डोकोनाङ्लो डटकम 

| कथा

‘बिक्नै छाडे, अब के गर्ने होला ?’ छेवाङले निगालोको भारी आँगनमा फाले । छेवाङको पिँढी डोको र नाङ्लोले भरियो । तर किन्ने मान्छे आएनन् ।

निगाले गाउँका धेरैजसो सहर पसेकाले उनको डोकोनाङ्लो, थुञ्चे बिक्न छाडे । उनले जानेको सीप डोकोनाङ्लो बुन्ने नै हो । यही बेचेर परिवारलाई खान लाउन पु¥याउँथे । कक्षा ९ पुगेका छेडुपको स्कुल खर्च पनि पुग्थ्यो ।

‘अनि तेरा कम्प्युटरमा यत्रा डोको नाङ्लो अट्छन् त ?

‘छेडुप, डोको त १ सय वटा पुगिसकेछ, नाङ्लो पनि २० वटा भएछ, तिम्रो स्कुलको फिस नतिरेको पनि धेरै भयो,।’ बुन्दै गरेको डोकोमा पानी छ्याप्दै छेवाङले भने,–‘यी डोको बिके त फिस तिरेर पनि पैसा बच्ने थियो, कसरी बिकाउने होला ?’

छेडुप छेवैमा व्यवसायिक किताब पढिरहेका थिए । बुवाको प्रश्न सुन्ने बित्तिकै खुसी भए ।

‘कम्प्युटरमा पसल खोलौ न बुवा, अनि बिकी हाल्छ नि,’ छेडुपले भने ।

‘कम्प्युटरमा पसल खोल्ने रे, उटाङ्गे कुरा गर्छस्,’ बुवाले आँखा तन्काए, ‘कहाँ सिक्यौ यस्ता कुरा ?’

‘हाम्रो स्कुलमा अहिले कम्प्युटरबाट पढाई हुन थालेको छ नि । व्यवसायिक शिक्षामा हामीलाई शिक्षकले आफुसँग भएका सामान बेच्ने तरिका सिकाउनुभएको थियो,’ छेडुपले थपे, ‘म्याग्दीमा महवीर पुनले कम्प्युटरमै गाइभैंसी र चौरी पसल खोलेका छन् रे । मानिसहरु घरमै सामान किन्न आउँछन् रे । त्यसै उटाङ्गे भन्नुहुन्छ ।’

‘अनि तेरा कम्प्युटरमा यत्रा डोको नाङ्लो अट्छन् त ?’ बुवा पनि झर्के ।

‘त्यो त म के जान्नु नि, तर मिसले भन्नुभएको कम्प्युटरबाटै यी सबै काम हुन्छ रे,’ छेडुपले भने ।

‘एकपटक तिम्रा मिससँगै भेटेर कुरा गरौं न त’, छेवाङले भने ।

छेडुपले मिससँग बुवाले भेट्न चाहेको कुरा सुनाए । शनिबारको दिन सगुनी मिस छेडुपको घर आइपुगिन्, ‘नमस्कार है छेवाङ दाई,’ ।

‘नमस्कार मिस, यतै चकटीमा बस्नुहोस न,’ छेवाङले पिँढीको एक चाङ डोको पन्छाए ।

‘आम्मम ! पिँढी त डोको र नाङ्लोले भरिएछ त दाई, अझै पनि बुनिरहनुभएको छ,’ मिसले भनिन् ।

‘त्यसै थुप्रेर बसेको छ नि, बिक्ने हैन । यी डोको नाङ्लो कम्प्युटरमा पसल खोलेर बेच्न सकिन्छ भनेर छेडुपले भन्दै थिए, त्यही भएर मिसलाई दुःख दिएको नि,’ छेवाङले मिसतिर हेर्दै भने ।
‘मलाई के को दुःख नि दाई, जानेको कुरा सिकाउने न हो । छेडुपले भनेको कुरा सही हो । अचेल कम्प्युटरबाटै आफ्नो व्यापार व्यवसाय गर्न सकिन्छ दाई,’ मिसले भनिन् ।’
‘अनि यति धेरै डोको नाङ्लो जाबो सानो कम्प्युटर पसलमा अट्छन् होला त मिस ?’ छेवाङले सोधे ।

‘यी सामान कम्प्युटरभित्र राख्नै पर्दैन नि दाई, एउटाको फोटो खिचेर मुल्यसूची राख्ने, तपाईको फोन नम्बर राख्ने, अनि मानिसहरुले अर्डर गरिहाल्छन् नि,’ मिसले हाँस्दै झोलाबाट ल्यापटप निकालिन् ।
छेडुपकी आमा लानीले सबैलाई चौरीको नौनी हालेको नुन चिया ल्याइन् । 

‘मैले यो कम्प्युटर एक शिक्षक एक ल्यापटप कार्यक्रममा लिएकी हुँ, अहिले त सबै पैसा तिरिसकें,’ मिसले भनिन्, ‘यही कम्प्युटरमा इ–पुस्तकालय कार्यक्रम पनि छ, यहीबाट हामी विद्यार्थीलाई सिकाउँछौं । मैले पनि अनलाइन किनबेचबारे यहीबाट धेरै कुरा सिकेकी हुँ ।’

