‘ताम्बा काइतेन’ भित्रको मानव विकासक्रम

| काठमाडौं

तामाङ समुदायको संस्कृति, धर्मकर्म, रीतिरिवाज र तामाङ जातिको ठुङसा (उत्पत्तिस्थल) भापसा (अवतरण स्थल) कुलदेउता– फोला, ग्याल्सा (राजस्थान) ह्रुइ (थरीकूल) अनि जीवजगतको सृष्टि प्रलय दुबैको वर्णन ‘ताम्बा काइतेन’ मा उल्लेख भएको पाईन्छ । ताम्बा काइतेन नामाकारण गरिएको किताब स्व. सन्तवीर लामाले देवनागरिक लिपी र नेपाली भाषामा अनुवाद गरी प्रकाशनमा ल्याएका हुन् । यसअघि ती विषयहरुमा ताम्बाले मौखिक जनश्रुतिको रुपमा गीतिलयमा (सेलु) गाएर सुनाउने गर्थे भने लामा पुरोहितहरुले पनि लामालिपीमा त्यसैलाई हस्तलिखित पुस्तकमा परिणत गरी अभिलेखीकरण गरि सुरक्षित गर्दै ल्याएका हुन् । तर त्यो बेला लामालिपीको ज्ञान सबैको पहुँच भित्र पर्दैन थियो । ‘ताम्बा काइतेन’को प्रकाशनले देवनागरिक लिपी जान्नेसम्मा पनि ताम्बाको भनाईहरु सम्प्रेषण हुन सजिलो हुन गयो । ताम्बाका भनाईहरु नै तामाङ समुदायको सामाजिक इतिहासको एक मात्र बलियो स्रोत हो । अन्य ठूल–ठूला धार्मिक ग्रन्थहरु जस्तै रामायण, महाभारत, पौराणिक कथाहरु (पुराण) र त्रिपिटक (काङग्युर ग्रन्थ) बाईबल वा कुरानमा तामाङ जातिको इतिहास खोजेर पाईन्न । ती ग्रन्थहरु वास्तवमा विश्वको नृवंश शास्त्र नभई धर्मशास्त्र हुन् भनि बुझ्नु पर्ने हुन्छ ।

पूर्वको कञ्चनजंघा हिमाल (गाङछेन जोङ) पश्चिमको कैलाश मनोसरोवार (गाङकर तिसे) र पूर्वको कामाख्या–कामरुपा पश्चिमको कन्याकुप्जा (वेदीया) जस्ता हिमालय र भारतपर्ष (ग्यागार ह्युल) बीचको पर्वतीय क्षेत्रमा बसोबास गर्ने तामाङ जातिको प्राचीन लेख्या इतिहास पाइएको छैन । तर ताम्बा काईतेनले यो जातिको प्राचीन काल देखिको विकास र विस्तार क्रमलाई सारसंक्षेपमा देखाएको वा रेखाङ्कन गरेको पाईन्छ । यो प्रसंगमा कैलाश मनोसोवारलाई केन्द्र विन्दू मानी त्यहाँबाट बगेका नदीनालाहरुको वरीपरीको सभ्यता अझ सिन्धुघाँटी ईन्दु उपत्यका र गंगा नदी वरपरको सभ्यता र ह्वाङहो नदी (पहेंलो नदी) यागची नदी र मेकाङ नदी वरपरको हान चिनिया जाति र अन्य अल्संख्याक जातिको विकास र विस्तारक्रम र सभ्यतालाई पनि बुझ्नु पर्ने हुन्छ ।

सिन्धु नदी र ईन्दु नदीको उच्चारण नै अपभ्रंश भई कलान्तरमा ‘हिन्दू’ हुन गएको भन्ने धेरै जसो विद्धानहरुको ठम्याइ छ । ह्वाङहो नदी र हान (चीनियाइ) जाति पनि उस्तै देखिन्छ । प्राचीनकालमा नदी किनाराहरुमा बाग्लो बस्तीहरु बसाउन थालेको र त्यो कृषियुगको चरण थियो । जब मानव जातिले शिकारी युगलाई नाघेर नयाँ युगमा प्रवेश गरेका थिए । दुर्गम, घनघोर आरण्या बनक्षेत्र र पर्वतीय तथा हिमाली पठार भूमिहरुमा भने धेरै पछिसम्मै शिकारी युगको जीवन पद्दतिको अवशेष बाँकी रहने गर्यो । खाद्यन्न बालीनाली उमार्ने कृषि व्यवसाय भन्दा पशुपालन कृषि उत्पादनको मूलस्रोत बन्ने गरे । मध्य एशियाको घाँसे मैदान र मंगोलीय र तिब्बत (भोट)को पठार भूमिमा बसोबास गर्ने जातिहरु पनि धेरै पछिसम्मै पशुचारी नै थिए । त्यो अवस्थामा पनि जनसंख्याको केही इकाईहरु शिकारी पेशामै रमाउने गर्थे । तिनलाई भोटका तिब्बतीहरुले ‘खीरवा’ शिकारी भन्दै भिन्न वर्गको रुपमा चित्रित गर्ने गर्थे ।

जहाँसम्म प्राचीन सभ्यता र संस्कृतिको सवाल छ हिमालय, वडाचीन र भारत वर्षमा सर्वप्रथम पितृ पूजा गर्ने परम्परा सबभन्दा पहिले स्थापना भएको मानिन्छ । त्यो प्रथा अहिलेसम्मै अटुट रहने गरेको छ । चीनियाहरु नयाँ बाली पाकेपछि वा नयाँ वर्षमा सर्वप्रथम पितृको चिहान वा अग्ला डाँडामा गएर पितृपूजा गर्ने गर्दछन् । हिन्दूहरुमा पनि निश्चित तिथि र वार्षिक रुपमा सोह्रा शरदमा (गोकर्णेश्वर औंसी) पितृलाई पिण्डा दान अर्पण गर्ने गर्दछन् । जसलाई पितृऋण भराउने अर्थमा व्याख्या गरेका छन् । उत्तरयाण वा देवायाना गएका पितृलाई भने अर्पण–तर्पणको आवश्यक ठानिन्न । दक्षियाण वा पितृयानमा गएका पितृहरुको सम्झनामा श्रदापर्ण गर्नु अनिवार्य मानिन्छ । यो मान्यता उपनिषदले स्थापना गरेको भन्ने गरे तापनि त्योभन्दा पहिले देखि नै सरल ढंगले मृतक पितृहरुलाई पिण्डादान दिने प्रचलन रहेको मानिन्छ । त्यसकारण मानव जातिको सबभन्दा पुरानो परम्परा पितृपूजा मान्नुपर्ने हुन्छ ।

जहाँ सम्म तामाङ जातिको सभ्यताको कुरा छ । तामाङ समुदाय पनि पितृपूजा (म्हेमे छ्योदपा) बाटै मानव सभ्यताको खुटकिलोमा उक्लेको देखिन्छ । त्यसमा मानिसको वैचारिक विकास क्रमको पनि पहिचान गर्नु आवश्यक पर्छ । पृथ्वीको सृष्टि वनस्पतिको उत्पत्ति र जीवहरुको जन्मपछि अनेक जीवजन्तु (पशुजगत) मध्ये मानव जातिको भाषा बोलीको विकासले आफ्ना अनुभव र ज्ञान–सीपलाई पुस्तान्तरण गर्न सफल भए । त्यो ज्ञान र सीपको विकासले अन्य जीव जन्तुभन्दा मानिस सर्वश्रेष्ठ बन्ने भूमिका दियो । त्यसले विचारजगतको पनि विकास गर्दै ल्यायो । तामाङ जातिले सासलाई ‘सा’ भन्दछन् । वायु (हावा) लाई ‘लाबा’ भन्ने गर्दछ । हावाको आँधीबेरीलाई ‘लाबा–लुङसुर’ भनिन्छ । गण–परिवार समूहबीच आत्मिक प्रेम हुनु र माता पिता (पितृ)प्रति श्रद्धा हुनु स्वभाविक हो । तर तिनै आफ्ना पुर्खाहरु रोग ब्याधी वा अन्य कारणबाट मृत्युवरण गरेको देखे पछि उनको चिन्तनले सास (सा) उम्केर गएपछि मरेको देखे । सास (सा) पञ्च महाभूत मध्येका प्रमुख वायु (हावा) तत्व हुन् । सासको बाहक वायु हुने नै भए, जो एउटै प्रकृति वर्गका हुन् । यहाँ ‘लुङ सेम येरम्हेद’ भनिने मन (आत्म) र वायु (हावा) एकाकर भएको मानियो । त्यो बेलाको चिन्तन र चेतनाको स्तरले त्यस्तै ठहर्ने गर्यो । यदाकदा आफ्नो स्मृतिपटल निन्द्रावस्थामा उघ्रिन पुग्दा आफ्ना पूर्खाहरु सपनामा पनि उही स्वरुपमा देखा पर्ने र आफूसँग वार्तालाप समेत गर्ने भएपछि आफ्नो पूर्खा ‘भुतात्म’ को रुपमा (भुत तत्तव वायु र आत्म तत्व अभिन्न भई) रहिरहेको विश्वास गर्न थाले । कुलघरमा अनिष्ट आईपरे पनि उनै पितृको दोष परेको मान्ने गरेपछि (म्हेमे छ्योदपा) पितृ पूजा प्रथा प्रारम्भ भएको देखिन्छ । यो शिकारी युगमै सुरुभएको हुनसक्छ । शिकारी युगमा धनु काँडको प्रविधि पनि विकास गरिसकेका थिए । त्यो सभ्यताको विहानी थियो ।

शिकारी युगमा पारिवारिक झुण्डाहरु (समूह) रहने भएता पनि कृषि युगमा (पशुपालन) आफ्नो निजी स्वामित्वको पशुधन वा जमीन कायम राख्न समूहरु पारिवारिक ईकाइमा विभाजित हुँदै गए । त्यतिखेरा सामाजिक सम्बन्ध सुदृढ गर्न र समाजको मान्यता र मूल्य कायम राख्न सरल आचरसंहिताको भए पनि खाँचो हुने नै भए । त्यसैबेला कुल वंशको विभाजन र वंशवृक्षहरु खडा हुन आयो । चरीचरनको खोजी, कृषियोग्य जमीनको खोजी गर्दै मानिसको झुण्डाहरु यत्र तत्र विस्तार हुँदै जाने गरे । त्यहीबेला पितृहरु भुतात्मको रुपमा अस्तित्वमान रहेका छन् भने त्यसको अतिरिक्त अन्य गैर मानवीय शक्ति पनि क्रियाशील छन् भन्ने विचारको विकास भयो । त्यस अवधारणा अनुसार आफ्ना बसोवास क्षेत्र नजिकका हिमालय पर्वतहरुलाई सृष्टिकालीन पितृ वा गैर मानवीय शक्तिको रुपमा स्वीकार्न थाले । जसलाई ‘ज्यो बो–ज्योमो) (मालिक र मालिका) भन्ने गरे । कालन्तरमा तिनै ज्योबो–ज्योमो र चन शिकारी कुल विशेषले आफ्नो अंग (गो) मा चडेको भन्दै फलाकेर मलाई मान मान्यतो गर्यो भने फलिफाप हुने र नभएर अनिष्ट हुने चेतावानी समेत दिने गर्दा ती कुलवंशले त्यसैलाई कुलदेवता (फोला) भनि मान्ने गरे । त्यस्तो कुलदेवताको पूजा आफ्नै कुल वंशका लाप्तापा (देवपति)ले गर्ने चलन छ । धेरैजसो कुलदेवतालाई बली पूजा चढाउँछन् । अझै पनि अधिकांश तामाङका कुलदेवताहरुलाई बलिपूजा चडाउने प्रचलन छ । दोस्रोचरणमा म्हेमे छ्योदपा (पितृपूजा)को अतिरिक्त फोला छ्योदपा (कुलपूजा) पनि थपिन आयो । तामाङ जातिको थर कूलहरुको आ–आफ्नै कुलदेवता (फोला) रहेको ताम्बाकाइतेनमा उल्लेख छ । त्यसका पूजा विधिहरु पनि आआफ्नै खालका रहेका छन् ।

त्यसपछिका युगमा तामाङ समुदायमा वा हिमालय क्षेत्रको समाजमा विचार जगतमा ठूलो फड्को मार्यो । ताम्बाकै कालमा आकाशको देवता, आन्तरिक्षाको चन शिकारी, पातलको नाग, हिमालयका ज्योबो ज्योमो, डाँडा पहाडका देवी देउराली, घरका कुल देवता, गाउँस्थानका ग्रामीण देवता भूमि देवताको अस्तित्व रहेको स्वीकारेर साङ सेरगेम (धुप धुवारो) गरी पुकार्न थालेको भए तापनि ती देवी देवताको साधना पद्दति वा तन्त्र मन्त्रको कुनै व्यवस्था थिएन । त्यस्तैमा कुनै ठुङबोन (जन्मसिद्ध झाक्री)को अभ्युदय भए । जसको चेला चपेटा पनि फैलिदैं गए । जसलाई पछिल्लो समयमा धोलबोन (भुइफुट्टा झाक्री) पनि भन्ने गरियो । अनेक देवी देवताको आह्वान गरेर आफ्नो शरीरमा उतार्ने गर्छन् । त्यो मन्त्र शक्तिले आह्वान गरेपछि शक्तिशाली गैरमानवीय शक्ति (देवी देवता) आफ्नो शरीरमा उत्रिने र संसारको चारैदिशा चारैकोणमा बोन्पो (झाक्री)को चेतनालाई बोकेर डुलाउँदै गर्छन् भनी भन्ने गर्छन् । बोन्पोले दुनियाँमा हुने गरेको दुर्भिक्षा (अनिकाल) रोगब्याधी भुइचालो, चट्याङ पर्नु, असिना बर्षिनु, अकाल मृत्यु सबै दैवीशक्तिको खेल भन्ने गरिए । त्यस्तै भूत प्रेत (म्हाङ म्हुङ) ले पनि मानिसलाई पिर्दछन् भन्ने मान्यता कायम गर्यो । त्यसक्रममा देउता बुझाउने, भुतप्रेत मन्छाउने (लाछ्योदपा–म्हाङ स्युदपा) र मृतकको नाममा देउतालाई बल पुकार गर्ने गरी बोन (झाँक्री) बैद्य उपचारक र पुरोहित दुबै काम गर्ने भए । साथै जोखाना जडीबुटी जन्तर मन्तर लगाउने तान्त्रीक पनि बने । भोट हिमालयमा लामो युग कालसम्म बोन पुरेत्याई चल्ने गर्यो । तामाङ समाजमा पनि बोन प्रथा आजैसम्म पनि विद्यामान छ ।

जहाँसम्म तामाङ जातिको ग्याल्साको कुरा छ । त्यो १२ वटा मात्र ताम्बा काइतेनले देखाएको छ । ग्याल्साको अर्थ राजस्थान वा राजधानी भन्ने लाग्छ । तर ग्याल्पो (राजा) को उल्लेख छैन । त्यस्तै युल्ला चोहो (ग्रामीण मुखिया)का उल्लेख छ तर नाम्साला ग्ले (गाउँघरको राजा) को पनि उल्लेख भएको पाइन्न । यसबाट के बुझिन्छ भने तामाङ समुदाय इतिहासको लामो कालखण्ड सम्मै गण (समुदाय) र गणनायक (चोहो) को व्यवस्था भित्र खण्ड खण्डमा स्वशासित रहने गरेको पुष्टि गर्छ । हिमालय भोटमा (तिब्बत) ई.पू. २५० तिर चन्बो वंशको उदय भएपछि तिब्बत एकीकरणको अभियान प्रारम्भ गर्यो । स्रोङचोङ गम्बो (६ र ७ औं शताब्दी) सम्म सम्पूर्ण तिब्बत एकीकरण भएको देखाउँछ । जसलाई बोध छेन्बो (ग्रेटर तिब्बत) भन्ने गरिए । तिनले आफूलाई भोदपा (भोटे) जाति भन्ने गरे । भोटको इतिहासमा विभिन्न १२ वटा उपराज्य (ग्याल ठेन) भएको उल्लेख गर्ने गरेतापनि त्यो चनबो वंशको अवसान पछिको ‘तिब्बत विखण्डन युग’ भनिएको १० देखि ११ औ १२ औ शताब्दी तिरलाई देखाउने गरेका छन् । उनीहरुको भनाइमा पहिले तिब्बतमा ‘मांशहारी राक्षसहरु’ (स्यास्रा स्रिन्पो)ले शासन गर्दथे । यो विजित रावण गणलाई ‘राक्षस गण’ भनि रामायणमा चित्रित गरेजस्तै हो कि भन्ने आशांका गर्ने ठाउँछ ।

जे होस् तामाङ समुदायको शिकारी तथा कृषि युगदेखिको सभ्यतालाई ताम्बा काइतेनले संगालेको पाईन्छ । तामाङ जीवन पद्दतिमा त्यही संस्कृति र परम्परा लागू रहेको छ । विगत लामो ऐतिहासिक कालखण्ड देखि तामाङ जातिले बौद्ध धर्मको महायान तथा बौद्धतन्त्रको अभ्यास गर्दै आएको छ । अहिले भने धेरै तामाङ परिवारहरु अन्य आदीबासीहरु सरी धर्मान्तरणमा पनि पर्दै गएका छन् । तीनले भने म्हेमे छ्योदपा (पितृपूजा) फोला छ्योदपा (कुलदेवता पूजा) रिमठिम (तामाङ जाति परम्परा) लामा बोबो दुबैको संस्कृति परित्याग गरिसकेका छन् । ताम्बा काइतेनले यसलाई सम्बोधन गर्ने कुरै भएन । त्यसैले तामाङ रिमठिम सबै तामाङ जनसंख्यामा लागू नहुने अवस्था खडा भएको छ । अब ताम्बाहरुले नयाँ समस्याको नयाँ समाधान खोज्नुपर्ने बेला भएको छ किनकि बौद्धमार्गी तामाङहरुको जन्म मृत्यु सबै संस्कारहरु लामा विधिबाट सम्पन्न गर्ने गरिन्छ । साथै रिमठिमको कचहरी गर्दा पनि लामा, चोहो, गान्बा, ताम्बा, बोन्बोको भेलाले गरेको निर्णय नै सर्वोपरी मान्ने गरिन्छ ।

(लेखक सन्तवीर लामाको १२१ औं जन्मजयन्तीको सन्दर्भमा व्यक्त विचार)

प्रतिकृया दिनुहोस्

के पाए नि पाख्रिन दाइले, अर्कैले महल ठडाए ?

img

कालो बनको विचैमा खेतालाको गाउँ साना साना झुपडी छैन आमा बाउ भोका नांगा नानीहरू ...

सन्दर्भ : चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन

img

विभिन्न मुलुकमा क्रियाशील तामाङ समुदायको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद् यतिखेर चौथो ...

दिगो विकास लक्षमा आदिवासी बाहिरै

img

विकास र आदिवासीसँग सम्बन्ध सुमधुर छैन । राज्यका निर्णय प्रकृयामा आदिवासी जनजातिको ...

`चाडपर्व युद्धमय होइन, कृषिमय हुनु पर्छ´

img

सभ्यतालाई एउटा माला मान्ने हो भने समुदायको संस्कार, संस्कृति, चाडपर्व, मूल्य, मान्यता, ...

जापान, सपना एक लुट अनेक-२

img

बिकसित मुलुक जाने, भविष्य सुनिश्चित गर्ने प्रायको सपना हुन्छ । यही सपनाको ...

नेपाल सरकार मातृभाषी बालबालिकाको अधिकार हनन गर्दैछ

img

नेपाल सरकार, शिक्षा मन्त्रालयले ‘अनिवार्य तथा निशुल्क शिक्षाको सम्वन्धमा व्यवस्था गर्ने बनेको ...

पत्रपत्रिका

सबै