तामाङ संज्ञानमा ‘म्हेनिङ’

| काठमाडाैं

कुनै पनि जाति विशेषसँग सम्बन्धित चाडपर्व सम्बन्धित जातिको पूर्खाले हस्तान्तरण गरेको विरासत हो । त्यही विरासतसँग लोक जीवनको पद्धति गाँसिएको हुन्छ । त्यो पद्धतिसँग संस्कारगत सामाजिक व्यवहारहरु श्रृङखलाबद्व स्वरुपमा संस्कृतिको नाममा उनेर रहेका हुन्छन् । तर समय अन्तरालमा हुने वाह्य परिवर्तनको चेपमा सामाजिक र साँस्कृतिक व्यवहारहरु प्रभावित हुन जान्छन् । कतिपय अवस्थामा राजनैतिक अभिष्ट पूर्ति गर्नको खातिर जर्वरजस्ती त्यस्ता साँस्कृतिक सम्पदालाई नियोजित र प्रायोजित रुपमै निमोट्यान्न पार्र्ने र खप्टयाउने कार्य गरिन्छ । समयलाई अलिकति पछि फर्केर हेर्ने हो भने त्यसको दृष्टान्त हाम्रै देश नेपालमा जनजातिको सन्दर्भमा प्रशस्त भेटाउन सकिन्छ । यस्तै समयको गर्भमा तामाङ जातिसँग सम्बन्धित रहेको पर्व म्हेनिङ दशैंको नाममा रुपान्तरण भएको तथ्यसँग नजिक रहेर लेखक तथा खोजकर्ता खोजराज गोलेले तयार पारेको म्हेनिङ नामक पुस्तक बजारमा आएको छ । पुस्तकलाई सोसियो कल्चर रिसर्च सेन्टर प्रालिले प्रकाशनमा ल्याएको हो । 

प्रस्तुत पुस्तकमा जम्मा पाँच अध्याय रहेका छन् । प्रथम अध्यायमा म्हेनिङको चिनारी मुख्य शीर्षकमा भिन्न उपशीर्षकहरु सामाजिक, साँस्कृतिक, धार्मिक र नश्लीय पृष्ठभूमिबाट व्याख्या र विश्लेषण गरिएको छ । सँगै म्हेनिङ शब्द उत्पति र विस्तार त्यसको प्रयोगको ऐतिहासिक पक्षलाई पनि यसै अध्यायमा समेटिएको छ । अध्याय दुईमा म्हेनिङको संस्कृति, महत्व, अवस्था र आवश्यकतालाई सुक्ष्म रुपमा सविस्तार चर्चा गरिएको छ । त्यसैगरी अध्याय तीनमा म्हेनिङसँग देखिएका विवादित पक्षलाई चिरफार गरेका छन् भने म्हेनिङ सम्बन्धी भए गरेका, उठेका अभियानहरुलाई अध्याय चारमा वर्णन गरेका छन् । अन्तिम अध्याय पाँचमा म्हेनिङसँगको आरोप, प्रश्न, प्रतिप्रश्नसहितको जिकिर, स्पष्टीकरण, म्हेनिङ र दशैंमा रहेका पृथक पक्षहरुलाई खोतल्ने प्रयास  गरिएको छ । त्यसैगरी म्हेनिङलाई तामाङ मौलिक चाडको रुपमा स्थापित गर्नको लागि रहेका चुनौति र अवसर दुवैलाई लेखकीय एवं अनुसन्धानको पक्षबाट अघि सारिएको छ । जुन निकै प्रशंसनीय छ ।

चाडपर्वको प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । त्यसले प्राविधिक पक्षलाई आफूसँगै समायोजित गरेको हुन्छ । यहाँ प्राविधकि पक्ष भन्नाले संस्कृतिका साँस्कृतिक पक्ष र त्यसले अघि बढाएका सामाजिक व्यवहारगत पक्षहरु हुन । लेखकले म्हेनिङलाई यसै परिधिको सेरोफेरोमा पिधबाट खोज्ने प्रयास गरिएको छ । यस अर्थबाट म्हेनिङलाई प्रकृति तथा पितृपूजासँग सम्बन्धित तामाङ जातिको मौलिक पर्वको रुपमा रहेको जिकिर गरेका छन् । भूमिको सम्बन्ध प्रकृतिसँग हुन्छ । पर्यावरण प्रकृतिकै हिस्सा भएकाले यो परिवर्तनशील छ । परिवर्तित स्वरुपमा भूमिको रक्षा गर्नु मानव सभ्यताको विकासक्रमको श्रृङ्खला पनि हो किनकि भूमिसँग जीवन बाँच्ने आधार हुन्छ । पुर्खाले भूमिको रक्षा गरेका छन् । यसैले पुर्खा पुज्यनीय छन । यसैको आधारशीलमा पर्यावरणसँग अनुकुलित भएर पितृको सम्मानमा तामाङ समुदायमा विकसित भएको संस्कृतिको महत्वपूर्ण पाटो नै म्हेनिङ भएको बुझाइ पुस्तकमा अघि सारिएको छ । यसो त संस्कृतिको विशेषता भित्र पोषण, पुर्नउत्पादन, आर्थिक, सुरक्षा लगायत भावनात्मक पक्ष पनि समाविष्ट हुने हुँदा त्यस्ता पक्षहरुलाई पनि लेखकले विभिन्न दृष्टिकोणबाट म्हेनिङसँग जोडेर विश्लेषण गर्न भ्याएका  छन् । यसैगरी संस्कृतिले नै आफ्नो वंश, जाति र प्रजातिको निरन्तरता दिने हुँदा त्यसलाई छाडेर अघि बढ्दा हुने र्दूघटनाका विषयमा पुस्तकले धेरै ठाउँमा सचेत गरेका छन् । हिन्दु संस्कारले समयको कालखण्डमा गरेको सामाजिक एवं साँस्कृतिक अतिक्रमणले धेरै जनजातिका चाडपर्वहरु प्रभावित भएका सत्य हो । कतिपया हिन्दु संस्कारभित्रै विलिन भए भने बाँकी रहेका चाडपर्वका अवशेष भित्र हिन्दु संस्कारकै रंगको आवरणमा अघि बढ्दै गयो । जसको कारण हाम्रा भनिहाल्ने आँट सिमान्तकृत वर्गले गर्न सकेनन् । फलस्वरुप जनजाति सम्बन्धित मौलिक चाडपर्वहरु नयाँ आवरणमा अभ्यासमा आए । यसैको दुरीमा लेखक गोलेले मौलिक तामाङ चाड म्हेनिङ दशैंमा रुपान्तरण भएको दृष्टान्तलाई पुस्तकमा उतारेका छन् । पुस्तकले मानवशास्त्रको प्रजाति संज्ञान सैद्धान्तिक दृष्टिकोणबाट म्हेनिङको आवश्यकता, महत्व र विशेषतालाई अघि सार्दै हिन्दुले मान्दै आएको दशैंभन्दा विल्कुलै पृथक रहेको तथ्यलाई चर्चा गरेका छन् । म्हेनिङलाई तामाङ मौलिक पर्वको रुपमा स्थापित गर्न गरेका अभियानको दौरान पाएको गाली र तालीलाई पनि पुस्तकमा समेटेका छन् । यो पनि अहिलेको पुर्खाले भावि पुस्ताको लागि गरेको योगदानकै रुपमा व्याख्या गर्न सकिन्छ । यस अर्थमा लेखक स्वयं अभियन्ताको रुपमा प्रस्तुत भएका छन् ।

कुनै पनि संस्कृति स्थीर रहन सक्दैन । यो सदैव गतिशील हुन्छ । सामान्यतया तलबाट माथितिर आकर्षित हुने यसको चरित्र हुने हुँदा समयअन्तरालमा यसका विविध पक्षहरु पुस्ताहस्तान्तरण हुँदा कतिपया मौलिक पक्षहरु पनि नष्ट हुन जान्छ फरक प्रक्रियाबाट अघि आउने गर्छ । यसर्थ लेखकले मौलिक पर्वको रुपमा स्थापित गर्न खोजिएपनि त्यसमा हुनु पर्ने समाविष्ट पक्षलाई प्रजातिय संज्ञानबाट पुर्नजागरण गर्न त्यति सजिलो छैन । पुर्नजागरण गरिएपनि कतिपया पक्षहरु अनुसन्धानको परिधिमा मात्र सीमित हुन्छ । यद्यपि पुस्तक प्रकाशन पश्चात पछिल्ला दिनहरुमा म्हेनिङप्रति चासो र चर्चाले पुस्तक प्रकाशनलाई सफल मान्न सकिन्छ । बौद्ध पक्षबाट मात्र नभइ बोन पक्षसँग पनि सम्बन्धित राखेर बुझदा सिङ्गो तामाङ संस्कृतिले पूर्णता पाउने तर्कलाई पुस्तकमा बलियोसँग उभ्याएको छ । यसले बोन र बौद्धको मिश्रित स्वरुपको संस्कृतिबाट तामाङ संस्कृतिको सामाजिक व्यवहार निर्धारण भएको तथ्य प्रष्ट हुन्छ । यद्यपि बौद्ध धर्ममा प्राणी हिंसाको विरुद्ध घरको पूजाघरमा विभिन्न बाहनामा बलि चढाउने म्ह्ेनिङ संस्कृति विरोधाभास देखिन्छ । फेरि यसलाई बौद्धसँगै राखेर बुझ्यो भने बौद्ध संस्कृतिको विकृत रुप भन्दा अरु केही हुँदैन । यस्ता विषयलाई अलग राखेर पुस्तकले स्पष्ट गर्न सकेका छैनन् । पुस्तकको सबैभन्दा कमजोर पक्ष यही हो । अर्काे कुरा पुस्तकमा अघि सारेका म्हेनिङ सम्बन्धी संस्कारगत पक्षहरुलाई क्षेत्रगत पक्षबाट उल्लेख गरिएको छैन । जसले गर्दा स्थानविशेष अनुरुप पृथक पद्धतिबाट हुने म्हेनिङको साँस्कृतिक अभ्यासलाई एउटै शिराबाट बुझनु पर्ने देखिन्छ । त्यसैगरी एउटै विषयहरु प्रस्तुतिको क्रममा अध्यायहरुमा दोहोरिएका छन् । यति हुदाँहुदै पनि म्हेनिङलाई दशैंकै रुपमा बुझ्ने भ्रमलाई हटाइ तामाङ संज्ञानको अभिलेखिकरण गर्ने महत्वपूर्ण कार्य प्रस्तुत कृतिले गरेको छ । त्यति मात्र होइन विश्वव्यापीकरणको कारण सबैभन्दा बढी आदिबासी जनजातिको संस्कृतिमाथि अतिक्रमण भइरहेको अवस्थामा तामाङ जातिको मौलिक संज्ञान, जाति, वंशसँग सम्बन्धित म्हेनिङलाई पुनस्र्थापना गर्न यो कृति सहायक हुने कुरामा विश्वस्त हुन सकिन्छ ।

प्रतिकृया दिनुहोस्

विप्लवको सत्तोसराप र सिकेसँग प्रचण्डको तुलनाभित्र लुकेका यथार्थ

img

नेपालको तराईभूमिलाई टुक्र्याएर छुट्टै देश बनाउने अभियान थालेका चन्द्रकान्त राउतसँग सरकार र ...

हामी जुर्मुराउने बेला आयो, देश खतरामा जादैछ

img

म आगो सहन्छु अन्याय सहन्न  तृष्णा सहन्छु तिरस्कार सहन्न मेरो शिर उडाउ बरु त्यो ...

उर्वर समयको मन्थन

img

हरेक मानिसको जीवनको असली नायक स्वयं हो । त्यही स्वयंभित्र आफूलाई समयको ...

घेदुङको ६३ बर्ष: एक समीक्षा

img

तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ ६३ औं बर्षमा प्रवेश गरेको ...

चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनः एक समिक्षा

img

भर्खरै अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलन मिरिकमा सम्पन्न भएको छ । सम्मेलनमा ...

२००७ सालकाे क्रान्तिमा जीवन आहुती दिनेहरुको हिसाब भएन

img

म अहिले ८८ वर्ष पुगेँ । अस्ताउन लागेको, डाँडामाथिको घाम । नेपालगंज ...

पत्रपत्रिका

सबै