गुरुङ गाउँमा तामाङ भाषा !

- शिव उप्रेती

एउटै जातजाति, एउटै समुदायका बासिन्दाको मात्र बसोबास रहेको गाउँबस्तीमा अक्सर सोही भाषा बोल्ने चलन छ । तर, गोरखाका बूढीगण्डकीपारिका एक दर्जन गाउँबस्तीमा गुरुङ समुदायको मात्र बसोबास छ तर भाषा भने तामाङको बोल्ने गरिन्छ । गोरखा सदरमुकामबाट दुईदेखि तीनदिनसम्म पैदल बाटो टाढा रहेका यी गाउँहरूमा बिहेबारी, चाडपर्व र अरू संस्कारहरू गुरुङकै अपनाउँछन् । बोलीचालीमा भने सयौं वर्षदेखि तामाङ भाषा नै प्रयोग गर्दै आएको स्थानीयवासी स्वीकार गर्छन् ।

धार्चे गाउँपालिका वडा १ को केरौंजागाउँ, केरौंजाबेसी, रुन्चेत, धार्चे गाउँपालिकाको वडा ७ काशीगाउँ, यार्सा, चामखर्क, आरुघाट गाउँपालिका वडा १ र २ का धोरत, धुन्चेत, पातलेखर्क, कटुन्जे, श्यामचेत, माझगाउँ, चुमनुब्री गाउँपालिका ३ भालुवन गाउँका दसौं हजार गुरुङ घलेहरूले सयौं वर्षदेखि तामाङ भाषा बोल्दै आएका छन् ।

तल्लो कटुन्जे र माझगाउँमा मिश्रित समुदायको बसोबास छ । धोरत, धुन्चेत, माथिल्लो कटुन्जे, यार्सा, काशीगाउँ र केरौंजागाउँ, केरौंजाबेसी, रुन्चेत, भालुवनमा भने गुरुङ र घले समुदायको मात्र बसोबास छ । उनीहरू सबै तामाङ भाषा बोल्ने गुरुङहरू हुन् । स्थानीयवासीका अनुसार केरौंजामा करिब पाँच हजार पाँच सयजना, काशीगाउँमा करिब दुई हजार दुई सय र मान्बुमा करिब दुई हजार पाँच सयजना गुरुङ, घले समुदायको बसोबास छ । उनीहरूमध्ये कसैले पनि गुरुङ वा घले भाषा बोल्दैनन् । ‘विभिन्न विवरण भर्नुपर्दा मातृभाषा लेख्नुपर्ने ठाउँमा ‘गुरुङ' नै लेख्छौं तर बोल्नचाहिँ तामाङ भाषा बोल्छौं', कटुन्जेका शिक्षक भीमबहादुर गुरुङ भन्नुहुन्छ, ‘खै बाजेबराजुको पालादेखि बोल्दै आइयो । हामीले पनि बोल्यौं, बालबालिका पनि त्यही बोल्छन् ।' पुस्तौंदेखि बोल्दै आएकाले यो भाषा आफ्नै लाग्ने उहाँको भनाइ छ ।

२०३२ साल अघिसम्म साविकको मान्बु, काशीगाउँ, केरौंजा, सिर्दिबास, चुम्चेत र छेकम्पार गाविस धादिङ जिल्लामा पथ्र्यो । सबैलाई एकमुष्ठ केरौंजा पञ्चायत भनेर चिनिन्थ्यो । धादिङमा परेका बेला यी गाउँ पञ्चायतलाई दुर्गम घोषणा गरेको थियो । त्यसैले यी सबै भूभाग अहिलेसम्म पनि सरकारी मापदण्डमा दुर्गम नै उल्लिखित छ । कर्मचारीले पाउने सेवासुविधा पनि दुर्गमकै पाउने गर्छन् । तर, बूढीगण्डकी वारिका यहाँभन्दा धेरै माथिका भूभाग पनि दुर्गम घोषित छैन । मान्बु, काशीगाउँभन्दा धेरै नै टाढा पर्ने लापु, गुम्दा, उहियाको सेवासुविधा सुगमकै सरह छ ।

‘६ गाविसलाई छयालीस सालअघि केरौंजा पञ्चायत भन्थ्यो', केरौंजाबेसीका फिरेन्द्र घले भन्नुहुन्छ, ‘३२ सालमा सरकारले गोरखापट्टि बनाइदियो । सरकारले २०३९ सालमा नापी पठायो । लालपुर्जा फेरेर गोरखाको बनायो । २०४४ सालमा नागरिकता टोली पठायो । नागरिकता फेरेर गोरखाको भयो तर भाषा कहिल्यै फेरिएन ।' धादिङकै संगतले यस भेगका गुरुङले तामाङ भाषा बोल्ने गरेको हुनसक्ने उहाँले अनुमान गर्नुभयो । सिमानामा धादिङका तामाङ बस्तीहरू छन् । संघीय संरचनाबमोजिम यी ६ गाविस अहिले तीन गाउँपालिकामा बाँडिएका छन् । चुम्चेत, सिर्दिबास र छेकम्पार चुमनुब्री गाउँपालिका, काशीगाउँ र केरौंजा धार्चे गाउँपालिका र मान्बु आरुघाट गाउँपालिकामा विभाजित भएका हुन् ।

मान्बुदेखि छेकम्पारसम्म केरौंजा पञ्चायत भनिएकाले मान्बुमा रहेको स्वास्थ्यचौकीको नाम अहिलेसम्म पनि फेरिएको छैन । पटकपटक संरचना फेरिए पनि स्वास्थ्यचौकीको साइनबोर्डमा अहिले पनि ‘केरौंजा स्वास्थ्यचौकी' लेखिएको छ । यी गुरुङ गाउँबस्ती धादिङको सीमानामा पर्छन् । ‘सर्सर्ती हेर्दा तामाङले तामाङ भाषा, गुरुङले गुरुङ भाषै बोल्नुपर्ने हो । तर हाम्रो गाउँका गुरुङहरू सबै तामाङ भाषा नै बोल्छौं', काशीगाउँका मानबहादुर गुरुङ भन्नुहुन्छ, ‘धादिङमा तामाङ धेरै छन् । तामाङको संगतले हाम्रा पुर्खाले तामाङ बोले होलान् । त्यही अहिलेसम्म चलिआएको हो ।' समुदायमा आफ्नो भाषाप्रतिको जागरण अहिलेसम्म नआएको उहाँ बताउनुहुन्छ । ‘नयाँ पुस्ताले नेपाली भाषामा जोड दिइरहेका छन् । गुरुङ भाषा कसले सिकाउने, कसले सिक्ने ? ' शिक्षकसमेत रहनुभएका भीमबहादुर गुरुङले भन्नुभयो ।

बूढीगण्डकीवारि साविकको उहिया, गुम्दा, लाप्राक, लापु, बारपाक, सौरपानी, स्वाँरा गाविसमा पनि गुरुङ, घलेको बाहुल्य छ । यहाँ बोलिने भाषाको पनि अहिलेसम्म नामकरण गरिएको छैन । घलेले घले भाषा दाबी गर्दै आएको छ भने गुरुङले गुरुङ भाषा दाबी गर्ने गर्छन् । विवादले बेलाबेला चर्को रूप लिने गर्छ । भाषाविद्हरूले बेलाबेला गोष्ठी सेमिनार गरेर नामकरण गर्ने प्रयास गरे पनि यहाँका बासिन्दाले बोल्ने भाषाको नामकरण गरिएको छैन ।

(अन्नपुर्ण पाेष्ट)

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै