स्थानीय धाम र पर्यटकीय गन्तव्यस्थल

- व्याकुल माइला

हाम्रो सुन्दर देश नेपालको विकासका एक मुख्य आधार पर्यटन नै हो । तर, पर्यटकलाई तान्न सक्ने अग्ला हिमाल, मनोरम ताल र सुन्दर प्राकृतिक छटाहरू सबैतिर छैनन् । यस वास्तविकतालाई स्वीकारेर पर्यटन विकासका विकल्पबारे सोच्ने हो भने यहाँका विविधतायुक्त धार्मिक–सांस्कृतिक सम्पदाहरू नै पर्यटन विकासका महत्वपूर्ण आधार हुन् । पहाडी कुना–कन्दराहरूमा लोकआस्था जोडिएका अनगिन्ती देवस्थलहरू छन् । यस्ता धार्मिक–सांस्कृतिक धामहरूको विकास र प्रबद्र्धन प्रतिको चासोले समाज र संस्कृतिको विकासमा पनि मद्दत पुग्नेछ । यस्ता सम्पदाहरू ओझेलमा रहिरहनु पर्यटनको संभावना प्रति आँखा चिम्लनु हो । 

कतिपय स्थान, समुदाय वा सम्प्रदाय विशेषका धामहरू त जानीजानी पनि बेवास्ता गरिएका होलान् । तर, अब सांस्कृतिक धामहरूलाई साझा सम्पदा हुन् भन्ने तथ्य स्वीकार गर्न अबेर गर्नु हुँदैन । यस्ता धामहरूसँग जोडिएका लोकआस्था, विश्वास, परम्परा, संस्कृति, ऐतिहासिक पृष्ठभूमि आदि अमूर्त पक्षहरूका समेतका अध्ययन, संरक्षण, अभिलेखन, व्यवस्थापन र प्रचार–प्रसार गर्नु पर्दछ । धार्मिक–सांस्कृतिक धामहरूलाई पर्यटकीय गन्तव्यस्थल बनाउन सुन्दर र भव्य रूपमा विकास गर्नु पर्दछ । यसो गरियो भने मनोरम हिमालहरू मात्र होइन, हाम्रा धार्मिक तथा सांस्कृतिक धामहरू हेर्न समेत संसारका धेरै मानिसहरूलाई जीवनमा एक पटक नेपाल पुगूँपुगूँ लाग्ने छ । यसबाट नेपाल एक पावन भूमि भएको कुरा पनि चरितार्थ हुनेछ । 

अहिलै नसकिए पनि भविष्य प्रति आशावादी बनेर दीर्घकालीन अवधारणा निर्माण गरौँ । पूर्वाधार निर्माण सम्बन्धी सरसल्लाह एवं छलफल गरौँ । संभावनाको अध्ययन र विश्लेषण गरौँ । सुदूर भविष्यकै लागि भए पनि खण्डहर बन्दै गएका धामहरूका खोजी गरौँ, पहिचान गरौँ, लेखाजोखा गरौँ, संरक्षण र विकास गरौँ । अवश्य कुनै दिन तिनका पनि दिन आउने छ र महत्व बुझिने छ । अहिले तिनका विकास बारे केही परिकल्पना गरिराखौँ । वास्तवमा विकास स्रोतको अभावले होइन, सोचको अभावले नभएको हो । आजको हाम्रो सुन्दर परिकल्पना नै भोलिको सुनौलो नेपाल हो ।

आफ्नो सहज जानकारीका कारण मैले यहाँ ओखलढुङ्गा र खोटाङ जिल्ला अन्तर्गत् दुधकोसी किनार वरिपरि एवं वारि–पारिका स्थानीय केही देवस्थल र पर्यटनको संभाव्य गन्तव्यस्थलबारे संक्षिप्त चर्चा गरेको छु । यसमा भएका कमीकमजोरीमा नभई आफ्ना वरपर रहेका स्थानीय धामहरूको संरक्षण र विकासमा नजर लाउनु हुनेछ भन्ने विश्वास लिएको छु  । 

१. सिद्ध धाम 

दुधकोसी र सुनकोसीको सङ्गमस्थल जोर्तिघाट र वेणीबाट ९९९ मि. को उचाईमा उभिएको एक चुलीडाँडा, जसलाई ‘थुम्को’ भनिन्छ । एक सानो सुन्दर पहाड । यो ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गत् हिलेपानी गाउँमा पर्दछ । यही थुम्कोको चुचुरोमा सिद्धदेवताको थान रहेको छ । 

कसैले देवीको रूपमा त कसैले महादेवको रूपमा मान्ने गरिएको यस देवताले धामी–झाँक्री उत्पन्न गर्दछ । यस देवताले बनाएको (दीक्षित बनाएको) धामी र धमिनी गाउँघरमा अझै पनि भेटिन्छन् । ती धामी र धमिनीले सिद्ध–देवतालाई आफ्नो गुरु मान्दछन् । प्रकृतिको अद्भूत शक्तिसँग सम्बन्धित एक शक्ति देवता हुन् । स्थानीय भाषामा यसलाई ‘सिद्धाउपो÷ सिद्धासामा÷सिद्धाराजा’ भनिन्छ । विभिन्न तिथि एवं चाडवर्पमा भाकल र पूजा गरिन्छ । प्रायः सामूहिक पूजा गरिन्छ, जसलाई ‘संसारे–पूजा’ भनिन्छ । 

एक किंवदन्ती अनुसार परापूर्वकालमा एक ऋषि आई यस थुम्कोमा तपस्या गरे । उनले सिद्धि प्राप्त गरे । दुधकोसी र सुनकोसीको संगमस्थलमा रहेको शिवलिङ्गरूपी यस थुम्कोमा तपस्या गरी सिद्धि प्राप्त गरेकोले उनलाई पछि ‘कौशिक ऋषि’ भनेर चिनियो । 

यस थुम्काको उत्तरी फेदीमा रहेको भञ्ज्याङलाई अहिले मितेरीभञ्ज्याङ भनिन्छ, जहाँ मध्यपहाडी लोकमार्ग र सिद्धिचरण लोकमार्ग जोडिन्छन् । ओखलढुङ्गा, खोटाङ, उदयपुर र सिन्धुली जिल्लाका सीमा क्षेत्र हो । खोटाङको हलेसी महादेव यही बाटो गइन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्ला जाने मुख्य सडक र बाटो पनि यही हो । त्यसैले यो ठाउँ एक ठूलो जङ्सन विन्दु हो ।

यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने स्थानीय जनसमुदायको चाहना पुरानै सपना हो । यस धामलाई पर्यटकीय गन्तव्य स्थल हुनेगरी विकास गर्न सकिएमा यस गाउँठाउँले काँचुली फेर्न सक्छ । यसको विकासको लागि नेपाल सरकारले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत् केही वर्ष यतादेखि थोरै थोरै बजेट विनियोजन गर्न थालेको छ । तर, कनिकाझैँ छरिएको बजेटबाट पर्यटकीय पूर्वाधार निर्माण संभव कार्य छैन । विशेष दीर्घकालीन कार्यायोजनाको आवश्यकता देखिन्छ । 

२. लिब्जु धाम

‘लिब्जुडाँडा’ ओखलढुङ्गा जिल्लाको उँबु र वाक्सा गाउँको सिरानमा रहेको एक मनोरम पहाड हो । यसको उँचाई १४ सय मिटर रहेको छ । यस पहाडको चुचुरोमा किरात वाम्बुले राई जातिले आफ्नो कुलदेवताका रूपमा मान्दैआएको देउताको थान रहेको छ, जसलाई ‘लिब्जु–देवता’ भनिन्छ । स्थानीय भाषामा ‘लिब्जु–सामा’÷‘लिब्जु–उपो’ भनिन्छ । भन्ने गरिन्छ – हिन्दुका पशुपतिनाथ, बौद्धका लुम्बिनी, मुस्लिमका मक्कामदिना, क्रिश्चियनका जेरुशलम भनेजस्तै ‘लिब्जु’ वाम्बुले राई जातिको अत्यन्त पवित्र धाम हो ।

मुख्यगरी ढ्वाङ्कुम–पूर्णिमा (भदौ पूर्णिमा÷जनैपूर्णिमा) को तिथिमा विशेष पूजा गरिन्छ, जसलाई ‘लिब्जु–सामा’÷‘ढ्वाङ्कुम–सामा’ भनिन्छ । तीन दिनसम्म ठूलो मेला लाग्दछ । यो पूजा वास्तवमा प्रकृति पूजा हो । सामूहिक न्वागी वा देवाली जस्तै हो । त्यस पूजामा पाक्दै गरेको बर्खे अन्न–बालि सर्वप्रथम लिब्जु देवतालाई अर्पण गरिन्छ, जो प्रकृति र पितृ प्रति समर्पित हुन्छ । यो पूजा मुन्धुम विधिले गरिन्छ । 

                                                                                                                                           लेखकः ब्याकुल माइला

भाकल गरी चिताएको पूरा गरिदिने भएकोले समय समयमा ‘भाकल÷पूजा’ भैरहन्छ । विशेषगरी व्रिटिश गोर्खा सेनामा सफल हुन युवा पुस्ताले र लडाइँमा सुरक्षित रहन युद्ध मैदानका सैनिकले भाकल गरेका हुन्छन् । आफ्नो भाकल अनुसार भेटी चढाउँछन् । त्यस्तो भेटी संचित गर्ने कोष र धामलाई व्यवस्थित गर्ने संयन्त्र नहुँदा बेथिति अवस्थामा छ । साँघुरो पर्खालले घेरिएको देउताको मुख्य थान २०७२ सालको भूकम्पले भत्कियो । अहिले पुनर्निर्माण भएको छ तर यसलाई यथास्थितिमा राखिराख्नुको सट्टा पर्यटकीय पूर्वाधारको रूपमा विकास गर्न दीर्घकालीन योजनाको आवश्यकता छ ।
 
३. ढ्वाङ्कुम थान 

‘ढ्वाङ्कुम’ देवतालाई स्थानीय भाषामा ‘ढ्वाङ्कुम–सामा’ भनिन्छ । यस देवताको मुख्य थान उँबु गाउँमा छ । भदौपूर्णिमामा ठूलो मेलासहित पूजा गरिन्छ । यो पूजा किरात वाम्बुले राई जातिको कुलपूजा हो । प्रकृति, पितृ एवं लिब्जु देवताको पूजा हुन्छ । भूमि र अन्य सांस्कृतिक अतिक्रमणबाट जोगाएर यसको विकास गर्न सकिएमा पर्यटनको एक गन्तव्य स्थल बन्न सक्छ ।   

४. त्यम्ली दह

उहिले दोरोङचा पाछाका वाम्बुले पूर्खाहरू यस दहको वारि किनारमा डुबुल्किन्थे र पारि निस्कँदा बाघ हुन्थे । अनि लिब्जुको जंगलमा शिकार खेल्न जान्थे । त्यस्तो शक्ति आफ्नै चलीको श्राप लागेपछि हरायो । यो दह ओखलढुङ्गा जिल्लाको उँबु गाउँमा रहेको छ । अहिले दह हराउँदै गएर सानो कुवा र केहीे सिमसारको रूपमा अवशेष बाँकी छ । समयमै संरक्षण गरिएमा एक सांस्कृतिक सम्पदा जोगिनुका साथै पर्यटकीय गन्तव्य स्थल पनि बन्ने छ ।

५. स्वालेवा पार्क 

ओखलढुङ्गा जिल्ला उँबु गाउँको डेब्लम भन्ने ठाउँमा ३९ फिट उचाइको कङ्क्रिट निर्मित ‘स्वालेवा–पार्क’ बन्दै गरेको छ । चिन्डोलाई वाम्बुले राई भाषामा स्वालेवा भनिन्छ । मुन्धुम सामाजिक संस्कारमा गर्दा चिन्डोको प्रयोग धेरै हुने भएकोले यसले किरात संस्कृतिको चिनारी दिन्छ । वाम्बुले राई समाज (वाम्रास) संस्था र स्थानीय युवाहरूको अग्रसरतामा बनेको हो । यस कार्यलाई मूर्तरूप दिन नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ कलाकारहरूले प्राविधिक सहयोग गरेका छन् । त्यसैगरी सांसद रामहरि खतिवडा लगायत देश–विदेशका रहेका संस्कृतिप्रेमी विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग प्रदान गरेका छन् । सांस्कृतिक संग्रहालय सहितको पार्क किरात वाम्बुले राई जातिका मौलिक संस्कृति र भाषाको अध्ययन–अवलोकन गर्ने एक महत्वपूर्ण केन्द्र बन्न सक्ने देखिन्छ । यो एक निर्माणाधिन परियोजना भएकोले यसलाई पूर्णता दिन, प्रचार–प्रसार गर्न, यहाँसम्म पुग्ने मार्ग आदिको व्यवस्था सँगसँगै गर्नु आवश्यक देखिन्छ । साथै यसलाई अन्य पर्यटकीय स्थलहरूसँग जोड्नु आवश्यक छ । 

६. भुम्जु धाम

‘भुम्जु’ खोटाङ जिल्लामा पर्दछ । हाल हलेसी–तुवाचुङ नपगरपालिका अन्तर्गत् दाम्ली नजीकैको एक अग्लो डाँडा हो । यो पनि वाम्बुले राई जातिको धर्म–संस्कृतिसँग जोडिएको अत्यन्त पवित्र धाम हो । कतिपय सामाजिक संस्कार गर्दा यस देवतालाई उपो (बाजे)को रूपमा पुकारिन्छ । तर, हाल बन विनास, निजी आवादी र विकासको चपेटामा परेर मुन्धुमी महत्व र अस्तित्व कमजोर हुँदैगएको छ । लिब्जु समानको यो पवित्र धाम मासिने क्रममा हुनु चिन्ताको विषय हो । यसको पुनरोत्थान गर्नु जरुरी देखिन्छ । स्थानीय किरात धार्मिक सांस्कृतिक मूल्य मान्यता अनुरूप पूर्वाधार विकास गर्न सकिएमा एक धार्मिक पर्यटकीय गन्तव्यस्थल बन्न सक्ने छ ।

७. झाप्पा गाउँ

खोटाङ जिल्लाको एकदुर्गम गाउँ हो । । हलेसी–तुवाचुङ नपगरपालिकामा पर्दछ । यसलाई खोटाङको कर्णाली भनेर पनि चिनिन्छ । कोसी वारि महाभारत पर्वत शृंखलाको काखैमा पूर्व–पश्चिम फैलिएको छ । उत्तरको हिमाली क्षेत्रबाट आएको दुधकोसी र  पश्चिमपट्टीबाट आएको सुनकोसी नदीले फेरो मारेको छ । स्थानीय भाषामा यस गाउँलाई ‘झाप्पा द्याल’ र ‘झाप्पाडाँडा’ भनिन्छ । 

यहाँ सुन्तोला फल्ने शिखरिलो हावापानी पाइन्छ । यहाँबाट महाभारत पर्वतशृङ्खलाका सुन्दर दृश्य मात्र होइन, वारि–पारि चारैतिर लेकबेंसी, फाँट, भीर, पहरा, छहरा, छाँगा, देवी, देउराली, भन्ज्याङ, चौतारी, खोंच, बन, पाखा, गाउँ, बस्ती आदि अवलोकन गर्न सकिन्छ । यहाँबाट विश्वको सर्वोच्च शिखर रहेको महालङ्गुर हिमशृङ्खलादेखि दुधकोसी–सुनकोसी नदीका किनार र बगरसम्म एकैसाथ देख्न सकिन्छ । यहाँ किरात वाम्बुले राई जातिको निकै बाक्लो बस्ती रहेको छ । 

यस डाँडाको मुख्य चुचुरोमा देवीको थान रहेको छ । त्यसैगरी जोशमनी शन्त सम्प्रदायको स्थानीय गुरु श्री ज्ञानदिल राईको जन्मथालो हो । यहाँ जोशमनी सम्प्रदाय अन्तर्गत साधु÷शन्त धर्मावलम्बीहरूको स्थानीय धाम रहेको छ । त्यसैले यस गाउँलाई साधुको धाम पनि भनिन्छ । देवीको मन्दिर, साधु धाम, ध्यान केन्द्र, सांस्कृतिक अध्ययन तथा विकास केन्द्र, हाइकिङ वा ट्रेकिङ रूट निर्माण, होम स्टे, भ्यू टावर आदिको विकास गर्न सकिएमा यो पर्यटनको एक ‘हटस्पट’ बन्ने छ । 

८. रिचुवा झाँक्री गुफा

यो गुफा ओखलढुङ्गा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका अन्तरगत रिचुवा गाउँमा पर्दछ । यसलाई स्थानीयले किरात झाँक्री गुफा नामकरण गरेका छन् । गुफा पुरानै भए पनि चर्चा–परिचर्चा पाउन थालेको एक दशक हुन लागेको छ ।

यो गुफा पहरामा रहेको छ । बाहिरबाट झट्ट हेर्दा सानो कोन्द्रो हो कि जस्तो देखिन्छ । भित्र प्रवेश गरेर हेर्दाभने कतै हात्ती, कतै देवता, कतै पोखरी, कतै शंख आदि अनौठो आकृतिहरू भेटिन्छन् । बहुमूल्य चम्किला रत्नहरू जडित महल जस्तो प्रतीत हुन्छ । यसको धार्मिक तथा आध्यात्मिक पक्षलाई बिर्सेर सरसर्ती हर्दा मात्र पनि अद्भूत लाग्छ, जो कोहीले भन्छन् यस्तो ठाउँमा अचम्मको गुफा रहेछ । यो गुफामा धामीलाई तान्त्रिक विद्या सिकाउन झाँक्रील ल्याउँछ । 

केही वर्ष यतादेखि यसको संरक्षण र विकासका लागि स्थानीय बासिन्दाहरू प्रयासरत् छन् । पूजापाठ र भाकल गर्ने एवं भाकल पूरा भएपछि पूजा गर्न आउने भक्तजनहरूको संख्या बढ्दै गएको छ । मोरङ जिल्ला बेलबारी निवासी मूर्तिकार श्याम गौतमले शिवलिङ्ग र साढेको प्रश्तर मूर्ति उपहार प्रदान गर्नु भई सो प्रतिष्ठापन गरिएको छ ।

जयरामघाटदेखि त्यहाँसम्म जाने पदमार्ग वा सडकको आवश्यकता छ ्र गुफालाई सुरक्षित र व्यवस्थित बनाउनु आवश्यक छ ्र भक्तजनहरू बस्ने, भजन कीर्तन गाउने, धामी झाँक्रीहरू नाच्ने, मेला लगाउने आदि न्यूनतम पूर्वाधारहरूको विकास तत्काल आवश्यक छ । बिस्तारै होम स्टे, होटलहरू, सांस्कृतिक केन्द्र, ध्यान केन्द्र, ऋषिमुनि आश्रम आदिको व्यवस्था पनि गर्दै जानु पर्दछ ।

९. हिलेपानी–लिब्जु सडक

मध्यपहाडी लोकमार्ग र सिद्धिचरण लोकमार्ग भेटिने हिलेपानी गाउँको मितेरीभञ्ज्याङबाट सडक बाटोले नछोएका घलेसार, जाक्मा, तल्लोरिचुवा, फ्वाकुल, खाचापु, ह्वाल्माफू आदि गाउँरठाउँ हुँदै लिब्जु–धाम पु¥याउन खोजिएको यो सडक कृषि सडकको रूपमा मात्र उपयोगी नभएर एक सांस्कृतिक मार्गको रूपमा पनि महत्वपूर्ण हुने देखिन्छ । यस सडकबाट लिब्जुधाम, ढ्वाङ्कुम, सिद्धधाम, महादेस्थान, रिचुवा गुफा, महादेव गुफा, मनकामना आदि विभिन्न स्थानीय धामहरूलाई जोड्ने छ । यस सडक निर्माण कार्यले निरन्तरता पाएको छैन ।  

१०. जोर्तिघाट

दुधकोसी र सुनकोसीको सङ्गम स्थललाई स्थानीय भाषामा जोर्ती अर्थात् व्याण्डी भनिन्छ । हाम्रो नदीका सङ्गमलाई पवित्र धाम मान्ने हाम्रो संस्कृति छ । हिमवत्खण्डबाट आएका दुधकोसी र सुनकोसी गङ्गा रूपी नदी हुन् । यस सङ्गम स्थलमा पहिला माघे–सक्रान्तीको बेला ठूलो मेला लाग्थ्यो । दुधकोसी किनारमा भाकल पूजा गर्नेका भीँड हुन्थ्यो । लोकमार्ग बनेपछि यस ठाउँ भएर मान्छेका आवात्जावत् पातलियो ।

यो ठाउँ खोटाङ, उदयुर र ओखलढुङ्गा जिल्लाको सङ्गम बिन्दु हो । यहाँदेखि थुम्का सिद्धधाम, झाप्पागाउँ, सोक्मटार आदि जोड्ने गरी पर्यटकीय पदमार्ग बनाउन सकिन्छ । त्रिवेणी मन्दिर निर्माण गरी यस पावन क्षेत्रलाई धामकै रूपमा विकास गरी पर्यटकीय गन्तव्यस्थल बनाउन सकिन्छ । कोसीमा सहर जातका ठूल्ठूला माछा मार्न सकिने भएकोले व्यवसायिक अर्थात् सशुःल्क फिसिङ सेन्टरको विकास गरी पर्यटक तान्न सकिन्छ । यो स्थान बोटिङ तथा राफ्टिङका लागि अत्यन्त उपयुक्त छ । यस वरपर चट्टानी भीरपहराहरू भएकोले रक क्लाइम्बिङ स्थल बनाउन सकिन्छ ।

११. सुनकोसी हर्कपुर राफ्टिङ  

यसै क्षेत्रको सुनकोसी नदीमा २ वटा छहरा रहेका छन् । यी छहरालाई स्थानीय भाषामा भडारेघागी र मातेघागी भनिन्छ । अंग्रेजीमा ‘हर्कपुर–ए’ र ‘हर्कपुर–बि’ ¥यापिड । यी ¥यापिडहरू राफ्टिङ जगत्को रोमाञ्चक एवं चुनौतीपूर्ण छहराहरू हुन् । यहाँ पुग्न दोलालघाटबाट राफ्टिङ गर्दै जानुपर्ने अवस्था छ । त्यसैले नगरोन्मुख बस्ती हर्कपुरमै राफ्टिङ सेन्टर स्थापना गरी यस रोमाञ्चक छहराको मज्जा लिन सकिन्छ । लोकमार्गका कारण यहाँ राफ्टिङ गरिसकेपछि कोही पर्यटक हाइकिङमा, कोही पर्यटक एभ्रेष्टतिर, कोही यात्रु हलेसी महादेव, कोही यात्रु मधेस त कोही यात्रु राजधानी फर्किन सक्छन् ।   

१२. जयरामघाट

ओखलढुंगा र खोटाङ जिल्लालाई जोड्ने झोलुङ्गे पुल रहेको दुई जिल्लाका एक व्यापारिक नाका हो । पुरोनो मूलबाटो र झोलुङ्गे पुल मात्रले होइन अहिले अझ मध्य–पहाडी लोकमार्गको नवनिर्मित पक्की पुलले गर्दा यसको विकासको संभावना बढाएको छ । हलेसी जाने एक मुख्य बाटो भएको कारणले पनि यो ठाउँको बजारीकरण भैरहको छ । दुधकोसी किनारमा अस्थित यस ठाउँको धार्मिक÷सांस्कृतिक महत्व पनि उत्तिकै छ । पहिला पहिला चाडपर्व, सक्रान्ती, पूर्णिमा आदि विभिन्न तिथिमा मेला लाग्थ्यो ।

एक किंवदन्ती अनुसार उहिले एक जना जोगी हलेसी जाने क्रममा ‘राम नाम’ जप्दै धेरै समयसम्म यहाँ ध्यान गरी बसेका थिए । त्यसैले यस ठाउँको नाम जयराम रहन गयो । त्यसै बेलादेखि हलेसी महादेवमा रामनवमीको तिथिमा पनि पूज गर्न थालियो । यहाँ भव्य रूपमा एक ’राम–मन्दिर’ निर्माण गर्नु उपयुक्त देखिन्छ । त्यसैगरी राम र वैष्णवी आस्था राख्ने स्थानीय ‘होम संस्कार’ मान्ने सम्प्रदायको सामूहिक पूजाधाम, शिवभक्त अर्थात् जोसमनी सम्प्रदायका सामूहिक पूजाधाम र ओमनन्द गुरु मान्ने ‘हेभेन्लीपाथ’ वालाहरूको सामूहिक पूजाधाम यता निर्माण गर्न सकिन्छ ।

यही ठाउँको दुधकोसी किनारमा ‘बुढाबुढी–ढुङ्गा’ रहेको छ । स्थानीय वाम्बुले भाषामा ‘बुढाबुढी–लुङ’ भनिन्छ । करिब समान आकारका दुई ठूला ढुङ्गा दायाँ–बायाँ जोडी बाँधिएर सदियौदेखि कोसीको किनारमा रहेका छन् । एक किंबन्ती अनुसार त्यस क्षेत्रका एक शक्ति धामीको स्वर्गवास भएपछि त्यस ठाउँमा ल्याएर उसको ढ्याङ्ग्रो, गजा, रुद्राक्षमाला आदि सहित समाधिस्थ गरेर मलामी फर्केछन् । त्यही क्रममा माथि पाखोमा रहेका यी दुई ठूल्ठूला ढुङ्गा झरेर त्यस समाधिमाथि अडिएछन् । ती ढुङ्गा त्यस धामीको शक्तिले त्यहाँ अडिएको भन्ने विश्वास छ । 

ती ढुङ्गाहरू बुढाबुढी जस्तै मिलेर सँगसँगै बसेका कारण कोसीमा जति नै ठूला भेल आए पनि ती ढुंगालाई बगाउन सकेको छैन । भनिन्छ – मान्छेका जोडी (जोइपोइ) पनि यसैगरी मिलेर बस्न सकियो भने जीवनमा आइपर्ने दुःख र विपत्तिका भेल–बाढी विचलित बनाउन सक्दैन । यसरी समाजमा श्रीमान्–श्रीमतीलाई आर्दशवान बन्न यी ढुङ्गाले सन्देश दिइरहेका छन् ।

१३. हिलेपानी महादेवस्थान

हिलेपानी गाउँको माझमा महादेवको थान छ । यस थानलाई पर्खालले घेरिएको छ । पर्खालभित्र काभ्रा र खिर्राका ठूल्ठूला रुखहरू छन् । तर, अहिले थानभित्रका रुखविरुवा मासिंदैछ । यस थानभित्रबाट पानीको मूल फुटेको छ । पर्खाल बाहिर धारा बनाइएको छ । यस धाराले वरिपरि गाउँलेका खानेपानी आपूर्ति हुन्छ । यो एक प्राचीन धार्मिक सम्पदा हो । 

एक किंवदन्ती अनुसार भगवान महादेव हलेसी जाने क्रममा यहाँ एक रात यही वास बसेका थिए । त्यसैले यसलाई हलेसीभन्दा पनि जेठो धाम मानिन्छ । अर्को एक किंवदन्ती अनुसार एक जना दोरङ्चा पाछाका व्यक्ति नुहाउने क्रममा उसको खुट्टा चुम्बकले फलाम समाते ढुङ्गाले समाते छ । पूजा, धुप–धवाँर तथा भाकल गरेपछि बल्ल तीन दिनमा छोडेछ । पछि उनी विजुवा÷धामी बने र यस धामको महन्त÷पूजारी भए । अहिलेसम्म पनि उनैका खलक यस धामका पूजारी छन् । हरेक मंसिर पूर्णिमा र वालाचतुर्दशीको बेला मेला लाग्दछ । त्यसबेला सत्बिज छर्ने, पूजापाठ हुने र एकराते मेला लाग्ने गर्दछ । अहिले मूलदेवताको मठलाई काभ्राको बोटले मारिएर हराएको अवस्थामा छ । 

गाउँको माझमा रहेको यस देवालयमा भगवान शिवको कलात्मक विशाल मूर्ति स्थापना, देवालयबाट उद्गम हुने पानी सही व्यवस्थापन र संरक्षण, नित्य पूजापाठ र मन्दिर व्यवस्थापनको लागि गुठी संयन्त्र स्थापना गर्ने, अव्यवस्थित मूर्तिहरूलाई व्यवस्थित र परिस्कृत बनाउने, नजीकै रहेको स्कुललाई अझ व्यवस्थित हुने गरी अन्यत्र स्थानान्तरण गर्ने, स्कुलको जमीन र भवनहरू धामको स्वामित्वमा लिएर यस धामलाई फराकिलो बनाउने । त्यसैगरी वरिपरिका सिङ्गो गाउँबस्तीलाई व्यवस्थित रूपले विकास गर्ने आदि कार्य गर्न सकिएमा यो एक दर्शनीय धाम बन्ने छ ।

केही सुझावहरू

  • यी धामहरूको एकीकृत विकास गरी यस क्षेत्रलाई ‘पर्यटकीय हव’ बनाउन दीर्घकालीन योजना निर्माण गर्ने,
  • संरक्षण र विकासका प्रारंभिक अवधारणा निर्माणका लागि बहस, छलफल र अन्तरक्रिया गर्ने,
  • यससँग जोडिएका मूर्त÷अमूर्त इतिहास, विश्वास, मूल्य, मान्यता, प्रचलन, परम्परा, संस्कृति आदिको अध्ययन, अन्वेषण, संरक्षण, विकास र प्रबद्र्धन कार्य गर्ने ।
  • यी धामहरूको विकास कार्यलाई धार्मिक विश्वास र आस्थासँग मात्र नजोडी पर्यटनसँग गाँसेर गाउँ÷ठाउँ एवं क्षेत्रको समृद्धिको आधार बनाउने ।
  • यी धामहरू जोड्ने पर्यटकीय पदमार्ग ९ऋगतिगचब ित्चबष्०ि निर्माणको गर्ने । 
  • समग्रमा यो अवधारणा केही बहुआयामिक भए पनि प्रारंभिक चरणमा लेकबेँसीको हावापानी र जनजीवनको अध्ययन, अवलोकन र अनुभव गर्न सकिने एक रात दुई दिनको ‘हाइकिङ रुट’ को रूपमा विकास गर्ने ।
  • यस रुटमा किरात वाम्बुले राई जातिको भाषा, संस्कृति, चालचलन एवं सामाजिक पक्षको अध्ययन गरिने भएकोले स्थानीय भाषा, वेशभूषा, संस्कृति, लोकभाका, लोकनाचहरूको  संरक्षण र प्रबद्र्धनमा जोड दिने ।
  • यी स्थानीय धार्मिक–सांस्कृतिक पर्यटन विकास योजनालाई हलेसी महादेव र सगरमाथा कोरिडोरसँग जोड्ने ।
  • यसलाई कुनै राजनीतिक दल विशेषको नारा हुन नदिई केन्द्र, संघ र स्थानीय तहको प्राथमिकतापूर्ण विकास कार्यक्रमको रूपमा अगाडि लैजाने ।
  • यस बारे विस्तृत अध्ययन, बहस र छलफल गर्ने ।

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै