चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनः एक समिक्षा

परिषद्ले ‘थिङ्क ट्याङ्क’को निर्माण गर्नुपर्ने

| काठमाडाैं

भर्खरै अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलन मिरिकमा सम्पन्न भएको छ । सम्मेलनमा १९ देशका प्रतिनिधिहरुका सहभागिता रहेको जानकारी गराएका थिए । कसरी १९ देश भन्ने प्रश्नले ठुङ्नेक्रम शायद टुङ्गिने छैन । हनीमुन मनाउन पुगेका देखि डेटिङस्पटमा रुपान्तरण गरेका भन्ने आरोपवृष्टि पनि सुनाए । 

पत्रकारहरु आफ्नो भूमिकामा सफल नै रहे; यद्यपि पत्रकारिता विधाको साथै तामाङ समाजको एक अङ्गकै  रुपमा स्थापित पत्रकारहरु पत्रकार मात्रै थिएनन् । उनीहरु पनि तामाङ समाजको अङ्ग नै हुन् भन्नेमा कुनै शङ्का छैन । त्यतिसम्म हुँदाहुँदै पनि बन्दसत्रमा सहभागिता जनाउन पाएनन् । यो भविष्यमा पूरा गर्नुपर्ने वा सम्बोधन गर्नुपर्ने पाठ भएको छ ।

सबैभन्दा प्रधान विषय ज्ञानको कुरा नै थियो । त्यतातिर सबैजना अल्लारे तथा लहडे मात्रै भएको गम्भीर आरोप लगाउन बाध्य भएको छु । विश्व नै पहिचानमय भएको छ । यतिखेर ‘‘हामी को हौं र को होइनौं ?’’ भन्ने प्रश्नले धेरैलाई रिङ्ग्याएका देखिन्छन् । यत्तिले मात्रै पहिचान स्थापित हुनेमा शङ्का हुँदोरहेछ । त्यसैले ‘‘हामी कसका विरुद्ध छौ’’ भन्ने बारेमा पनि अध्ययन, अनुसन्धान नै गर्नुपर्ने टड्कारो रुपमा देखियो र यसलाई अन्य समक्ष बुझाउनुपर्ने देखिन्छ । 

सम्मेलनमा सहभागीहरुको मानोवृतीले केही गम्भीर तुल्याएको छ । अध्ययन, अनुसन्धान गर्ने साथै जिज्ञासु स्वभावले युक्त हाम्राहरुको अभाव देखियो । हामी होहोरेमा वा लहैलहैमा दौडनु हाम्रो लागि गम्भीर समस्या हो । समस्यालाई बल्झाउन उद्धत मात्र पायौ, समाधान खोज्ने र दिनेको कमी महसुस भएको छ । सम्मेलनमा पुगेका कतिपय प्रतिनिधिहरु भने आफ्नो जिम्मेवमसी भुलेर दार्जिलिङ घुम्न वा होटलमा मीठा खान अनि नरम बिछ्यौनाका लागि रोइलो गरिरहेको दृश्य सामान्य थियो ।

मिरिक सम्मेलनमा हाम्रा अव्यकृत प्रश्नहरु उदाङ्गै थिए । यद्यपि, कसैले तिनका छेउ र भेउ नै पाएनन् । पाएकाहरुका निमित्त भने सम्मेलनका आयोजकदेखि सहभागीहरु समेत अव्यकृत प्रश्नका रोगी थिए । मानौं एक प्रकारको सिजोफ्रेनियाले ग्रस्त थिए । विश्व परिवेश, देशीय (नेपाली, भारत, भुटान र बर्मा लगायत) साथै समुदायइतर परिवेशहरु एकातिर थिए । सम्मेलनको आयोजक तथा सहमागी (अभौतिक रुपमा सामेल)हरु भने आफ्नै संसारमा रमिरहेका वा हराइरहेका देखिन्थे ।

यसको मुख्य कारण चाहिँ, ‘‘पहिचान’’ कै थियो । पहिचानको लागि एकजूट हुँदै थिए । फेरिपनि, पहिचानकै समस्या थियो । तथ्यतः तामाङ पहिचानको कुरो थियो तर ‘‘हामी को हौ अनि को होइनौं ? तिनीहरु को हुन् र को होइनन् ?’’ भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने थियो तर कसैलेपनि त्यतातिर ध्यान दिइरहेका थिएनन् । जसका कारण पहिचानको मुद्दा आफै पहिचानविहीन हुँदै थियो । पहिचानको मुद्दाकै पहिचान भइरहेको थिएन । पहिचानकै पहिचान भइरहेको थिएन । 

मिरिक सम्मेलनको बन्दसत्रमा थरीथरीका प्रतिनिधिहरु थिए । कोही कसैलाई जिताउन पुगेका जस्ता ! कोही कसैको जरोकिलो उखेल्न कुदेका जस्ता ! कोही मस्तराम जस्ता ! कोही बलिका निमित्त तयारी अवस्थामा पर्साउँदै गरेका अमूक प्राणी जस्ता ! कोही नयाँ ज्ञानको भोकले व्यग्र जस्ता ! कोही अलमलमा, कोही ढलमलमा अनि कोही गनगनमा व्यस्त थिए । विदेशहरुका प्रतिनिधिहरु आफ्नै अभिमान पस्कनैमा व्यस्त देखिन्थे । त्यसैले समूहगत छलफलपछि, पूरै बन्दसत्रभरि बेग्लै बसे । स्वदेशमा हराइरहेका चाउरेहरुसँग पनि बस्न हुन्छ र भन्ने मनोदशा चुहाइरहे । तर सम्मेलनका आयोजकदेखि सहभागीहरु तामाङ ज्ञानको सवालमा भने नाजवाफ देखिए । आफैआफैँमा अन्यौलग्रस्त जस्ता! तामाङ ज्ञान के हो भन्ने नै अत्तोपत्तो नपाएका जस्ता ।

सम्मेलनमा प्रतिवेदन/मस्यौदा/कार्यपत्रलाई पुस्तिकाको रुपमा बाँडेका थिए । जसलाई हेर्ने हो भने राम्रो काम गर्छु भन्नेका लागि प्रशस्त सम्भावनाका गरा/पाटाहरु थिए । खनजोत र मलजल गर्दै खेती लगाउन चाहनेका लागि उर्वरभूमि उदाङ्गै थियो । दुःखको कुरा चाहिँ ती सबै सम्भावनाहरु बिग्रिएका वा बिगारिएका कारण बनेका थिए । कोही ज्ञान बाँडिरहेका थिए । ती ज्ञानलाई लिने, मनन् गर्ने र व्यवहारमा उतार्ने क्रममा कोही पनि थिएनन् । यही नै पहिचानको पहिचान नहुनुको मुख्य कारण थियो । 

अग्रज लेखक, अभियन्ता साथै नेता परशुराम तामाङ, राष्ट्र र राज्य (देश) चिनाउँदै थिए । तामाङलाई ‘राष्ट्र’ (पृ. १२) भन्दै थिए । नेपाललाई देश भन्दै थिए तर अन्य कसैसँग पनि उनका कुरा सुन्ने र मनमा गुन्ने समय नै थिएन । शायद त्यही भएर हुनुपर्छ; अन्ततः उनी आफै पनि अल्मलिएका थिए । तामाङलाई राष्ट्र अनि नेपाललाई देश भनेर भनिरहेका परशुराम तामाङ आफै अन्तर्राष्ट्रिय तामाङ परिषदका संस्थापक हुन भन्ने तथ्यलाई उनले अन्देखा गरि रहेका थिए । तात्कालिन परिवेष जस्तो रहेता पनि हाल उक्त गल्तिलाई आयोजकले सच्चाउन सक्नुपर्दथ्यो । त्यसर्थमा, उनी पनि चुकेको भन्न अनकनाउनु पर्दैन ।

समूहका सबैजना एकमत भएपछि नाम परिर्वतन गरेर ‘विश्व तामाङ परिषद्’ राख्न सुझाव पनि दियो । तामाङ प्रथम राष्ट्र साथै आदिवासीवाद (इण्डिजिनिजम्)को पक्षमा एस.सि.आर.सि.ले स्थापना कालदेखि औपचारिक रुपमै बहस गर्दै आएको छ ।

अजितमान तामाङको अध्ययन, ज्ञान र पीडा पसिना बनेर यस्तरी बगे कि, उनी आफै हारगुहार माग्नसक्ने अवस्था थिएनन् । हरेक अभिव्यक्तिहरु रुवाई जस्ता सुनिइरहेका थिए । यस्तै दूरावस्था देखिए । यत्ति भन्छु, यो तथ्यलाई तामाङ राष्ट्रले बुझ्नुपर्छ । गल्तीको सजाय दिनुपर्छ । झार उखेल्ने नाममा बाली उखेल्नु हुन्न । पु¥याएका सही योगदानको कदर हुनैपर्छ । खोला तरेपछि लौरो बिर्सनु उचित होइन । स्मरणीय तथ्य यो पनि हो कि– खोला तारी दिएँ भन्दैमा तारिएका सबै मेरा प्रजा वा नोकर हुन् भन्नु पनि हुँदैन ।

माथि उल्लेख गर्दै थिएँ, राष्ट्र र राज्य (देश)को प्रशङ्ग ! तामाङ प्रथम राष्ट्र हो । ऊ आफ्नो पहिचान र मानविय गौरव प्राप्तिको सघर्षमा छ । अचम्म के हो भने आफै राष्ट्र हो तर अज्ञानताको कारण आधुनिक राज्यले पहिचान देओस् भन्ने चाहना राख्दछन् । तामाङ आफै प्रथम राष्ट्र भएकोले कथित राज्यसत्ताले राष्ट्र भनेर लालमोहर लगाइरहनुको कुनै तुक हुँदैन र हालको आधुनिक राष्ट्र–राज्यहरुले यस्तो बहुलराष्ट्र स्वीकार पनि गर्दैनन् । त्यसैले स्वतः प्रथम राष्ट्र ! स्वतः स्वायत्त, सतत्, सार्वभौम साथै समृद्ध रहेको तथ्य बुझ्न नसक्ता यस्तो भएको हो । 

परशुराम तामाङले तामाङलाई राष्ट्र भनेर सही कुरा लेखेका हुन् । तर बुझ्नसक्ने तामाङ सहभागी देखिएनन् । सहभागीका के कुरा आयोजकहरुले नै बुझ्न सकेनन् । यो दूर्भाग्यपूर्ण कुरा हो । हामी (एस.सि.आ.सि.)को दाबी पनि तामाङ जाति मात्रै नभएर राष्ट्र हो । यो सभ्यता हो । त्यसैले हामी भन्छौं, तामाङ प्रथम राष्ट्र हो । नेपाल राष्ट्र होइन । यो त देश (राज्य) हो । नेपाली राष्ट्रियता होइन । तामाङ राष्ट्र भएकोले तामाङ (तामाङङ्खव) नै राष्ट्रियता हो । नेपाल देशमा तामाङ, गुरुङ, मगर, राई, लिम्बु र थारु लगायतका राष्ट्रहरु छन् । ती राष्ट्रहरुले राष्ट्रियताको आधारमा ताम्सालिङ, तुमवान, मगरात तथा थारुहटलाई यहाँ स्थापित गरेका छन् । राज्यसत्ताले लगाइरहेका अङकुश हटाइनुपर्छ । अन्यथा राज्यमा देषीरेखाहरु रहिरहनेछ । 

यसरी तामाङ राष्ट्र भएकोले तामाङको परिषद् हुन सक्छ तर अन्तर्राष्ट्रिय चाहिँ हुँदैन । नेपालको हकमा अन्तर्राष्ट्रिय भन्नाले तामाङ, मगर, गुरुङ र थारु बीचको भन्ने अर्थ दिन्छ तर मिरिक सम्मेलनमा भने परशुराम तामाङ आफै,तामाङ राष्ट्र र नेपाल चाहिँ देश भन्दै थिए तर संस्थाको नामले चाहिँ तामाङ एउटा जाति मात्रै र नेपाल नै राष्ट्र भएको तर्कको पक्षमा उभिएको थियो । ती तर्कहरु हामी तामाङ राष्ट्र भनेर दाबी गर्नेहरुको विपक्षमा थियो ।

राष्ट्र, राष्ट्रियता, देश, जनजाति र आदिवासी लगायतका शब्दको तथ्यबोध गरेका केही व्यक्तिहरुले त्यसलाई तोडमरोड गर्न जरोकिलो अभियान चलाउँदै आएका छन् । उनीहरु तामाङ लगायतका राष्ट्रहरुलाई जनजाति मात्रैमा सीमित गर्न खोज्दैछन् । नेपाल देशलाई नै राष्ट्रको रुपमा स्थापित गर्दै राष्ट्रियताको मन्त्र फलाको र पहिचानको मुद्दाको जरोकिलो उखेल्ने दाउ खोज्दैछन् । यस्तो परिस्थितिमा हामी आफै नै अज्ञानतावस विपक्षी अभियानलाई प्रत्यक्ष फाइदा पु¥याउने काम गर्दै गरेको सम्मेलनमा देखियो । संयोगवश समूह नं. चारमा परेका एस.सि.आर.सि.बाट सहभागी प्रतिनिधिहरुले विषय उठान ग¥यो । समूहका सबैजना एकमत भएपछि नाम परिर्वतन गरेर ‘विश्व तामाङ परिषद्’ राख्न सुझाव पनि दियो । तामाङ प्रथम राष्ट्र साथै आदिवासीवाद (इण्डिजिनिजम्)को पक्षमा एस.सि.आर.सि.ले स्थापना कालदेखि औपचारिक रुपमै बहस गर्दै आएको छ । संस्था स्थापनाअघि २०७० देखि नै तामाङलाई राष्ट्रको रुपमा उभ्याउँदै आएका छौं । 

परिषद्को विधानले पनि तामाङलाई जाति र नेपाल देशलाई चाहिँ राष्ट्रको रुपमा प्रस्तुत् गरेको छ । यो सरासर गलत भएकोले तामाङ चाहिँ राष्ट्र र नेपाल चाहिँ देश (राज्य) भन्ने स्पष्ट भएर अगाडि बढ्न सुझाव दिएको छ । चोहोको नेतृत्वमा नाङ्खोर/छोक्पा (संयन्त्र) (पृ.७१) गठन गर्ने भनेको छ । यहाँ नाङ्खोर शब्दको गलत लेखन भएको देखियो । तामाङमा न’ङकोर हुन्छ; जसले अर्मपर्मको प्रथालाई जनाउँछ । यहाँ भन्न खोजेको चाहिँ न्हङ्खोर हो । त्यसैले न्हङ्खोर लेखिनुपर्ने र त्यहाँ मुइमूको कुरा छुटेकोले थप्नुपर्ने देखिएको छ । चोहो परम्परालाई स्थापित गराउनुको विकल्प छैन ।

