मित्रहरुसँग गोसाइकुण्ड यात्रा

१. यात्रा योजना
गोसाइकुण्ड यात्रा हामी रसुवावासीका लागि कुनै नौलो होइन । धेरै पटक पुगेको छु र पनि जान मन लागिरहन्छ । कारण धार्मिक, सांस्कृतिक र सुन्दर भू–दृश्य नै हो । उसो त विष्णुप्रसाद श्रेष्ठ मेरा मिल्ने साथी । उनी सिन्धुपाल्चोक बाँसखर्क निवासी हुन् । अहिले उनको काठमाडौंमा पनि घर छ । उनीसँग मेरो चिनजान २०४८ साल मंसिर महिनामा भएको हो । म त्यो वर्ष आईएल पढ्न गाउँबाट काठमाडौं भरेको थिएँ । हाम्रो भेट काठमाडौं मरुहिटीस्थित काठमाडौं बहुमुखी क्याम्पसमा भएको थियो । त्यसपछि हाम्रो अध्ययन क्रम नेपाल ल क्याम्पसमा बीएल पढ्दासम्म सँगैसँगै अघि बढ्यो । अधिवक्ताको लाइसेन्स लिएपछि केहि वर्ष सँगै कानुनी पेसा पनि गरियो । उनै मित्रले यसपालीको दशैँ लगतै गोसाइकुण्ड जाने भनेपछि आफ्नै गाउँको शीरमा रहेको कुण्डमा मैले नलगी बहाना बनाएर टार्ने कुरा पनि भएन हुन्छ भनेँ ।

रोचक कुरा नेवारहरु श्रीमान–श्रीमती सँगसँगै गोसाइकुण्ड जान नहुने मान्यता रहेछ । मेरो मित्र जोडीले साहस गर्नुभयो । अर्को कुरा हामी २०६३ सालमा नै गोसाइकुण्ड सँगै जाने योजना बनेको थियो । आँखा पाक्ने रोगले गर्दा म त्यसबेला जान जान सकिएन । हामी तामाङ जातिमा भने त्यस्तो विश्वास छैन ।

मित्र विष्णु प्रसाद श्रेष्ठको श्रीमती शोभा, छोरा सोयल, उहाँका श्रीमतीका तीनजना भाउजुहरु र छोराछोरी गरेर ११ जना, म, मेरी श्रीमती प्रमिला र जेठो छोरा वाङच्यु गरी हामी १४ जनाको टोली दशैंको टीकाको भोलिपल्ट धुन्चेमा भेट्ने र भोलिपल्ट बिहान सबेरै गोसाइकुण्डतर्फ उकालो लाग्ने योजना थियो ।

योजना अनुसार मित्र विष्णुको टोली काठमाण्डौंबाट असोज १५ गते बस चढेर धुन्चे आउनुभयो । उहाँहरुको लागि धुन्चेको हिमालय लेजेण्ड होटलमा बासको व्यवस्था गरिएको थियो । साँझ ४ बजेतिर मित्र विष्णुको टोली आइपुग्यो । उहाँहरुलाई होटलमा लगेर कोठामा झोला राखेपछि चियाकफी पिउनतिर लाग्यौं ।

२. अचानक अर्को टोलीको आगमन
मित्र विष्णुको टोलीलाई रसुवामा स्वागत गरी चियाकफी पिउँदै गर्दा नचिनेको नम्बरबाट मेरो मोबाइलमा फोन आयो । फोन उठाएँ । चिनेको स्वर रहेछ, नुवाकोटका मित्र अर्जुनबहादुर तामाङ । उनले भने, ‘तपाईं कँहा हुनुहुन्छ ? हामीहरु धुन्चे आइपुग्यौं, ६ जना छौं । गोसाइकुण्ड जान आएको, तपाईको सहयोग चाहियो ।’ मैले हुन्छ भन्दै म होटल हिमालय लेजेन्डमा छु, आउनुहोस भनें ।

एकै छिनमा मित्र अर्जुनको टोली होटलमा आइपुग्यो । टोलीमा तामाङ डाजाङ मासिकका सम्पादक इन्द्र तामाङ, कवि मुक्तान थेबा, कवि राजु स्याङतान, कवि लक्ष्मी रुम्बा र सेतोपाटी अनलाइन पत्रिकाकी पत्रकार शान्ति थिङ रहेछन् । अचानक आइपुगेको नयाँ टोलीलाई पनि धुन्चेमा स्वागत गर्दै सोहि होटलमा बासको ब्यबस्था गरियो ।

३. स्थानीय हुनुको जिम्मेवारी
मित्र त्यसमाथि स्थानिय हुनुको नाताले दुवै टोलीलाई गोसाइकुण्ड लगेर धुन्चेसम्म ल्याउने जिम्मेवारी मेरो भयो । मैले अचानक आइपुगेको मित्र अर्जुनको टोलीलाई पनि सहज रुपमा लिएँ । दुवै टोलीबीच चिनजान गराइयो । हामी सबै खुसी भयौं ।

४. धुन्चे पुरानो बजार घुमाइदिने काम
चिया, कफी, चाउचाउ र रोटी खाएपछि दुवै टोलीलाई धुन्चेको पुरानो बजार घुमाउन लगेँ । चौकीडाँडाबाट ओरालो झर्दै उहिले काठमाडौंबाट आउँदा धुन्चे प्रवेशको पुरानो बाटो समात्यौं । साँझ छिपिदै गइरहेको थियो । घामको उज्यालो क्रमशः हराउँदै गयो । घामको किरण माथि लेकको टुप्पो हुँदै हिमालतिर सर्दै गैरहेको थियो । एकैछिन पछि घामको किरणले लाङटाङ हिमाल पोतिरहेको देखिन्थ्यो । सन्ध्याकालीन घामको किरण हिमालमा ठोक्किदा सुनौलो देखियो । हिमालको त्यो दृश्य देखेर सबै रमाए ।

पुरानो बाटो समातेर ‘कङनि’ गाउँ प्रवेशद्वार पुग्दा त्यो भत्केर ढुङ्गाहरु पनि हराइसकेछ. सोहि स्थानको मेन्दङ मानी पनि भत्केछ । ‘ओम मानी पेमे हुँ’ खोपेका ढुंगाहरु पनि छैनन् । ०७२ सालको महाभूकम्पले भत्काएको हो भने पनि मानीका ढुङ्गा चोरी गर्नु बौद्ध परम्परामा पापकर्म मानिन्छ भने कानूनी रुपमा चोरी गर्नु  अपराध नै हो । भूकम्पले भत्काएका घरहरु देखाउँदै र गाउँबीचको मानी चिक्पु ‘एक्ले मानी’ देखाइयो । साँझ छिपिँदै र जाडो बढ्दै गएकोले तामाङ संग्रहालय, ‘मानी न्यीप्पु’ (दुई मानी) त्यसपछि तिन, चार, पाँच र ‘मानी डुप’ (६ मानी), घले राजाका दरबार देखाउन सम्भव भएन ।
एउटा पसलमा पसेर स्निकर चकलेट, दालमोठ र टर्चलाइट किनेर होटलमा फर्कियौं । स्निकर चक्लेटले उकालो चढ्दा निकै शक्ति दिने अनुभव ममा छ ।

खान खानुअघि होटलको माथिल्लो तलामा रहेको हलमा जम्मा भयौं । सुकुटी र कोदोको रक्सि पिउँदै गोसाइकुण्ड जाँदा लेक लाग्ला भनेर अपनाउनु पर्ने सावधानी र बाटोको सम्बन्धमा जानकारी दिने काम मैले गरें । ओखतीको कुरा मित्र विष्णुले गर्नुभयो । उनी ओखती पसलका होलसेलर पनि हुन् । बुढाबुढी दुवै ओखतीका बारेमा जानकार छन् । भोलि बिहान ६ बजे हिँड्ने कुरामा सबैको सहमतिपछि म र मेरी श्रीमती बिदा लिएर घरतिर लाग्यौं ।

