के पाए नि पाख्रिन दाइले, अर्कैले महल ठडाए ?

| काठमाडौं

कालो बनको विचैमा खेतालाको गाउँ
साना साना झुपडी छैन आमा बाउ
भोका नांगा नानीहरू खेलिरहने ठाउँ
हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाउँ
 

नेपालको सामन्तवादी संसदीय व्यवस्था विरुद्धको जनताको व्यवस्था स्थापना अभियानमा यी हरफहरू सक्रिय भए । उर्जाशील जीवनका जवानीहरू गरिब जनताको आन्दोलनमा बिताएका एक योद्धा खुसीराम पाख्रिन एक वर्ष अगाडि सदाका लागि बिदा भएका थिए ।

नेपाली जनवादी सांगीतिक यात्रामा उदाएदेखि अस्ताउँदासम्म जनमनको पीडा, व्यथा, कथा र विरहको गीतहरू गाउँदै जीवन समर्पण गरे । आज विक्षिप्त भएको माओवादी आन्दोलनमा हिजो उत्कर्षका बेला चर्चित चुन्वाङको बैठकमा अपेरा देखाउदै पाख्रिनले नेताहरुलाई रुवाएका थिए । छिमेकी मुलुक भारतको जेलमा परेका बाहेक सबै नेताहरू चुन्वाङको डाँडामा धरधरी रोएका थिए । त्यसरी रुनुको कारण युद्धका कार्यकर्ता जनताको पीडा प्रतिविम्बित अपेरा देखेर । आज पाख्रिन दाइ दुनियाँलाई रुवाएर बिदा भएका छन् ।

आफ्नो गीतले दुनियाँलाई रुवाउने पाख्रिन जीवनमा रोएको कसैले किन देखेनन् ? उनको आँशु पुछ्न चाहेनन् । माओवादी आन्दोलनका विभिन्न सांस्कृतिक समूहदेखि प्रगतिशील लेखक संघ देशैभरका शाखाहरुले उनको योगदानका बारेमा बोल्न र श्रद्धाञ्जली दिन किन सकेनन् ? उनका गीतसंगीतले नेपाली जनवादी साहित्यको क्षेत्रमा गरेको योगदानलाई किन गुटगत संकुचनमा राख्न खोज्दै छन्, हाम्रा प्रगतिवादी साहित्यकार ?

हुन त जतिबेला पाख्रिन अस्ताएका थिए । त्यो बेला एकातिर चुनावी हावाहुरी बेजोडले चलेको थियो । प्रचण्डपुत्र प्रकाश सबैलाई रुवाएर संसारबाट बिदा भएका थिए । हिजो प्रकाशको खोइरो खनेर नथाक्नेहरुको मन जितेर गए उनी कि चाकरीबाजहरुले एकधन्दा पाए प्रशंसाको त्यो समयले बिस्तारै बताउँला । तर हिजो खोइरो खनेर नथाक्नेहरुले आज भक्तिगान गाएको राजनीतिक गणितका हावा खाला कि भनेरै हो प्रकाश र उनको प्रसंगमा पाख्रिनको चर्चा गर्न त के बोल्नै सकेन मिडियाहरू ? मुलधारका भनिएकाहरुभन्दा धेरै गुणा अब्बल थिए, पाख्रिन र उनका शब्द संगीतहरू । उनको योगदानको चर्चा गर्न बिग हाउसहरुले उति सारो आवश्यक ठानेनन् । किनभने मालिकहरुको होइन किसान मजदुर जनताको गीत गाएका थिए, पाख्रिनले ।

अर्धनग्न युवतीलाई मदिराको नशामा नचाउने र थप नांगिन उत्प्रेरित गर्ने गीत थिएन, उनको । श्रमिक जनताको दुःख पीडा र देशभक्तको हुटहुटी अनि क्रान्तिको सतिसाल थिए, उनका गीतहरू जनताको नजरमा । हेरौ एक अंश :

कसले भन्छ क्रान्ति यहाँ सफल हुदैन !
कसले भन्छ योद्धाहरुको जीत हुदैन  !!
एक दुई हार हुन सक्छ तर मुटु स्पात बन्छ !
विरहरुको मुटुभित्र संसार फेर्ने साहस हुन्छ !!
 
