स्थानीय सरकारमा आमसञ्चार विषयक गोष्ठी सम्पन्न

स्थानीय सरकारका सवालमा आमसञ्चार विषयक कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ ।
बुधबार गाउँपालिका राष्ट्रिय महासंघ र विकास पत्रकार मंचद्धारा आयोजित गोष्ठीमा महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय सरोकारका गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए ।
स्थानीय सरकार संचालनको शुरुवाती अभ्यासको चरणमा छौं । स्वभावैले पहिलो वर्ष प्रणाली स्थापित गर्ने वर्षको रुपमा लिएको उनले बताए ।
अध्यक्ष श्रेष्ठले भने– दक्ष कर्मचारीको अभाव, नियम कानुनको अभाव, सिकाइकै रुपमा रहेका जनप्रतिनिधिहरु र सीमित श्रोत साधनका वावजुद थुप्रै राम्रा कामहरु भएका छन् । स्थानीय कानुन निर्माण, योजना तर्जुमा, पूर्वाधार विकास, क्षमता विकास, राजश्व संकलन तथा वजेट निर्माण, न्याय सम्पादन, सेवा प्रवाह, पारदर्शिता तथा सुशासन, सूचनाको प्रविधिको प्रयोगमा गरिएका पहलहरु देख्दा उत्साहित र उपलब्धि भएको बताए । तर सुधार गर्नुपर्ने पक्षहरु भएकाले सोतर्फ सबैले खबरदारी गरिनुपर्ने पनि बताए ।
त्यसैगरी टिप्पणीकर्ता बरिष्ठ सञ्चारकर्मी मोहन मैनालीले अहिले हामीले जे अभ्यास गरिरहेका छौं, त्यो असफल हुन दिन नहुने बताए ।
त्यस्तै अन्नपूर्ण पोष्टका प्रधानसम्पादक हरिबहादुर थापाले स्थानीय तह बलियो हुनका लागि पत्रकारले जे देख्यो त्यही विषयलाई उठाएर लेख्नुपर्ने बताए । उनले भने– स्थानीय सरकार मजबुत भयो भने सरकार घरघरमा पुग्ने महसुस हुनेछ ।
सञ्चारकर्मी चन्द्रमणी भट्टराईले सञ्चालन गरेको गोष्ठी फोडेजका अध्यक्ष गोपीकृष्ण ढुंगानको अध्यक्षतामा सम्पन्न भएको थियो ।
गोष्ठीमा २ दर्जनभन्दा बढी विभिन्न सञ्चारमाध्यममा आवद्ध संचारकर्मीहरुको सहभागीता रहेका थिए ।