परिषद्ले सबैका लागि मान्य हुने गरी एक ‘थिङ्क ट्याङ्क’को निर्माण गर्नु पर्दछ

परिषद् गठनको क्रममा बाह्य प्रचलनको अन्धो अनुसरण गर्न खोजेको देखिएको छ । काठमाडौंमा भएका कार्यक्रमहरुमा समेत एस.सि.आर.सि.ले ‘‘तामाङ संस्था गठन प्रक्रिया’’को पक्षमा वकालत गर्दै आएको हो । यसैले विधानमा शाब्दिक रुपमा समेत व्यापक सुधार गर्न आवश्यक देखिएको छ । संस्कार संस्कृति निर्देशिकालाई हेर्ने हो भने, संस्कार र संस्कृतिको अर्थ र परिभाषा नै थाहा नभएको जस्तो देखिएको छ । संस्कारको पक्षहरु समाविष्ट गरिएका छन् । पूर्र्णताः दिन आवश्यक छ तर संस्कृति र चाडपर्वका कुरा समाविष्ट छैनन् । यस्तो आफै अस्प्रष्ट निर्देशिकाले तामाङलाई जनजातिको रुपमा पनि राख्न नसकेको जस्तो लाग्न सक्छ । तामाङ चौथो विश्व प्रथम राष्ट्र भएकोले जन्म देखी मृत्युसम्म र वर्षका ३६५ दिनकै व्याख्या रेहेको छ । हाम्रो भूमीको ज्ञान नै हाम्रो ज्ञान हो । यस्ता पर्यावरणीय देखी जीवन पद्धतीका कुराहरु निर्देशिकामा समाविष्ट हुनुपर्दछ । कथित आधुनिक राज्यसत्ता स्थापना अघि तामाङको आफ्नै सम्पूर्ण व्यवस्था कायम थियो । त्यस्ता विषयका लागि सम्बन्धित, बोम्बो, ताम्बा, लामा, चोहो र ह्युल्बासँग व्यापक अन्तरक्रिया गर्न सक्नु पर्दछ । त्यसमा विषय विज्ञहरुको सहयोग लिनुपर्ने हुन्छ ।

माथि उल्लेखित समस्याहरुलाई परिषद्ले सम्बोधन गर्न जरुरी छ । निर्देशिका तथा विधानमा रहेका ह्रस्व दीर्घ शुद्धाशुद्धिमा व्यापक सुधार आवश्यक देखिएको छ । निर्देशिका पुस्तिकाको आवरणमै लेखनी समस्या देखिएका छन् । परिषद्को लोगोमा अन्तर्राष्ट्रिय लेखिएको छ भने त्यसमुनि चाहिँ अन्तर्राष्ट्रीय लेखिएको छ । परिषद् शब्द कतै परिषद् त कतै परिषद रहेको छ अर्थात्, ‘द’ को खुट्टा काटेको र नकाटेको कुन भन्ने अस्पष्ट बनाएको छ । 

प्रकाशकको पक्षमा : शीर्षक सहित एस. टी. लामाले ‘‘...अबौध र असामायिक रीतिको साथ छोडन सत्तैmनन् भने त्यो पनि केवल रुढीवादी पाल्नु मात्रै हुनेछ’’ भनेको छ । उनी आफैले ‘‘हाम्रो पुर्खाहरु जीवन्त भईरहनेछ भने भावी पिँडीलाई जातीय शैलीमा आफुलाई उभ्याउनु ठूलो मद्द मिल्ने छ’’ भनेको छ । यसप्रकार परिषद्को टिम आफै अस्पष्ट रहेका भन्ने प्रमाणित गरेको छ । सोही निर्देशिकामा हेर्ने जाँदा– संस्थापक अध्यक्ष परशुराम तामाङले चाहिँ ‘‘बौद्धधर्म, बोम्बोबाद र ताम्बाबादको अपूर्व समिश्रण हाम्रो तामाङ संस्कृतिका मूल आधार हो’’ भनेका छन् । यही दाबीलाई एम. एस. बमजनले पनि उल्लेख गरेका छन् । निर्देशिकामा ‘‘तामाङ जाति लामावाद, ताम्बा र गान्बावाद’’ जस्ता शब्दहरु परेका छन् । यो भनेको दार्शनिकीको दरिद्रताको उदाङ्गो उदाहरण हो । विधानले तामाङको परिभाषा लगाएको छ तर ‘‘परम्परादेखि हिन्दू वर्णव्यवस्थाको संरचनाभित्र नपर्ने विश्वका कुनै पनि ठाउँमा बसी तामाङ जातिको परम्परा, रीतिथिति, संस्कार–संवृmति पालना गरी तामाङ वंशज भई/आफुलाई तामाङ हुँ भनी स्वीकार गने जातिलाई जनाउँछ’’ भनेको छ । यहीनेर एस.सि.आर.सि.लेको दावाी छ हामी चौथो विश्व, प्रथम राष्ट्र भएकाले हामी उक्त परिभाषाको विपक्षमा छौ । हामीलाई पहिचान र गौरव दिलाउन कसैसंग तुलना गरिरहन आवश्यक छैन । तामाङ “प्राकृतिक मानव समूह” हो भन्नेमा स्पष्ट हुन अत्यावश्यक रहेको छ ।

यसप्रकार हामी को हौं (तामाङको धर्म, संस्कार, संस्कृति, आस्था र विश्वास प्रणाली) भन्ने कुरामा अग्रजहरु नै अन्यौल देखिएका छन् । यसरी तामाङको धर्म कुन भन्ने नै अन्यौल रह्यो भने धर्म, संस्कार, संस्कृति, आस्था र विश्वास प्रणालीको हालत को होला ?यस्ता प्रशस्त समस्याहरु छन्; जसको समयमै समाधान गर्न नसक्ने हो भने भोलिका पुस्ताले हामीलाई अग्रज अभियन्ताको सट्टा अपराधीको रुपमा बुझनेछन् । यही तथ्यलाई ध्यानमा राखेर पाइला चाल्नका लागि हामी अनुरोध गर्दछौं । यसक्रममा आवश्यक सम्पूर्ण सहयोग वा साथ दिनका लागि तयार छौं । 

अन्त्यमा, यसपटक पुनः एकपटक यी तमाम उल्झनहरुका बावजुत केही उत्साही र भविष्य उन्मुख तामाङहरु पनि समाविष्ट भएकाले आश गर्ने ठाउँ बनेको छ । निर्विरोध रुपमा चुनिएका परिषद्लाई हार्दिक वधाई ज्ञापन गर्दछौं । सम्पूर्ण तामाङ राष्ट्रले विश्वस्तरमा आफुलाई स्थापित गर्न गराउन कुनै पनि कसर बाँकी राख्नु हुन्न । त्यसैले परिषद्ले सबैका लागि मान्य हुने गरी एक ‘थिङ्क ट्याङ्क’को निर्माण गर्नु पर्दछ । उक्त थिङ्क ट्याङ्कले तामाङ राष्ट्र र उसको विश्वदृष्टिकोणलाई विश्व बौद्धिक जगत्मा स्थापित गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने निवेदनका साथ बिदा हुन्छु । थुजेछे !!!

चोहो
एस.सि.आर.सि.

प्रतिकृया दिनुहोस्

विप्लवको सत्तोसराप र सिकेसँग प्रचण्डको तुलनाभित्र लुकेका यथार्थ

img

नेपालको तराईभूमिलाई टुक्र्याएर छुट्टै देश बनाउने अभियान थालेका चन्द्रकान्त राउतसँग सरकार र ...

हामी जुर्मुराउने बेला आयो, देश खतरामा जादैछ

img

म आगो सहन्छु अन्याय सहन्न  तृष्णा सहन्छु तिरस्कार सहन्न मेरो शिर उडाउ बरु त्यो ...

उर्वर समयको मन्थन

img

हरेक मानिसको जीवनको असली नायक स्वयं हो । त्यही स्वयंभित्र आफूलाई समयको ...

तामाङ संज्ञानमा ‘म्हेनिङ’

img

कुनै पनि जाति विशेषसँग सम्बन्धित चाडपर्व सम्बन्धित जातिको पूर्खाले हस्तान्तरण गरेको विरासत ...

घेदुङको ६३ बर्ष: एक समीक्षा

img

तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ ६३ औं बर्षमा प्रवेश गरेको ...

२००७ सालकाे क्रान्तिमा जीवन आहुती दिनेहरुको हिसाब भएन

img

म अहिले ८८ वर्ष पुगेँ । अस्ताउन लागेको, डाँडामाथिको घाम । नेपालगंज ...

पत्रपत्रिका

सबै