कालिञ्चोकको रमाइलो यात्रा

कालिञ्चाेक कुरी बजार । तस्वीर : लेखक

काठमाडौं छाड्न अलि ढिलो भएकोले खाडीचौर पुग्दा नै हामी चढेको सवारीको हेडलाइट बलिसकेको थियो। लामोसांगु पार गरी थोरै उकालो चढेपछि सडक छेउ ठडिएको सेतो खम्बाले चरिकोट ५५ किलोमिटर बाँकी रहेको जनाउ दियो।

सुनकोशीपारि पहाडको गाउँमा भित्ताभरी छरपस्टिएका बत्ती हामी उक्लिएसँगै झन् तलतल र मधुरा देखिन थाले। अँध्यारोमा हामीले लिँदै गरेको दिशा र सवारीको गति अनुमान गर्न कठिन भए पनि उचाई भने निकै लिएको अनुभूति भयो। काठमाडौंदेखि खाडीचौरसम्म तीव्रगतिमा हुँईकिएको सवारीको गति अरनिको राजमार्ग छोडेसँगै सुस्त भयो।

खाडीचौरदेखि चरिकोटसम्म बाटो स्तरोन्नती भईरहेकोले फराकिलो भएपनि राम्रो थिएन। बाटामा अपर तामाकोशी हाइड्रोको ठूल्ठूला मालसामान बोकेका लामालामा ट्रेलर घस्रिरहेका थिए। तिनलाई उछिन्दै ५५ किमी पार गर्न हामीलाई ३ घण्टाभन्दा बढी लाग्यो।

बाहिर केही नदेखिने अँध्यारो र सुस्तगतिको सवारी भित्र समय कटाउने मेसो संगीतमा आफूलाई एकाकार गर्ने मात्र थियो। निरन्तर बजिरहेको श्रृंखलामा सुन साहिँली…’को पालो सकिएपछि चालकले स्टप बटनथिचिदिए। एकैछिन केही सम्झिएझैं गरी आफैं व्यक्त हुन थाले।

हामी सवार गाडी वित्तीय संस्थाको केही अंशसहित उनको आफ्नै स्वामित्वको रहेछ। यसअघि १८ वर्षसम्म दुबईमा आधारित भई खाडीका विभिन्न मुलुकमा मालबाहक सवारी हाँकेका रहेछन्। गीतको भाव जस्तै ४० कटेपछि साहिँलीसँग रमाउन नेपाल फर्किएछन्।

स्वदेशमा यात्रुबाहक सवारी चालकमा भएका उनी आफ्नो अनुभवको पेशा र परिवारका साथै रहन पाउँदा सुखानुभूति गरेका देखिए। बैदेशिक रोजगारी क्रममा उनले देखेभोगेका राजनीतिक र सामाजिक परिस्थिति बताउँदै बेलुका ९ बजे चरिकोट पु¥याए।

चरिकोटबाट दोलखा बजार जाने बाटो मुनि रहेछ। यहाँ केही रिसोर्ट रहेछन् जो काठमाडौं छाडेर आएका स्थानीय युवाले खोलेका हुन्। पुस्तेनी जग्गामै सञ्चालित रिसोर्ट सकभर स्थानीय सामाग्री उपयोग भएका। स्

डाइनिङ हलमा वेटरले हामीलाई खानासँगै रिसोर्टबारे केही जानकारी समेत पस्किरहेका थिए। तरकारीहरु रिसोर्ट मुनिका कान्लामा फलाइएका हुन्,’ वेटरले भने।

अचेल काठमाडौं लगायतका स्थानबाट कालिन्चोक भगवती, दोलखा भिमेश्वरका दर्शन गर्ने तथा नजिकबाट हिमश्रृंखला हेर्न र कालिन्चोक÷कुरी क्षेत्रमा हिउँ खेल्ने स्वदेशी यात्रुको चाप बढेको सञ्चालकले बताए। यसै कारण व्यवसाय फस्टाउनेमा आशावादी पनि रहेछन्।

भोलिपल्ट बिहानै करिब ५ बजे होटलबाट चेक आउट भयौं। चरिकोटबाट जंगलबीचको उकालो कच्ची बाटो मोटरबाट १७ किमी पार गर्दै ६ बजे कुरी बजार पुग्यौं। समुद्र सतहबाट करिब ३३०० मिटर उचाइमा रहेको कुरी बजारको डिलबाट दक्षिणतिर हेर्दा पहाडहरु तल तल देखिएका थिए।

हाम्रो गन्तव्य अझै उत्तरतर्फ ठडिएको चुचुरो थियो।

चरिकोट बजार छाडेको अलि बेरपछि अग्ला रुखको घना जंगल पार गर्दै उकालो लागिएको थियो। उचाइ बढेसँगै कुरी बजार आसपास आइपुग्दा घाँसे कान्ला पहाड, बुट्यान र पोथ्रा पोथ्री देखियो। बजार क्षेत्र वरिपरि भने हिउँ जमेको। ३८०० मिटरको कालिन्चोक चुचुरो पुग्न अझै ५०० मिटर उकालो पैदल हिँड्नुपर्ने। आगामी केही महिनापछि आउनेलाई भने पैदल यात्राको विकल्प तयार हुँदै गरेको देखियो। कुरी बजारको थाप्लोमा निर्माणाधीन केवलकार परियोजनाको बटम स्टेशन र पिरामिड आकारको २ वटा टावर खडा भैसकेको रहेछ।

कुरी बजारमा तातोपानी र चिया पिएर हामी उकालो लाग्यौं। होटल साहुनीले हामीलाई नियालेर करिब डेढ घण्टामा पुग्छौ भनेकी थिइन्। कुरीबाट चुचुरो हेर्दा उति टाढा देखिएन। सुरूआती पाइला चाल्दा एकै क्षणमा पुगिएला जस्तो। तर उकालोमा पाइला चाल्नभन्दा सुस्ताउन र मुटु तथा फोक्सोको चाल सामान्य गराउन धेरै समय लाग्दो रहेछ।

धन्न अडेस लाग्न मिल्ने बेन्चहरु मोडमोडमै रहेछन्। सकुन्जेल हिँड्ने अनि सुस्ताउने। फर्किने प्रायजसो सबैले अबको बाटो गाह्रो नभएको भन्दै ढाडस दिन्थे। तिनै बचनका ऊर्जा लिएर हिँडिरह्यौं।

उचाइ बढदै जाँदा अघिका पोथ्रापोथ्री ह्रास हुँदै खर, बाबियो जस्ता भित्ते झार र मसिना घाँसमा बदलिए। करिब २ घण्टामा चुचुरोसम्म पुग्यौं।

कालिञ्चोक भगवती पूजादर्शन गर्ने तिर्थालुको भिड थियो। युवायुवती वरिपरिको प्रकृतिलाई आआफ्ना ग्याजेटमा कैद गर्दैै सेल्फीमा मग्न थिए।

नजिकै देखिएका हिमश्रृंखलाबाहेक चारैतिरका सबै डाँडाहरु होचा देखिए, जुन चरिकोटबाट उक्लिदाँ भने अजङ्ग लागेका थिए।

कालिञ्चाेक

पूजा गर्दा चढाएका ध्वजा र घण्टहरुले सजिएको रहेछ कालिञ्चोक। चुचुरोको साँघुरो तर लाम्चो परेको थोरै समतल भागमा खुला आकाशमुनि सजिएकी देवी भगवतीको साथै महादेवको पनि पूजा गरिने रहेछ। थोरै पानी देखिने सानो मुख भएको कुवा पूजास्थलमा देखियो। पूजारीले डाडु आकारको ५-६ फिट लामो साधन जलराशीमा डुबाएर करिब ७ फिट गहिरो रहेको भन्दै जल अभिषेक गराइदिए।

पूजारीका अनुसार यो पवित्रस्थलमा मन्दिरको संरचना बनाउन नहुने किम्बदन्ती छ। पश्चिमतर्फ १०-१५ जना उभिन मिल्ने जस्तापाताले छाएको टहरो देखियो। पूर्वपट्टी गणेशको मूर्ति। छ्याङ्ङ खुलेर स्निग्ध, सुन्दर देखिएको निलो आकाश नै छुन सकिएला कि झैं गरेर बौद्धमार्गीले चढाउने लुङ्दा हावाको वेगसँगै फर्फराइरहन्थ्यो।

चिसो स्याँठको बावजुद चुचुरोमा रमाइलै भइरहे पनि पेटले बिहानको खानाको माग गर्न थालिसकेको र बेलुकी काठमाडौं फर्किनु पर्ने बाध्यताले हामी तल ओर्लियौं। उक्लिएको भन्दा निकै कम समयमा नै हामी कुरी बजार पुगेर विहानको खाना खायौं। खाना पश्चात हामीलाई पर्खिरहेको गाडीमा सवार भई दोलखा बजारको पुछारमा रहेकी त्रिपुरासुन्दरी भगवतीको मन्दिर पुग्यौं।

यो मन्दिर भूकम्पले पूर्ण रुपमा क्षति भएकोले नयाँ बनाउन जगसम्म हालिएको र पूर्णताको प्रतीक्षामा रहेछ। कालिन्चोक भगवतीको दर्शनपछि त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्नुपर्ने भनाइ रहेछ। तर यहाँ भने देवीको प्रत्यक्ष दर्शन नभई पूजारी मार्फत पूजा गराउने र प्रसाद दिइने चलन रहेछ। त्रिपुरासुन्दरी, कालिन्चोक र बगलामुखी गरी तीन भगवतीलाई दिदीबहिनीको रुपमा दोलखामा पुजिने गरिएको जानकारी त्रिपुरासुन्दरीका पुजारीले दिए।

तीन दिदीबहिनी एकआपसमा देखिन मिल्ने गरी यी तीन मन्दिरको अवस्थिति त्रिकोणात्मक रुपमा स्थापना गरिएको भन्ने किम्बदन्ती पनि रहेछ। त्रिपुरासुन्दरी भगवती मन्दिरतर्फबाट केहि सिंढी उक्लिए पछि पुगिने रहेछ प्रख्यात दोलखा भिमेश्वर मन्दिर। दोलखा बजार छेउमा रहेको यो मन्दिर छेवैमा आकर्षक ढुङ्गाबाट निरन्तर पानी झरिरहने मूलको तीनधारे रहेछ।

त्यहाँ हातमुख धोएर अँजुली भर्दै पानी पियौं। मन्दिरमा स्थापित प्रस्तर मूर्तिमा भिमेश्वर महादेव र भिमसेनको समेत पूजा अर्चना हुने थाहा पायौं। मन्दिरमा लामबद्ध भक्तहरुका हातमा रहेको पुजा सामाग्रीमा ठूलो परिमाणमा धूप (अगरबत्ती) देखेर हामी एकछिन त चकित भयौं। तर रहेछ के भने भिमेश्वर मन्दिरमा अर्पण गरेर आफ्नो व्यवसायस्थलमा लगि त्यो धूप सल्काउँदा व्यापार व्यवसाय फस्टाउने विश्वासले यो दृष्य देखिएको रहेछ।

भिमेश्वर दर्शनपछि काठमाडौंको लागि दोलखाबजार छाड्यौं र अघिल्लो दिन राती चरिकोट पुगेकै समयमा घर पुग्यौं। काठमाडौं दोलखाको दुई दिने छोटो यात्रामा प्रकृतिसँग निकै नजिकिने, राजधानी नजिकैको भूगोलसँग स्थलगत चिनारी गर्ने र केही धार्मिकस्थलको जानकारी तथा आध्यात्मिक ज्ञान प्राप्त गरेको अनुभूति गर्यौं हामीले।

रमाईलो यात्राको अनुभूति साँचे पनि यात्राको क्रममा बाटामा देखिएका दृष्यले भने मनमा चिमोटिरह्यो। त्यो भनेको भूकम्प गएको ३० महिना पछिसम्म पनि भूकम्पले चर्काएका तथा आधा भत्काएर ठिङ्ग उभिएका घरहरु र त्यसका आसपासमा बनाइएका जस्तापाताका कामचलाउ टहरा तथा छाप्राहरु। र बाटै भरी असाध्यै धेरै टाँगिएका सेतो पृष्ठभूमिको कपडामा राता र हरिया रंगले रंगाईएका अलग अलग पार्टीका चुनाव चिन्ह अंकित झण्डाहरु।

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै