स्व. भिमबहादुर तामाङको शालिक, छ्योर्तेनको अनावरण

बरिष्ठ प्रजातन्त्रवादी नेता स्व. भिम बहादुर तामाङ एक सच्चा देश भक्त, समाजवादी, सादा जीवन र उच्च विचारका धनी र कर्मथ योद्धा थिए । उनले जीवनमा कहिल्यै पनि व्यक्तिगत सम्पत्ति र विलासितामा ध्यान दिएनन् । जसको ज्वलन्त उदाहरण हुन्, उनको परिवार र जीवनशैलीले बताउँछ । जहिले पनि राष्ट्रका लागि सोच्ने र चिन्तन गर्ने व्यक्तिका रुपमा तामाङलाई लिइन्छ ।
नेपाली कांग्रेस पार्टीका श्रद्धेय नेता एवं नेपाली लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तामाङको छैठौ स्मृति दिवसमा शालिक, छ्योर्तेन र पुर्खानको अनावरण गरियो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रमबीच स्व. तामाङको स्वयम्भुमा शालिक, छ्योर्तेन, र पुर्खानको अनावरण गरिएको हो ।
तत्कालीन पर्यटन तथा संस्कृति मन्त्री आनन्दप्रसाद पोखरेलले करिब ६० लाख निकासापछि यो कार्य सम्पन्न भएको सांसद जिपछिरिङ लामाले बताए ।
कार्यक्रम नातिनी सुमिका पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको हो ।
देशमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाको लामो र वलिदानपूर्ण संघर्षमा स्व. तामाङले पुर्याएको योगदान नेपाली जनसंघर्षको इतिहासको एक अविष्मरणीय अध्याय भएर रहनेछ ।
दोलखाको तामाकोशी गाउँपालिका–२, साविकको झुले–७ मा वि.सं. १९९० असारमा जन्मिएका तामाङ वि.सं. २०६९ मंसिर १६ मा स्वर्गरोहण भएका थिए । उनले वि.सं. २००८ देखि २०१८ सम्म गाउँकै जनप्रभात माविको संस्थापक र अध्यापन गरेका थिए ।
तस्विर : बसन्तराज कार्की फेसबुक
राजनीतिक यात्रा
उनी वि.सं. २००७ सालको क्रान्तिसँगै शिक्षण तथा राजनीति पेशामा संलग्न थिए । तामाङ वि.सं. २०१४ सालमा नेपाली कांग्रेस महाधिवेशनको प्रतिनिधि भएर उभिए । वि.सं. २०१७ सालमा प्रजातन्त्र खोसिएपछि प्रजातन्त्र प्राप्तिको निमित्त क्रान्तिमा सक्रियता भएर अघि बढे । उनलार्इ २०१८ भदाैमा पक्राउ परी जेलको यातना दिए ।
त्यसैगरी वि.सं. २०२० पश्चात निर्वासन तथा भूमिगत अवस्थामा सशस्त्र क्रान्तिको अगुवाइ भएर काम गरे । वि.सं. २०३० मा फेरि उनलार्इ काठमाडाैंबाट पक्राउ गरियो । वि.सं. २०४५ सालदेखि २०६९ सम्म नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा निरन्तर रहिरहे । उनले वि.सं. २०६७ को नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय सभापतिको उम्मेदवारमा भाग लिएका थिए ।
वि.सं. २०५१ को संसदीय निर्वाचनमा दोलखा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी वि.सं. २०५२ मा गठित मन्त्री परिषदमा कानून तथा न्याय मन्त्री भएका थिए । त्यस्तै वि.सं. २०६३ मा पुनस्र्थापित संसदमा संसद सदस्य बनेका थिए ।
निरंकुश राजतन्त्रको खिलापमा अनेक दुःख र कष्ट सहेर स्व. तामाङले अनवरत रुपमा संघर्ष गरिरहे र लामो समयसम्म निर्वासन र पटक-पटक जेलको यातना खेपेका थिए ।
पार्टीको केन्द्रीय कार्यसमितिमा तथा मन्त्री पदमा रही उनले राष्ट्र, जनता, लोकतन्त्र र संसदीय परम्पराको हितमा उल्लेखनीय योगदान पुर्याएको थियो ।