५. यात्रा प्रारम्भ
२० जनाको टोली अलि ठूलो नै हुँदो रहेछ । सबैजना तयारी हुँदा ६ः३० बज्यो । चिया र कफी पिएर यात्रा शुरु गरियो । योजना अनुसार हामीहरु आधा घण्टा ढिलो भयो । जोङचेत भन्ने ठाउँमा रहेको हिमालय स्प्रिङ मिनिरल वाटर उद्योग अगाडी सामूहिक तस्विर खिचियो । कारखानादेखि मुनितिर रहेको बोङजो घले राजाको दरबार देखाइ दिएँ । पत्रकार एबम कवि राजु स्याङतानले लामो लेन्स भएको क्यामरा सोज्याइ हाल्यो । अरुहरुले पनि खल्तीबाट मोबाइल झिकेर क्लिकक्लिक गर्न थाले ।

आधा घण्टा तेर्सो हिँडे पछि तिवारलुङ अर्थात घट्टेखोला पुगिन्छ । त्रिशूली खोलाको साङलो पानी देखेर सबै दंग भए । सायद यतिको सफा पानी खेर गएको देखेर होला । यता खेर गैरहेछ उता काठमाडौंमा अभाव । बिडम्बना नै भनुँ ।

वर्षा ऋतुले विदा लिएर शरदको प्रारम्भ हुँदै गरेकोले होला, आकाश नीलो, सफा, हरियाली रुख–बिरुवा र हिड्ने बाटोमा हिलो नहुदाँ एका विहान निस्किएको हाम्रो यात्रा त्यसै पनि रमाइलो लाग्दै थियो । मिल्ने मध्येका सबैभन्दा घनिष्ठ मित्र विष्णुको परिवार र मेरो परिवारको सँगै यात्रा भएकोले होला यात्रा गर्नु अघि नै मनमा एकप्रकारको रोमान्च भरिसकिएको थियो । उसमाथि मित्र अर्जुनको टोली थपेर रमाइलोको उचाई बढाई दियो ।

खोला तरेपछि उकालो शुरु भयो । तामाङ भाषामा खेन्दी (खेन्डो) भनिने यो खन्ती उकालो गोसाइकुण्ड पुगेपछि मात्र टुंगिन्छ । शोभा बहिनीका माहिली भाउजू उति हिड्न सकेनन् । हामी बिस्तारै हिड्यौं । खन्तिको पसल बन्द रहेछ । पसलका मालिक दशै मनाउन ठुलोभार्खु गाउँ गएका रहेछन् । एकछिन बिसाएर चियाखाजा खाने हाम्रो इच्छा टुट्यो । मेरी श्रीमती प्रमिला, छोरा वाङच्यु, राकेश र निकेश सबैभन्दा आगाडी थिए । खन्तिमा चियानास्ता खान नपाएकोले भोकले च्याप्दै लागिरहेको थियो । उनीहरु देउरालीमा खान अर्डर गर्ने भनेर अघिघि गए । मित्र विष्णु, लक्ष्मी रुम्बा र म सबैभन्दा पछि परेछ । अलिअलि गफ गर्दै साथीहरु पछ्यायौं । विष्णु र लक्ष्मी रुम्बाले पुराना हिन्दी गीत गाए । दुवै सिपालु रहेछन् । मलाई पनि गाउन मन लाग्यो । तर, हिन्दी गाउन मलाई आउँदैन । नारायण गोपालका केहि गीतहरु गाउँदै उकालो काट्ने मेसो गर्यौं ।

घट्टेखोलादेखि देउराली बीच खानेपानीको धारा छैन रहेछ । एक ठाउँमा भूकम्पले सुख्खा पहिरो गएर फड्के पुल बनाएको रहेछ । त्यो तर्दै गर्दा मेरो हातको मिनिरल वाटरको बोतल पनि खस्यो । टिप्न जान सम्भव थिएन । खोलाको पानी त्यसै खेर गएको छ । पर्यटकीय पदमार्गमा करिब २ घण्टा ठाडो उकालोमा खानेपानीको धारा नहुनुले देश बनाउछु भनेर राजनीति गर्नेहरु, जिल्ला विकास समिति तथा खानेपानीसम्बन्धी कार्यक्रम गर्ने गैरसरकारी संस्थाहरुलाई गिज्याइरहेको अनुभूति हुन्थ्यो ।

मुख सुकेर प्याकप्याक भएर आयो । तै विष्णु र लक्ष्मीले गीत गाउन छाडेनन् । मैले पारि नागुङको झरना हेरेर चित्त बुझाएँ । सायद पानी नबोक्ने अरुहरुलाई पनि मलाई जस्तै हुँदो हो ।

देउराली मुनि पुगेपछि मन खुसी भयो । किनभने अब पानी र दालभात खाने ठाउँ नजिक पुग्दै छौं भनेर । भोक पनि निकै लागि सकेको थियो । घरमा सँधै ९ बजे नै खाना खाइसक्ने बानीले होला पेटले हड्ताल गरिरहेको थियो । देउराली त पुगियो तर खुसी अधुरो नै । त्यहाँको साहुजी पनि दशैं मनाउन भार्खु गाउँ झरेछन । धारामा मुख जोडेरै चाहिँदो पानी पिएँ । आहा ! कत्ति स्वादिलो पानी ।

ढिम्साबाट झरेका र तलबाट चढेका यात्रु पर्यटकहरुको अनुहारमा भोकको संकेत देखिन्थ्यो ।

देउरालीमा होटल बन्द भएकाले प्रमिलाले २० जनाको लागि खाना तयार गर्न ढिम्सामा फोन गरिन । १२ बजे ढिम्सा पुग्दा खाना पाकिसकेको रहेछ । दालभात, साग, आलुको तरकारी, सुकुटी र पदमचालको आचार खाइयो । के मिठो ? भोक मिठो भने जस्तो भएछ सबैजनालाई । दालभातको रु. ३ सय खासै महँगो लागेन ।

६. धार्मिक आस्थामा खेलवाड
ढिम्सालाई स्थानीय तामाङ भाषामा दोम्चे भनिन्छ । ढिम्सा प्रवेशको पहिलो थुम्कालाई ङारसा भनिन्छ. ङारसामा एउटा मानी थियो । बोन्पो (झाँक्री)हरू गोसाइकुण्ड जाने बेलामा सोहि मानीमा पूजा गर्ने परम्परा थियो । नेपाली सेनाले मानी भत्काएर सोहि स्थानमा हेलिप्याड बनायो । बोन्पोहरुले पूजा गर्न पाएनन् । भार्खु गाउँका गाउँलेहरुले उहिलेदेखि पूजा गर्दै आएको मानी भत्काउन नहुने भनी गरेको बिन्ति सेनाले मानेन् । ०७२ सालको भूकम्पले हेलिप्याडको आधा भागदेखि तलको जमिन पहिरोले लागेछ । गाउँलेहरु अहिले खुसी छन् ।

७. पहिलो बास लौरीबिनामा
ढिम्सामा खाना खाएर उकालियौं । चन्दनबारी पुगेर एकछिन आराम गरेर उकालियौं । च्योलङपाटीमा चिया खाजा खायौं । त्यहाँबाट भने हामीहरु २ समूह भएर लौरीबिना उक्लिने भयौं । छिटो हिड्न सक्नेहरु अघि गएर कोठा बुक गर्ने र खान अर्डर गर्ने, हिड्न नसक्नेहरु बिस्तारै आउने । निकेश, सोयल, मुक्तान थेबा, राजु, इन्द्र, मेरो छोरा, श्रीमती र म अगाडी गयौं । साँझ ६ः३० बजे लौरीबिना पुग्यौं । होटल माउन्ट भ्यू खचाखच थिए । अचेल नेपाली युवाहरु आन्तरिक पर्यटक बनेर घुम्ने संख्यामा वृद्धि भएको रहेछ । मुस्किलले कोठा पाइयो । हामीभन्दा करिब ५० मिनेट ढिलो गरेर विष्णुको टोली आइपुग्यो । राकेश भाइलाई बेस्सरी टाउको दुखेछ ।

लक्ष्मी रुम्बा बहिनीलाई खुट्टा दुखेर हैरान भएछ । उकालो चढ्दाको थकाई र दुखाई भगाउन केहीले चौरीको नौनीमा रक्सी तताएर ज्वाइखट्टे खए भने कोहीले चाँहि नौनी दुखेको खुट्टामा दल्न लागे । दुखाई कम गराउने अलग विधि भनौं न खाना खाएर त्यस रात सुतिहाल्यौं । भोलिपल्ट बिहान ५ः३० बजेतिर बिउँजेछु ।

८. दोस्रो दिन
सूर्योदय दर्सन ः बिहान उठ्ने बित्तिकै सूर्योदय र हिमाल हेर्न होटलमा बस्नेहरुको भीड नै लाग्यो । लौरीबिनाबाट पश्चिम हुँदै आँखालाई उत्तरपूर्व घुमाउँदा क्रमश बौद्ध हिमाल, गणेश हिमाल, तिब्बती हिमाल र लाङटाङ हिमाल लहरै देखियो । लाङटाङ हिमाल त आँखा सामुन्ने उभिन आइपुग्यो । बिहान घामको किरण सेतो हिमालमा ठोकिदा चाँदी झैं टल्कियो । सायद यसैलाई भनिन्छ, सुन्दर हिमाल । नेपाली पर्यटकहरु सूर्योदयको दर्शन गर्न होटलको आगाडिको थुम्कोमा थुप्रिए । हातमा क्यामरा र मोबाइल लिएर फोटो खिच्नेहरूको भीड नै लाग्यो । तातोपानी, चिया, कफी, रोटी र तरकारी खाएर दोस्रो दिनको यात्रा शुरु गर्यौं ।

स्थानीय कथावस्तुको वयान : मित्र इन्द्र, मुक्तान थेबा र राजुलाई स्थानीय कथावस्तुको चासो रहेछ । धुन्चेदेखि नै विविन्न स्थानहरुको परिचय गराउँदै यात्रा अघि बढेको थियो । घले राजाका दरबारहरु, घट्टे खोलामा माछा नहुने, खेन्दी उकालो, ढिम्सामा रहेको पुरानो बस्ति, दोम्चे पल्कि गुम्बा, त्यस छेत्रका पुराना गुम्बाहरु, गुफाहरु, गुरब, लौरीबिना, गुल्बोम्बो र छोना (गोसाइकुण्ड)को कथा बर्णन र लौरीबिनाबाट देखिने तामाङ गाउँहरुको चिनारी गर्दै लौरीबिना उकालो चढियो ।

सामुहिक तस्बिर : राजुले बडा गजबको ठूलो क्यामरा बोकेको रहेछ । ३९०१ मीटर उचाई चढीसकेपछि स्थानीय तामाङ भाषामा नौक्यागाङमा सामूहिक तस्बिर लियौं । यो डाँडा नै गोसाइकुण्ड चढ्ने अन्तिम उकालो हो । डाँडाबाट दक्षिण खोंचमा सरस्वती कुण्ड देखिन्थ्यो ।

भिरको बाटो अर्जुन थरर काँपे : उकालो चढीसकेपछि तेर्सो बाटो शुरु हुन्छ तर डर लाग्दो भीर । माथि हेर्यो ढुङ्गा खस्ल जस्तो देखिने तल हेरे रिंगटा लाग्ने खोँच । खुट्टा चिप्लियो भने समाउने र अडिने ठाउँ नै छैन । लेकाली घाँस मात्रै । मित्र अर्जुन धेरै डराउनु भयो । उनी कुना टाँसेर हिड्नु भयो ।

