साहित्य

तामाङ बाल साहित्य सिर्जनामा स्रष्टाहरुको भूमिका 

(अमृत योन्जन–तामाङ तामाङ भाषा–साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ । उहाँको तामाङ भाषाको बालगीत ‘न्याउ न्याउ सुरि’ (२०५९) पुस्तक र सोही पुस्तकका बालगीतहरुको एलबम पनि प्रकाशीत छन् । नेत्र तामाङ गएको डेढ वर्षयता तामाङ डाजाङ मासिकमा नियमित रुपमा तामाङ भाषामै बालकथाहरु लेखिरहनु भएको छ । कविराज काल्तानको ‘हक्कु पक्कु’ (२०७३) बालगीत पुस्तक प्रकाशनमा आइसकेको छ । तामाङ डाजाङ मासिकले तामाङ बालसाहित्य क्षेत्रमा क्रियाशील तीनैजना स्रष्टाहरुबीच ‘तामाङ बालसाहित्य सिर्जनामा स्रष्टाहरुको भूमिका’ विषयमा छलपल चलाएका थिए । प्रस्तुत छ तिनै छलफलमा व्यक्त विचारहरुको सम्पादीत अंश ।) 

अमृत योन्जनज्यू, तपाई लामो समयदेखि तामाङ भाषा–साहित्य क्षेत्रमा क्रियाशील हुनुहन्छ । तामाङ बालसाहित्यको अवस्था कस्तो छ ?

अमृत : तामाङ जनसंख्या र त्यसले ओगटेको भूगोललाई हेर्ने हो भने त्यसको तुलनामा तामाङ बाल साहित्यको विकास नै भएको छैन । २०५८ सालको जनगणना अनुसार नेपालमा १६ लाख तामाङ छन् । १६ लाख जनसंख्यामध्ये कम्तिमा पनि ४ लाख त बालबालिकाहरु मात्र होलान् । तामाङ बालबालिकासँग सम्बन्धित पुस्तक जम्मा चारवटा प्रकाशनमा आएका छन् । एउटा म आफैले लेखेको बालगीत ‘न्याउ न्याउ सुरि’ (२०५९), विश्वनाथ योन्जनको बालगीत ‘कोलाजुगुला जाम्बुलिङ’ (२०६४) र बालकथा ‘ङाला ह्युल’ (२०६७) र कविराज काल्तान तामाङको बालगीत ‘हाक्कु पाक्कु’ (२०७३) । चार लाख तामाङ बालबालिकाहरुका लागि चारवटा पुस्तक छन् । यो एकदमै कमजोर अवस्था हो । त्यसैले तामाङ बालसाहित्यको अवस्था सून्य भन्दा पनि हुन्छ । 
पाठ्यपुस्तकबाट शुरु गर्नु पर्ने थियो । यो सत्ताइस वर्षदेखि अल्झिएको छ । हामीले कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक देवनागरी लीपीमा तयार गरेका थियौं । त्यसमा केही बालगीत, बालकविता, बालकथा र बालनिबन्धहरु आएका छन् । त्यो पनि नेपाल तामाङ घेदुङलगायतले विरोध गरेपछि रोकियो । धेरैपछि सिंहबहादुर योन्जनले सम्भोटा लीपीमा पाठ्यक्रम निर्माण सुरु त गर्नु भयो तर उहाँलाई बाल शिक्षा के हो ? भन्ने नै थाहा नभएपछि त्यसमा बालगीत, बालकविता, बालकथा र बालनिवन्धहरु केही पनि आएन । त्यसभन्दा बाहेक व्यक्तिगत रुपमा कहीँ पनि बालसहित्यको महत्व भएन । अहिले नेत्र तामाङलगायतले तामाङ बालकथाहरु लेखिरहनु भएको छ ।

सामन्यतः कक्षा १, २ र ३ मा ४–५ वटा बालगीतहरु राख्ने गरिन्छ । कक्षा ४, ५ मा बालगीतहरु घटाउँदै लगरे कविताहरु राख्दै जाने भन्ने हुन्छ । मूलतः बालबालिका लागि सिकाइ केन्द्रीत सामाग्रीमा ध्यान दिइन्छ । सिकाइ केन्द्रीत भनेको कुन परिवेशमा के बुझ्ने भन्ने हो । बालसाहित्य भनेको पनि बालबालिकाले रुचाउने सामाग्री नै हुन् । साना उमेर समूहका बालबालिकाका लागि के दिने भन्दा पनि के दिँदा उनीहरु रमाउँछन्, खुसी हुन्छन् भन्ने कुरामा ध्यान दिइन्छ । त्यसैले सस्वर वाचन गर्न सक्ने सामाग्रीहरु यो उमेर साना समूहका बालबालिकाहरुका लागि राम्रो हुन्छ ।

नेत्रजी तपाई तामाङ साहित्यीक संस्था डाजाङसँग आवद्ध हुनुहुन्छ र तामाङ डाजाङ मासिमका लागि तामाङ बालकथाहरु पनि लेखिरहनु भएकोछ । तामाङ बालसाहित्यको अवस्थालाई कसरी हेर्नु भएको छ ?

नेत्र : तामाङ बालसाहित्यको चित्र जुन रुपमा अमृत योन्जनले प्रस्तुत गर्नु भयो त्यही नै हो । हामी एकदमै कमजोर र शुन्य अवस्थामा छौं । सत्य त्यही हो ।
म सानो छँदा हजुर आमाले कथा सुनाउनु हुन्थ्यो । तपाईहरुले पनि सुन्नु भएकै होला । अहिले प्रविधिको विकास, बसाई सराई र सहरीकरण आदिले गर्दा त्यो क्रम टुटेको छ । कथा सुनाउने सुन्ने क्रम समाप्त भएको छ । धेरै तामाङ लोककथाहरु लोप भएर गएका छन्, लोप हुने क्रममा छन् । 
तामाङहरु हरेक क्षेत्रमा पछि परेका छन् । लेखनमा पनि स्वभाविक रुपले पछि पर्ने नै भए । तर, तामाङ सेलो नेपाली गीतसंगीत क्षेत्रमा यति बलियो रुपमा स्थापित छ कि त्यसलाई झिकी दिने हो भने नेपाली गीतसंगीत नै अधुरो अपुरो हुन्छ । मलाई लागेको कुरा हाम्रो एउटा कमजोरी छ त्यो हो हामी स्रष्टाहरुले बालबालिकाहरुका लागि गीत नै लेखेनौ । यतातिर हाम्रो ध्यानै जान सकेन । तामाङ बालगीतहरु आउनै सकेन ।

नेपाली भाषामा लेख्दै आउनु भएका तपाई विगत डेढ वर्षयता तामाङ डाजाङ मासिकमा नियमित रुपमा तामाङ भाषामा बालकथाहरु लेखिरहनु भएको छ । आफ्नै मातृभाषामा बालकथाहरु सिर्जना गर्दाका अनुभवहरु सुनाउनुहोस् न !

मेरो बालकथा लेखन नेपाली भाषामा शुरु भयो । नेपाली भाषामा लेखिएका चारवटा बालकथा संग्रहहरु प्रकाशनमा आइसकेका छन् । पछि तामाङ भाषामा लेख्न शुरु गरियो । नेपाली भाषामा लेख्दा हाम्रो आफ्नो धेरै कुरा खुलेर लेख्न पाइदैन थियो किनभने यो तामाङ बच्चाहरुका लागि मात्र लेखिएका कथा थिएनन् । आफ्नै मातृभाषा तामाङ भाषामा लेख्न थालेपछि आफ्नो समुदायको कथा खुलेर लेख्न सकिदो रहेछ । नेपाली भाषामा लेख्दा धेरै सोच्नु पथ्र्यो । तामाङ लेख्दा छिटो छिटो लेख्न सकिदो रहेछ । कथा पनि छिटो छिटो फुर्ने रहेछ । मैले यही अनुभव गरेँ । म कथा लेख्दा पहिलो दिन प्लट सोच्छु अनि खेस्रा गर्छु, दोस्रो दिन लेख्छु र तेस्रो दिन अन्तिम रुप दिन्छु । मेरा तामाङ बालकथाहरुमा कमजोरीहरु पनि होलान् किनभने यो कुनै सम्पादन प्रक्रियाबाट नगुज्रि सिधै प्रकाशनमा आउँछन् । कमीकमजोरीहरु केलाउने र सम्पादनको कार्य नै हुँदैन ।

कविराजजी, तामाङ बालसाहित्यको अवस्था बारे यहाँ के भन्नु हुन्छ ?

कविराज : मेरो लेखन यात्रा तामाङबाट आरम्भ भयो । मलाई तामाङ बालसाहित्य लेख्न सिकाएको तामाङ डाजाङले नै हो । तामाङ डाजाङले अनामनगरमा आयोजना गरेको प्रशिक्षणले मलाई तामाङ बालसाहित्य लेख्नु पर्छ भन्ने सिकायो । म तामाङ बालगीत लेखनमा लागेँ । 
अहिले हाम्रो अवस्था भनेको नेपाली सोच्ने र तामाङमा लेख्ने हो । यसले गर्दा मौलिकता छैन । शब्दहरु मौलिक तामाङ शब्दहरु आएका छैनान् ।

अमृत योन्जनज्यू, तपाई भाषाशास्त्री, लामो समयदेखि तामाङ भाषाको अध्ययन अनुसन्धानमा गर्दै भएको छ । कक्षा १–५ को पाठ्यपुस्तक (देवनागरी) पनि लेख्नु भएको छ । बालीगीत, कथा, कविता र निवन्ध पनि लेख्नु भयो । हालसम्म आएका तामाङ बालसाहित्यहरु कस्तो पाउनु भयो ?

अमृत : मैले नेत्रजीको बालकथाहरु पढ्न भ्याएको छैन । कविराज काल्तानजीको बालगीत ‘हक्कु पक्कु’ पनि राम्ररी पढेको छैन । मैले इम्दारीपूर्वक भन्नु पर्छ पढ्नु भनेको त्यसलाई विभिन्न कोणबाट हेर्नु र बुझ्नु हो । त्यो मैले गर्न भ्याएको छैन । मेरो आफ्नै ‘न्याउ न्याउ सुरि’ आएको छ । विश्वनाथ योन्जनको .... आएको छ । वहाँ शिक्षण पेशामा संलग्न भएको व्यक्ति बच्चालाई गीत सुनाउनु पर्ने त्यही क्रममा ल्याएको हुनुपर्छ । तामाङ बालसामाग्रीहरु अरु आएको छैन । मैले पनि पाठ्पुस्तक तयार गर्ने क्रममा लेखेको हुँ । पाठ्यपुस्तक तयार गर्दा कक्षा अनुसार दुई, तीनवटादेखि आवश्यकता अनुसार गीत, कविता, निवन्ध र कथाहरु राख्नु पर्ने हुन्छ । गीत मात्र भएर हुँदैन लय र शब्द पनि ख्याल गर्नु पर्ने हुन्छ । शब्द सरल हुनु पर्यो । तामाङ बाल सामाग्रीहरु लेखिए पनि त्यो अनुसार नपाएपछि मैले लेखेँ । फेरि पनि हामीले लेखेका तामाङ बालगीतहरु नेपाली बालगीतहरु र बोर्डिङ स्कुलका बालगीतहरु पढेर सुनेर लेखेका हौं । तामाङ गाउँघरमा पुगरे उनीहरुले गुनगुनाउने लय, शब्द र उनीहरुकै दैनिकीसँग जोडिएका ल्याउन सकेको छैन । अहिले नयाँ अवधारणा आएको छ त्यो हो बालसाहित्य लेखन गर्दा उनीहरुकै शब्द, उनीहरुकै लय र उनीहरुलाई नै लेख्न र बोल्न लगाएर ल्याउनु पर्छ । त्यसैले अहिलेसम्म आएको तामाङ बालसाहित्य हाम्रो आवश्यकताले मात्र आएको हो । तामाङ बालबालिकाको चाहना, आवश्यकता र उनीहरुकै रुचीमा आएको छैन ।

नेपालको भूगोल फरक फरक खालको छ । बालसाहित्य लेखन गर्दा भूगोलको पनि ख्याल गर्नु पर्छ । हिमालको बालबालिकाको लागि तयार गरेको बालसाहित्य चुरे र तराईको बालबालिकाको लागि उपयुक्त नहुन सक्छ । त्यसैगरी तराईका बालबालिकाका लागि लेखिएको हिमाल र चुरेकालाई अनुपयुक्त नहुन सक्छ । त्यतिमात्र होइन बालसाहित्यमा परिवेश, सन्दर्भ, पहिरन, खानपानका कुराहरु पनि ख्याल गर्नु पर्दछ ।

पहिलो कुरा त हामीले बालसाहित्य नै बुझ्न सकेनौ । तामाङ डाजाङले एक पटक गोष्ठी चलाएको थियो । दोस्रो गोष्ठीको प्रतिक्षामा थिएँ म पनि । त्यो अझै हुन सकेन । अघि कविराज काल्तानजीले भनि सक्नु भयो त्यही गोष्ठीपछि उहाँ तामाङ बालगीत लेखनमा लागेको कुरा । त्यो गोष्ठीमा सहभागी अरुले पनि लेखे होलान् । त्येतिबेला बालसाहित्यको आधारभूत पक्षहरुबारे छलफल भएको थियो । दोस्रो गोष्ठीमा सहभागीहरुले आफ्नो गाउँघरमा भएका तामाङ बालगीत, कथाहरु संकलन गरेर ल्याउने संकलित र रचित सामाग्रीहरु ल्याउने त्यसैमाथि छलफल चलाउने भन्ने थियो । मैले पनि बौद्ध निवासी दोलखाका एक जना शिक्षीकालाई बौद्ध क्षेत्रमा प्रचलित पुराना बालगीतहरुको संकलन गर्नु भनेको थिएँ । वहाँले एक दर्जनभन्दा बढी तामाङ बालगीत र कथा संकलन गरेर दिनु भयो । अझै मसँग सुरक्षित छ त्यसमाथि छलफल हुन सकेको छैन ।

बालबालिकालाई कल्पनाशिलताको विकास गर्नु पर्छ । गीत सुनेर, कथा र निवन्ध पढेर बालबालिकाले कुनै कुराको कल्पना गर्न सक्यो भने त्यो बालसाहित्य राम्रो बालसाहित्य हो । गाउनका लागि गाइदिने र पढ्नका लागि पढिदिने खालको मात्र भयो भने त्यो बालसाहित्यको बालविकासमा कुनै भूमिका हुँदैन । घोडा हिँड्ने र कुद्ने जनावर हो । तर, बालगीत र कथामा त्यो उड्न सक्छ । घोडा उडेर अब कहाँ पुग्छ होला भन्ने कल्पनाशीलता बढाउनु बालसाहित्यको मूल विशेषता हो । मेरो आफ्नो लेखन भन्नु हुन्छ भने आवश्यकता परिपूर्तिका लागि गरिएको लेखन हो ।

अहिलेसम्मका बालकथाहरुलाई हेर्दा नीतिकथा, आदर्शका कथा र स्वतन्त्र सन्देश मूलक कथाहरु देखिएका छन् । नेत्रजी, तपाईले लेख्नु भएका तामाङ बालकथाहरु कस्ता खालका कथाहरु हुन् ?

नेत्र : म धेरै पटक नेपाली बालकथा लेखन कार्यशालाहरुमा सहभागी भएँ । ती कार्यशालाहरुमा बालकथा हिंसा, यौन, डर र जातजाति, वर्ग अनि धर्ममाथि आक्षेप लगाउने हुनु हुँदैन भन्ने प्रशिक्षण दिइन्थ्यो । मेरो चाँही यथार्थ अनि एक्सन, साथमा सन्देशसहितको बालकथा हुनु पर्छ हो । म निर्धारीत स्वरुपमा कथा लेख्नु पर्छ भन्ने पक्षमा छैन । म यो पक्षबाट बालकथा लेख्छु । 
मैले लेखेका कथाहरुमध्ये दुईवटा भूकम्पसम्बन्धी छन् । त्यसमा पनि ‘बहुलाएको रुख’ गत वर्षको उत्कृष्ठ कथा भनेर प्रमोद प्रधानले लेख्नु भयो । मैले लेख्ने गरेको बालकथाहरु यथार्थ नै हुन् । त्यसमा कल्पनाशिलता र सन्देश त हुने नै भए । 

कविराजजी, तपाईको ‘हक्कु पक्कु’ तामाङ बालगीती पुस्तक प्रकाशनकामा आएको छ । पुस्तकमा आएका बालगीतहरु गाउँघरमा लोक प्रचलनमा रहेका तामाङ बालगीतहरुको संकलन हो कि तपाईको मौलिक सिर्जना ?

कविराज : पुस्तकमा आएका दुईवटा बालगीतहरु ‘हक्कु पक्कु’ र ‘...’ तामाङ गाउँघरमा लोकप्रचलनमा रहेका बालगीतहरु हुन् । तर, पुस्तकमा आउँदा लोकप्रचलनमा जोस्तो छ त्यही स्वरुपमा आएको छैन केही परिमार्जन भएर आएको छ । अरु सबै मेरा सिर्जनाहरु हुन् ।

मैले अरु धेरै तामाङ बाल लोकगीतहरु संकलन गरेको छु, गर्दैछु । त्यसलाई अर्कै पुस्तक रुपमा ल्याउने तयारीमा छु । केही अत्यन्त छोटा दुई शब्दको मात्र पनि छन् । त्यसलाई कुन रुपमा, कुन उमेर समूहका बालबालिका लागि लक्षित गरेर प्रकाशनमा ल्याउने छलफल गर्नु पर्छ भन्ने लागेको छ । 

अमृत योन्जनज्यू, अहिले तामाङ बालसाहित्य क्षेत्रमा कलम चलाउने स्रष्टाहरु हेर्ने हो भने तपाई एक जना, नेत्रजी र कविराज काल्तान यहीँ हुनुहुन्छ । ङेमा थाङपालजीले ‘तामाङ डाजाङ’मा कहिलेकाहीँ लेख्नु हुन्छ । सिन्धुलीबाट प्रकाशनमा आउने ‘छारन्हान’मा दुईजना जतिको नाम पढेको छु । स्रष्टाहरुको संख्या नै थोरै रहेको यो अवस्थामा तामाङ बालसाहित्यको विकासका लागि के गर्न सकिएला ? स्राष्टाहरुको भूमिका कस्तो हुनु पर्ला ?

अमृत : अहिलेसम्मको हाम्रो लेखन प्रयोजनमूलक लेखन हो । अबको लेखन उदेश्यमूलकमा जानु पर्छ । मैले पाठ्यक्रममा राख्नु पर्ने भएपछि लेखेँ । यो आवश्यकताले जन्माएको प्रयोजनमूलक लेखन हो । प्रयोजनमूलक लेखन राम्रो नहुन पनि सक्छ । अर्को कुरा लेखेपछि पाठक पनि चाहियो । लेखेको पढ्ने पाठक छ भने त्यसको उपयोग भयो छैन भने हुँदैन । त्यसैले पाठक छ कि छैन त्यो पनि हेर्नु पर्ने हुन्छ । 

स्थानीय चुनाव पनि सम्पन्न भयो । अब सम्भावना धेरै छ । तामाङ बाहुल्य क्षेत्रका केही गाउँपालिका र धेरै वडाहरुमा तामाङहरु वडाअध्यक्ष निर्वाचित भएर आएका छन् । अहिलेको वडा भनेको पहिलेको नौ वडाको गाउँ विकास समिति हो । एउटा वडाभित्र कम्तिमा पनि चार पाँचवटा विद्यालयहरु हुन्छन् । पहिलेकै संरचना अनुसार प्रत्येक वडाहरुमा कम्तिमा प्राथमिक विद्यालयहरु छन् । ती विद्यालयहरुमा मातृभाषाको माध्यम वा विषय जे सम्भव छ पढाउन सकिन्छ । जहाँको बच्चालाई नेपाली भाषाको पहुँच छैन, नेपाली भाषा जान्दैनन्, बुझ्दैनन् उनीहरुलाई तामाङ मातृभाषाको माध्यमबाट पढाउन सकिन्छ । यो संवैधानिक व्यवस्था हो, संविधानले दिएको अधिकार पनि हो । चारदेखि पाँचवटा स्थानीय निकायमा मात्र हामीले माध्यम वा विषयको रुपमा तामाङ भाषामा पढ्ने पढाउने व्यवस्था गर्ने हो भने हाम्रा स्रष्टाहरुले लेखेका गीत, कथा, कविता, निवन्ध त्यहाँ पढ्ने भए । हाम्रा सिर्जनाहरु उपयोगमा आउने भयो । हामीलाई पनि थाह हुने भयो कि कस्ता खालका गीत, कविता, कथाहरु विद्यार्थीहरुले मन पराउने रहेछन् । तिनै विद्यालयका बालबालिकाहरुसँग अन्तक्र्रिया गरेर सन्दर्भ सामाग्रीहरु तयार पार्न सक्छौं । यसो गर्न सक्यौं भने हामी स्रष्टाहरुले लेखेको पनि विद्यार्थीहरुले पढ्ने भए र उनीहरुले चाहेको, उनीहरुले रुचाउने सामाग्री पनि तयार हुने भयो । अहिले आएर त समुदाय, विद्यार्थी र शिक्षकहरु स्वयंले पनि पाठ्यसामाग्रीहरु र पाठ्यपुस्तक नै तयार गर्न सक्छन् । यसका लागि बालबालिकाहरुको सिर्जनशीलता, शिक्षक र समुदायको उपयोग गर्न सक्छौं । कभ्रेको रोशी क्षेत्रमा चाइल्ड स्पेसले काम गरिराखेको छ । त्यसको अनुभव पनि छ हामीसँग । स्थानीय विद्यालयका विद्यार्थी र शिक्षकहरु स्वयंले पाठ्यसामाग्री तयार गरे र अहिले पठनपाठन पनि भईरहेको छ ।

तामाङ बालसाहित्य विकासमा तामाङ स्रष्टाहरुको भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ ? प्रश्न नेत्रजीलाई सोध्न चाहन्छु ।

नेत्र : आजको यो छलफलमा तामाङ स्रष्टाहरुको न्यून उपस्थिति देख्छु म । तामाङ बालसाहित्यमाथि कलम चलाउने धेरै स्रष्टाहरु उपस्थित हुनु भएको भए धेरै कुरा आउँथ्यो होला, पहिलो कुरा । नेपालीमा हेर्नुहोस् प्रैढ साहित्य लेख्नेले पनि बाल साहित्य लेखिरहेका छन् । त्यसैले बालसाहित्यकार मात्र होइन प्रैढ साहित्य लेखनमा लागेकाहरुको उपस्थिति पनि प्रभावकारी हुन्थ्यो होला । अर्को कुरा, बालबालिकाको लागि लेख्ने भनेको छोटो र सन्देशमूलक कथा नै हो । जस्तो, एउटा भालुको कथा छ । कथामा दुईजना केटाहरु जंगलतर्फ गईराखेको हुन्छ । एकजना चलाख हुन्छ अर्को अलि सुस्त । जाँदै गर्दा भालु आउँछ । चलाख भागेर रुख चढ्छ । सुस्त केटालाई के गरौं के नगरौं हुन्छ । उ भूँइमा लम्पसार परेर मरेको नाटक गर्छ । भालु आएर यसो हेर्छ, जीउ अनि कानतिर सुँघ्छ केही गर्दैन । भालु त्यहाँबाट अघि बढ्छ । एकछिन पछि चलाख केटा रुखबाट ओर्लेर आउँछ र भालुले तिमीलाई के भन्यो भनेर सोध्छ ? जवाफमा सुस्त केटाले भन्छ, धोका दिनेको संगत कहिल्यौ नगर्नु । कथा छोटो छ तर सन्देशसहितको छ । 

यस्ता सरल र सन्देशमूलक कथाहरु तामाङमा पनि थुप्रै लेख्न सकिन्छ । म त भन्छु सबैले लेखौं । के थाहा ? भोली तपाईलाई सामान्य लाग्ने बालकथा उत्कृष्ठ पनि हुन सक्छन् । 

प्रतिकृया दिनुहोस

हरियो बस : एक ट्रयाजेडी

चुनावी तापले सहर बाफिएको छ । गाउँको काँधमा त बुर्कुसी मार्दै होला चुनावी चटारो ।...

मित्रहरुसँग गोसाइकुण्ड यात्रा

१. यात्रा योजना गोसाइकुण्ड यात्रा हामी रसुवावासीका लागि कुनै नौलो होइन । धेरै पटक पुगेको छु...

महाकवि लक्ष्मीप्रसादको १०९ औं जयन्तीमा ३९ स्रष्टा

काठमाडौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको  १०९ औं जन्मजयन्तीको अवसरमा  ३९ स्रष्टाहरुले कविता, गीत, गजल प्रस्तुत...

कृष्ण विहलको ‘रुप’

काठमाडौ । प्रेममा उत्सर्ग, त्याग तथा समर्पण अनि बलिदानी सवै जायज हुन्छ । शायद यो...

तामाङ महिला मुद्दामाथि तामाङ साहित्यको चेतना

(बिना थिङ तामाङ कथाकार हुन् । उनी नेपाली र तामाङ दुबै भाषामा कथा लेख्दै आइरहेकी...

नजरमा ठाडै देखिएको अत्यास लाग्ने उकालो र सैलुङ

“सैलुङ” सँग तामाङ पहिचानको ऐतिहासिक विम्ब लुकेको छ । दोलखा र रामेछाप जिल्लाको सीमानामा अवस्थित...