साहित्य

तामाङ महिला मुद्दामाथि तामाङ साहित्यको चेतना

(बिना थिङ तामाङ कथाकार हुन् । उनी नेपाली र तामाङ दुबै भाषामा कथा लेख्दै आइरहेकी छन् । मायालु ङेसुर तामाङ साहित्यीक संस्था ‘तामाङ डाजाङ’का पूर्वअध्यक्ष हुन् । उनी पन्ध्र वर्षदेखि काभ्रेमा महिला बेचविखन विरुद्ध अभियानमा छिन् । सन्चु ब्लोन डाजाङका वर्तमान अध्यक्ष हुन् । तामाङ डाजाङ मासिकले ‘तामाङ महिला मुद्दामाथि तामाङ साहित्य चेतना’ विषयमा तीन जना स्रष्टा एवं अभियन्ताहरु बीच छलफल आयोजना गरेका थिए । प्रस्तुत छ छलफलमा व्यक्त विचारहरुको सम्पादित अंश । - स.)

तामाङ साहित्य लेखनमा तामाङ महिलाहरुको उपस्थिति कस्तो छ ?

सन्चु : तामाङ साहित्य लेखनमा तामाङ महिला स्रष्टाहरुको उपस्थितिलाई पुस्तक प्रकाशन र फुटकर रचनाको हिसाबले दुई भागमा बिभाजन गरेर हेर्न सकिन्छ । पुस्तक प्रकाशनको हिसाबले अहिलेसम्म आठ जना तामाङ महिला स्रष्टाहरुले आफ्ना साहित्यिक कृतिहरु प्रकाशनमा ल्याईसकेका छन् । फुटकर रचनाको हिसाबले भने धेरै महिला स्रष्टाहरु क्रियाशील छन् ।

तामाङ महिला स्रष्टाहरुको प्रकाशित पुस्तकहरुमा कुमारी लामाको कविता संग्रह ‘छार स्ह्यो’ (२०५९), श्रृजना गोलेको गजल संग्रह ‘दुइला ऐन’ (२०६२), अस्मिता थिङ ‘म्हेन्दो’को कविता संग्रह ‘दुङालला ल्हुइ’ (२०६४), सकुला तामाङ ब्लोनको कविता संग्रह ‘कोम्हेन्दो न्हाङ छिगकादे’ (२०६८), रिना बम्जन ‘बुद्ध’को गजल संग्रह ‘खासुन्हाङला लनि’ (२०६८) र ‘लुङबा जाम्बुलिङ’ (२०६९), सजना गोले तामाङको गजल संग्रह ‘चोमोलुङमा दाङबा गोङमाकादे’ (२०७०), हिरामाया घिसिङ तामाङको कविता संग्रह ‘आपाआमाला मोलाम’ (२०७०),  गीत संग्रह ‘च्युम्बा मि’ (२०७०) र उपन्यास ‘खाज्याम’ (२०७३), रन्जना मोक्तानको गीत संग्रह ‘रिन’ (२०७०) छन् । स्रष्टा बिना तामाङ ‘सुनगाभा’को अनुवाद कृति ‘छुकि’ (२०६९) कथा संग्रह र ‘रातो घर’ (२०७२) दुइभाषे कविता संग्रह आएका छन् । रवीन्द्र तामाङको संकलन तथा ओम तामाङ सुखदुख सेवा गुठीको प्रकाशनमा ‘तामाङ कवयित्रीका मातृभाषाका कविताहरु’ (२०६४) संयुक्त संग्रह प्रकाशनमा आएको छ । विधागत हिसाबले कविता, गीत, गजल, कथा र उपन्यास गरी पाँच विधा (अनुवादसहित)का पुस्तकहरु प्रकाशीत छन् ।

तामाङ महिला मुद्दामाथि तामाङ साहित्यको चेतना कस्तो छ ? कसरी उठिराखेको छ ?

बिना : तामाङ भाषामा साहित्य त लेखियो तर पनि तामाङ साहित्यको समग्र स्थितिको जानकारी नभएकोले यस विषयमा म धेरै बोल्न सक्दिन । तामाङ साहित्य बारे बोल्न गाह्रो छ । भाषामा लेख्ने बित्तिकै त्यो साहित्य हुन्छ कि हुँदैन यो वहसमै छ । मुद्दाको हिसाबले जति पनि तामाङ महिला स्रष्टाहरु अहिले आउनु भएको छ फितलो नै लागेको छ मलाई । विधागत हिसाबले कविता विधा अगाडि देखएको छ त्यसमा पनि अलि बढी आक्रोश अनि मायाप्रेमका कुरा मात्र देखिन्छन् । ल्याउनु पर्ने विषयहरु धेरै छन् । लेखनमा समग्र समाज टिप्न सकेको छैन । महिला स्रष्टाहरुले अझ बढी त्यसलाई टिप्नु पर्ने हो त्यो हुन सकेको छैन ।

मायालु : अहिले तामाङ महिलाहरुले धेरै समस्याहरु भोगिराखेका छन् । प्रविधिको पछिल्लो विकास गाउँ गाउँसम्म पुगेको छ । गाउँमा हातहातमा मोबाइल फोन पुगेको छ । प्रविधिको विकासले सँगसँगै विनास पनि लिएर गएको छ । तामाङ गाउँघरमा बालविवाह बढेको छ । पहिले एसएलसी अहिले इइसीको लागि रजिष्ट्रेशन फारम भर्ने मध्ये कम्तिमा पाँच सात जना त परिक्षामा सहभागी नै हुँदैनन् । परिक्षा दिने बेलासम्म उनीहरुको विवाह भईसकेको हुन्छ । सञ्चारमा पहुँच हुनु राम्रो कुरा हो सँगै यसले समस्या पनि निम्त्याएको छ । त्यसले के देखाउँछ भने तामाङ महिलाहरुको शैक्षिक स्तर कता गईराखेको छ ? हिजोको भन्दा वृद्धि हुनु पर्ने हो त्यो हुन सकेको छैन । यो वहसमा ल्याउनु पर्ने विषय हो, तामाङ साहित्यमा आउनु पर्ने विषय हो । 

वैदेशीक रोजगारीले गाउँमा अर्को समस्या निम्त्याएको छ । घरपरिवार अविभावक विहिन भएको छ । बुबा वैदेशीक रोजगारीमा गएकाले घरमा आमा मात्र हुने भए । आमाको कुरा बच्चाहरुले नसुन्ने नै भए । किशोर अवस्थाका केटाकेटीहरुका लागि अविभावकत्व, सुरक्षाका साथै काउन्सिलिङको जरुरी हुन्छ । बुबा घरमा नभएपछि त्यो नहुने भयो । संयुक्त परिवार विखण्डन हुँदै एकल परिवारमा परिणत हुने क्रम बढ्दो छ । यसको प्रत्यक्ष असर पनि हाम्रा वहिनीहरुमा पर्दै गइराखेको छ ।

अर्को कुरा तामाङ महिलाहरुमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै आरोपित बेचबिखनको मुद्दा अहिलेसम्म तामाङ साहित्यमा कहि कतै आएको देखिएको छैन । म विगत दश पन्ध्र वर्षदेखि महिला बेचविखन विरुद्धको अभियानमा क्रियाशील छु । किन हाम्रा दिदीबहिनीहरु बेचिए ? बेचिनका कारणहरु के के छन् ? सिन्धुपाल्चोकका तामाङले बाउले छोरी किन बेचे ? यसो सोच्दा बाउले छोरी कही बेच्न सक्छ त ? असम्भव जस्तो लाग्छ । साहित्यमा मात्र होइन तामाङ मिडियाकर्मीहरुले पनि बाउले छोरी किन बेच्छन् ? त्यसको पछाडि के कारणहरु छन् ? त्यसको खोजि गरेनन् । अझ अहिले वैदेशीक रोजगारीको नाममा भएको तामाङ दिदीवहिनीहरुको बेचबिखन विकराल देखिएको छ । अस्ति भरखरै रसुवाका एकजना तामाङ बहिनीको इराकबाट उद्धार भयो उनी तेह्रहजार डलरमा बेचिएका थिए । उद्धारका लागि रवि लामिछानेको ...सोले मद्दत पुर्याएका थिए । यस्ता धेरै समस्याहरु छन् जो साहित्यले उठाउन सक्छन् । मिडियाले पनि उठाउनु पर्यो त्यसको खोजि गर्नु पर्यो तर त्यो गर्न सकिएको छैन ।

सन्चु : तामाङ साहित्यमा महिलाहरुको मुद्दालाई जुन रुपमा उठाउनु पर्ने हो त्यो उठिराखेको छैन । मायालुजीले तामाङ महिलाहरुले भोगिराखेका समस्याहरु उठाउनु भयो र बिनाजीले मुद्दागत हिसाबले तामाङ महिला स्रष्टाहरुको लेखन कमजोर रहेको कुरा उठाउनु भयो । तामाङ महिलासँग सम्बन्धीत धेरै कुरा आउन सकेको छैन । यथार्थ त्यही हो । त्यसबाहेक तामाङ समाजमा महिलालाई हेर्ने दृष्टिकोणहरु अरु समाजमा भन्दा भिन्न छन् र त्यो सकारात्मक छन् । 

तामाङ समाजमा तामाङ महिलाहरुको छुट्टै स्थान हुन्छ । सांस्कृतिक हिसाबले उनीहरुको स्थान समाजमा विशेष हुन्छ, सकारात्मक हुन्छ । त्यो पनि साहित्यमा आउन सकेको छैन । आउन नसक्नुको कारण महिलाको साहित्य महिलाले नै लेख्नु पर्छ भन्ने सोचले पनि काम गर्यो होला । अर्को तामाङ महिला स्रष्टाहरु जो तामाङ साहित्यमा कलम चलाउनु हुन्छ वहाँहरु जमेर आउन नसक्नु पनि हो । धेरै तामाङ महिला स्रष्टाहरुको लेखन रहरमा आएको देखिन्छ । केही समय लेख्ने त्यसपछि विश्राम लिने, निरन्तरता छैन । निरन्तर लेखिरहने हो भने विषयवस्तु पनि आउने थियो होला । कुमारी लामाकै कुरा गरौं, वहाँको एउटा कविता संग्रह प्रकाशन भयो त्यसपछि हराउनु भयो । धेरै त फुटकर रचनामै सीमित छन् । 

तामाङ महिला मुद्दा के हो ? के यो आममहिला मुद्दा भन्दा भिन्न छ ?

मायालु : मैले अघि माथि पनि राखि सकें । त्यसमाथि थोरै थपौं । अहिले घरका मूलि बुबा वैदेशीक रोजगारीमा भएका घरका छोरीचेलीहरुको बाल विवाह धेरै हुने गरेका छन् । धेरै आमाहरु अशिक्षित छन् । आमाले कुरा नबुझ्ने नै भए । विपरित लिङ्गका कारण दाजुभाइसँग दिदीवहिनीले आफ्ना कुरा राख्न नसक्ने नै भए । घरमा कुराकानीको वातावरण नभएपछि बाहिर सम्पर्क हँदै जाने भए । यसकारण पनि बाल विवाह बढेको छ । अर्को तामाङ महिलाहरु तुलनात्मक रुपमा स्वतन्त्र हुन्छन् । यो सामाजिक स्वतन्त्रताको पनि दुरुपयोग बढेको छ । यसले पनि तामाङ महिलाहरुमा विकृतीहरु ल्याएको छ । श्रीमान उता वैदेशीक रोजगारीमा यता श्रीमतीहरु बिग्रिएर हिडेका खबरहरु छापामा धेरै आउँछन् । गाउँघरमा पनि सुन्न पाइन्छन् । महिलै मात्र बिग्रिएका खबरहरु आउँछन् छापाहरुमा पनि । किन बिग्रियो त ? यसमा के महिला मात्र दोशी हुन् त ? बिग्रिनु पछाडिका कारणहरुको अध्ययन हुन सकेको छैन । एउटा पक्ष यो छ । पारिवरीक विखण्डनका कारण हाम्रा नानीबाबुहरुको बालमनोविज्ञानमा नकरात्मक असर परेको छ । आमा एकतिर हिडिदिने बाबु अर्कोतिर । बच्चा बिचल्लि भएका उदाहरणहरु धेरै छन् । बच्चाको भविश्य अन्धकार भएको छ । त्यसले हाम्रो बच्चाहरुलाई कता डोर्याउँदै लगेको छ । यो अर्को जटिल समस्या हो । त्यसैगरी रिमिटेन्सकै कारण छोराछोरीहरु सहर केन्द्रीत हँुदै गए, गाउँमा बाबुआमा मात्र हुने भए । वृद्ध बाबुआमाको पालन पोषणको समस्या जटिल हुँदै गइरहेको छ । तेस्रो खालको समस्या भनेको धेरै तामाङ वहिनीहरुले उमेर बढाएर नागरिकता र पासपोर्ट बनाउने गरेको देखिन्छ । यसको मतलब सानै उमेरमा विदेशीने हो ।

तामाङ समुदायमा फुपुमामा चेली बीच विवाह हुने चलन छ । यो पुरानो परम्परा हो, तामाङ संस्कृति हो यो । यो अहिले टुट्ने क्रममा छ, टुट्दै गइरहेको छ । नजिकको नाताबीच वैवाहिक सम्बन्ध भएको परिवारमा घरेलु हिंसा हुँदैनथ्यो, देखिदैनथ्यो । सांस्कृतिक विचलन पछि अब घरेलु हिंसा वृद्धि हुँदै गइराखेको छ । दश बाह्र वर्ष अघि काभ्रेमा घरेलु हिंसाको मुद्दा क्षेत्री, बाहुन र दलीतहरुको मात्र आउँथ्यो । अहिले धेरै जसो तामाङको आउँछ ।

अन्य जातका महिलाहरुसंग शारीरिक रुपले समान भए पनि तामाङ महिलाका समस्याहरु भिन्न छन् । उनीहरु शैक्षिक हिसाबले धेरै पछाडि छन् । अवसर र पहँचको हिसाबले पछाडि पारिएका छन् । भाषिक समस्या भोगिराखेका छन् ।

सन्चु : तामाङ महिलाका लागि महिनावरि स्वच्छता र सरफसाइको विषय मात्र हो । यो तामाङ महिलाका लागि सबल सकारात्म पक्ष हो । अहिले धेरै पढेलेखेका तामाङ महिलाहरुले पनि विवाह पछि श्रीमानको थर लेख्ने गरेको देखिन्छ । यो तामाङ महिलाको थर परिवर्तन हुँदैन भन्ने कुरा उनीहरुलाई थाहा नहुनाले मात्र भएको होइन कानुनी वाध्यताले गर्दा पनि लेख्न बाध्य गराएको छ ।

तामाङ महिलाको मुद्दाहरु वा समस्याहरुलाई तामाङ साहित्यमा उठाउन किन नसकिएको हो ? 

बिना : पहिलो कुरा तामाङ महिला मुद्दा नै के हो ? त्यस बारे ज्ञान हुनु पर्यो । म आफै यस बारे विज्ञ छैन । मुद्दा नै नबुझे पछि लेखनमा आउने कुरै हुँदैन । मुद्दा बुझिसके पछि पहिचानको कुरा आउँछ । तामाङ महिलाको पहिचान के हो ? त्यो थाहा पाउनु पर्यो । अर्को चेतनाको कुरा हो । चेतना भने पछि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक चेतनाका कुराहरु आउँछन् । 

अहिलेसम्म पुस्तक प्रकाशनमा ल्याउने तामाङ महिला स्रष्टाहरु नौ जना देखियो । नौ जनाको चौधवटा पुस्तक । यो त ज्यादै थोरै हो । त्यसमा पनि सबै जना तिरन्तर छैनन् । दुई चारवटा कविता लेख्यो अनि बढिमा एउटा पुस्तक प्रकाशन गर्यो त्यसपछि घरपरिवारको समस्याभित्र नै रुमल्लिने । स्थिर रहन नसक्ने, कमजोर मनोबल देखिएको छ । अर्को महिला मुद्दा भन्ने वित्तिकै बेचबिखन, महिलाले दुःख पाउने कुरा, रुने कराउने कुराहरु सोच्छौं । त्यति मात्र पनि होइन नि । तामाङ महिलाको सबल पक्षलाई ल्याउन सकिन्छ । समाजमा झिना मसिना कुराहरुको भूमिका हुन्छ । त्यसलाई ल्याउन सक्नु पर्छ ।

सन्चु : तामाङ साहित्यमा तामाङ महिलाका मुद्दाहरु उठाउन नसक्नु भनेको हाम्रा स्रष्टाहरु तामाङको मुद्दा र पहिचानबारे अनविज्ञ हुनु हो, पहिलो कुरा । त्यसपछि ती विषयहरुमा अध्ययन, अनुसन्धार र सोधखोज नगर्नु हो ।

प्रतिकृया दिनुहोस

हरियो बस : एक ट्रयाजेडी

चुनावी तापले सहर बाफिएको छ । गाउँको काँधमा त बुर्कुसी मार्दै होला चुनावी चटारो ।...

मित्रहरुसँग गोसाइकुण्ड यात्रा

१. यात्रा योजना गोसाइकुण्ड यात्रा हामी रसुवावासीका लागि कुनै नौलो होइन । धेरै पटक पुगेको छु...

महाकवि लक्ष्मीप्रसादको १०९ औं जयन्तीमा ३९ स्रष्टा

काठमाडौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको  १०९ औं जन्मजयन्तीको अवसरमा  ३९ स्रष्टाहरुले कविता, गीत, गजल प्रस्तुत...

कृष्ण विहलको ‘रुप’

काठमाडौ । प्रेममा उत्सर्ग, त्याग तथा समर्पण अनि बलिदानी सवै जायज हुन्छ । शायद यो...

नजरमा ठाडै देखिएको अत्यास लाग्ने उकालो र सैलुङ

“सैलुङ” सँग तामाङ पहिचानको ऐतिहासिक विम्ब लुकेको छ । दोलखा र रामेछाप जिल्लाको सीमानामा अवस्थित...

तामाङ बाल साहित्य सिर्जनामा स्रष्टाहरुको भूमिका 

(अमृत योन्जन–तामाङ तामाङ भाषा–साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ । उहाँको तामाङ भाषाको बालगीत ‘न्याउ न्याउ...