लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

| रसुवा

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न भएको छ । बौद्द धर्म र बोन (झाँक्री) धर्म संस्कृतिसँग जोडिएको यो धार्मिक सांस्कृतिक र ऐतिहासिक लोक नाटक हरेक वर्ष तामाङ गन्ती अनुसार मंसिर महिनाको २ तिथि अर्थात भाइटीकाको भोलि पल्ट देखाइन्छ ।

ठूलो भार्खु र सानो भार्खु गाउँका लामा, झाँक्री र गाउँलेहरू सहभागी भएर आआफ्नो भूमिका निर्वाह गर्ने यो लोक नाटक रमाइलोको लागि नभएर धार्मिक अध्यात्मिक दृष्टिकोणले गाउँमा शान्ति होस् भनेर गरिने पूजा पनि हो । यो धार्मिक लोक नाटकमा दुईजना ङ्याबा (लाखे) हुन्छन् । ती दुईले मनोरन्जन दिने काम गर्छन् । लामाले सङ्सेर्किम (मोलम) गरेपछि युवायुवतीहरू अघिअघि मंगल गीत (टशी ह्वाई) गाउँदै त्यसको पछि लामाहरू र दुई लाखे लामाको बाजा धूनसँग ताल मिलाएर नाच्दै आउँछन् । लामा र लाखेसँग दुईजना सिपाही पनि हुन्छन् । ती दुई सिपाहीको काम भीडलाई व्यस्थापन गर्ने र लाखेलाई निर्धक्कसँग नाच्न सघाउनु हो । आँगनमा आइपुगेपछि ङ्याबाको नम्दर (श्लोक गीत) गाउँदै लामा र लाखे नाच्छन् । ङ्याबाको नम्दर श्लोकले त्रिलोकको वयान गर्दै शान्तिपूर्ण समाज निर्माणमा जोड दिन्छन् । उता कुनामा पूजा थान (डसङ) बनाइएको हुन्छ । डसङमा गुरुक्षेवाङको मूर्ति राखिएको हुन्छ । यो चेन क्षेबा पूजाको मुख्य भगवान गुरुक्षेवाङ हुन् । उनी गुरु रिम्बोक्र्षे (पद म सम्भव) को अवतार मानिन्छ । सम्भवतः यो पूजा सातौं शताव्दी देखि शुरु गरिएको अनुमान गरिन्छ । गुरु क्षेवाङ देखि मुनिको पंक्तिमा लामाहरू बस्छन् । डसङमा गाउँको प्रत्येक घरधुरीबाट मेन्डल (मकैको अक्षेता र फूल) ल्याएर चढाउँछन् ।

प्रत्येक नाचको धार्मिक, अध्यात्मिक, साँस्कृतिक र ऐतिहाँसिक महत्व रहेको हुन्छ ।

चेन क्षेबामा देखाइने नाचहरू :

चेन क्षेबामा धेरै नाचहरू देखाउँछन् । ग्याल्बो ग्याल्मो (राजारानी नाच) क्षेबा, स्यावा क्षेबा (कस्तुरी नाच), केरल्बा क्षेबा (शिकारी नाच), बोम्बो क्षेबा (झाँक्री नाच), अप्च्या गोम्बो क्षेबा, लुम्बो क्षेम्बो क्षेबा, खम्पा नाच, सिपाही नाच, जोगी नाच, लामा नाच, श्याम्पा श्युवा नाच र फोवा दोप्श्योल आदि देखाइन्छन् । यी मध्ये सबै नाचहरू प्रत्येक वर्ष पालैपालो गरेर देखाइन्छ । प्रत्येक नाचको धार्मिक, अध्यात्मिक, साँस्कृतिक र ऐतिहाँसिक महत्व रहेको हुन्छ । जस्तै, ग्याल्बो ग्याल्मो नाच देखाउँदा खम्पा, सिपाही र जोगी नाच देखाउनै पर्छ । यो नाचले नेपाल र तिब्बतको युद्धलाई देखाइएको हुन्छ । अन्त्यमा युद्ध होइन शान्तिले मात्र मानव समुदायको हित गर्छ भन्ने सन्देश दिएको हुन्छ । जरायो नाच देखाउँदा झाँक्री, कुकुर, शिकारी नाच अनिवार्य हुन्छ । यसमा प्राणी हत्या गर्नु हुँदैन भन्ने सन्देश दिइएको हुन्छ । अप्च्या गोम्बो नाचमा महिलाको कथा व्यथा देखाइएको हुन्छ । फोवा दोप्श्योल र लुम्बो क्षेम्बोमा मन्त्रको शक्ति प्रदर्शन गरिन्छ ।

व्यवस्थापकीय चाँजोपाँजो :

यो पूजाको व्यवस्थापन गाउँका विशेष गरी अविवाहित युवायुवतीहरुले गर्नुपर्छ । भाइटिकाको दिन गुम्बाबाट गुरु क्षेवाङको मूर्ति ल्याउनु पर्छ । युवायुवतीहरू लामा लगेर बाजा बजाएर मंगल गीत गाउँदै मूर्तिलाई लाखे घरमा ल्याउँछन् । भोलि पल्ट विहान देखि दिनभरिको कामको बाँडफाँड गरेर आआफ्नो जिम्मेवारी पूरा गर्छन् । अन्त्यमा राति अबेरसम्म गाउँलेहरुलाई गीत गाएर नचाउने बन्दोबस्त पनि युवा समूहले गर्छन् । यो परम्परा चेन क्षेबा पूजा प्रारम्भ भए देखिकै हो । यसमा म ठूलो र तँ सानो भन्ने पदीय संरचना हुँदैन । सबैले समान हैसियतमा काम गर्छन् । भोलि पल्ट मूर्तिलाई गुम्बामा पुर्याउने काम सकेपछि मात्र यो युवा समूहको जिम्मेवारी पूरा हुन्छ ।

यसपालीको नाच :

चेन क्षेबा पूजामा दुईजना ङ्याबा (लाखे) त अनिवार्य नै हुन्छ । बाँकी अन्य नाचहरू भने समयको ख्याल गरी प्रत्येक वर्ष पालैपालो गरेर देखाइन्छ । यसपाली श्यावा क्षेबा (कस्तुरी) नाच देखाइएको थियो । जसमा ङ्याबाको भूमिकामा ७९ वर्षे जोम्बो दर्के तमाङ र १९ वर्षे दावा छेदेन घले नाचेका थिए । दावा छेदेन घले नयाँ ङ्याबा हुन् । गत साउन महिनामा फुर्पु वाङदी घलेको भीरमा लडेर मृत्यू भएकोले उनको सट्टामा उनी ङ्याबा भएका हुन् । श्यावाको भूमिकामा कर्म वाङजु र पेमा लामा थिए । ङिकी (कुकुर) को भूमिकामा निमा ग्याल्बो घले र कामी नगरकोटी तामाङ र केरल्बा (शिकारी) को भूमिकामा फुर्पा ग्याल्बो घले, दावा ग्याल्बो घले, ल्हायुल घले, दिपक, सरोज, दोर्जे, सिंगी, तेन्जिन पासाङ, विकास, पेमादोर्जे, दावा वाङदी, निर्मल, रिक्चेन, ग्यालछिरिङ, पेमा रिन्जेन, सुरज र निमा तामाङ थिए । बोम्बो (झाँक्री) को भूमिकामा रेज्युङ तामाङ र क्षेयोक्पामा लामा पल्तेन तामाङ थिए ।

लामाहरुमा प्रमुख लामा ग्यामी तामाङ, सिंगी नुर्पु तामाङ, तेम्बा तामाङ, कामी ग्याल्बो तामाङ, कामदावा तामाङ, कान्छा लामा तामाङ, निमा सिंगी तामाङ, निमा ग्याल्सेन तामाङ र कर्म छोवाङ तामाङ थिए ।

श्रदाञ्जली कार्यक्रम :

गत साउन महिनामा बिगत केही वर्ष देखि ङ्याबा (लाखे) को भूमिकामा नाच्दै आएका ङ्याबा फुर्पु वाङदी घलेको भीरबाट लडेर मृत्यू भएको थियो । उनको सम्झनामा १०८ वटा बत्ती बालेर १ मीनेट मौनधारणा गरिएको थियो ।

phurpatamang10@gmail.com

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

आज देव अवतरण महोत्सव (ल्हाबब दुछेन)

img

शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्वहरूलाई दुःखको भाव सागरबाट मुक्त गराउनको लागि ...

पत्रपत्रिका

सबै