सर्दुको फूल...

| निवन्ध

उसले आत्महत्या गरेछ ।
हिजो राती ।
निकै धेरै साहस जुटाएर उन्यो होला घाँटीमा पासो । 
जीवनका तीसवटा शिशिरहरु मात्रै काटी भ्याएको थियो बल्ल तल्ल । किन होला उसले आफ्ना दुईवटा केटाकेटीलाई सम्झिएन । खै ! किन हो अरबमा पसिना बगाउदै गरेकी दुलहीको मायाले पनि उसलाई अडाएन ।

सर्दु खोलाले बर्षेनी बगाई ल्याउने सेता ढुङ्गाहरु बटुल्दै हुर्किएको ऊ । प्रत्येक दिन मार्तोलले फुटाएका गिट्टीका सेतो धुलोले ढाकिदै उक्लिएको उनको उमेर । अर्काको घरको गारो लगाउँदा लगाउँदै पलाएका उनका सपनाहरु ।

के तिमी साँच्चै थाकेका थियौ गिट्टी कुट्दा कुट्दै ?
प्रत्येक ढ्वाङ गिट्टी को पैसाका लागि ठेकेदारसँग किचकिच गर्दा गर्दै । 
अथवा 
ठुलाबडाका ठुला ठुला महल ठड्याउन ईटा र मसला जोड्दा जोड्दै ।

सर्दु किनारको सुकुम्बासी बस्तीमा धेरै परिवर्तन आइसक्दा पनि, धेरै आइएनजिओले बिकासे चल्लाहरु कोरल्दै गर्दा पनि किन कुनै परिवर्तन र आशाको सुवास फैलिन सकेन हँ तिमी भित्र ?

प्रत्येक बर्षात्मा बहुलाउने सर्दुले बगाई लैजाला कि भन्ने त्रासबीच पनि बेल्चा हानेर साँझपख घरमा खुसी हुदै पुग्ने तिमीलाई आखिर एकाएक के ले यति लाचार बनाइदियो ?
कहिल्यै दुःखी हुन नजान्ने तिमी उर्लिएको सर्दु आनन्दसँग तरेर पारीको देवीथानमा पुग्थ्यौ ? अनि असारेका दानाहरु टिपेर खल्तीभरि भर्न पाउँदा तिम्रो अनुहार नै खुसीले बलेको हुन्थ्यो । तिमी नै होईनौ र त्यो जो संसारी पुजाको लागि उल्टिएको गाउँलेको अगुवा गर्दै सारा पुजाको सर्दम एक्लैले टिपेर पारी डाँडामा पुग्ने तन्नेरी । अनि तिमी नै होईनौ र त्यै आँटी  ठिटो जसले सर्पले डसेर मरेकी तरुनी मनकुमारीको लासलाई रातभरि रुँघेर बस्न सक्ने ।
आज कसरी तिमी यति कमजोर भयौ ?

कहिल्यै दुःखी हुन नजान्ने तिमी उर्लिएको सर्दु आनन्दसँग तरेर पारीको देवीथानमा पुग्थ्यौ ? अनि असारेका दानाहरु टिपेर खल्तीभरि भर्न पाउँदा तिम्रो अनुहार नै खुसीले बलेको हुन्थ्यो ।

कसरी भयौ यति फरक एक दशक मै तिमी ?
के तिमीलाई पनि अरबको तातोमा पसिना बगाउन जाने भिसा नपाएको पीरले छोप्यो ? कि तिमीलाई स्वास्नीले कमाई पठाएको पैसाले प्रत्येक साँझ भट्टीमा रक्सी निल्दाको ग्लानीले बेस्सरी कोतर्याे ? कि आफूले नै गारो लगाएका घरहरु धरान बजारभरि शानले ठडिदा आफ्नो भने फुसको छानो फेर्न नसकी प्रत्येक बर्खामा ओभानो कुनो खोज्नु पर्ने विवशताले साह्रै निरास बनायो ?

