प्रतिष्ठानको अध्यक्षमा शेर्पा

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको अध्यक्षमा लाक्पाफुटी शेर्पा नियूक्त भएकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आगामी ४ बर्षका लागि शेर्पालाई अध्यक्ष नियूक्त गरेको हो । यसअघि उनी कार्यकारी निर्देशक थिइन् ।
अध्यक्ष गोम्बु शेर्पाको कार्यकाल सकिएपछि मन्त्रालयले शेर्पालाई नियूक्त गरेको जनाएको छ । शेर्पाले आजै पदभार सम्हालेकी छन् । शेर्पा यसअघि २ बर्ष प्रतिष्ठानको सदस्य, दुई कार्यकाल कार्यकारी निर्देशक भएर प्रतिष्ठानमा काम गरेकी थिइन् । पदभार सम्हाल्दै शेर्पाले आफ्नो कार्यकालमा विश्वमै नमुना पर्वतीय पर्यटनसँग सम्वन्धित अध्ययनको शुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
‘माउन्टेरिङ एजुकेशनलाई गुणस्तरीय र विश्वमै नमुना बनाउने योजना छ । यस सम्बन्धी विश्व विद्यालय स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेँ ।’उनले थपिन् : - ‘सोलुखुम्बुलाई केन्द्र बनाएर सात वटै प्रदेशमा पर्वतारोहण सम्बन्धी अध्ययन गर्ने शिक्षालय स्थापना गर्ने योजना छ ।’ अध्यक्ष शेर्पाले अघि भनिन् ‘म कार्यकारी निर्देशक हुँदा ‘माउन्टेनेरिङ’ शिक्षा अध्ययनका लागि स्नातकतहको पाठ्यक्रम विकास गरेको थिएँ ।
अब स्नातकोत्तर तहको लागि पाठ्यक्रम तयारी गर्नेछु ।’ पवतारोहण शिक्षा, स्की तालिमका लागि प्रतिष्ठानमार्फत विभिन्न कार्यक्रमहरु अघि बढाउने बताउँदै अध्यक्ष शेर्पाले भनिन् ‘पर्यटन प्रवर्द्धन र माउन्टेनेरिङ सम्वन्धी नमुना बनाउँदै विश्वलाई नेपाल चिनाउने धेय छ । यसका लागि सबैको सकारात्मक सहयोगको खाँचो पनि मैले महशुस गरिरहेकी छु ।’ गुणस्तरीय माउन्टेरिङ शिक्षाको माध्यमबाट मात्रै नेपालको पर्यटन प्रवर्द्धन सम्बर्द्धन हुने बताउँदै अध्यक्ष शेर्पाले यसका लागि आफू प्रष्ट योजना, विचारसहित आएको बताइन् ।
सरकारी, गैरसरकारी र निजी क्षेत्रको सहयोगको अपेक्षा गर्दै अध्यक्ष शेर्पाले भनिन् ‘सबै क्षेत्रको सहयोगले मेरो कार्यकाल सफल रहनेमा विश्वस्त छु ।’ आफू एक महिला भएको नाताले पर्यटन, पर्वतारोहण लगायत हरेक क्षेत्रमा महिलालाई अघि बढाउन आफू क्रियाशिल हुने बताउँदै अध्यक्ष शेर्पाले ‘महिलापनि हरेक क्षेत्रमा सक्षम छन् भन्ने देखाउन मेरो भूमिका रहने छ ।
’ विगतमा आफ्नो स्वच्छ छवि, प्रष्ट योजनाका कारणले सबैबाट सहयोग प्राप्त भएको र यही पृष्ठभूमिले आफूलाई राज्यले जिम्मेवारी सुम्पेको अध्यक्ष शेर्पाको भनाइ थियो । अध्यक्ष शेर्पालाई कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र शाखा अधिकृत उत्तम भट्टराई लगायतले प्रतिष्ठानमा स्वागत गरेका थिए ।