कम्प्युटरमा विभिन्न सेवाप्रदायक कम्पनीले डोकोनाङ्लोको विज्ञापन राखिदिने र आफुले चाहेको मुल्यमा डोको बेच्न सकिने कुरा पनि मिसले बताइन् । इ–व्यवसायका फाइदाबारे सुनाइन् ।
मिसले आफुसँग भएको फोन निकालेर डोकोको फोटो खिचिन् । नाङ्लोको फोटो खिचिन् । मुल्य टिपिन् । अनि भनिन्, ‘ल छेवाङ दाइ, म तपाईको डोको र नाङ्लो अनलाइन पसलमा राखिदिन्छु, तपाईलाई अर्डर आउन सक्छ ।’

‘हस मिस, तपाईंको गुण भुल्ने छैन, यो कम्प्युटर पढाईले मेरो छोरा पनि अहिले अलि बुझ्ने भएछन्, पहिले सहर जान कर गर्थे, अहिले यतै पढ्ने भन्छन्, डोको यतै बिके त हामीले पनि गाउँ छाड्ने पर्थेन,’ छेवाङले भने ।

‘ल दाइ, पछि पैसा कमाएपछि डोकोनाङ्लो डटकम नामको वेबसाइट खोल्नुपर्छ, भाउजुलाई एक महिला एक ल्यापटप कार्यक्रमबाट एउटा ल्यापटप लिनु भए झन राम्रो हुन्छ,’ मिसले नमस्कार गरिन्, ‘साँच्ची मिठो चिया खुवाउनुभएकोमा भाउजुलाई धन्यवाद छ है ।’

एक दिउँसो छेवाङ आँगनको गुन्द्रीमा पल्टिरहेका थिए । उनको गोजीमा भुरभुर गरी मोबाईल करायो । नयाँ नम्बर थियो ।
‘हेलो,’ उसले फोन उठाए ।

‘नमस्कार, म काठमाडौंदेखि रामप्रताप बोलेको, तपाई छेवाङ बोल्नुभएको हो ?’ उताबाट आवाज आयो ।

‘हो हजुर, मै हु छेवाङ, किन होला भन्नुस न,’ छेवाङले सोधे ।

‘मेरो ह्यान्डीक्राफ्ट पसल छ, मलाई २ सय जति डोको र १ सय वटा जति नाङ्लो चाहिएको छ ?’ रामप्रतापले सोधे ।

छेवाङलाई सपना हो कि विपना छुटाउन गारो भो । एकछिन् केही बोल्न सकेनन् ।

‘हेलो छेवाङ जी सुन्नुभयो,’ उताबाट आवाज आयो ।

‘हजुर, सुनें, डोको चाहि पुग्छ होला, नाङ्लो चैं ५० वटा मात्रै छन्,’ छेवाङले भने ।

‘सक्दो बुन्नुहोस, म दुई हप्तामा क्यास लिई आएर सबै सामान उठाउँछु, मेरो नम्बर यही हो,’ ठेकेदारले भने ।

सामान अर्डर आएपछि छेवाङ एकदम खुसी भए । तैपनि उनलाई अझै विश्वास लागेन ।

उनले फोनमै भने, ‘सर, अलिकति खर्च पहिले चाहिन्छ कि ?’

‘हस, म तपाईंको नाममा २५ हजार रुपैयाँ अहिले नै हालिदिन्छु, तपाईंलाई नजिक पर्ने मनी ट्रान्सफर कम्पनीबाट लिनुहोला, अहिलेलाई बिदा,’ रामप्रतापले छेवाङलाई विश्वस्त बनाए ।

(कथाकार पत्रकार एवं बाल कथाकार हुन् ।)

प्रतिकृया दिनुहोस्

ठोक सलामी ए मलामीहरू हो 

img

‘’मेरो देश दुखिरहेछ ऐया ऐया गर्दै  तर यहाँ लाखौँ मलामीहरूको भीडमा  बर्दी लगाएर सलामी ...

‘आगोको लप्का’ मा हाइकु लालित्यको बिम्व

img

नेपाली साहित्यिक आकाशमा हाइकु एक स्थापित नाम भइसकेको छ । हाइकु भनेको ...

प्रदूषणका कुहिएका चल्लाहरू 

img

जेठो दाइ आउँदा  कूचो लगायौ तिमीले  तर  अहँ कूचो होइन दक्षिणको किटाणु भित्र्यायौ तिमीले ।  नारा उखान ...

समृद्धिका पाइतलाहरू बिँझाउने गर्छन्

img

अचेल कति सस्तो छ प्रशंसा  वाओ ....... कति सस्तो प्रशंसाले  प्रशंसा गरिन्छन् अक्षर र शब्दहरूको  वाओ ...

ऐँसेलुको बाप

img

गर्मीमा परेको पानीको शीतलता आनन्दको पर्यायवाची हुन् । उधुम गर्मीमा आइसक्रिम खाएर ...

जेब्रा क्रसमाथि... 

img

पछिल्लो समय प्रायः सबै किसिमका लेखकहरु उपन्यासतिर ढल्केको पाइन्छ । कविता, कथा, ...

पत्रपत्रिका

सबै