बहराइनमा सोनाम ल्होछार सम्पन्न
आमन्त्रित कलाकारहरुले तताए सांगीतिक साँझ

बहराइन तामाङ सेवा समाजले सोनाम ल्होछार सांस्कृतिक साँझ-२०१९ सम्पन्न गरेको छ । समाजले (फाग्/ड्वा ल्हो) सुंगुर/बदेल वर्षको स्वागत गर्दै फेब्रुअरी ८मा मानमास्थित डेलमुन होटलमा कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाली राजदुतावास बहराइनका उपनियोग प्रमुख खगराज पाण्डेका आतिथ्यमा कार्यक्रम भएका थिए । त्यसैगरी कार्यक्रमका विषेश अतिथिमा नेपालबाट आमन्त्रित तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले,नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठ,एनआरएएन बहराइनका अध्यक्ष लाल पुन मगर,जनजाति महासंघ बहराइनका अध्यक्ष ज्ञानेन्द्र तमु,वरिष्ठ समाजसेवी गम बहादुर गुरुङ र समाजसेवी दुर्गा गिरी रहेका थिए ।
कार्यक्रममा विभिन्न संघसंस्था र राजनीति दलका प्रतिनिधिहरु,समाजसेवी व्यवसायी लगायत अतिथि रहेका थिए । कार्यक्रममा बहराइनलाई कर्मथलो बनाउदै आइरहेका तामाङ तथा गैर तामाङहरुको बाक्लो उपस्थितिरहेका थिए ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि उपनियोग प्रमुख पाण्डेले शुभकामना मन्तव्यका क्रममा तामाङ सेवा समाजले बराइनमा खेल्दै आइरहेको भूमिकाको तारिफ गरे । पाण्डेले समाजलाई अझै शसक्त रुपमा बढ्न सुझाव दिदै दूतावासको सहयोग निरन्तर रहने बताए । समाजका उपाध्यक्ष तथा ल्होछार संयोजक पेमा तितुङ तामाङले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमका विषेश अतिथि नेपालबाट आमन्त्रित घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले विश्वका कुनाकुनामा रहेका नेपालीहरुले सहअस्तित्वका बारेमा बुझिसकेका यसै कार्यक्रमले पुष्टि गरेका बताए । अध्यक्ष गोलेले थपे-भाषा,कला,संस्कार,संस्कृति जस्ता तामाङ जीवनसँग गाजिएका विषयहरू संरक्षण सम्बर्द्धनमा राज्यको भूमिका रहनु पर्ने हो । तर त्यसो नभएकोले तामाङहरुको छाता संगठनले यसको पहल अन्तिम घडीसम्म गर्छ ।
(छ्योमे)दिप प्रज्वलनगरी राष्ट्रिय गानबाट सुरु भएको औपचारिक कार्यक्रम समाजका महासचिव च्याङ्बा लामा योञ्जनले सञ्चालन गरेका थिए । कार्यक्रमका सभापति समाजका अध्यक्ष सोनम दोङले गरेका थिए । कार्यक्रमका सभापति दोङले कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोगगरी सफल बनाइदिएकोमा धन्यवाद दिए ।
सोही कार्यक्रममा नेपालबाट आमन्त्रित उद्घोषिका स्मारिका थिङ तामाङले साँस्कृतिक कार्यक्रम सञ्चालन गरेकी थिइन् । उक्त साँस्कृतिक कार्यक्रममा विशाल काल्तानको प्रस्तुतिले स्वयंसेवकहरुलाई दर्शक सम्हाल्न हम्मेहम्मे पारेका थिए । कार्यक्रममा आमन्त्रित म्हेन्दोमाया नायिका रुपा एस घलेले आफ्नो जादुमय कलाले दर्शकलाई मोहित पारेकी थिइन् । कार्यक्रममा उद्घोषिका स्मारिकाको टुक्काहरुले दर्शकहरुलाई हँसाइरहदा स्थानीय कलाकार बुद्ध मोक्तान र अनु रानाको युगल नृत्यले सबैको मन जितेका थिए ।
त्यसैगरी सांस्कृतिक सचिव कविन ब्लोन र कार्यक्रम संचालिका स्मारिकाको युगल नृत्य पनि दर्शकले रुचाएका थिए। उक्त कार्यक्रममा सुनिता पाख्रीन,प्रकृति तामाङ,सकुन सुब्बा,समिक तामाङ,गुन राज मगर,सुस्मिता गुरुङ लगायतका स्थानीय कलाकारहरुको प्रस्तुतिले कार्यक्रममा रौनक्ता थपिएका थिए । कार्यक्रममा कियाचु बहराइन,मगर संघ बहराइन,कलाकार समाज,लगायतका संघसंस्थाहरुले पनि प्रस्तुति राखेका थिए ।