सिन्धुलीगढीको २५० औं विजयोत्सव भव्य (फोटोफिचर)
पहिलो पटक राष्ट्रप्रमुख र उपप्रमुखको सहभागिता

काठमाडौं । ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा २५० औं विजयोत्सव ऐतिहासिक बनेको छ । विजयोत्सवमा मुलुकका राष्ट्रप्रमुख र उपप्रमख दुवैको सहभागीता भएको छ । यसले सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले प्रदर्शन गरेको बीरताको सम्मान भएको छ ।
समृद्ध सिन्धुली अभियानले कमलामाई नगरपालिकासँग मिलेर विजयोत्सवका अवसरमा काठमाडौंदेखि सिन्धुलीगढी हुँँदै सिन्धुलीमाढीसम्म साइकल यात्रा गरेको थियो । त्यस यात्राको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको थियो ।
शुक्रबार सम्पन्न विजयोत्सवमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यतामा भएको थियो । यसरी राष्ट्रप्रमुख र उपप्रमुख दुवै जोडिएको काठमाडौंबाहिरको कार्यक्रम सम्भवत पहिलो यही हो । विसं १८२४ मा कप्तान किनलोकको नेतृत्वमा आएको ब्रिटिस सेनालाई गोर्खाली फौजले सिन्धुलीगढीमा पराजित गरेको सम्झनामा हरेक बर्ष विजयोत्सव मनाइँदै आएको छ ।
सिन्धुलीगढीमा भएको विजयोत्समा प्रधानसेनापति राजेन्द्र क्षेत्री, मुख्य सचिव लोकदर्शन रेग्मी, विभिन्न मन्त्रालयका सचिव, पूर्वमन्त्रीहरु, पूर्वसाँसद। स्थानीय जनप्रतिनिधिहरुसहित ठूलो संख्यामा सर्बसाधारणको उपस्थिति थियो । दुलही जस्तै सिंगारिएको सिन्धुलीगढीको राष्ट्रपतिको उपस्थितिले स्वरुपै फेरिएको थियो । नेपाली सेनाले तत्कालीन अवस्थामा अ्रग्रेज सेनासँग युद्ध लड्दाको अवस्था दर्शाउने पोशाकमा आफ्ना सैनिकलाई उतारेको थियो । उनीहरु गुलेली, मट्यांग्रा, भाला, भरुवा बन्दुकलगायतका हतियारमा गढीका हरेक कुनामा सुरक्षार्थ तैनाथ थिए । तत्कालीन ब्रिटिस सेनालाई बहादुर गोर्खालीले तिनै हतियारका बलमा परास्त गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो गढीमा राष्ट्रिय झन्डा फहराएर विजयोत्वको सरुुवात गरेको थियो ।त्यस अवसरमा नेपाली सेनाको चण्डीदल गणका सैनिकले सलामी अर्पण गरेका थिए । त्यही बेला नेपाली सेनाले सन् १८२४ मा भएको अंग्रेजसँगको युद्धलाई नाटकमा रुपान्तण गरेर प्रदर्शन गरेको थियो ।
त्यस अवसरमा राष्ट्रपति भण्डारीले नेपाल एकीकरणको समयमा भएको युद्धमा हाम्रा बीर पुर्खाले देखाएको बहादुरीले नेपालीको शिर उचो बनाएको बताइन् । सिन्धुलीगढी इतिहासमा सधैं बीरताको गाथा बोकेर रहिरहने भण्डारीले बताइन । उनले सिन्धुलीगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी विश्वसामु चिनाउन भूमिका निर्वाह गर्न सबैमा आग्रह गरे ।
विजयोत्सव आयोजक कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले गढीको ऐतिहासिक महत्वबारे जानकारी गराएको थियो ।