छ । नेतृत्वमा रहेका महिला सम्बन्धित कानुनबारे जानकार नहुँदा र व्यवस्थापकीय क्षमताको अभाव हुँदा पुरुषहरूले सहयोगको साटो अप्ठेरो पार्ने गरेको अध्ययनबाट देखिएको तुलाधरले प्रस्ट्याउनुभयो ।