सम्धीस्याले झोला बोकाइन : तामाङ जातिमा मामाचेला र फूपूचेली बीच जिस्काउन र मन परे विवाह गर्न समेत मिल्छ । हामी बीच लौरीबिना उकालो चढ्दै गर्दा तामाङ जातिको उपथर के हो भनी एकापसमा सोधनी गरिँदा कोही जेठाजु, कोही स्वाँगे, कोही मामाचेला र फूपूचेली अर्थात् सम्धी–सम्धीस्या पर्यो । धादिङकी बहिनी र मुक्तान थेबाको साइनो सम्धी र सम्धीस्या परेछ । अब मुक्तान थेबाले सम्धीस्याको झोला नबोकी सुख ? सम्धीले सम्धीस्याको झोला के बोकिदिएको थियो, मित्र अर्जुनले म त ससुरा खलकको हुँ भनेर सम्मान खोजि हाल्यो ।

साहसीक तीन किशोर र ठूली भाउजू : मेरो छोरा १६ वर्ष लाग्यो । सोयल १५ र निकिता १३ वर्ष । तिनै जनाले ४३८० मीटर उचाइको गोसाइकुण्ड सजिलै चढे । शोभा बहिनीकी ठूली भाउजू अरुभन्दा फुर्तिला रहेछन् । उनी हामीसँगै हिँडेर सबैभन्दा अघि कुण्ड पुगिन ।

स्नान र कुण्ड परिक्रमा : हामी अघि हिड्नेहरु कुण्ड पुग्दा १२ बजेको थियो । होटलमा तातो दालभात पाकिरहेको रहेछ । खाएर एकछिन आराम गर्यौं । मित्र विष्णुको परिवार ४५ मिनेट पछि आइपुगे । उनीहरु खानु अघि कुण्डमा स्नान गर्नतिर लागे । हामीले भने खानापछि कुण्डमा गएर पानीले हातमुख धोएर शरीर शुद्द पार्यौ । त्रिशूल धारामा जल थापेपछि कुण्ड परिक्रमा गर्यौँ । राकेशलाई टाउको दुखेकोले सूर्यकुण्ड जाने हाम्रो योजना सफल भएन । लौरीबिनामा बास बस्ने योजना सहित ४ बजे फर्कियौं ।

अविस्मरणीय दुखाइको रात : कुण्ड पुग्नु अलि वर गणेशडाँडा ओरालोमा मेरो खुट्टा फर्कियो । पहिले नै मर्केको ठाउँमा दुखाइ बल्जियो । त्यो दुखाइ ओरालो झर्दा अलि समस्या भयो । लौरीबिना ओरालो बिस्तारै झरेँ । राति खुट्टा बेस्सरी दुख्यो । मैले दुखाइ साहना नसकेर आइया–आइया भनेरै कराएछु । काठको प्लाईले बारेको अर्को कोठामा सुतेका यात्रुलाई मन परेनछ । उनले कति आइया भनेर कराएको हामीलाई डिस्टर्ब भयो भनि हकारे । चुप लाग्नुको विकल्प थिएन । तर, उनमा मानव हृदय नभएको रहेछ नै भन्छु । मेरी श्रीमतीले खुट्टादेखि कुमसम्म मालिस गरेपछि म निदाएछु । बिहान ३ बजे कसैले गीत गाइरहेको रहेछ । त्यो आवाजले हामीलाई बिउझाई दियो । गीत गाउने त उनै महिला पो रहेछन् जसले तपाईं कति आइया भनेर कराएको, हामीलाई डिस्टर्ब भयो भनेर मलाई हकारेको थियो । उनि ३५ वर्ष जतिकि देखिन्थिन् । अहिले भने मलाई डिस्टर्ब भैरहेको थियो । मेरी श्रीमतीलाई पनि डिस्टर्ब भएछ क्यारे । उनले भनिन, सुतिरहेको मानिसहरुलाई डिस्टर्ब हुनेगरी गीत गुनगुनाउने को हो ? तिनी केहि बोलेनन, तिनिसँगैको पुरुषले सरि भने । गीत गुनगुनाउन बन्द भयो । त्यो रात मेरो लागि दुखाइको हिसाबले अविस्मरणीय रह्यो । मित्र विष्णुको कोठामा भने माथि सुत्ने भारतीय पर्यटकहरुले तातोपानी पोखाइदिएछ । यात्रामा हिडेँपछि घरमा जस्तो हुन्न भनेको यहि हो भनेर चित्त बुझाएँ ।