तिमी त गयौ तर तिमीसँगै बिलाए मेरा यी यावत् प्रश्नका उत्तरहरु पनि । तर पनि सयौं प्रश्नहरु अझै पनि सुलझैं बिझाइरहेकै छ मेरो मुटुमा । 

अझै पनि उत्तिकै तिखो सम्झना छ, तिम्रा ती बाल्यकालको । तिम्रो केही बर्षे स्कुल यात्रा खासमा भोको पेट भर्नुसँग मात्रै सरोकार राख्थ्यो न कि त्यहाँ रटाइने क ख ग घ सँग । कारण तिमीले स्कुल गएबापत खाजामा हलुवा र दुध खान पाउथ्यौ । त्यही खाजाको लोभ थियो सायद तिम्रो स्कुले जीवन तर जसै खाजा बन्द भयो तिम्रो स्कुल यात्रा पनि टुंगियो, अनायासै । त्यसपछि केवल मजदुरी पर्यो तिम्रो भागमा । सायद यसरी नै शुरु भएथ्यो, तिम्रो बाल मजदुरी । त्यही दिनबाटै शुरु भएको हुनुपर्छ बिक्री हुन तिम्रो कलिलो निधारबाट चुहिएको पसिना । तिमीले खोलाबाट सकिनसकी एक डोको ढुङगा बोकेर ल्याउदै गर्दा सायद शहरको ठुलो होटलको भरिभराऊ सभाकक्षमा बाल अधिकारको लागि निकै ठुलो भाषण दिइदै थियो । हो तिमीले आठ आनाको एक कप पातलो चिया र आठ आनाकै पाउरोटी भोकले सुक्न लागेको आन्द्रामा ठेल्दै गर्दा त्यही कार्यक्रमको लन्च ब्रेकमा थरिथरिका परिकारहरु सर्भ हुदै थिए होलान् । तिम्रा मसिना हातहरुले गह्रौं मार्तोल उचालेर ढुङ्गा फुटाउदै गर्दा त्यही बालअधिकार सम्बन्धी कार्यक्रममा तस्वीर र समाचारहरु ले भरिएका थिए होलान्, अखबारका फ्रन्ट पेजहरु । 

ढुङ्गा फोर्दा फोर्दैको सानो केटो तिमी त एकाएक तन्नेरी भएछौ । सायद तिमीलाई समय भन्दा अघि नै जवान हुन कर लाग्यो । दिनभरि बेल्चा हानेको पातोको रन्को दुई कप पातलो चियाले कहाँ कम हुनु र, त्यसैले नै थाल्यौ भट्टी धाउन प्रत्येक साँझ । एक गिलासकै रन्को ले पनि दिनभरको थकानबाट छुट्कारा दिएर आनन्दको निन्द्रा दिएपछि किन छाड्थ्यौ र भट्टी धाउन । त्यसपछि त तिमी फुच्चे केटो रक्सीको रन्कोमा ठुल ठुलो स्वरमा धमास दिदै हिड्ने तन्नेरी पो भइगएछौ । 

जुङ्गाको रेखी राम्ररी नबस्दै अनि हातगोडा पनि रामरी नसप्रिदै तिमी त रक्सीको झोकमा सबैलाई थर्काउन सक्ने भइगएछौ । तिम्रो रक्स्याहापनालाई खै कस–कसले के के देखे तर तिमीले चाहि एउटा गरीव तन्नेरी केटोको बिलासिताको आधार मान्यौ क्यार । बिभिन्न बहानामा रक्सी पिउन र उसैगरी प्रत्येक साँझ थप्दै गयौ असंख्य ट्वाकहरु । उपेन्द्र सुब्बालाई त तिमीले पढेका थिएनौ तर उनकै कविता जस्तै हुदै गए सायद तिम्रा साँझहरु । 

कसो बाटो भुलेर म फेरि
यहाँ भट्टीछेउ आइपुगेँ ।
अब
सिधा वा बाङ्गो गरी
जसो जस्तो गरी भएर यहाँ आइपुगेपछि
नआउनुथ्यो आइसकेर
भित्रै आइसकेपछि
साँल्दीज्यु ।.
एक ट्वाक चढाऊँ कि ? 
(    “साँल्दीज्यु ।. एक ट्वाक चढाऊँ, कि ?”, उपेन्द्र सुब्बा )

तिमीले माइलीलाई अर्काले छाडेकी आइमाई मानेनौ । माया बसेपछि सँगै जीवनमा अघि बढाउने यात्रामा लाग्यौ । मायाले नै त दिएको होला त्यो साहस । निकै पछिसम्म पनि तिम्रो चर्चा गाउँघरमा चल्ने गथ्र्यो ।

सायद यही कवितामा जस्तै बहानमा पियौ । सायद खुसी हुन पियौ । सायद दुःख भुलाउन पियौ । सायद आफैलाई भुल्न पियौ । तर बस् पियौ ।दिनभरको ढुङ्गा कुटाई, बेल्चा हनाई अनि भोको पेटमा प्रत्येक साँझको ठर्रा पियाई कति दिन पो धान्न सक्नु र तिम्रो कलिलो शरीरले पनि । त्यसैले होला बेस्सरी थलियौ, रगत छाद्यौ, क्षयरोगी भयौै, ओखती गर्यौ र ठीक पनि भयौ । कसो तिम्रो ज्यान जोगियो । तर तिम्रो जस्तै नियति भोगेकाहरु सबै बाँच्दैनन् । अस्ति भर्खर न हो एक छिमिकीको ज्यान गएको । कारण थियो क्षयरोग । त्यो भन्दा नि परको कारण थियो उसको रक्सीको लत । अनि रक्सिनुको कारण थियो दिभरको शारीरिक परिश्रम । शरीरको थकाईको निदान थियो, केवल रक्सी । युरिया हालेको, चिनी हालेको अनि अरु पनि के–के घातक केमिकलहरु हालेको रक्सी छ, छ्याप्छयाप्ती भट्टीहरुमा । एउटा गरीब श्रमिकले खान सक्ने भनेकै यस्तै सस्ता झोलहरु न हुन् । एकछिन मात्नुसँग मात्र सरोकार राख्छ, उनीहरुको रक्सी पियाई । बस् एकैछिनको मन र ज्यान भुलाउने बाटो । ज्यानभित्र के के हुन्छ के थाहा र तिमीलाई ? र तिमी जस्ता धेरै धेरैलाई । अनि यसैगरी निहत्था एक श्रमिक ज्यान माटोमा मिल्छ ।

तिम्रो भट्टी चहार्ने लत नछुटे पनि बिरामी हुनुले केही त राम्रै भयो, तिमीलाई । कम्तिमा तिम्रो घरबार त भयो । उमेर बढ्दै जाँदा आफ्ना आमाबाको भन्दा अरुको माया मीठो लाग्छ । बिरामी पर्दा माइलीले गरेको ख्याल र स्याहारसुसारले तिम्रो मन पगाल्यो होला । त्यसैले त तोडिदियौ समाजको नियम कायदा र स्वीकारिदियौ एउटी छोरी स्याहारेर बसेकी माइलीलाई । समाज परिवर्तनका खोक्रा आदर्श फुक्नेहरुभन्दा निकै अगाडि बढ्यौ, तिमी । पहिलो घरबार बिग्रेको महिलालाई कसले पो साथ दिन खोज्छ र । समाज त यही हो । समाज धेरै परिवर्तित भइसके जस्तो त देखिन्छ तर फेरि बाँकी नै छन्, प्रत्येकको मन मस्तिष्कमा टाँसिबसेका जड मान्यताहरु । त्यो त लरतर भत्किदैन । बिधुवा या लोग्ने छाडी बसेकाहरुले कहाँ सहजै नयाँ जीवन सुरु गर्न सक्छन् र ? 

तिमीले माइलीलाई अर्काले छाडेकी आइमाई मानेनौ । माया बसेपछि सँगै जीवनमा अघि बढाउने यात्रामा लाग्यौ । मायाले नै त दिएको होला त्यो साहस । निकै पछिसम्म पनि तिम्रो चर्चा गाउँघरमा चल्ने गथ्र्यो । कुरा राम्रै काटेका हुन् धेरैले । “थुइक्क कोही नपाएर अर्काको जहान स्याहार्याै कन्ने केटाले ।” यस्तै यस्तै फुस्फुसाहट चलिरह्यो निकै समय । तर तिमी हलचल भएनौ । आफ्नो बाटोमा अघि बढिरह्यौ । कति राम्ररी अघि बढ्दै थियो तिम्रो प्रेमयात्रा । कति खुसी भएका थियौ, तिमी माइलीले एउटी भुक्कुली छोरी जन्माइदिँदा । सायद तिमी बाबु हुनुको खुसीले पुलकित भएका थियौ । बिस्तारै जिम्मेवारीबोध पनि त पलाएको थियो, तिमीमा । त्यसैले भट्टीको समय छोट्टिन थालेको थियो । तिमी आफैले नै उतारेको हो सुत्केरी । बिहान साँझ आफैले पकाई ख्वाएका थियौ छोरीकी आमालाई । कति खुसी देखिन्थ्यौ तिमी दुबै । 

तर एकाएक के भयो यो सब ?
तिमीले आत्महत्या नै गरे पनि म यसलाई कायरताको संज्ञा भने दिन सक्दिन । तिमी कहाँ काँथर थियौ र ? यतिका बर्ष त्यसरी संघर्ष गर्न सक्ने तिमी कसरी कायर हुन सक्छौ र । फेरि आफैलाई सिध्याउन त निकै ठुलो साहस चाहिन्छ । 

तर 
एउटा कुरा भने खट्केको छ मनमा । 
तिमीले पासोमा घाँटी बेर्दै गर्दा एकपटक सम्झेको भए हुन्थ्यो हाड छाला मात्रै भइसकेका तिम्रा बृद्ध आबलाई जो आजसम्म पनि बिना कुनै गुनासो अरुको घरको गारो लगाइरहेका छन् ।

एकपटक मात्रै सम्झेको भए तिम्री आमाको चाउरिएको अनुहार जो बारम्बार मानसिक सन्तुलन गुमाउदै फेरि ठीक हुदै घरकै सिकुवा कुरेरै बसिरहेकी छिन् । 

तिमीले एकपटक मात्रै पनि सम्झेको भए ती तिम्रा नानीहरुको आँखाको उज्यालो र आशा जो प्रत्येक साँझ तिमी हातखुट्टा लडखडाउदै रित्तै घर पस्दा पनि बाबाले केही ल्याई दिए होलान् भन्ने आशाले तिम्रो खल्ती छाम्न आइपुग्छन् । 

अनि

तिमीले एकपटक, केवल एकपटक सम्झिदिएको भए तिम्री दुलही जो तिमी र केटाकेटीको भविष्यको लागि मालिकको अनेक खटनपटन सहेर पनि काममा दलिइरहेकी छिन्, अरबमा । महिना गन्दै बसेर प्रत्येक महिना पैसा आउने बित्तिकै तिमीहरुको गर्जो टार्न खर्च पठाइरहेकी छिन् । टाढा बसेर पनि तिमीलाई उतिकै माया दिएकै थिइन् । दिन गनेर बसेकी थिइन्, छुट्टीमा घर आउने । 

तर

तिमीले कसैलाई पनि सम्झेनौ त्यसबखत । त्यस रातको निष्पटतासँगै आफैलाई सिध्याउने धुनले तिमीलाई जो गाँजेको थियो । तिमी सहजै झुन्डिदियौ, त्यो डोरीमा ।.
सायद त्यस निर्णयमा पुगिन्जेलसम्म तिमी मानसिक रुपमा निकै बिक्षिप्त भइसकेका थियौ । कमजोर भइसकेका थियौ, भित्रभित्रै । सायद समाजको टीका टिप्पणीले पनि अलि बढी गलायो । श्रीमतीले पठाएको पैसामा आश्रित हुँदा सबैले हेर्ने छड्के नजर र कुरा कटाई सायद सह्य भएन तिमीलाई । एक्लोपन, निराशा र माया गर्ने माइली पनि टाढा भएकोले तिमी झन् बढी टुक्रियौ । परिवार, समाज, सबैसबैले बेवास्ता गरे जस्तो मान्यौ होला । 
तर
तिम्रो बुझाई गलत भयो । यहाँ समाज भएर पनि कहाँ छ त ? यहाँ देश भएर पनि कहाँ छ त ? समाज र देश भए तिमी जस्ता युवाहरुले रक्सीसँग जीवन साटिरहँदा चासो लिने थिएनन् ? गरीबगुर्बाहरुको देश भएर पनि देश हुन्न । ऊ मात्र एक उपेक्षित बर्ग भएर यसैगरी अकाल मृत्यु मरिरहन्छन् । तिमी जस्तै गरीव आम नागरिक यसरी नै रक्सी खाँदै, क्षयरोगका किटाणु छातीमा बोक्दै, अर्काको घर ठड्याइदिदै, अन्तमा उही समाजको हेला होचो सहदै बाँचिरहेका छन् । कोही रक्स्याहा कोही जड्याहा अनि कोही पागल करार भइरहन्छन् । र बाँच्न साह्रै गाह्रो पर्दा आफ्नै घरको दलान र केही थान डोरी साथ दिन आइपुग्छन् । 

सबैतिरबाट उपेक्षित भएर एक गरीब र निरीह जीवन लतारी हिड्न सायद तिमीलाई मञ्जुर भएन सन्तबहादुर । त्यसैले प्रत्येक पलको मृत्यु भन्दा एकै पटकको मरण रोज्यौ । केटाकेटी निदाएपछिको त्यो चकमन्न रातलाई साक्षी राखेर झुण्डिदियौ, घरकै दलिनमा । तिमी त गयौ तर थाती भए धेरै थोक । तिम्रा छोरीहरुको हाँसोको एक हिस्सा, तिम्री दुलहीको सिउँदोको उज्यालो, तिम्री आमाको प्रेमील नजर, तिम्रा बाको भविष्यको आशा सबै टक्क रोकिएझैँ भएका छन्, यतिखेर । 

तिमी त उही बर्सेनी उर्लिने सर्दु किनारमा फुलेको फुल हौ जो असमयमै ओइली झर्यो ।

प्रतिकृया दिनुहोस्

तामाङ डाजाङद्धारा ३ पुरस्कृत, ६ सम्मानित 

img

साहित्यिक संस्था तामाङ डाजाङले शनिबार १८ औ वर्ष प्रवेशको उपलक्ष्यमा तीन जनालाई ...

बताऊ 

बताऊ मलाई, गुलाब नाङ्गो हुन्छ या, नग्नता उसको एकमात्र पहिरन हो ? रूखहरू किन लुकाउँछन् जराको कान्ति ? कसले सुन्छ होला चोरीको गाडीका पछुतोहरू ? झरीमा उभिएको रेलभन्दा उदास अर्काे के होला यो दुनियाँमा ? अनुवादः बिनोदबिक्रम केसी   ...

हाइकु

१. मर्ने पालो छ लथपल भएर मुख बाउँदै !   २. दानव युग दास्त्रदाह्रा निकाल्छ धम्किधमका !   ३. अणुबमझैँ नयाँ मान्छे विस्फोट मस्तनिद्रामा !   ४. हातले रोप्छ मानव कल्पवृक्ष शिवको छाती !   ५. निचोरिएर छाद्न थाल्छ मान्छेले तिलक टाँस्दै !   ५. लोप्पा ख्वाउँदै बूट प्रहार गर्छ खम्बाहरुले  ...

सरकारको आँखा 

देशमा कलकारखाना उद्योग केही पनि थिएन । उ बिहान बेलुकी मुख जोर्न साहुको भारी बोक्ने काम गथ्र्यो । सडकसँगै गाडी आएपछि त्यो काम पनि खोसियो ।  उ बेरोजगारी बन्यो । सबै ...

 आगोको लप्का विमोचन

img

साहित्यकार श्रीराम श्रेष्ठद्धारा लिखित आगोको लप्का हाइकु संग्रह शनिवार विदुरमा एक समाराेह बीच विमोचन गरिएको ...

बिना थिङले जितिन् डिसहोम १२खरी कथा प्रतियोगिता

img

साहित्यकार बिना थिङले १२खरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा जितेकी ...

पत्रपत्रिका

सबै