कमरेड छविलाल मशालको महामन्त्री र माओवादी नेता नभएको भए प्रकाश के हुन्थे होला ? कसले ग्यारेन्टी गर्न सक्छ ? तर पाख्रिनका बाउआमा नेता नभए पनि उनी जनमनमा गरिब दुखीको भावना बोक्ने नेता र सदाबहार अजर अमर गीतको प्रतिविम्ब बनिरहेका छन् ।

माओले आफ्नो छोरा कोरियाली युद्धमा मारिएपछि लाश चीन ल्याउने प्रस्तावलाई अस्वीकार गर्दै जनसेनाहरुको लाश चीन आउदैन भने मेरो छोराको पनि ल्याउनु पर्दैन भनेका थिए । सार्वजनिक व्यक्तित्वहरुको निजी जीवनमा पनि अनेकौ आरोहअवरोह आउन सक्छन् । त्यसलाई सहजै पचाउन सक्नुपर्छ । समाज र जनताभन्दा नेता अगाडि हुन सक्नुपर्छ । तर त्यो देखिएन कमरेड प्रचण्डमा सत्र हजार जनताको आँशु र रगतमा लतपतिएर हुर्किएका प्रचण्डपुत्र सम्झेर सधैं भरी हिक्कहिक्क किन ? किन त्यत्रो रोदन त आखिर छोराबिना बाँच्नै नसक्ने हुन, प्रचण्ड ? उनको सोचमा समेत तेरो मेरो भन्ने छ भने जनता र उनका सर्मथकले अब के आशा गर्ने ? सायद त्यही कुराले होला नुवाकोट कुमरीका बेपत्ता रामेश्वर मुडवरीकी छोरी काजल मुडवरीले फेसबुकमा यस्तो लेखेकी थिइन्– “हजारौं जनताको तातो रगत बग्दा अलिकति पनि मन नदुख्ने मान्छेलाई आज आकाश खसेर थिचे जस्तो भयो होला सायद बल्ल थाहा भयो होला ! पुत्रशोकको पीडा कस्तो हुदोरहेछ ? बितेको दिनमा जेजस्तो काम गरे पनि आत्माले शान्ति पाओस प्रकाश दाहाल ।”

केही उरन्ठेउले ठेटनाहरुले अझ सुझाउने बुझाउने प्रयत्न समेत गरेछन् तर उनले त्यो पोष्ट हटाउन मानिनन् । मृत्यु सत्य हो आकस्मिक र असमायिक होला तर को मर्दैन र बाआमा हजुरबा हजुरआमा दिदीबहिनी हरेक पात्र आफै समेत मरिन्छ । के आज उनका छोरो मर्दा देशै रुन पर्ने किन होला ? राजा वीरेन्द्र मर्दा केश मुण्डन गरे र जुलुस लाउनेहरू र यिनीहरुमा के फरक ? अझ प्रगतिवादी र क्रान्तिकारीहरू समेत स्वर्गीय कमरेड भन्दै हल्ला गरेको देख्दा उदेक लाग्यो । नेपाली कम्युनिष्टहरुलाई स्वर्ग र नर्क यहाँ छ भनेर कसले देखाएको होला, त्यो कहाँ होला ? कसले बताउँला मलाई जान्न मन छ ।

कमरेड पाख्रिनको निधनबारे कवि एवं गीतकार बलराम तिमल्सिना भन्छन–“हरेक पटक कार्यक्रममा काठमाडौं आउँदा पाख्रिन दाजुको एउटै समस्या हुन्थ्यो भरे बास कहाँ बस्ने र के खाने ? एकपटक वहाँको काठमाडौंमा कोठा पनि थियो । हामीले व्यवस्थापन गर्न नसकेर वहाँले त्यो कोठा पनि उठाएर चितवनतिरै लैजानु भयो । बेलाबेलामा भन्ने गर्नु हुन्थ्यो– हैन हो बलराम भाइ ! कार्यक्रम सकिएपछि कोही भरे कता जाने भनेर नसोधी फुत्त फुत्त हिड्छन्, के गर्ने होला ? कसैले आज मेरोमा जाऊँ भने पनि त हुनेनि, हैन र ? हो दाइ हो, भने त किन नहुनु र ! तर भनेनौं । भन्न सकेनौं । म रद्दीले पनि भन्न सकिन दाइ ! मान्छेहरूले मलाई भावनाको खेती गर्यो भन्लान र भनून । तिनीहरू विचारको ठेक्का लिउन् । यस्तो बेला पाप तल पर्दोरहेछ र भन्न मन लाग्दोरहेछ, पाख्रिन दाइ ! हामी गफाडीहरूलाई एक फेर थुकिदिनोस् । हाम्रा कतिका यहाँ घर पनि थिए र फ्ल्याटहरू पनि थिए तर पनि पाख्रिन दाइलाई अघोषित रुपमा प्रवेश निषेध थियो । खुल्ला थियो त खन्ना गार्मेन्टको गेट जुन गेटभित्र अझै पनि केही जोडी कलाकारहरू बाँचिरहेका थिए, खै कसो कसो गरेर !”

पाख्रिनको यस्तै भावनामा खेलेर केही कपुतले उनको आस्था र विचारलाई पनि उधारो खरिद बिक्रीको प्रयत्न गरेका थिए । त्यस्ता लोभी पापीहरुको झुण्ड अहिले सत्तामा तर मारिरहेको छ ।

हुन त कवि, लेखक एवं कलाकारहरू अलि भावुक नै हुन्छन् । तर भावना विचारको भावमा उठेको हुन्छ । पछिल्ला समय हरेक सार्वजनिक कार्यक्रममा पाख्रिन दाइ भक्कानिएका थिए । पछिल्लो पटक नाचघरको कार्यक्रममा कमरेड विप्लवसामु भक्कानिएका उनलाई माओवादी केन्द्र मण्डलीका केही चाटुकारहरुले आलोचनासमेत गरेका थिए । तर पाख्रिनको आँशु गोहीको आँशु जस्तो थिएन । त्यो क्रान्ति र सपनाको चिन्तामा बगेको थियो । कवि बलराम तिमल्सिनाका लेखाई र नाचघरमा खुसीरामको व्यक्त भनार्इको मर्मबोध एकै थियो । त्यही भएर होला, जनकवि गोकुल जोशीले भनेका थिए–

भोकभोकै मर्न लागे कवि कलाकार !
तड्पाएर किन मार्छ झुण्डाएर मार ! !
 
जनकलाकारहरू दालभातको लागि मादल र सारंगी बेच्न किन विवश भए । आज हरका डान्सबार र दोहोरी साँझमा जीवन गुजाराको लागि गाउन नाच्न कसले बाध्य बनायो ? यस रोगको चुरो पत्ता लगाएर उपचार गर्न नसके धेरैले पाख्रिनकै नियति भोग्नुपर्नेछ । पाख्रिनको क्रान्तिकारी चेतनालाई तड्पाएर मार्न खोजेका थिए, भोकभोकै । आज फेसबुकमा ओठे कुरा किन गर्ने ? ‘सँगैका साथी हवाइजहाजमाथि, म भैसी गोठालो.....’ भने जस्तै बनाइयो, उनलाई । हार्दिक श्रद्धासुमन पाख्रिन दाइ । उनको सम्झनामा यही शब्द उनकै संगीतमा-
 
गाउँदा गाउँदै जुनी बिताए
गरिब उठाए, देश जगाए
के पाए नि .......पाख्रिन दाइले
के पायो र ......लामा भाइले
अर्कैले मन्त्री पड्कायो ।
अर्कैले महल ठडायो ।  

प्रतिकृया दिनुहोस्

‘ताम्बा काइतेन’ भित्रको मानव विकासक्रम

img

तामाङ समुदायको संस्कृति, धर्मकर्म, रीतिरिवाज र तामाङ जातिको ठुङसा (उत्पत्तिस्थल) भापसा (अवतरण ...

सन्दर्भ : चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन

img

विभिन्न मुलुकमा क्रियाशील तामाङ समुदायको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद् यतिखेर चौथो ...

दिगो विकास लक्षमा आदिवासी बाहिरै

img

विकास र आदिवासीसँग सम्बन्ध सुमधुर छैन । राज्यका निर्णय प्रकृयामा आदिवासी जनजातिको ...

`चाडपर्व युद्धमय होइन, कृषिमय हुनु पर्छ´

img

सभ्यतालाई एउटा माला मान्ने हो भने समुदायको संस्कार, संस्कृति, चाडपर्व, मूल्य, मान्यता, ...

जापान, सपना एक लुट अनेक-२

img

बिकसित मुलुक जाने, भविष्य सुनिश्चित गर्ने प्रायको सपना हुन्छ । यही सपनाको ...

नेपाल सरकार मातृभाषी बालबालिकाको अधिकार हनन गर्दैछ

img

नेपाल सरकार, शिक्षा मन्त्रालयले ‘अनिवार्य तथा निशुल्क शिक्षाको सम्वन्धमा व्यवस्था गर्ने बनेको ...

पत्रपत्रिका

सबै