९. यात्राको अन्तिम दिन
पुरी र च्याउको मिठो तरकारी : तेस्रो दिन ओरालो झर्ने भएकोले साथीहरु बिहान उठेर हामीभन्दा अघि हिडिसकेछन् । मित्र विष्णु र राकेश भने सँगै थियो । हामी भने कफी खाएर मात्रै ओरालो झर्यौं । अघि हिडेका साथीहरुलाई चोलपाटीमा भेट्न पुग्यौं । मित्र अर्जुनको टोली त्यँहाबाट पनि हामीभन्दा अघि लागे । उहाँहरु खजा नखाई हिड्नु भयो । पुरीसँग च्याउको तरकारी थपी थपी खायौं । जंगली च्याउको स्वाद निकै मिठो थियो । त्यो मिठो खाजा सायद यात्रा भरिको सबैभन्दा मिठो हुनुपर्छ ।

चौरीको नौनी, याक चीज र छुर्पी : मित्र अर्जुनको टोलीलाई चन्दनबारीमा भेट्न पुग्यौं । लक्ष्मी रुम्बा बहिनीले चीज र नौनी किनिन् । मित्र विष्णुको परिवार र मेरो परिवारले ८–१० केजी याक चीज र नौनी किन्यौं । यो यात्राको तातिलो कोसेली भनेको यही नै हो । चौरीगाईले जडिबुटी खाएर दुहेको दूधबाट बनाइएको शुद्ध नौनी किन नकिन्नु ? काठमाण्डौंमा यस्तो राम्रो कहाँ पाइन्छ र ?

उकालीमा अघि अघि ओरालीमा पछि : उकालो चढ्दा सबैभन्दा फूर्तिला देखिएकी शोभा बहिनीकी ठूली भाउजू ओराली झर्दा गारो मान्दै थिइन् । कारण, जुत्ता निकै टाइट भएछ । जुत्ता सानो भएर खुट्टा दुखेपछि चन्दनबारी ओरालोमा उनि यस्तो गीत गाउँदै थिइन्– ‘उकालीमा अघि अघि, ओरालीमा पछि पछि....।’

नचिनेको क्यामराम्यान सन्ध्या : धेरैको मोबाइलको ब्याट्री चिसोले अफ भैसकेको थियो । सन्ध्या बहिनीले टिकाउको पावर बैंक बोकेको रहेछ । उनले त्यसैको माध्यमबाट मोबाइल चार्ज गर्दै फोटो खिच्ने गरिछन् । चोलङपाटीमा उनले खिचेका फोटोहरु देखाए । थाहै नपाइकन हामी सबैका फोटोहरु खिचेका रहेछन् ।

सजिलो बाटो भार्खु गाउँबाट : ढिम्सा उकालो चढ्दा साथीहरु आतिएको थियो । अलि सजिलो बाटो लैजानु पर्ने महशुस भयो । ढिम्सामा खाना खाएर ठूलो भार्खु भएर धुन्चे पुग्ने बाटो समातें । त्यो बाटो हिड्नुको मज्जा बाटोमा ब्रवेको सिंगबेन रूख, लोङ्इ फोप्रङ, मंग्ज्योल, याङकरजोङ घले दरबारको भग्नावशेष, तेमिन मानी, फंग्गोदी लामडामा भएको बोन्पो मानी र मेन्दाङ मानी हेर्न सकिन्छ । उल्लेखित धार्मिक–ऐतिहसिक स्थानहरु देखाउँदै ठूलो भार्खु निस्कियौं । सबैको खुट्टा दुखेर हिड्ने मन गरिरहेको थिएन । एउटा टिप्पर बोलाएर धुन्चे गयौं । साँझ पर्न लागेकोले दुवै टोलीका मित्रहरुलाई होटलमा राखेर विदा गरी हामी भने गाउँ फर्कियौं ।
phurpatamang10@gmail.com

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै