खेल्दै रमाउँदै बालभेला

- बिरा गडाल/बैतडी

बादल देखिनासाथ हिउँ पर्ने बैतडी जिल्लाकै सबैभन्दा बढी चिसो हुने सिद्धेश्वरमा गत पुषको पहिलो साता बाल भेला सम्पन्न भयो । सबेरैदेखि कालो बादलले आकाश ढाकेको थियो । स्थानीय बालबालिकाहरूको भेलाको लागि न्यानो लुगा लगाएर बिहान ८ बजेदेखि बालभेला स्थलमा आउने क्रम जारी रह्यो । गाविसले एक साता अघि नै बाल भेलाको मिति तय गरेपछि चिसोको पर्वाह नगरी गाविसभरिका बालबालिका भेला भएका हुन् ।

‘बालभेला हाम्रो पर्व जस्तै हो, बाल भेलाका लागि कति दिनदेखि कुरीरहेकी थिए’ बाल संजालका अध्यक्ष खेमराज अवस्थीले भने– ‘बालभेला गरेर हाम्रा योजना छान्न हामी उत्साहित छौ ।’ जिल्लाकै उच्चस्थानमा रहेको सिद्धेश्वरको खोडपेमा पानीसँगै हिउँ परेपनि बालबालिकाहरू आफ्ना योजना छनोटका लागि उत्सुक रहेको भनाईबाट प्रष्ट हुन्छ ।

सिद्धेश्वर यसै वर्ष बालमैत्री गाविस घोषणा भएको हो । प्रदेश नम्बर ७ को पहिलो बालमैत्री गाविस घोषणापछि सिद्धेश्वरको यो पहिलो बालभेला हो । त्यसो त २०६८ सालबाट नै यहाँ बालभेलाको अभ्यास भइरहेको हो । तत्कालीन गाविस सचिव प्रेम बिष्टका अनुसार बालभेलामार्फत् बालबालिकाको योजना छान्ने अभ्यास बिगत चार वर्षदेखि निरन्तर हुँदै आएको छ ।

नेपाल सरकारले २०६८ सालमा बालमैत्री स्थानीय शासनको रणनीति र कार्यन्वयन कार्यविधि जारी ग¥यो । त्यसपछि स्थानीय योजना प्रणालीमा बालभेलामार्फत बालबालिकाको अर्थपूर्ण सहभागिता गराउने परिपाटी थालिएको हो । बालभेलाले स्थानीय तहको बालबालिकासँग सम्बन्धित योजना र कार्यक्रम बालभेलामा छनौट गर्छन् । यसरी छानिएका योजना तथा कार्यक्रम वडासभा हुँदै सम्बन्धित स्थानीय निकायको परिषदबाट अनुमोदन गरेपछि योजनाको आकार लिने विधि रहेको छ ।

सिद्धेश्वर गाविस स्थानीय तहको पुनर्सरचना हुँदा बैतडी जिल्लाको पाटन नगरपालिकामा गाँभिएको छ । साविक सिद्धेश्वरका वडा नम्बर ३, ७, ८ र ९ पाटन नगरपालिकाको ८ नम्बर वडा भएको छ भने साविक १, २, ४, ५ र ६ नम्बर वडा पाटन नगरपालिकाको ९ नम्बर वडामा परिणत भएको छ । अहिले सिद्धेश्वर गाविसमा दुईवटा सेवा केन्द्रका रुपमा बिभाजित छ ।

स्थानीय निकायको संरचनामा बालबालिकासँग सम्बन्धित योजना र कार्यक्रम छनौट गर्ने यो नौलो र नयाँ अभ्यास हो । बालबालिकाहरूका लागि स्थानीय निकायले कुल पुँजीगत रकमबाट १५ प्रतिशत बालबालिकाका लागि विनियोजन गर्ने सिलिङ दिइएको हुन्छ । स्थानीय बालअधिकारकर्मी बलदेब शर्मा पुनर्गठित स्थानीय तहले यसप्रकारको असल अभ्यासलाई निरन्तरता दिने बिश्वास व्यक्त गर्छन् । भन्छन्– ‘लाभग्राहीहरूले नै आफ्ना योजना तथा कार्यक्रम छनौट गर्नका लागि यो अभ्यास थालिएको हो । अब पुनर्गठित नगरपालिका र वडाले पनि यसलाई पछ्याउने छ ।’ उनको भनाईमा महिला तथा आदिवासी जनजाति र दलितका कार्यक्रम पनि सरोकारवालाको सहमतिमा विनियोजन गर्ने प्रचलन रहेको छ ।

बालभेला सञ्चालन गर्ने पनि मौलिक ढाँचा छ । बालभेलामा बालबालिकाले चित्रांकनमार्फत् सवाल, समस्या र योजना र कार्यक्रमका सम्बन्धमा आफ्ना आवाज र विचार प्रकट गर्दछन् । बालबालिका आफुलाई मनपर्ने र नपर्ने, सुरक्षित र असुरक्षित अवस्थाबारे छलफल गर्दै चित्रांकन गरेर बालबालिकाको सरोकार प्रकट गरेपछि स्थानीय सामाजिक परिचालक तथा सहजकर्ताहरूले उनीहरूको भावना र विचारलाई योजनाको आकार दिन्छन् । यो विधि सिद्धेश्वरलगायतका अन्य केही स्थानीय तहमा प्रचलन रहेको छ । बालभेला सञ्चालन बिधिअनुसार बालभेलाको औपचारिक सुरुवातपश्चात उपस्थित सबै बालबालिकालाई तीन समूहमा विभाजित गरिन्छ । समूह विभाजन गर्दा ८ देखि १३ बर्षका र १३ देखि १८ वर्षसम्मका बालक र बालिकाको बेग्ला बेग्लै समूह बनाइन्छ । तीन समूहमा विभाजित बालबालिकाहरूलाई चित्रांकनमार्फत् मन पर्ने र नपर्ने कुराहरू र सुरक्षित र असुरक्षित विषयमा आफ्ना भावना व्यक्त गर्न जिम्मेवारी दिइन्छ । ‘फरक फरक उमेर र लिंगीय समूहबाट भावनाहरूलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्नका लागि यस प्रकारको समूह विभाजन गरिएको हो ।’ युनिसेफ नेपाल क्षेत्रीय कार्यालय डडेल्धुराकी प्रमुख मञ्जु वाग्लेले भनिन्– ‘यो विधिबाट मनोबैज्ञानिक ढंगले बालबालिकाको आवाज र विचार प्रष्फुटित हुने गर्दछ ।’

यस विधिका आधारमा बालबालिकाहरूले समुदायबाट विद्यालय टाढा भएको, जंगलको बाटो हिड्दा समस्या आएको, ढुंगामुढाले बाटो हिड्न असजिलो भएको, बिजुलीका पोलमा नांगो तारको व्यबस्थापन नभएको जस्ता विषयलाई प्रमुख रुपमा उठाएका थिए । स्थानीय खोडपे स्वास्थ्य चौकीका प्रमुख मदनसिंह महराको भनाईमा बालबालिकाले उठाएका ती विषय बास्तविकतामाा आधारित छन् । ‘उनीहरूले उठाएको कुरा हामीलाई जानकारी नै थिएन, तर जुन कुरा उठाए वास्तविक हुन् । बालबालिकाले हाम्रो आँखा नै खोले’ उनले भने ।

बालविवाह, छाउपडी प्रथा लगायतका प्रथालाई सबै समूहका बालबालिकाले मन नपर्ने विषयका रुपमा छानेका थिए । ‘बैतडी जिल्लाको मात्र नभएर सुदुरपश्चिमकै यो मूल समस्या हो ।’ स्थानीय सामाजिक परिचालक कान्ता बिश्वकर्माले बालभेला सहजीकरण गर्दै भनेकी थिईन् । सामाजिक परिचालक बिश्वकर्माका अनुसार बालबालिकाहरूले बालमैत्री धारा, बालमैत्री विद्यालय, सरसफाईका सन्दर्भलाई चित्रांकनमा व्यक्त गरेका थिए । उनीहरूको प्राथामिकतामा सबै बालबालिकाले खोप पाएको हुनु पर्ने, कुपोषणमुक्त गाउँ बनाइनु पर्ने, शुद्ध खानेपानीको व्यबस्था गरिनु पर्ने, घरमा बिजुलीको बिस्तार, धुवामुक्त चुल्होको व्यबस्था, घरघरमा शौचालय, मनोरञ्जनको लागि बालउद्यान, क्षमता अभिवृद्धिका क्रियाकलाप, खेलकुद, शैक्षिक समाग्रीलगायत शान्त वातावरणमा पढ्न पाउनुपर्ने कुराहरू परेका थिए ।

बालबालिकाहरूले बालभेलामा स्थानीय तहको सुन्दर भविष्यको परिकल्पना पनि चित्रमा प्रस्तुत गरेका थिए । स्थानीय तहका सबै बालबालिका विद्यालय गएको, बालहिंसा नभएको अवस्था उनीहरूको परिकल्पनामा व्यक्त भएको थियो ।

बाल संजालका अध्यक्ष खेमराज अवस्थीका अनुसार बालभेलाको प्रचलन हुनुभन्दा अघि गाविस आफैले बालबालिकाको योजना छनोट गर्ने गरेको थियो । जसबाट बालबालिकाहरूका समस्या समाधान हुन सकेका थिएनन् । उनले भने– ‘बालभेलाबाट योजना छनोट हुन थालेपछि हाम्रा समस्या समाधान गर्न सहज भएको छ।’

‘हाम्रो लागि छुट्याएको बजेटबाट भौतिक संरचना निर्माण हुन्थे’ चन्द्रसूर्य बालक्लव सिद्धेश्वर ७ का अध्यक्ष राकेश महराले भने ‘बाटोमा सबै बालबालिका पनि हिड्छन् भन्दै बालबालिका लक्षित बजेट बाटो निर्माणमा खर्चिदा हाम्रा माग सुनुवाई हुन सकेका थिएनन् ।’

‘बालबालिकाहरूको समस्या के हो ? बालबालिकाहरू कस्तो परिकल्पना गर्छन्, उनीहरू आफ्नो समुदाय कस्तो भएको देख्न चाहन्छन् त्यो सबै थाहा पाउन बालबालिकाको आँखाले हेर्नैपर्छ’ सिद्धेश्वरमा लामो समयदेखि बालबालिकाको क्षेत्रमा कार्यरत भुमेश्वर सामुदायिक विकास संघ (बिसिडियो) का अध्यक्ष मोहन ऐरले भने– ‘बाल भेलाले मात्र बालबालिकाहरूको समस्या पहिचान हुने र बालमैत्री स्थानीय शासनको जग बसाल्न सहज हुने हुन्छ ।’

(साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमालाबाट)

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै